काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार बिहान ९ बजे आफ्ना पुस्ताका युवालाई माइतीघर मण्डलामा भेला हुन आह्वान गरिएको थियो ।
केही दिनअघिबाटै केही चिनजानका त केही नचिनेका युवा सामाजिक सञ्जाल फेसबुकमा आन्दोलनबारे सूचनाहरू बेला–बेला ‘शेयर’ साझा गरिरहेका थिए । तर, आन्दोलनको नेतृत्व कसले गरिरहेको छ, यसबारे अरूहरू जस्तै म पनि अनभिज्ञ थिएँ ।
यद्यपि, आन्दोलनलाई आफू अनुकूल उपयोग गर्नेहरूको कमी हुँदैन भन्ने पूर्वानुमान भने मलाई थियो । त्यसको कारण थियो– जेन–जीहरू फरक–फरक समूहमा देखिन्थे । सामाजिक सञ्जाललाई आधार मान्ने हो भने उनीहरू एक–अर्काको अस्तित्व स्वीकारिरहेका थिएनन् ।
त्यसमा पनि राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आएको राप्रपाका केन्द्रीय सदस्यदेखि १० वर्ष सशस्त्र द्वन्द्व गरेर आएको नेकपा माओवादी केन्द्रका जेन–जी पुस्ताका भनिएका नेताहरू पनि आ–आफ्नो ढंगले आन्दोलनका पक्षमा सामाजिक सञ्जालमार्फत् वातावरण बनाउने प्रयास गरिरहेका थिए ।
सोमबार जेन–जी जुर्मुराएको दिन । बिहान साढे आठ बजेअगावै प्रधान सम्पादक अरूण बराललाई फोन गरेँ– सर, म जेन–जीको आन्दोलनको रिपोर्टिङमा जानुपर्छ कि अफिस आउँ ? जवाफ पाएँ– सारा (सहकर्मी सारा न्यौपाने)जी जानुहुन्छ । तपाईं अफिस आउनुस् ।
मोबाइल फोनमा फेसबुक स्क्रोल गरिरहेको थिएँ । जेन–जीले सोमबार बिहान जारी गरेको वक्तव्य फेला पर्यो । चार बुँदमा लेखिएको वक्तव्यमा भनिएको थियो– आजको हाम्रो आन्दोलनलाई असफल पार्ने वा बदनाम गर्ने नियतले तोडफोड, हिंसा, वा अन्य अव्यवस्था सिर्जना गर्ने सम्भावना रहन्छ । यस कारण हामी सबै सहभागीहरूलाई केही महत्वपूर्ण जानकारी दिन चाहन्छौँ ।

त्यो वक्तव्य एक जना साथीलाई भाइबरमार्फत् पठाएँ । साथीले माइतीघरबाट एउटा तस्बिर पठाउँदै लेखे– मातइतीघर आउनू दाजु, ५०–६० जना भइसके । जवाफ फर्काएँ– आउने भनेको तर, अफिसले मलाई जान पर्दैन भनेको भएर आइनँ यार ।
मैले ती साथीलाई प्रदर्शनका लागि आएका व्यक्तिहरूका केही तस्बिर पठाइदिन भनेँ । उनले पठाए पनि । मैले डेस्कमा पठाएँ । खबरहबले प्रकाशित गर्यो पनि ।
सदा झैँ नियमित समयमै न्युज रूमको मिटिङ सुरू भयो । मैले ‘असाइन’ लिएँ– जेन–जीको आन्दोलनलाई ठूला तीन दलका नेताहरूको दृष्टिकोण के छ ? हामी साथीहरू सबैले आ–आफ्नो ‘असाइन’ गर्यौँ ।
सहकर्मी संगम ढकाल जेन–जीको प्रदर्शनमा आउने कला क्षेत्रका हस्तीहरूको उपस्थितिबारे बुझ्न जाने कुरो थियो । प्रधानसम्पादकले भन्नुभयो– केशवजी तपाईं पनि जाने भए जानुस् । आन्दोलन हेरेर आउनुस् । पत्रकारले यस्ता कार्यक्रमहरु प्रत्यक्ष हेर्नुपर्छ ।
संगमजीको बाइक भृकुटीमण्डपमा राख्यौँ । पैदलै भद्रकाली हुँदै माइतीघर पुग्यौँ । भीडभाड थियो । नाराबाजी भइरहेको थियो । तस्बिर र भिडियो मोबाइलमा कैद गरेँ । माइतीघरको भन्दा कयौँ गुणा ठूलो भीड अघि नै नयाँ बानेश्वरतर्फ हिँडिसकेको जानकारी पायौँ ।
संगमजीले उतै जाऔँ भन्नुभयो । दुवै जना नयाँ बानेश्वरको लक्ष्य राखेर हिँड्याैँ । भीडमा हामी दुवै एकअर्काबाट अलग भएछौँ । हिँड्दै बिजुली बजार पुल नजिक पुगेको थिएँ– संगमजीले सोधिखोजी गर्नुभयो र भन्नुभयो– म लाइभ गर्छु । अनि एकछिनमा फर्कौंला ।
म दोधारमा परेँ । जेन–जीका पछि–पछि लाग्ने कि, कार्यालयमा गएर ‘असाइन’ पूरा गर्ने । फर्कौंं–नफर्कौं, यस्तै–यस्तै सोच्दै मेरा पाइला नयाँ बानेश्वरतिरै अघि बढे । पहिले एनसेल टावर रहेको स्थानमा पुग्दा एकजना परिचित ‘गुप्तचर’ सँग भेट भयो ।
सामान्य कुराकानी हुँदै गर्दा उनलाई कसैको फोन आयो । फोन राखिनसक्दै भने– अगाडिको ब्यारिकेड फालेर आन्दोलनकारी अघि बढेर पनि १ नम्बर गेट फुटाल्दैछन् रे !
मैले जाऔँ न भन्दा उनले कसरी जाने, भीड छ भने । मैले उनलाई छेउछेउ भएर जाउँ भनेँ । अलि पर पुगेपछि उनले बायाँतिरको गल्लीमा हिँडाए । उनीसँग हिँड्दा हिँड्दै डेस्कमा (समाचार प्रमुख ज्ञानेन्द्र खड्कालाई) फोन गरेँ– कतै लाइभ भिडियो आएको त छैन, सिभिल हस्पिटलतिरको गेट तोड्दै छन् रे । म उतै जाँदैछु, एक जना साथीसँग भनेँ ।

भित्री बाटो हुँदै हामी एभरेस्ट होटलको पछाडिपट्टिबाट नयाँ बानेश्वरको आकाशे पुल नजिक निस्क्याैँ ।
कञ्चनपुरबाट काठमाडौं आएर पत्रकारिता गर्दाका झण्डै नौ वर्षमा मैले संघीय संसद् भवन नजिक त्यस्तो दृष्य देखेको थिइनँ ।
छक्कुबक्कु पार्कको पारिपट्टिको गेट (दुई नम्बर) मा प्रदर्शनकारी र प्रहरीबीच मुठभेडको अवस्था देखेँ । हेर्दाहेर्दै प्रहरीले तीन राउन्ड गोली चलायो । सँगैका साथीलाई, सोधेँ– के हो यार ? उनले भने– दाइ, हवाई फायर गरेको हो । मन ढक्क फुल्यो । दुवैजना बानेश्वर चोकतिर दगुर्यौँ ।
चोकमा पुगेर यो पनि डेस्कमा टिपाएँ । अनि हामी बढ्यौँ सिभिल हस्पिटलतिर रहेको गेट (१ नम्बर) तर्फ ।
अलि पर पुगेको त, केही आन्दोलनकारी गेटसँगै रहेको भवनको माथि उभिएर के–के भनिरहेका छन् ।
छेवैमा (गेट बाहिर) सशस्त्र प्रहरीको ट्यांकमाथि पनि आन्दोलनकारीहरू देखिए । नजिक जान सकिने अवस्था थिएन । अलि वरैबाट मोबाइलमा तस्बिर कैद गरेँ । आँखा पोल्न थाल्यो । सँगै रहेका गुप्तचरले भने, अश्रुग्यास हानिसकेछ, गन्ध आयो ।
डेस्कमा पछिल्लो दृष्यबारे फोनमै टिपाएँ । डेस्कबाट तस्बिर पठाउन भनियो । फोन पनि राम्रोसँग ‘कनेक्ट’ नहुने भीडमा ‘डाटा’ चल्ने कुरा भएन । कतै चल्छ कि भनेर भीड छिचोलेर चोकतिर फर्किन थालेँ । प्रहरीले सिभिल हस्पिटलतिरबाट लगालग अश्रुग्यास हानिरहेको थियो ।

यता चोक छेवैको पर्खालको भित्रपट्टि रहेको सेन्ट्री बस्नका लागि बनाइएको टहरोमा एक प्रदर्शनकारी हेर्दाहेर्दै चढे । उनी राष्ट्रिय झण्डा फहराउन लागे । त्यसकाे पनि तस्बिर कैद गरेँ ।
नेटवर्क खोज्ने चक्करमा म फेरि चोक हुँदै दुई नम्बर गेटको पारितिरको फुटपाथ हुँदै आकाशे पुलतिर लम्किरहेको थिएँ ।अश्रुग्यासको वर्षा र भागा–भाग भयो । आँखा पोल्न थाले । एकजना अपरिचितले पानी दिए । आँखामा छर्किएर म आकाशे पुलतिर कुदेँ ।
अबको ध्यान डेस्कलाई तस्बिर पठाउनु थियो । डाटा चल्छ कि भन्ने चक्करमा हिँड्दा हिँड्दै म थापागाउँको मन्दिर नजिक पुगिसकेछु । भाइबरबाट १२ बजेर ३९ मिनेटमा फोटो पठाउन सफल भएको रहेछु ।
थापागाउँ पुगेपछि म आन्दोलनस्थल फर्किनँ । सोझै कोठामा आएँ । बिहान लगाएको लुगा ‘चेन्ज’ गरेर प्रेस ज्याकेट लगाएर फेरि निस्केँ आन्दोलनस्थलतिर ।
थापागाउँ मन्दिरनेर प्रदर्शनकारीहरूले तीनवटा सशस्त्रका र एउटा नेपाली सेनाको गाडी (ट्रकजस्तो) रोकेर राखेका थिए । ती तस्बिरहरू पनि खिचेर पठाएँ । त्यहीँ भेटिनु भयो पूर्वसहकर्मी उजिर कार्की (नेपालखबर) । उहाँ र म सँगै नयाँ बानेश्वरतिर लाग्यौँ । अलि पर पुगेपछि नेपालखबरमा सँगै काम गर्नुभएका साथी दीपक भट्ट भेटिनुभयो । तीनै जना आपसमा मिलेर प्रदर्शनकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई छिचोल्दै आकाशे पुलमुनि पुग्यौँ ।
प्रहरीको भीड र प्रदर्शकारीको भीड उस्तै–उस्तै । नयाँ बानेश्वर चोक र पानी ट्यांकी नजिकको चोकबाट प्रदर्शनकारीले सुरक्षाकर्मीलाई ढुंगा हानिरहेका थिए । २ नम्बर गेटमा पानी ट्यांकी नजिकभन्दा कमै प्रहरी तैनाथ थिए । नयाँ बानेश्वर चोकतिरबाट ढुंगाको वर्षा भइरहेको थियो ।

२ नम्बर गेटको बाहिर सडकमा तैनाथ प्रहरीले माइकिङ गरेर पानी ट्यांकीमा रहेको सशस्त्र प्रहरीलाई बोलाइरहेको दृष्य हामी तीनैजनाले देख्यौँ । तर, सशस्त्र प्रहरी अगाडि बढेन ।
तत्काल कुनै प्रतिक्रिया नजनाएको सशस्त्र प्रहरी विस्तारै २ नम्बर गेटतिर बढ्दै गयो । सँगै थिए जनपद प्रहरीहरू पनि ।
पानी ट्यांकीतिरबाट गएका प्रहरीहरू र २ नम्बरमा तैनाथहरू एकसाथ मिलेर प्रदर्शनकारीलाई लखेट्दै चोकतिर अगाडि बढे ।
केही समय दोहोरो हानाहान चल्यो । सुरक्षाकर्मी अश्रुग्यास हान्ने, प्रदर्शकारी त्यही अश्रुग्यास फिर्ता पठाउने ।
यो क्रम चल्दै थियो । अचानक थप प्रदर्शनकारी चोकमा पुगेपछि ढुंगा बर्साउँदै अघि बढे । प्रहरी रक्षात्मक बन्यो । प्रदर्शकारीले पेल्दै उनीहरूलाई पछाडि सर्न बाध्य पारे । फेरि २ नम्बर गेटमा प्रहरी अडियो ।
दुई जना पुरूष र एक महिला प्रहरी घाइते भए । उनीहरूलाई रेडक्रसकर्मीसँगै प्रहरीले संसद् भवनभित्र लगे (पानी ट्यांकीको गेटबाट) ।
त्यसअघि प्रदर्शनकारीले सडकमा टायर बालिसकेका थिए । २ नम्बर गेटमा पनि आगो सल्काइसकेका थिए । प्रदर्शनकारी र सुरक्षाकर्मी एकअर्कालाई थकाउने रणनीतिमा देखिन्थे । केहीबेर शान्त जस्ता हुने दुवै पक्ष, केहीबेरमै अवस्था तनावग्रस्त बन्थ्यो ।
मिडियाकर्मी साथीहरूको एक समूह २ नम्बर गेट र पानी ट्यांकीबीचको भागमा संसद भवनको पर्खालतिर उत्रिएर आ–आफ्नो ढंगले रिपोर्टिङ गरिरहेका थियौँ । सवा २ बजे यस्तो समय आयो कि हामीलाई आफू सुरक्षित हुन हम्मेहम्मे पर्याे ।

बानेश्वर चोक भएर आएको प्रदर्शनकारीको जत्था ढुंगा बर्साउँदै अघि बढेपछि निरीह देखिएको प्रहरी पछि हट्दै पानी ट्यांकीनिरको समूहमा मिसियो । पानी ट्यांकीदेखि नयाँ बानेश्वर चोकतिरको सडक प्रदर्शनकारीको कब्जामा थियो ।
पानी ट्यांकी नजिकको चोकतिरबाट पनि प्रदर्शनकारी थिए । उनीहरू पुरानो बानेश्वरतिर आँखाले देखिएको ठाउँसम्म थिए ।
आकाशे पुलबाट थापागाउँतिरको बाटोमा प्रदर्शनकारीले सशस्त्र प्रहरी र सेनाको गाडी रोकेर संसद भवनतिर आउन अवरोध गरिसकेका थिए ।
यसरी तीनतिरबाट घेरिएर बसेका थिए सुरक्षाकर्मी । हामी साथीहरू को, कता भाग्यौँ पत्तो भएन । म आफू भने त्यही भीडमै थिएँ । एम्बुलेन्स संसद भवनभित्र जाने र बाहिरिने क्रम जारी थियो ।
प्रदर्शनकारीहरूले उपचारका लागि संसद भवनभित्रबाट घाइतेलाई अस्पताल लैजान लागेको एम्बुलेन्सलाई अवरोध गरिरहेका थिए । उनीहरू एम्बुलेन्सको ढोका खोलेर भित्र घाइते छन् कि छैनन् भनेर चेकजाँच गरिरहेका थिए । प्रदर्शनकारीले पुरानो बानेश्वरतिरबाट आएको एउटा पहेँलो एम्बुलेन्समा तोडफोडसमेत गर्न भ्याए ।
सहमर्की संगमजी सिभिल हस्पिटलपट्टि हुनुहुँदो रहेछ । उहाँले बेलाबेला भाइबरमार्फत् डेस्कलाई गर्ने अपडेटबाट म जानकारी पाइरहेको थिएँ ।
दुई बजेर ३४ मिनेटमा तीन ट्रक नेपाली सेना आकाशे पुल मुनि आइपुग्यो । आकाशे पुल मुनि ट्रकबाट झरेर सेना २ नम्बर गेटतिर ‘मुभ’ भयो । उनीहरू २ नम्बर गेटलाई पिठ्युँतर्फ पारेर बीच सडकमा पोजिसन लिएर बसे ।
केही प्रदर्शनकारी उनीहरूकै छेवैमा गएर गोली जनतामाथि नभएर नेतामाथि चलाउने हिम्मत गर्न चुनौती दिइरहेका थिए । २ बजेर ३६ मिनेटमा सडकमा उत्रिएको सेना २ बजेर ४० मिनेटमा संसद भवनभित्र छिर्याे । सेना भित्र पसिसकेपछि फेरि दोहोरियो पुरानै क्रम ।

प्रदर्शनकारीले नयाँ बानेश्वरतरिबाट ढुंगा हान्ने, प्रहरीले २ नम्बर गेटबाट अश्रुग्यास हान्ने । सिभिल हस्पिटलतिरको १ नम्बर गेटमा पनि यही क्रम चलिरहेको थियो । तर, हामी उता जान सक्ने स्थिति थिएन ।
सेना संसद् भवन पुगेपछि भने दिनभरको जस्तो अत्यधिक तनावपूर्ण अवस्था त थिएन । तर, पनि स्थिति सरकारको नियन्त्रणमा भने पुगिसकेको थिएन ।
अपरान्ह ४ बजेर ४५ मिनेटमा म थापागाउँ हुँदै फर्किएँ । म फर्किँदा पानी ट्यांकी गेट छेउछाउ रहेका सुरक्षाकर्मीमाथि पुरानो बानेश्वरतिरबाट ढुंगा प्रहार भइरहेको थियो । थापा गाउँतिर भने प्रहरीले सर्वसाधारणलाई घर जाउ भन्दै भगाइरहेका थिए ।
प्रतिक्रिया