जेनजी पुस्ताका बानियाको उद्घोष : गोली थाप्छौँ, आवाज दबिन दिन्नौँ | Khabarhub Khabarhub

जेनजी पुस्ताका बानियाको उद्घोष : गोली थाप्छौँ, आवाज दबिन दिन्नौँ

पुरानालाई भत्ता दिन्छौँ, अब जेनजीले नेतृत्व गर्छ; ओली अनुसन्धानका लागि जेल बस्नुपर्छ



काठमाडौं- अनिल बानिया २४ वर्षका भए । उनी त्रिचन्द्र क्यापसबाट भर्खरै ब्याचलर गरेका विद्यार्थी हुन् । राजनीतिशास्त्र पढेका बानिया जेनजी पुस्ताको आन्दोलनमा अग्रस्थानमा थिए । उनको घर मुगु हो । अहिले उनी काठमाडौँ छन् । उनी स्वतन्त्र युवा हुन् । कुनै दलमा हुनुहुन्न ? भन्ने खबरहबको प्रश्नमा उनले भने, ‘म छैन । हुन पनि मन छैन । यदि म दलमा भएको भए झुन्डिएर मर्न तयार छु । म स्वतन्त्र युवा हुँ ।’

बानियासँग जेनजी पुस्ताको आन्दोलनबारे कुराकानी गरिएको छ । उनी यो पुस्ता सरकारका मानिसलाई सडकमा नल्याएसम्म आन्दोलनबाट पछि नहट्ने बताउँछन् । उनी प्रधानमन्त्री ओलीसहित सरकारमा भएका व्यक्तिहरूले राजीनामा दिएर आत्मसमर्पण गर्नुपर्ने र पक्राउ गरेर उनीहरूलाई अनुसन्धान हुनुपर्ने बताउँछन् । शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले नै दमन गरेर नरसंहार गरेको उनको दाबी छ । बानिया आफूहरू गोली थाप्न तयार भएको तर माग पूरा नभए आन्दोलनबाट पछि नहट्ने बताउँछन् । उनीसँगको कुराकानीको सम्पादित अंश-

हिजो एकैसाथ जेनजी युवा सडकमा निस्कनुभयो । यो प्लान पहिला देखिकै हो कि ?

हैन, पहिला हामीले पुराना पुस्तालाई धेरै सहेर बसेको हो । तर मनपरीतन्त्र बढी भयो । हामी युवालाई त गनिएन । जे गरे पनि हुन्छ भनेर हामीमाथि अङ्कुश लगाइयो । नियमन गरिनुपर्ने सामाजिक सञ्जाललाई नियन्त्रण गरियो । हामीले सहन सकेनौँ र आन्दोलनमा होमिएका हौँ । बुढापाकाले गर्न सकेनन् । बाउ बाजेले जति लडे पनि निरङ्कुश प्रवृत्तिले निरन्तरता पाइरह्यो । यो जमानामा पनि हामी डराएर बस्ने हो भने हाम्रो पुस्ताले नेपाल भन्ने देश थियो मात्र भनेर पढ्न पाउँछन् । मेरो देश हो भन्ने शब्द मेटिन सक्छ । हामीलाई यो चिन्ताको विषय हो ।

खास किन आन्दोलन गर्नुभएको, अझ प्रष्ट पारिदिनु न ?

हामीले भ्रष्टाचारको जालो चिर्नुपर्छ । विभिन्न काण्डको छानबिन हुनुपर्छ । अख्तियारमा छानबिन भएका विषयमा कारबाही हुनुपर्छ । सामाजिक सञ्जाललाई नियन्त्रित नभएर नियमन गर्नुपर्छ । देशमा रोजगारी कायम गर्नुपर्छ भनेर आन्दोलन गरेको हो ।

हिजोको आन्दोलनमा नरसंहार भयो । कतै नगरेको भए हुन्थ्यो जस्तो पश्चाताप लागेन ?

साथीहरू गुमाएकोमा पश्चात्ताप छ । आन्दोलनबारे छैन । तर देशको लागि छाती थाप्न तयार छु । हिजो कालो दिन हो । इतिहासमै नभएको दिन हो । यो सम्झन पनि नपरोस् भन्छु । तर सम्झना नगरी सुख छैन । हामीले यस्तो होला भनेर सोचेका थिएनौँ । बिहानैदेखि राति २ बजेसम्म खट्यो । अश्रुग्यास, पानीको फोहरा लाठी सबै खाइयो । तर डराइँदैन । नियुक्तिमा राजनीतिकरण क्षम्य हुँदैन । देशमा रोजगारी सिर्जना गर्नुपर्ने छ । अब कसैको रोजीरोटी खोस्न पाइँदैन भनेर आन्दोलन भएको हो । विदेशीले नेपालका बा आमालाई कहाँबाट सम्पर्क गर्ने ? हामीले सामाजिक सञ्जाल बन्द गर्नु समस्या समाधान हैन, बरु नियमन गरेर लागौँ भन्ने माग थियो । यो सबै जेनजी पुस्ताले गरेको आन्दोलन हो । यो एकजनाको आन्दोलन हैन ।

अहिले बिरामी साथीहरूको अवस्था कस्तो छ ?

अस्पतालमा सम्मान पाएको छैन । सरकारले हिजो अस्पतालमा पनि दमन गरेको थियो । डाक्टरको कमी, दिउँसो ३, ४ बजेतिर गोली लागेका मान्छेहरूलाई पनि बेलुका ११, १२ बजेसम्म गोलीको छर्रा शरीरभित्र थिए । अस्पतालमा म्यानपावरको कमी भएर हो कि ? बिरामीहरू छटपटाइरहनु भएके छ । रगत पुगेन भनेर भ्रम फैलाइएको छ । रगत हुँदाहुँदै पनि दिइएको छैन । हामीहरूको अवस्था बिजोग छ । बिरामीहरू देख्दा आँखाबाट आँसु रोकिँदैन घाइतेहरूलाई मानसिक तनाव छ । उहाँहरू आत्तिनुभएको छ । डाक्टर देख्दा पनि आत्तिनुहुन्छ ।

हिजोको आन्दोलन कसरी हिंसात्मक बन्न पुग्यो ?

हामीले शान्तिपूर्ण आन्दोलन गर्ने भनेर गएको हो । कुनै पनि जेनजी समूहले सरकारलाई दमन, राज्यको सार्वजनिक सम्पत्ति तोडफोड, सम्पत्तिमाथि हमला गर्ने भनेर कहिँपनि सल्लाह गरेको पोस्ट गरेको थिएन । हिजोको आन्दोलनमा हामीजस्ता ब्याचलर पढ्ने विद्यार्थी हुनुहुन्थ्यो । हामी माइतीघरबाट ११ बजे मार्चपासमा निस्किएका थियौँ । अब एभरेष्ट होटेलसम्म बाजागाजासहित पुग्यौँ । त्यो हाम्रो आवाज सिंहदरबारलाई सुनाउनु थियो ।

बालुवाटार, बूढानीलकण्ठ, बालकोट र त्यही अगाडिको संसद भवनलाई सुनाउनु थियो । बानेश्बर पुगेपछि प्रहरीले अगाडि नै फोहोरा हानेर, लाठ्ठी चार्ज गरेर भीडलाई उत्तेजित बनाएको थियो । बीचमा अराजक तत्व पनि छिरेछन् । कहाँबाट छिरे थाहा भएन । को मान्छे कसरी आयो जिम्मा लिन सकेनौँ । हामी अराजक मच्चाउने पक्षमा थिएनौँ ।

तर, अराजक समूह आएर संसदभित्र छिर्थ्यो । त्यो गल्ती अराजक तत्वको मात्र हैन । प्रहरी, गृह प्रशासन, सिडिओ , प्रधानमन्त्री ओलीको पनि हो । यसमा सबै दोषी छन् । हामीले पानीको फोहोरा हानेपछि साथीहरू घाइते हुनुभयो । त्यहाँबाट हामी बानेश्वरस्थित एभरेष्ट होटलतर्फ गयौं । फेरि हवाई फायर र अश्रुग्यास आयो । कति साथीहरू घाइते भयौँ । दमन गरेपछि प्रतिवाद गरेको हो । तर हामीलाई हेड सटदेखि चेक सटसम्म गोली हानियो ।

ताकी ताकी साथीहरू मारियो । हात माथि गर भन्दै कतिलाई गोली हानियो । मलाई पनि ताकेर गोली हानिएको थियो तर भाग्यवस जोगिएँ । यसरी गोली हानेर मार्न मिल्छ ? आज एक जना, दुई जना होइन २९ बढी साथीहरु मारिएका छन् । कति जिउँदो लास भएर साथीहरू छट्पटाउनुभएको छ । हमास, इन्डोनेसियामा पनि आन्दोलन भयो तर यत्रो मान्छे एकैदिमा मारिएको थिएन । कत्रो नरसंहार गरियो । अबको दुईचार दिनमा यिनीहरूले अझै मान्छे मार्छन् । सरकार अझै पनि जिम्मेवारीपूर्वक प्रस्तुत भएको छैन । सरकारलाई हाम्रो माया छैन । तर कफ्र्यू जारी गरेर डराएको छ । किन डराएको ? डराउनुपर्ने आवश्यकता छ र ? निर्दोष छ भने सरकार किन डराउनु ? किन हामीलाई दमन गरियो ?

यहाँले आन्दोलनमा घुसपैठ भयो भन्नुभयो । के यो साँचो हो ?

निश्चय नै हो । त्यो नभईकन एउटा सामान्य जेनजीले सदनमा गएर तोडफोड गर्ने थिएन । त्यो सम्पत्ति हाम्रो साझा हो । हाम्रो करबाट बनेको हो । यसको हामीलाई पनि माया लाग्छ । हाम्रो एजेन्डा सरकारलाई कुरा सुनाउने । सरकार हाम्रा कुरा सुन्न सडकमा आउनु पर्छ भन्ने हो । हामीले अनावश्यक माग राखेका छैनौं ।

कसले गरेको हो त घुसपैठ ?

यो त्यो भन्ने सक्ने अवस्था छैन । सबै थिए रे अराजक तत्व । एमाले कांग्रेसका गुण्डा र राजावादीहरूले पनि गरेको हुनसक्छ । यसैले भन्ने निधो छैन । यदि यो आन्दोलन निर्मुल पारियो भने भोलिबाट जेनजी सेलाउँछन् भनेर उनीहरुको मुख्य एजेण्डा हो । तर हामी झोलेलाई कुनै पनि हिसाबमा आफ्नो टिममा राख्दैनौँ । हामीलाई पनि परिवारको माया छ । तर ज्यानको बाजी राखेर मैदानमा गएका छौँ । मर्न तयार छौँ तर देश लुट्ने लुटाहालाई छोड्ने छैनौं । हाम्रो पुस्ता पनि पुराना नेताको मनपरीतन्त्रमा बोलेन भने देशले सधैँ दुख पाउँछ । जनता सधैँ मारमा पर्ने निश्चित छ ।

उसो भए सरकारले यहाँहरूलाई के गरेको भए आन्दोलनले उग्र रूप लिने थिएन ?

सरकार सडकमा आएर जेनजीसँग वार्ता गर्नुपर्ने थियो । तर सरकारले गरिब बाआमाको छोराछोरी खटाएर हामीलाई प्रहार गरायो । हिजो कुन हात मुख लिएर प्रहरी र सिडिओ घर गए होलान । पक्कै पनि उनीहरुलाई रगतले पोल्छ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । अझै पनि शान्तिपूर्ण गर्छौं । अराजकतर्फ लाँदैनौं । तर हाम्रो कुरा उहाँहरूले सुन्नुपर्छ । मारकाट गरेर समस्याको समाधान हुन्छ भन्ने कल्पना गर्न सकिन्न । तर सरकारले हामीलाई घुसपैठको नाममा दमन गरेर अराजकतातर्फ लगेको छ । प्रहरीका उच्च पदस्थ कर्मचारीले घटनामा आत्मसमर्पण गर्नुपर्छ । उनीहरूमाथि पक्राउ गरेर छानबिन हुनुपर्छ । यो जेनजीको माग हो ।

यहाँको कुरा सरकार डराएर गोलीको सहारा लिएको भन्ने हो ?

हो । सरकार नडराइकन गोली हान्ने आदेश दिँदैन । डराएर नै आदेश दिएको हो । आज पनि कफ्र्यु डराएर नै जारी भएको हो । देऊ न आन्दोलन गर्न के फरक पर्छ ?

उसो भए अब सरकारले के गर्नुपर्छ ?

यो घटनाको जिम्मेवारी लिएर आत्मसमर्पण गर्नुपर्छ । प्रधानमन्त्री अनुसन्धानका लागि जेल बस्नुपर्छ । यसका जिम्मेवार सबैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । वैकल्पिक सरकार बन्नुपर्छ । भ्रष्ट सरकारको काम सकियो । यी कसैले नेपाललाई माया गर्दैनन् । ओलीले त नैतिकताका आधारमा आत्मसमर्पण गर्नुपर्छ । यदि यसो भएन भने हामी घोक्र्याउन तयार छौँ । आज कफ्र्यु होला भोलि होला । सधैँ हुँदैन । पुर्खाको पालाजस्तो हाम्रो देश छैन । बरु हामी गोली थाप्न तयार छौँ । सडक आन्दोलन अब सशक्त बन्छ । यो सरकारको औचित्य सकियो । शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले हिंसा गरेको छ । हामी विद्यार्थीको पढाइ, अस्पतालका बिरामी रोकेर आन्दोलन गर्दैनौं । सरकारले यो कुरा बुझेर हामीलाई सहयोग गर्नुपर्छ । जेनजीलाई बाटो छोडेर सरकार बाहिर निस्कनुपर्छ । अब जेनजीलाई नेतृत्व गर्न दिनुपर्छ ।

नेतृत्व गर्न सकिन्छ ?

सकिन्छ । तर को र कसले गर्ने हामी सबैले सर्वमान्य बनाउँछौं । माग पूरा नभएसम्म ज्यान बाजी राखेर अगाडि बढ्ने हो । नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने हो । सरकार विफल भयो । संयन्त्र बिके । अख्तियारमा पनि घुसपैठ भयो । सबैको सम्पत्ति छानबिन हुनुपर्छ । अब जेनजी युवालाई नेतृत्व गर्न दिएर पुराना नेता भत्ता खाएर बस्नुपर्छ । यिनीहरूले खोक्दै र लौरो टेकेर देश हाँक्नु पर्दैन । यिनले जेनजीलाई अराजक हुनबाट रोक्नुपर्छ । जेनजी समूह मार्दै जाने हो भने देशमा युवा सकिन्छ । पाकाले देशले खोक्रो बनाउन हत्या गरे । अब नेतृत्वमा भएकाहरू कानुनको दायरामा आउनुपर्छ । उनीहरू अराजक भएर नियन्त्रण गर्न खोजे हामी पनि पछि हट्ने छैन ।

यो आन्दोलनले अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । उहाँहरूको अभिभावकलाई के भन्न चाहनुहुन्छ ?

यतिबेला म निःशब्द छु । रातभर सबै नेपाली सुत्न सकेका छैनन । यस कारणले जसरी बच्चाको हत्या गरेको छ सबै दोषी नेपाल सरकार हो । जिम्मा लिनुपर्छ । ओलीको छोराछोरी भए पो उनीहरूको दुख पीडा थाहा हुने थियो । छोराछोरी नभएकालाई के थाहा हुनु ? म बोल्न पनि नसक्ने भएँ । बाआमाको आँसु यिनलाई लाग्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : ४६ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका