घाइते भन्छन्- सरकार आएर फोटो खिच्छ, घाउमा मलम लगाउँदैन  « Khabarhub

जेन-जी आन्दोलनको एक महिना 

घाइते भन्छन्- सरकार आएर फोटो खिच्छ, घाउमा मलम लगाउँदैन 

अस्पतालको बेडबाट खबरदारी


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज असोज २३ गते ठिक एक महिना भयो, जब ‘जेन-जी आन्दोलन’ का नारा सडकमा गुन्जिए र गोलीहरूको आवाजले देश थरथर काँप्यो । अघिल्लो महिनाको २३ भदौ, संसद् भवन अगाडिको सडक भिड र हल्लामय थियो । रगत, नाराहरू, अनि सपना—सबै त्यहीँ बगेका थिए ।

ती दिनका साक्षी बनेका केही युवाहरू अझै पनि अस्पतालमा छन् । आन्दोलन त रोकिएको छ, तर उनीहरूको जीवन अझै अस्थिर छ । त्यो दिनहरूको पीडा अहिले चाडपर्वको बेला पनि राष्ट्रिय ट्रमा सेन्टरको वार्डभित्र जीवन्त छ ।

‘२० हजारको सहयोगले पीडा मेटिँदैन’


आन्दोलनको पहिलो दिन सम्झिँदा २१ वर्षीय सुरेश पोखरेल अझै अवाक् हुन्छन् । ‘हामी संसद् भवन छिर्ने योजना बनाउँदै थियौँ, ‘उनी सम्झन्छन्, ‘अचानक गोली लाग्यो, अनि के भयो केही थाहा नै भएन, आँखा खोल्दा म अस्पतालमा थिएँ।’

उनको तिघ्रामा गोली लागेको छ । पाँच पटक शल्यक्रिया भयो । बोल्न, हिँड्न, सास फेर्न सबै कुरा फेरि सिक्नुपरेको छ । ‘दशैंमा सबैले रमाइलो गरे, म त बेडमै बसिरहेँ, नरमाइलो लाग्यो। आमा–बुबा रोइरहनु भयो,’ उनी भन्छन्, ‘२० हजारको सहयोग पाएँ, तर त्यो त लाज छोप्न दिइएको पैसा जस्तो लाग्यो ।’

सुरेशले भने, ‘हामी माग लिएर सडकमा निस्केका हौँ, अपराधी होइनौँ । सरकार आएर फोटो खिच्छ, तर घाउमा मलम लगाउँदैन । परिवर्तन त कहाँ भयो र ? १ प्रतिशत पनि छैन ।’

तर उनको स्वरमा आक्रोश मात्र छैन, योजना पनि छ। ‘निको भएपछि सबै घाइतेहरू भेला भएर फेरि निस्कने तयारीमा छौँ,’ उनी भन्छन्, “यसपालि हामी चुप लागेर बस्दैनौँ।’

‘दुबै खुट्टा नचले पनि हृदय अझै लडिरहेको छ’
२५ वर्षीय राकेश कुमार महतो आन्दोलनको पहिलो दिनमा गोली लागेर ढलेका थिए । गोली मेरुदण्डमा लागेको असरले दुवै खुट्टा चल्न छोडे ।  ‘डाक्टरले भनेका छन्-अब उठेर हिँड्न सक्दैनौ,’ उनी भन्छन्, ‘तर मेरो मन अझै सडकमा छ ।’

यसपालीको दशैं उनीका लागि पीडाको पर्व बन्यो । ‘ममी मेरो अवस्था देखेर बिरामी हुनुभयो, दुई चोटि बेहोस हुनुभयो ।’ राकेश भन्छन्, ‘मलाई ज्यान गयो भने पनि मतलब थिएन, देश बदलियोस् भन्ने थियो। तर जुन सपना देख्यौं, त्यो त धुम्मिएको छ। परिवर्तन होइन, पुरानै चाल चल्दै छ ।’ तर अन्त्यमा उनी दृढ बन्छन्, ‘पुनः आन्दोलन भयो भने म फेरी सडकमा उत्रन्छु । फेरि गोली खानु पर्‍यो भने पनि देशका लागि तयार छु ।’

‘हामीले डर हटायौँ, तर घाउ बाँकी छ’
२५ वर्षीय मदन कार्की मिनभवन अगाडि आन्दोलनमा थिए । गोली उनको छाती र पाखुरामा लाग्यो । अहिले पनि पट्टि बाँधिएको छ, तर उनले हिम्मत हारेका छैनन् ।

दशैं उनका लागि खल्लो रह्यो । ‘घरमा टीका लगाउन पनि पाइएन, दुःख त धेरै भयो,’ उनी भन्छन्, ‘तर कम्तीमा हामीले यो देशमा युवा बोल्न सक्छन् भन्ने डर हटाएका छौँ ।’

उनको दृष्टिमा आन्दोलनले जनतालाई आफ्नो शक्ति बुझाएको छ। “अब नेपालीहरू बुझ्न थालेका छन्, देशको हकका लागि बोल्नुपर्छ,” उनी भन्छन्।

‘हात गुम्यो, तर आत्मा अझै बलियो छ’
२९ वर्षीय सञ्जीव सापकोटा झापामा आन्दोलनको दोस्रो दिन सिलिन्डर विस्फोट हुँदा उनको दाहिने हात काट्नुपर्‍यो । उनले अस्पतालमा मुस्कान बाँड्दै समय बिताउँछन् । ‘अहिले पनि फोनबाट काम गर्छु, अरू बिरामीसँग कुरा गर्छु,’ उनी भन्छन्। ‘जीवन गाह्रो छ, तर सोच सकारात्मक राख्नुपर्छ।’

सञ्जीवको शब्दहरूमा निराशा होइन, सन्देश छ- ‘शरीर अपांग भयो भनेर केही बिग्रेको छैन। मान्छे आफ्नो सोचले अमर हुन्छ। हक–हितका लागि लड्नुपर्छ। म अर्को पटक आन्दोलनमा आउन सक्छु, मैले हार मानेको छैन।’

उनी पनि वर्तमान सरकारप्रति कटाक्ष गर्न छुटाउँदैनन्, ‘देशमा परिवर्तन भएको जस्तो देखिए पनि ‘बाघको छालामा स्यालको रजाइ’ जस्तै छ । तर म मान्दिनँ कि हाम्रो बलिदान व्यर्थ भयो ।’ साँचो परिवर्तन तब हुनेछ, जब घाइतेका चिच्याहट सुन्न सक्ने सरकार बन्छ।’

संख्या भित्रको पीडा
राष्ट्रिय ट्रमा सेन्टरका अनुसार ‘जेन-जी आन्दोलन’ का क्रममा घाइते भएका १९२ जनामध्ये हाल १८१ जना डिस्चार्ज भइसकेका छन् । बाँकी ११ जना अझै पनि अस्पतालमै उपचाररत छन्। तीमध्ये कतिपयको अवस्था सुधारोन्मुख छ, तर धेरैका शरीरभित्रका घाउ र मनभित्रका डर अझै बाँकी छन् ।

पीडा, प्रतिज्ञा र उत्तरदायित्वको माग
एक महिना बित्दा राजनीतिक हल्ला र सार्वजनिक बहस जति भए पनि, ट्रमा सेन्टरका ती बेडहरूमा बसिरहेकाहरूको यथार्थ अपरिवर्तित छ। उनीहरूको शारीरिक घाउले समय माग्छ; तर उनीहरूको आवाजले तत्काल जवाफ र ठोस कदमको माग गर्छ ।

यी जवानहरूको कथाले स्पष्ट गर्छ, बलिदान केवल एउटा नारा होइन; त्यो राज्य र समाजका लागि प्रत्यक्ष जिम्मेवारी हो। अब चाहिएको छ-वचन मात्र होइन, व्यवहार। र त्यो व्यवहार नदेखिए, ती आवाजहरू फेरि सडकमा सुनिनेछन्।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : ४६ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’