सञ्जालले उठेका बालेनलाई सञ्जाल नै गलपासो  | Khabarhub Khabarhub

सञ्जालले उठेका बालेनलाई सञ्जाल नै गलपासो 

लाखबाट हजारमा झर्दैछ बालेन क्रेज 



काठमाडौं– राजनीतिक दलहरूप्रतिको चरम निराशाले जन्मिएका पात्र हुन्– बालेन शाह । स्वतन्त्र भएकै कारण उनी लोकप्रिय रहे । २०७९ को स्थानीय तहको निर्वाचनमा उनी राजनीतिक दलहरूलाई पाखा लगाएर काठमाडौंको मेयर बन्न सफल भए । 

कांग्रेसबाट गणेशमान सिंहकी बुहारी सिर्जना सिंह र नेकपा एमालेबाट केशव स्थापित जस्ता उम्मेदवारलाई चुनावमा हराउनु चानचुने थिएन । तर एकै व्यक्ति आजीवन पदमा रहिरहने अभ्यासले राजनीतिक दलहरुप्रति नागरिकमा वितृष्णा बढेको थियो । त्यही आक्रोशलाई बालेनले अवसरको रुपमा प्रयोग गरे । 

२०६२-६३ जनआन्दोलनपछि जनताले देशमा सुशासन रहने आशा राखेका थिए । तर भ्रष्टाचार र राजनीतिक अस्थिरताले नै निरन्तरता पायो । एक वर्ष सरकार टिक्न मुस्किल बन्यो । गठबन्धन गरेर पालैपालो यिनै नेताहरू दोहोरिए । यसको विकल्प खोजिरहेको बेलामा बालेन उदाए । 

महानगरवासीले राजनीतिक दल असफल भएको भन्दै स्वतन्त्र बालेनलाई समर्थन गरे । बालेन कुनै राजनीतिक पृष्ठभूमिका व्यक्ति थिएनन् । उनी इन्जिनियर तथा र्यापर थिए । युवापुस्तामाझ एक र्‍यापर ब्याटलका रुपमा उनले परिचय स्थापित गरेका थिए । 

बालेनले चुनावी अभियान सामाजिक सञ्जालमार्फत चलाए । प्रविधिको उच्चतम् प्रयोग गरी देश तथा विदेशबाट समर्थन जुटाए । छोटो समयमै उनले सञ्जालमा सर्वाधिक फ्लोअर कमाउन सफल भए । दशकौँ राजनीति गर्दै आएका पार्टीका शीर्ष नेतादेखि दोस्रो पुस्ताका लोकप्रिय नेताहरूलाई समेत पछि पार्दै बालेन सञ्जालमा फ्लोअर बढाउन सफल भए । 

राज्यको अभिभावकत्व लिन एक स्वतन्त्र व्यक्तिले पनि सक्नेरहेछ । अथवा दलभित्रको खिचातानीमा नबसी पनि राजनीति गर्न सकिने सन्देश दिन उनी सफल भए । काठमाडौंको प्रमुख समस्या फोहोरमैला व्यवस्थापन र फुटपाथ थियो । उनी मेयर भएसँगै सबैभन्दा पहिले यिनै कुराहरूको व्यवस्थापनमा जुटे । 

काम गर्दै जाँदा केही आलोचना भएपनि बालेनलाई वैकल्पिक नेताको रुपमा धेरैले मान्न थालेका थिए । एक स्थानीय तहको प्रमुख भईकन पनि उनले शीर्ष दलका नेताहरूको उछितो काढ्थे । सरकारविरुद्ध आगो ओकल्थे । कहिले सिंहदरबार जलाइदिने त कहिले टुकुचा खोलामा गाड्ने धम्की दिन्थे । 

बालेनले लेखेको एक स्टाटस बिजुलीको करेन्ट सरह प्रवाह हुन्थ्यो । जसले सरकारको ढोका ढकढक्याउने साहस राख्थ्यो । एकै मिनेटमा हजारौं लाइक, कमेन्ट र सेयर हुन्थ्यो । र त्यसमा करिब ९९ प्रतिशतले उनलाई समर्थन जनाएका हुन्थे ।सरकार विरुद्ध लेख्न र बोल्न सक्ने उनको हिम्मतलाई धेरैले मन पराएका थिए । 

राजनीतिक दलहरूको भविष्य सकिएको र अब बालेन चरित्रले नै देशभर एकछत्र राज गर्ने विश्वास युवापुस्ताले लिएको थियो । कतिपयले उनलाई देशलाई संकटमोचकका रुपमा व्याख्या गरेका थिए । सामाजिक सञ्जालमा उनको विरुद्ध कसैले आलोचना गर्दैनथे । जे गर्छन् बालेनले गर्छन् भन्ने थियो । 

आलोचक लगभग शून्यमा जस्तै थियो । समर्थकको सङ्ख्या यति जुटेको थियो कि बालेनको विरुद्धमा लेखेर बोल्नेलाई सञ्जालमै सक्काइन्थ्यो । दोस्रोपटक उनको विरुद्धमा बोल्न नसक्ने बनाइन्थ्यो । तर समय सँधै एकै रहेन । भदौ २३ जेन–जीले गरेको विरोध प्रदर्शनलाई नैतिक रुपमा समर्थन गरेका बालेन एकाएक आलोचित हुन पुगे । 

 भ्रष्टाचार र राजनीतिक नियुक्ति विरुद्धको आन्दोलनमा आफू जेन–जी नरहेको कारण भौतिक उपस्थिति जनाउन नसके पनि नैतिक रुपमा समर्थन रहेको उनले स्टाटस लेखेका थिए । जेन–जीहरुले पनि आफूहरूको आन्दोलन शान्तिपूर्ण गर्ने तयारीका साथ आएका थिए । तर घुसपैठ भएपछि आन्दोलनको स्वरुप नै परिवर्तन भयो । 

जसको अनुमान जेन–जीले गरेकै थिएन । आन्दोलनको पहिलो दिन २१ जना युवा सडकमा गोली लागेर ढले । त्यसपछि दोस्रो दिन अर्थात् भदौ २४ गते संसद् भवन, सिंहदरबार, अदालत ध्वस्त बनाइयो । जेन–जी आन्दोलन हाइज्याक भएको भान भएपछि उनीहरूले बालेनलाई नेतृत्व सम्हाल्न आग्रह गरे । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राजिनामा दिएलगत्तै सरकार ढल्यो । तर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्नेबाहेक दायाँबायाँ गरेनन् । त्यसयता उनको लोकप्रियता घट्दो क्रममा छ । सामाजिक सञ्जालले बनाएको नायकलाई अहिले सञ्जालले नै ‘किरो’ बनाउने स्थितिमा छ । 

उनीमाथि आशा गरेका युवाहरू आक्रोशित छन् । हिजो उनको पोस्टमा एक मिनेटमा पाँच हजार लाइक आउने स्थिति हजारमा झरेको छ । प्रशंसा गालीमा परिणत भएको छ । 

हिजो ‘आइ एम विथ बालेन’ लेख्ने आयुषा कँडेल आज लेख्छिन् – आफूविरुद्ध जाहेरी परेपछि बोलेर हुन्छ ? रगत व्यवस्थापनमा रेडक्रससँग सहकार्य गरेर हामी मानव अधिकार संगठनले नि गरेका छौं । 

अर्को सुसन घिमिरे लेख्छन् यो गजेडी प्रमुख कारक हो विध्वंसको ।  हिजोको ताली आज गालीमा परिणत भएको देख्दा बालेनको ओरालो यात्रा सुरु भएको देखिन्छ । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : ५९ बजे

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो, भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाहक बनेर आएको छ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै