चुनावसँग किन हच्किए कांग्रेस- एमाले ? | Khabarhub Khabarhub

चुनावसँग किन हच्किए कांग्रेस- एमाले ?

माओवादी र रास्वपा ढुक्क



काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचनको मिति तोकेपछि हौसिएका दलहरू पछिल्लो समय हच्किएका छन् । अन्तरिम सरकारले भटाभट जेन-जी पुस्तासँग मात्रै संवाद गरेर काम सुरु गरेपछि पुराना दलहरू आफूसँग संवाद नै नभएको भन्दै हच्किएका हुन् । 

मुख्यतः दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सरकार पक्षले दलहरूसँग वार्ता नगरी निर्वाचनको मिति घोषणा गरेको विषयमा चित्त दुखाइरहेका छन् । देशभरका कारागारबाट कैदी बन्दी भागेका र जेन-जी आन्दोलनमा अराजक गतिविधि गर्नेलाई सरकारले पक्राउ नगरेकोप्रति ठूला दलको आपत्ति रहँदै आएको छ ।  

नेपाली कांग्रेस र नेकपा एमालेले देशमा अझै भय र त्रासपूर्ण वातावरण भएकाले समयमा निर्वाचन नहुने भन्दै चुनावको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । पार्टी नेतृत्व चरम अलोकप्रिय रहेको अवस्थामा चुनावमा जानु आत्मघाती हुने विश्लेषणमा पुगेका उनीहरूको रोजाइ संसद् पुनर्स्थापना रहेको छ । 

त्यसका लागि अदालत जाने दुवै पार्टीको आन्तरिक तयारी छ । कांग्रेसको संस्थापन पक्षधर नेताहरू अदालत जाने तयारीमा रहेको खुलेआम बताउन थालेका छन् । शेखर कोइराला पक्षधर भने केही बोलेका छैनन् । 

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले खबरहबसँग अदालतको ढोका ढकढक्याउने तयारी रहेका बताएका छन् ।  तर कांग्रेसकै कोइराला पक्षका नेता धनराज गुरुङले भने जेन-जी पुस्ताको माग सम्बोधनको विषय अहिले पहिलो प्राथमिकतामा रहेको बताए ।  

गुरुङले जेन-जीले उठाएका तीन वटा मुख्य एजेन्डा महत्त्वपूर्ण रहेको बताउँदै संविधान संशोधनको विषय अगाडि नबढेसम्म निर्वाचन असम्भव रहेको तर्क गरे ।

नेकपा एमालेका पूर्व प्रमुख सचेतक महेश बर्तौला सरकारको संवैधानिकताप्रति प्रश्न उठाउँदै प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने तयारीमा रहेको बताउँछन् ।  भयरहित अवस्था रहेको खण्डमा मात्र आफूहरू निर्वाचनमा सहभागी हुने बताउँदै यसका लागि सरकार क्रियाशील हुनुपर्ने तर्क गर्छन् । 

दुई ठूला दलले यस्तो अड्डी लिए पनि नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने समयमै निर्वाचन गराउन सरकारलाई दबाब दिइरहेका छन् । खबरहबसँगको कुराकानीमा यी दुवै दलका नेताहरूले कुनै पनि हिसाबमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आफूहरू अदालत नजाने स्पष्ट गरे ।  

जेनजीको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : धनराज गुरुङ, उपसभापति नेपाली कांग्रेस 
हामी निर्वाचनमा सहभागी हुने कुरामा द्विविधा छैन । तर कुरा के हो भने निर्वाचनले मुलुकमा देखा परेको समस्या समाधान गर्छ कि गर्दैन भन्ने विषय मुख्य हो । जेनजी पुस्ताले उठाएका मागहरू निर्वाचनले सम्बोधन गर्छ कि गर्दैन मुख्य विषय हुनुपर्छ भन्ने मलाई लाग्छ । 

निर्वाचन हुन्छ कि हुँदैन माहौल छ कि छैन भनेर पार्टीले हेर्नुभन्दा पहिले संविधान संशोधन  आवश्यक छ । अब संविधान संशोधन गर्ने बाटो के हो त्यो विषयमा पनि छलफल गर्ने बेला हो ।
 
कांग्रेस– एमाले सरकार बन्दा पनि संविधान संशोधनकै विषय पहिलो एजेन्डा थियो । त्यो सम्झौता सिराने हालेर सत्ताको सयर गर्दा यो प्रतिकूल अवस्था आएको हो । यसलाई हामीले कमजोरीका रूपमा स्विकार्नुपर्छ । तर अहिले जेन-जी पुस्ताले उठाएको मागको सम्बोधन आगामी फागुन २१ गतेको निर्वाचनले गर्छ भन्ने मलाई पटक्कै लाग्दैन । 

उहाँहरूले उठाएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संघीयताको खारेजी र ०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन मध्ये तेस्रो नम्बरको विषय लेनादेनामा सम्बोधन होला । हामीले गर्नुपर्ने न्यूनतम काम पनि गरेका छैनौँ । यो विषयमा ०८० सालमा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेको हो । जेन-जी पुस्ताले उठाएको मागको सम्बोधन आउने निर्वाचनले गर्दैन भन्ने ठहर छ । यो विषय कांग्रेस बैठकमा छलफल हुन्छ । 

जेन-जी पुस्ता एक ढङ्गले अगाडि बढ्न खोज्यो र हामी पनि एक ढङ्गले अगाडि बढ्न खोज्यौँ भने थप गृहयुद्ध निम्त्याउँछ । देश द्वन्द्वतर्फ धकेलिन्छ । देशलाई कुनै र कुनै ढङ्गबाट द्वन्द्वमै लैजानको लागि देशी विदेशी शक्तिहरू लागेको अवस्थामा हामी गम्भीर हुन आवश्यक छ । रियल जेन-जी पुस्ता जो छ, उनीहरूसँग बसेर वार्ता गरेर संसद् पुनर्स्थापनाको माध्यमबाट उहाँहरूको माग सम्बोधन गर्न सकिने हो भने मात्र त्यो बाटो जान सकिन्छ । हामीले त समस्याको समाधान गर्ने हो । रियल जेन-जी पुस्ताको लिडरसिपसँग वार्ता गरेर जानुको विकल्प छैन । 

होइन थप जटिल तरिकाले जानुपर्ने हो भने ०६२, ०६३ को मोडलमा पनि जान सकिन्छ । यसबारे पनि छलफल गर्नुपर्छ । 

सरकारमा निर्वाचन गर्ने मनसाय छैन : महेश बर्तौला  पूर्व प्रमुख सचेतक, एमाले
पहिलो कुरा  एमाले जनताका बीचमा परीक्षण हुने कुरा स्वीकार गर्छ । निर्वाचनमा सहभागी हुन्छौँ । हामीलाई निर्वाचन फेस गर्न गाह्रो छैन । अन्तरिम सरकार अवैधानिक मात्र हैन, असंवैधानिक छ ।

त्यही सरकारले निर्वाचन गराउने भनेर फागुन २१ गतेको मिति तोकेको छ । यो सरकार विशिष्ट परिस्थितिमा जन्मिएको हो । यो संवैधानिक हो होइन भन्ने कुराको परीक्षण निकायबाट हुँदै जाला तर अहिलेको सरकारको गतिविधि हेर्दा निर्वाचन भइहाल्ने अवस्था छैन । 

अहिले पनि समाजमा भय, त्रास र अन्योल कायमै छ । अहिले सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल विभिन्न बहाना बनाएर सत्तामा रहिरहन सकिन्छ कि भन्ने खेलमा हुनुहुन्छ । अहिलेसम्म राजनीतिक पार्टीसँग निर्वाचनको बेलामा छलफल समेत भएको छैन । सरकारले दलहरूसँग कुनै छलफल गरेको छैन । 

तेस्रो कुरा के हो भने एकातिर देश निर्वाचनतिर जाँदैछ भन्ने तर गृह प्रशासन लगाएर विभिन्न खालका कृत्रिम मुद्दा खडा गरेर दलका नेता बदनाम गर्ने काम भइरहेको छ । नेताहरूलाई गिरफ्तार गर्छु , आजै गर्छु भन्ने गरिएको छ । यस हिसाबको धम्क्याउने कर्मले  के देखाउँछ भने निर्वाचन गर्न सरकार तयार छैन । 

चौथो कुरा  झन्डै अहिलेकै सरकारको रेकर्डमा पनि ११ सय १२ सय हातहतियार  कहाँ छन् ? झन्डै १ लाख ९० हजार गोली बाहिर छन् । तिनीहरूको अवस्था के छ ? शान्ति सुरक्षाको अवस्था कस्तो छ भने कैदी बन्दीहरू भागेका छन् । यो अवस्थामा दलहरूले जनताका बीचमा आफ्ना एजेन्डा सहज रूपमा राख्ने वातावरण सरकारले बनाउँछ कि बनाउँदैन ? मतदाताले ढुक्क भएर मतदान केन्द्रमा पुगेर भोट हाल्ने अवस्था छ कि छैन ? यो समग्र दृश्य हेर्दा अहिलेको सरकारले केही पनि गर्दैन । डर त्रास देखाएर मुलुकलाई फेरि पनि अराजकतातिर लान खोजिरहेको छ । 

हाम्रो कुरा के हो भने निर्वाचनबाट एमाले भाग्दैन तर यो सरकारले निर्वाचन गराउँदैन । निर्वाचन गराउने मनसायबाट सरकारका क्रियाकलापहरू अगाडि बढिरहेका छैनन् । खासमा गृहमन्त्रीले नै निर्वाचनको वातावरण बिथोलिरहनुभएको छ । 

पहिला सरकारले ढुक्क भएर राजनीति गर्ने वातावरण बनाओस् । दलहरूसँग छलफल गरोस् । सरकारले न्यूनतम कर्तव्य पूरा गर्नुपर्छ । यसको मतलब हामी चुनावबाट डराएका होइनौँ । तर विधि, तिथि बसाउन प्रतिनिधि सभा पुनः स्थापना तिर पनि हामी जान्छौँ । हामी जोसुकैसँग निर्वाचन लड्न तयार छौँ । 

निर्वाचनको विकल्प छैन : पम्फा भुसाल, उपाध्यक्ष माओवादी केन्द्र 
निर्वाचनमा सहभागी हुने कुरामा हामी कन्फिडेन्स छौँ । तोकिएको मितिमा स्वच्छ निष्पक्ष ढङ्गले निर्वाचन हुनुपर्छ । सरकार निर्वाचनको माहौल बनाउन लाग्नु पर्छ । अहिलेसम्म कसैसँग वार्ता गरेको छैन । मतदाता नामावलीमा नाम लेखाउन अध्यक्ष प्रचण्डले आव्हान गरिसक्नु भएको छ । निर्वाचनमा हामी कुनै बहाना नगरी जान्छौँ । 

हामी अहिले सरकारको धेरै कमेन्ट गर्ने पक्षमा छैनौँ । किनकि यो सरकार जटिल परिस्थितिमा निर्वाचन गराउन बनेको सरकार हो । सरकारले अरूतिर हात हाल्नु भनेको निर्वाचन नहुनु हो । जिल्ला प्रशासनले शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्नुपर्छ । सरकार अरू कुरामा दायाँ–बायाँ लाग्न हुँदैन । 

हामी प्रतिनिधि सभा ब्युँताउनभन्दा निर्वाचन गराउन नै जोडबल गर्ने पक्षमा छौँ । चुनाव समयमा भएन भने मात्र प्रतिनिधि सभा पुन स्थापनातिर लाग्छौँ । हामी पार्टी एकतासहितको महाधिवेशन गरेर नयाँ विचारसहित निर्वाचनमा होमिन्छौँ । 

शीर्ष नेताले अवकाश लिने कानुनपछि चुनाव : डा.चन्दा कार्की नेता, राष्ट्रिय स्वतन्त्र पार्टी 
निर्वाचनमा सहभागी हुन्छौँ । देश यस्तो विध्वंसबाट गुज्रिएको छ । अस्थिरताबाट गुज्रिएको छ । त्यसको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्छ । तर जे भइसक्यो गएको कुरालाई रोएर भएन । अब मुलुकलाई कसरी जोगाउने अगाडि कसरी लिएर जाने भन्ने सोच हो ।

रास्वपा जेन-जीले उठाएको मुद्दा उठाएर तीन वर्षदेखि लडेको हो । कसैको रगत नबगोस् भनेर निलो क्रान्ति गरेर आएको हो । तर पुराना राजनीतिक दलले यो कुरा सुनेनन् । यत्रो रगत बगेको छ । कलिला देशका कर्णधारहरूको रगत बगेको छ । यो गम्भीर कुरा हो । अहिले पनि मान्छेलाई चेत आएको छैन । 

अब ठूला दलका शीर्ष नेताले राजनीतिक अवकाश लिने कानुन बनाएर निर्वाचन हुनुपर्छ । हामी सबैसँग निर्वाचन फेस गर्न तयार छौँ । देशको लागि विधिको शासन अनिवार्य हो । देश चल्ने त विधिबाट नै हो । अति भएका कारण जेन-जीले यो गरेका हुन् । निर्वाचन नै मुख्य कुरा हो । चुनावलाई हामी सबैले सहयोग गर्नुपर्छ ।  

रास्वपाले अदालत जाने भनेर केही निर्णय गरेजस्तो मलाई लाग्दैन । अदालत जाने त सबै नेपालीको अधिकार हो । राजनीतिक दल जान्छ भने जान्छ । अदालतले पक्कै न्याय दिन्छ । अदालत जाने अधिकार लोकतन्त्रमा सबैको हुन्छ । तोकिएकै समयमा निर्वाचन होस् । हामी जो नेता जहाँ भए पनि निर्वाचन फेस गर्छौँ । लोकतन्त्र बचाएर देश चलाउनुपर्ने छ । सबै मिलेर नेपाललाई जोगाउनु पर्छ । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : १७ बजे

माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक

काठमाडौं– हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा

कीर्तिपुरका किसानलाई धान सुकाउने चटारो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो परेको छ । जेठको अन्तिम

भारतद्वारा सन् २०२७ का लागि डिजिटल जनगणनाको तयारी सुरु

नयाँ दिल्ली– भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको

फागुन २१ को चुनावमा बहुमत ल्याउने रास्वपाको योजना अर्याल भन्छन् : योग्य नेतृत्व भए सम्भव छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मुख्य अर्जुनदृष्टि फागुन २१ को

प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ।