चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरूको कति ? « Khabarhub

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरूको कति ?


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ । 

कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन् । 

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार चलचित्र परानले करिब १७ करोड रुपैयाँको व्यापार गरेको छ । 

गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा १६ करोड  ९७ लाख ९३ हजार ३५४ रुपैयाँको व्यापार गरेको छ । बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । 

‘चलचित्र परानलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिनुभएको छ, यो हाम्रै समाजको कथा हो’, निर्देशक आचार्यले भने । 

नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रका लागि हालसम्म पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । 

साथै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएका चलचित्र ‘जेरी अन टप’ ले तीन लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै रु १२ करोड २६ लाख छ हजार २४० को व्यापार गरेको छ । 

अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।  

कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले दुई लाख सात हजार ७१४ टिकट बिक्री गरी रु छ करोड २३ लाख ६९ हजार २०० रुपैयाँको व्यापार गरेको छ ।

दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङलगायतकका कलाकारले अभिनय गरेको उक्त चलचित्रमा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ । यो चलचित्र गत कात्तिक २१ गतेदेखि प्रदर्शनरत छ । 

बाल गायकका रुपमा परिचित भएका अशोक दर्जीको जीवनीमा आधारित रहेर तयार गरिएको चलचित्र ‘मनबिनाको धन’ ले सोही अवधिसम्म रु तीन करोड ७९ लाख दुई हजार ८७९ को व्यापार गरेको छ । 

टङ्क बुढाथोकीले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि हालसम्म एक लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन् । गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा गायक दर्जीसँगै नीता ढुङ्गाना, सरोज खनाल, एआर बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् । 

यही मङ्सिर १२ गतेदेखि प्रदर्शनरत चलचित्र ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा रु २८ लाख दुई हजार ३४६ को व्यापार गरेको छ । एकता पौडेलले निर्देशन गरेको उक्त चलचित्रका लागि आठ हजार ४३६ वटा टिकट बिक्री भएका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : ५४ बजे

चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

बेइजिङ– चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको

पाकिस्तानमा भएको आक्रमणमा, छ जनाको मृत्यु, छ घाइते

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतङ्ककारीहरूले सुरक्षा फौज

दूरसञ्चार, अर्थतन्त्र र डिजिटल भविष्य

नेपालमा दूरसञ्चारको इतिहास एक शताब्दीभन्दा लामो छ। प्रविधिको विकाससँगै मोबाइल

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू)

काठमाडौं– आज डिसेम्बर ९, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ।  सो अवसरमा ट्रान्सपरेन्सी

पानी बोकेरै जवानी गयो…

कालिकोट– देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविच्छिन्न बगिरहेको छ