अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल २ का दिन घोषणा गरेको भन्सार महशुल स्थगित गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि घोषित भन्सार महशुल ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका हुन् ।
यसअघि ट्रम्पले गत अप्रिल २ का दिन विभिन्न मुलुकका सामानमा १० देखि ५० प्रतिशतसम्म भन्सार महशुल वृद्धिको घोषणा गरेका थिए । ट्रम्पले नेपाल, बेलायत, ब्राजिल सिंगापुर, अस्ट्रेलिया, टर्कीजस्ता केही देशका सामानमा न्यूनतम १० प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेका थिए भने चिनियाँ सामानमा ३४ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए ।
त्यस्तै उनले युरोपेली युनियन (ईयू) का सामानमा २० प्रतिशत, भियतनाम ४६ प्रतिशत, ताइवान ३२ प्रतिशत, जापान २४ प्रतिशत, भारत २६ प्रतिशत, बंगलादेशका सामानमा ३७ प्रतिशत भन्सार शुल्क बढाउने घोषणा पनि गरेका थिए । यद्यपि ट्रम्पले बुधबार एकाएक चीनबाहेक सबै ‘पारस्परिक’ भन्सार शुल्क तीन महिनाका लागि स्थगन गर्ने घोषणा गरेको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।
अरु सबै मुलुकमा यसअघि घोषित भन्सार शुल्क १० प्रतिशत हुने नयाँ घोषणामा उल्लेख छ । त्यसैगरी, क्यानाडा र मेक्सिकोका सामानमा लाग्दै आएको यसअघि घोषित २५ प्रतिशत भन्सार महशुल भने कायमै रहने सीएनएनले जनाएको छ।
ट्रम्पले चिनियाँ सामानमा भने यसअघि लाग्दै आएको १ सय ४ प्रतिशत भन्सार शुल्क बढाएर १ सय २५ प्रतिशत पुर्याउने पनि घोषणा गरेका छन् । चीनले पनि अमेरिकी सामानमा भन्सार शुल्क वृद्धि गरेपछि ट्रम्पको यस्तो घोषणा आएको हो ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल सामाजिक सञ्जालमा लेखेका छन्– ‘‘चीनले विश्व बजारप्रति सम्मान नदेखाएको आधारमा म यसै घोषणाद्वारा अमेरिकाले चीनमाथि लगाउने भन्सार महशुल बढाएर तत्कालै लागू हुनेगरी १ सय २५ प्रतिशत पुर्याउँदछु । कुनै समयमा, आशा गरौँ निकट भविष्यमा नै, अमेरिका र अरु मुलुकबाट फाइदा उठाउने कार्य दीगो र स्वीकार्य छैन भन्ने चीनले बुझोस् ।’’

ट्रम्पले भन्सार महशुल वृद्धिको घोषणापछि ७५ भन्दा धेरै देशले अमेरिकी व्यापारिक प्रतिनिधिसँग सम्पर्क गरेको पनि जानकारी दिएका छन् । उनले ट्रुथ सोसलमा लेखेका छन्– ‘‘(चीनका) विपरीत ७५ भन्दा धेरै देशहरुले वाणिज्य, अर्थ मन्त्रालय र अमेरिकी व्यापारिक प्रतिनिधिसँग व्यापार, व्यापारिक व्यवधान, भन्सार महशुल, मुद्रा हेरफेर र गैरमौद्रिक भन्सारको समाधानका लागि वार्ता गर्न सम्पर्क गरेका छन् र मेरो दृढ सल्लाह अनुसार यी मुलुकहरुले कुनै मार्ग, आकार वा अवस्थामा अमेरिकाविरुद्ध प्रतिकार गरेका छैनन्, मैले ९० दिनको स्थगन र यस अवधिका लागि तत्काल लागू हुनेगरी उल्लेखनीय रुपमा कम, १० प्रतिशत पारस्परिक भन्सार महशुल घटाएको घोषणा गर्दछु । यस विषयमा तपाईँले ध्यान दिनुभएकोमा धन्यवाद ।’’
ट्रम्पले यस्तो घोषणा गर्नुअघि ‘के गरिरहेको छु भन्ने आफूलाई राम्रोसँग थाहा भएको’ टिप्पणी गरेका थिए । आफूसँग वार्ता गर्न विश्वका नेताहरु ‘मेरो नितम्ब चुमिरहेको’ उनको भनाइ थियो । नेशनल रिपब्लिकन कंग्रेसनल कमिटिको सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए– ‘‘मेरो विचारमा यसपाली हामी अझ राम्रो गरिरहेका छौँ… यी मुलुकहरुले हामीलाई सम्पर्क गरिरहेका छन्, मेरो नितम्ब चुमिरहेका छन् । उनीहरु हामीसँग सहमती गर्नका लागि मर्न खोजिरहेका छन्…. ‘हामी जे गर्न पनि तयार छौँ हजुर’ भनिरहेका छन् ।’’
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने पछिल्लो कदमको बचाउ गर्दै यसलाई ‘ट्रम्पको रणनीति’ का रुपमा अथ्र्याएका छन् । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अर्थमन्त्री बेसेन्टले ‘राष्ट्रपति ट्रम्पले व्यापारिक छलफलका क्रममा आफ्नो पक्षमा उच्चतम सकारात्मक नतिजा ल्याउने रणनीति अपनाएको’ टिप्पणी गरेका थिए ।
भन्सार महशुल वृद्धि गर्ने घोषणाबाट पछि हट्ने ट्रम्पको निर्णयमा तीन वटा प्रमुख कारक छन् । अमेरिकी समाचार पोर्टल एक्सियोसका अनुसार पहिलो कारक विभिन्न मुलुकहरुले दिएको प्रतिक्रिया हो । ट्रम्पको घोषणापछि अर्थमन्त्री बेसेन्ट र वाणिज्यमन्त्री होवार्ड लुटनिकलाई विभिन्न मुलुकका प्रतिनिधिले वार्ता गर्न तारन्तार फोन गरिरहेका थिए । एक्सियोससँगको कुराकानीमा एउटा स्रोतले पछिल्लो घटनाक्रमको वर्णन गरेको छ– ‘‘यी सबै महान् देशहरु हाम्रो साथमा छन् । ती सबै यहाँ आउन र वार्ता गर्न चाहन्छन् । हामी कसरी यस्तो गर्न सक्छौँ ?’’
ट्रम्प पछि हट्नुको अर्को कारक हो– चीनको प्रतिक्रिया । ट्रम्पको घोषणापछि चीनले पनि अमेरिकी सामानमा भन्सार शुल्क वृद्धिको घोषणा गर्यो । अमेरिकी सामानमा पनि भन्सार शुल्क वृद्धि गर्ने चीनको घोषणालाई ट्रम्प र उनका निकटस्थहरुले अरु देशहरुलाई अमेरिकाले मित्रवत व्यवहार गर्ने संकेत दिने अवसर प्रदान गर्यो । ट्रम्प प्रशासनका एक जना अधिकारीले एक्सियोसलाई भनेका छन्– यो ‘‘चीनको वरिपरी घेरा हाल्ने र उसलाई एक्ल्याउने’’ प्रयास हुनेछ ।
ट्रम्पको पछिल्लो कदमको अर्को महत्वपूर्ण कारक हो– बजार । भन्सार शुल्क वृद्धि गर्ने घोषणापछि विश्वका शेयर बजारमा पहिरो गयो । लाखौँ लगानीकर्ताले दशौँ खर्ब डलर गुमाए । शुरुवाती केही दिन ट्रम्पले गिर्दो शेयर बजारले आफूलाई केही फरक नपार्ने बताउँदै आएका थिए । तर, अमेरिकी ऋणपत्र बजारमा देखिएको समस्या र डलरको गिर्दो मूल्यलाई बेवास्ता गर्न असम्भव थियो । मैत्रिपूर्ण सम्बन्ध भएका विश्व नेताहरु, कंग्रेसका साझेदारहरु र मुख्य सहयोगी तथा विभिन्न ठूला कम्पनीका प्रमुख कार्यकारीहरुले भन्सार महशुल वृद्धि ‘स्थगन गर्न वास्तवमै भिख मागिरहेका थिए ।’ अर्का अधिकारीले एक्सियोससँग भने ।
भन्सार महशुल स्थगनको घोषणाभन्दा अघि विश्व बजार गुमराहमा रहेका बेला ट्रम्पले ट्रथ सोसलमा लेखेका थिए– ‘‘यो (शेयर) किन्ने धेरै उत्तम समय हो !!! डीजेटी ।’’ अमेरिकाको नाज्डाक परिसूचकमा ट्रम्पको स्वामित्वमा रहेको ट्रम्प सोसल कम्पनीले ‘डीजेटी’ का नाममा कारोबार गर्दै आएको छ । सीएनएनका अनुसार यो ‘ट्रुथ सोसल’ को माउ कम्पनी हो । उक्त कम्पनीको शेयर यस महिनामात्रै १३ प्रतिशतले ओरालो लागेको सीएनएनले जनाएको छ । तर, ट्रम्पले शेयर किन्ने उत्तम समय हो लेखेर पोस्ट गरेपछि भने यस कम्पनीको शेयरमा बुधबारमात्रै २० प्रतिशतले वृद्धि भएको छ । धेरैले यसलाई ट्रम्पले आफूलाई फाइदा हुनेगरी शेयर बजार प्रभावित बनाउन खोजेको भनेर आलोचना पनि गरिरहेका छन् ।
यसैबीच वृद्धि भएको भन्सार महशुल स्थगन भएसँगै युरोपले पनि केही अमेरिकी सामानमा लगाउने भनिएको २५ प्रतिशत पारस्परिक भन्सार शुल्क तत्कालका लागि रोक्ने भएको छ । यसअघि युरोपले पनि अमेरिकी एल्मुनियम र स्टिलमा समान २५ प्रतिशत भन्सार महशुल वृद्धिको घोषणा गरेको थियो । ट्रम्पले मार्चमा घोषणा गरेको एल्मुनियम र स्टिलको सामानमा २५ प्रतिशत भन्सार महशुल वृद्धिको विरुद्धमा युरोपले यस्तो घोषणा गरेको थियो ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले अमेरिकी एल्मुनियम र स्टिलका सामानमा लगाइने भनिएको २५ प्रतिशत भन्सार महशुल ९० दिनका लागि स्थगन गरिएको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्– ‘‘हामी वार्तालाई मौका दिन चाहन्छौँ ।’’ उनले वार्तामा सन्तोष नभएमा प्रतिकारलाई कायमै राख्नेसमेत चेतावनी दिएकी छिन् ।
जे होस् वृद्धि भएको भन्सार शुल्क १० प्रतिशत कायम रहनेगरी ९० दिनका लागि स्थगन गर्ने ट्रम्पको घोषणाले विश्वभरका प्रमुख शेयर बजारमा उत्साह देखिएको छ । बुधबार अमेरिकी शेयर बजार डाउ जोन्समा ७.८७ प्रतिशतले वृद्धि भएको छ भने एसएण्डपी ५०० ९.५ प्रतिशतले बढेको छ । प्रविधि कम्पनीको दबदबा रहेको नाज्डाक भने १२.२ प्रतिशतले बढेको छ । त्यसैगरी, जापानको निक्के २२५ पनि ७ प्रतिशत र दक्षिण कोरियाको कोप्सी ५ प्रतिशतले बढेर खुलेको छ । केही दिनअघिमात्रै शेयर बजारमा पहिरो गइरहेका बेला ट्रम्पको घोषणाले लगानीकर्ताहरुलाई केही राहत मिलेको छ ।
पछिल्लो समय अमेरिकासँग पूर्णस्तरको भन्सार युद्ध चलिरहेको अवस्थामा चीनले भने एकपछि अर्को क्रुद्ध प्रतिक्रिया दिँदै आएको छ । बुधबारमात्रै चीनले अमेरिकाबाट आफ्नो मुलुकमा आउने सबै सामानमा भन्सार महशुल वृद्धिको घोषणा गरेको थियो । चिनियाँ राज्य परिषद अन्तर्गत भन्सार आयोगले अप्रिल ८ का दिन अमेरिकाले भन्सार शुल्क ३४ प्रतिशतबाट ८४ प्रतिशत पुर्याएको भन्दै प्रतिक्रियास्वरुप सबै अमेरिकी सामानमा उत्तिनै शुल्क लगाउने घोषणा गरेको थियो । आयोगले विज्ञप्ति जारी गर्दै चीनमाथि एकपछि अर्को भन्सार महशुल वृद्धि गरेर अमेरिकाले ‘गल्तीमाथि गल्ती’ गरिरहेको टिप्पणी गरेको थियो ।
आयोगले अमेरिकी कदमबाट चीनको वैधानिक अधिकार र हितको उल्लघंन भएको भन्दै विधिमा आधारित अन्तर्राष्ट्रिय व्यापारिक प्रणालीमा गम्भीर क्षति पुग्ने चेतावनी समेत दिएको थियो । यसअघि पनि चीनले अमेरिकी भन्सार महशुल वृद्धिको विरुद्धमा ‘अन्त्यसम्म लड्ने’ दृढता जनाएको थियो । यसबाहेक चीनले अमेरिकाका १२ वटा कम्पनीलाई ‘निर्यात नियन्त्रण’ सूचीमा र ६ कम्पनीलाई ‘अविश्वसनीय संस्था सूची’ मा राख्ने घोषणा गरिसकेको छ । यसैगरी, चीनले विश्व व्यापार संगठन डब्लूटीओमा पनि अमेरिकी भन्सार शुल्क वृद्धिविरुद्ध उजुरी दिएको छ ।
सरकारी निकायमात्रै होइन, राज्य सञ्चालित चिनियाँ सञ्चार माध्यमले पनि अमेरिकी कदमको विरोधमा आगो ओकलिरहेका छन् । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीमा सुन याङ र वु चेङलियाङले अमेरिकाको भन्सार ‘परपीडक र अन्धाधुन्द’ भएको टिप्पणी गरेका छन् । उता, अर्को चिनियाँ समाचार संस्था सिन्ह्वाले भने भन्सार महशुल बढाउने अमेरिकी कदमलाई ‘वाशिंटनको आधुनिक (समुद्री) लुटपाट’ को संज्ञा दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय प्रचार विभागको स्वामित्वमा रहेको चाइना डेलीले सम्पादकीय लेख्दै ‘तानाशाही भन्सार शुल्कविरुद्ध चीन कहिल्यै नझुक्ने’ टिप्पणी गरेको छ । त्यसैगरी, अर्को चिनियाँ अखबार ग्लोबल टाइम्सले पनि सम्पादकीय लेख्दै ‘अमेरिका प्रथम नीतिले अरु मुलुकहरुलाई विकासको अधिकारबाट वञ्चित गर्न नसक्ने’ जनाएको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले सामाजिक सञ्जालमा भनेकी छन्, ‘‘चीन पछि हट्नेवाला छैन ।’’ उनले कोरियाली युद्धका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वनेता माओत्से तुङको एक पुरानो भिडियो पोस्ट गरेकी छन् ।
यस भिडियोमा माओ अमेरिकालाई भनिरहेका छन्, ‘‘चाहे यो युद्ध जति नै लामो किन नचलोस्, हामी कहिल्यै झुक्ने छैनौँ ।’’
भिडियो शेयर गर्दै माओ निङ्गले अगाडि लेखेकी छन्, ‘‘हामी चिनियाँ हौँ । हामी उत्तेजकहरूसँग डराउँदैनौँ । हामी पछि हट्ने छैनौँ ।’’
बिडम्बना कस्तो छ भने ट्रम्पले व्यापार युद्ध चर्कापछि कम्युनिष्ट पार्टीको शासन रहेको चीनले खुला व्यापारको पक्षमा आफूलाई उभ्याएको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालयले ट्रम्पको कदम ‘सर्वव्यापी सिद्धान्तको विरुद्धमा’ रहेको भन्दै यसले ‘विश्वसँग नै निहुँ खोजेको’ टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने– ‘‘स्वार्थबाट प्रेरित अमेरिकाले आफ्नो लाभ र उच्च दबाब कायम राख्नका लागि भन्सार शुल्कलाई हतियार बनाएको छ ।’’
उनले अमेरिकी कदमले अरु देशको अधिकार र हकहित तथा विश्व व्यापार संगठनको नियम उल्लंघन गरेको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्– ‘‘यसले सबै देशका जायज अधिकार र हितको गम्भीर हनन् गरेको छ, विश्व व्यापार संगठन डब्लूटीओको नियम उल्लंघन गरेको छ, नियममा आधारित बहुपक्षीय व्यापारिक प्रणालीमा हानी पुर्याएको छ र विश्व आर्थिक व्यवस्थामा हलचल ल्याएको छ ।’’
उनले ‘अमेरिकाको हेपाहा प्रवृत्तिको विरोध गर्नका लागि (चीनले) चालेका आवश्यक कदमले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासको हित सुरक्षित हुनेमात्रै नभइ अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम राख्नुका साथै अन्तर्राष्ट्रिय समुदायको आपसी हितको पनि रक्षा गर्ने’ उल्लेख गरेका छन् ।
बिहीबार चिनियाँ वाणिज्य मन्त्रालयले भने केही संयमित बयान दिएको छ । उसले अमेरिकासँग वार्ता गर्न तयार रहेको जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयकी प्रवक्ता हे योङचियानले चीनको अडान प्रष्ट रहेको बताइन् । उनले भनिन्– ‘‘चीनको अडान प्रष्ट र दृढ छ । यदी अमेरिका वार्ता चाहन्छ भने हाम्रो ढोका खुला छ, तर वार्ता आपसी सम्मान र समानताका आधारमा हुनुपर्छ । यदी अमेरिका लड्न चाहन्छ भने हामी अन्त्यसम्म प्रतिकार गर्नेछौँ । चीनसँग व्यवहार गर्दा दबाब, धम्की र बल प्रयोग गर्नु राम्रो होइन ।’’
उनले ‘आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुबै पक्षको जित हुने साझेदारीमा आधारित रहेर आपसी भिन्नतालाई समाधान गर्न आफूसँगै एउटै दिशामा अमेरिकाले काम गरोस् भन्ने चीनको अपेक्षा रहेको’ समेत उल्लेख गरिन् ।
बयानबाजी जेजस्तो भएपनि चीनले अब व्यवहारमा के गर्छ भन्ने चासो बढेर गएको छ । चीनले के गर्छ भनेर विश्लेषण गर्नुअघि यो व्यापार युद्ध छेड्नुमा अमेरिकाको उद्देश्य के हो भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ । अमेरिका र अमेरिकाको नेतृत्वमा रहेका ट्रम्प के चाहन्छन् ? व्यापार युद्ध छेडेका ट्रम्प कस्तो नतिजाको अपेक्षामा छन् ? चीनमाथिको भन्सार शुल्क दीर्घकालसम्म रहन्छ कि दुनियाँलाई उल्लु बनाउँदै ट्रम्पले फेरि केही हप्ता, केही दिन वा केही घण्टामा यसबाट पनि पछि हट्ने घोषणा गर्छन् ? शायद त्यो कुरा ट्रम्प आफैँलाई पनि थाहा छैन होला । कि चीनलाई वार्ताको टेबलमा कमजोर बनाएर अमेरिकाका लागि फाइदाजनक व्यापारिक सम्झौता गर्ने उनको रणनीति हो ?

अहिलेसम्मको गतिविधि हेर्दा चीनलाई वार्ताको टेबलमा ल्याउनका लागि नै ट्रम्पले भन्सार महशुलमा आकाशीय वृद्धि गरेको प्रतित हुन्छ । व्यापारिक पृष्ठभूमिका ट्रम्प अमेरिका चिनियाँ सामानमा कम निर्भर रहोस् भन्ने चाहन्छन् । यसका लागि अमेरिकामा कारखाना खुलुन् र अमेरिका फेरि एक पटक चीनजस्तै औद्योगिक मुलुक बनोस् भन्ने ट्रम्पको चाहना हो । शायद ट्रम्प चीनबाट अमेरिकामा औद्योगिक समानामात्रै नभइ लगानी पनि आओस् भन्ने चाहन्छन् । ट्रम्प चीनले पनि अमेरिकी सामान खरिद गरोस् भन्ने चाहन्छन् ।
ट्रम्पको यो चाहना स्वभाविक र जायज छन् । तर, उच्च भन्सार महशुल वृद्धि गरेर चीन वा अरु कुनै मुलुकलाई वार्ताको टेबलमा डाक्ने अथवा नेशनल रिपब्लिकन कंग्रेसनल कमिटिको सम्मेलनमा भनेजस्तो अरु मुलुकलाई ‘नितम्ब चुमाउने’ ट्रम्पले जुन रणनीति लिएका छन्, त्यो प्रत्युत्पादक हुनसक्छ । अहिले निकटस्थ साझेदारहरु अमेरिकासँग खासै सन्तुष्ट छैनन् । भन्सार शुल्क बढाउने कदमले छिमेकीहरु क्यानाडा र मेक्सिको उसैपनि अमेरिकासँग असन्तुष्ट छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेको ठानिने ट्रम्पप्रति युरोपेली मुलुकहरु पनि सशंकित छन् । डेनमार्कको अधिनमा रहेको ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने ट्रम्पको रणनीतिले युरोपलाई अझ चिढ्याएको छ । जापान र दक्षिण कोरिया पनि खासै खुशी देखिँदैनन् । यस्तो अवस्थामा चीनलाई एक्ल्याउने रणनीतिमा रहेका ट्रम्पले अमेरिकालाई नै पो एक्ल्याउने हुन् कि भन्ने चिन्ता बढेर गएको छ ।

यदी ट्रम्पले चीनमाथि दीर्घकालसम्म भन्सार शुल्क वृद्धि गरेका हुन् भने अरु मुलुकहरुसँग सहकार्य गर्ने विकल्प चीनसँग कायमै छ । अमेरिका निर्यात हुने आफ्ना सामान चीनले युरोप, दक्षिणपूर्वी तथा पूर्वी एशियाली मुलुकहरु, भारत, अफ्रिकी मुलुकहरु वा अस्ट्रेलियाको बजारमा निर्यात गर्नसक्छ । अथवा आफ्नै घरेलु बजारमा चीनले अमेरिका निर्यात गर्ने वस्तु बेच्नसक्छ । तर, अमेरिकाजति ठूलो उपभोग बजार संसारमा अन्त कतै छैन । चीनले आफ्ना सामान घरेलु बजारमा बेच्नका लागि चिनियाँ नागरिकको क्रयशक्ति पनि अमेरिकाको तुलनामा धेरै छैन ।
त्यसबाहेक कतिपय मुलुकहरु चीनप्रति सशंकित रहँदै आएका छन् । अस्ट्रेलिया चीनसँग लामो समयदेखि असन्तुष्ट रहँदै आएको छ भने युक्रेनमा जारी आक्रमणमा रुसलाई सहयोग गर्ने चिनियाँ रणनीति युरोपेली मुलुकहरुलाई पचेको छैन । भारतले पनि चीनलाई आँखा चिम्लेर विश्वास गरिहाल्ने अवस्था छैन । दुई मुलुकबीच लामो समयदेखि सीमा विवाद छ । यस्तो अवस्थामा चीन र अमेरिकाबीच जारी व्यापार युद्ध कस्तो हिसाबमा अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।
जाँदाजाँदै… ट्रम्पले पछिल्लो पटक आफ्नो ट्रुथ सोसल सामाजिक सञ्जालमा लेखेको एउटा कुरा यहाँ उल्लेख गर्नु महत्वपूर्ण हुन्छ । उनले लेखेका छन्– ‘‘दिन यस्तो रह्यो, तर अरु राम्रा दिनहरु आउँदैछन् !!!’’ हामी पनि यो स्टोरीलाई यहीँ बिट मार्दै ट्रम्पलेजस्तै राम्रा दिनहरुको प्रतिक्षा गरौँ ।
प्रतिक्रिया