मेचीनगरमा सजिवनको व्यावसायिक खेती « Khabarhub

मेचीनगरमा सजिवनको व्यावसायिक खेती


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ ।

स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघा क्षेत्रफलमा सजिवनको खेती प्रवर्द्धन गर्न नगरपालिकाले बजेट उपलब्ध गराएको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।

स्वास्थ्य र आयआर्जनका दृष्टिले किसानका लागि लाभदायक भएकाले यसको खेतीमा नगरपालिका आर्थिक साझेदारीसहित जुटेको उनको भनाइ छ । खेतीका लागि नगरपालिकाले थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग परियोजना सम्झौता गरिसकेको छ ।

परियोजना सम्झौतामा नगरपालिकाले खेतीको ८० प्रतिशत र सहकारी संस्थाले २० प्रतिशत साझेदारी लागत व्यहोर्ने उल्लेख छ । नगरपालिकाले सजिवन खेती परियोजनाका लागि प्रारम्भिक चरणमा तीन लाख बजेट बिनियोजन गरेको छ । मेचीनगरमा यसको परम्परागत खेती पहिल्यैदेखि हुने गरे तापनि व्यावसायिक खेती भने पहिलोपल्ट सुरु भएको हो ।

फल र पात दुबै तरकारीको रूपमा खान मिल्ने र यसमा औषधीय एवम् पौष्टिक गुण अधिक हुने भएकाले पछिल्लो समय सजिवनको खेतीमा किसान आकर्षित भइरहेका छन् । छिमेकी जिल्ला इलाममा पनि यसको व्यावसायिक खेती सफलतापूर्वक भइरहेको छ ।

मेचीनगरका किसानहरू हालै सजिवन खेती अवलोकन गर्न रूपन्देहीको सैनामैना नगरपालिका– ६ मा गएका थिए । त्यहाँका कृषक गोविन्द कँडेलले ६५ बिघा क्षेत्रफलमा लगाएको सजिवनको व्यावसायिक खेती अवलोकन गरेर फर्किएपछि मेचीनगरका किसानले उक्त खेतीमा लाग्ने सोच बनाएको थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी श्रेष्ठले बताइन् ।

सजिवन खेती परियोजना सञ्चालनका लागि थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहकी सचिव जानुका ओलीलाई सजिवन खेती व्यवस्थापन समितिको संयोजक चयन गरिएको उनले जानकारी दिइन् ।

सजिवन खेती व्यवस्थापन समितिकी संयोजक जानुका ओलीले सैनामैनाबाट पहिलो चरणमा दुई किलो सजिवनको बीउ ल्याइएको र त्यसबाट लगभग ६ हजार विरुवा हुर्काउने परियोजनाको लक्ष्य रहेको बताइन् ।

समितिले सजिवन खेती गर्न इच्छुक किसानलाई बोलाएर खेती गर्ने तरिका र यसका फाइदा बारेमा छलफल चलाएको छ । आगामी दिनमा खेतीको विस्तार गरिने र यसको पातबाट पाउडर बनाउने योजना बनाइएको ओलीले बताइन् ।

मेचीनगर नगरपालिकाका कृषि विकास शाखाका प्रमुख टेकेन्द्र प्रधानले सजिवन खेती गर्ने तरिका, उत्पादन र यसका फाइदा वेफाइदालगायतका विषयमा मसिनो गरी किसानलाई अवगत गराइएको बताए ।

उनका अनुसार मलिलो, बलौटे र पानी नजम्ने माटोमा सजिवनको खेती फस्टाउँछ । सजिवनको फल र पातमा रोग प्रतिरोधी तत्व हुने भएकाले मधुमेह, उच्च रक्तचापलगायत अन्य थुप्रै रोगका बिरामीले यसको नियमित सेवन गरिरहेको पाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ७ : ५२ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक