गण्डकी– ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो ।
पोखरा महानगरपालिका– १७ बिरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गामा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको नजिक पर्ने छोरेपाटनस्थित पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा विगतको तुलनामा अहिले आन्तरिक तथा बाह्य पर्यटनको आगमन करिब १० प्रतिशतले वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षको चैत १७ गतदेखि जेठ २६ गतेसम्म ९३ हजार ७१६ पर्यटकले मन्दिरको अवलोकन गरेकामा चालु आवको सोही अवधिमा एक लाख एक हजार १४४ जनाले टिकट काटेर गुफाको अवलोकन गरेका छन् ।
पोखरा बाहिरबाट कोटिहोममा आउने भक्तजन अधिकांश गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पातले छाँगो (डेभिजफल्स)को मनोरम दृष्यावलोकनमा आउने गरेकाले पर्यटकको सङ्ख्यामा वृद्धि भएको अध्यक्ष बाँस्तोलाले बताए ।
उनले विगतको तुलनामा यस अवधिमा सात हजार ४२८ बढीले गुफाको अवलोकन गरेको बताए । उनले भने, ‘गुफामा पर्यटकको सङ्ख्यामा वृद्धि हुनु कोटिहोमको प्रभाव हो । यस अवधिमा भारतीय पर्यटकको पनि आकर्षण बढेको छ ।’
जमिनको सतहबाट करिब १०० मिटर चट्टानबाट रसाएको पानीका थोपाले स्नान गर्दै केही तल झरेपछि गुफाभित्र फराकिलो स्थानमा अवस्थित महादेवको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै १०० मिटरको दूरीभित्र पुगेपछि खुला ठाउँ छ ।
गुफाभित्र अवस्थित महादेवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शनार्थी पटकपटक यहाँ आउने गरको उनको भनाइ छ । उनका अनुसार गुफा २०५० सालमा पत्ता लागेपछि प्रचारप्रसारमा आएको हो ।
कोटिहोमका माध्यमबाट गुप्तेश्वर गुफासँगै रहेको पातले छाँगो, तालबाराही, विन्ध्यवासिनी मन्दिर, पुम्दीकोट शिव मूर्तिलगायत धार्मिक तथा फेवाताल, सराङकोट, शान्तिस्तूपालगायत विभिन्न पर्यटकीयस्थलसहित पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पर्यटन व्यवसायीको भनाइ छ । (रासस)
प्रतिक्रिया