निर्वाचन क्षेत्र फेरिरहने प्रचण्ड : रोल्पादेखि गोरखासम्म, अब कास्कीको तयारी ! | Khabarhub Khabarhub

निर्वाचन क्षेत्र फेरिरहने प्रचण्ड : रोल्पादेखि गोरखासम्म, अब कास्कीको तयारी !


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता र गणतन्त्र घोषणा गर्ने शिखर नेतृत्वको हैसियतले चिनिन्छन् ।

तर, उनको अर्को प्रमुख राजनीतिक विशेषता हो – चुनावी क्षेत्र निरन्तर फेर्दै चुनाव लड्ने शैली ! जनयुद्धका दिनहरूमा ‘सक्रिय भूमिगत’ नेता प्रचण्डले शान्ति सम्झौता र मुख्यधारको राजनीतिमा प्रवेश गरेयता देशका पूर्वदेखि पश्चिमसम्मका जिल्ला चाहार्दै चुनावी राजनीति अघि बढाएका छन् ।

पछिल्लो संकेतअनुसार, अब उनले आगामी चुनाव कास्कीबाट लड्ने तयारी गरेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनसँगै प्रचण्डको सार्वजनिक निर्वाचन यात्राको सुरुआत भएको हो ।

माओवादीको युद्धको केन्द्रभूमि मानिने रोल्पा–२ र राजधानी केन्द्रित प्रभाव परीक्षण गर्ने उद्देश्यले काठमाडौं–१० बाट उनी मैदानमा उत्रिए । दुबै स्थानबाट उनी विजयी भए ।

तर, चुनावी परिणाम आफूअनुकूल नआउने देखेपछि अन्ततः उनले काठमाडौं–१० रोजे र रोल्पा त्यागे । त्यो चुनावले माओवादीलाई राष्ट्रिय राजनीति केन्द्रमा ल्यायो, र प्रचण्डलाई पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर दिलायो ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने काठमाडौंले उनलाई साथ दिएन । उनले पुनः काठमाडौं–१० बाट उम्मेदवारी दिए तर पराजित भए । तर त्यहीबेला पूर्वी तराईको सिराहा–५ बाट भने उनी निर्वाचित भए ।

यो चुनावले देखायो—प्रचण्ड केबल पहाडी जनतामाझ लोकप्रिय छैनन्, तराईका मधेसवादी मतदातामाझ पनि प्रभाव राख्न सक्ने नेता हुन् ।

२०७४ को प्रतिनिधिसभा चुनावसम्म आइपुग्दा माओवादी माओवादी मात्र रहेन, एमालेसँगको गठबन्धनपछि नयाँ राष्ट्रिय समीकरण तयार भएको थियो । त्यही गठबन्धनको बलमा उनले चितवन–३ बाट चुनाव जिते ।

चितवन–३ मा उनी पहिले नै लोकप्रिय थिए, बाल्यकालको लामो समय चितवनमै बिताएका उनी स्थानीय नेताका रूपमा त्यहाँ सक्रिय पनि थिए ।

२०७९ को चुनावमा भने उनले गोरखा–२ रोजे । यो क्षेत्रमा डा. बाबुराम भट्टराईको पुरानो प्रभाव थियो । त्यही राजनीतिक प्रभावलाई माओवादीले पुनः आफ्नो पक्षमा फर्काउने रणनीतिअन्तर्गत प्रचण्ड गोरखा सरे । परिणामस्वरूपः उनी त्यहाँबाट सहजै विजयी भए । अहिले उनी यही क्षेत्रको प्रतिनिधित्व गरिरहेका छन् ।

तर, अब प्रचण्डको नजर कास्कीमा परेको छ । पोखरामा मंगलबार आयोजित माओवादी केन्द्रको तेस्रो महानगर सम्मेलनमा उनले खुलेरै संकेत दिए – ‘म कास्की आउन सक्छु ।’ अझ उनले थपे, ‘६ देखि ८ महिनाभित्र कास्की र पोखराको राजनीतिक मानचित्र बदल्न सकिन्छ ।’

यी भनाइहरू केवल औपचारिकता थिएनन् । कार्यकर्ताहरूबाट बढ्दो आग्रह, पोखरामा माओवादीप्रति पुनः आकर्षणको अनुभूति, र स्वयंको जन्मभूमि भएको ठाउँप्रतिको भावनात्मक सम्बन्ध—यी सबै कुराले प्रचण्डको आगामी चुनावी योजना कास्की केन्द्रित हुनसक्ने स्पष्ट संकेत दिन थालेका छन् ।

प्रचण्डको बाल्यकालको यात्रा पनि कास्कीबाटै सुरु भएको हो । अन्नपूर्ण गाउँपालिका, साविक ढिकुरपोखरी–२ को लेवाडे गाउँमा उनको जन्म भएको थियो । त्यहीँको महेन्द्र आधारभूत विद्यालयबाट उनले शैक्षिक यात्रा सुरु गरेका थिए । यद्यपि, उनी बाल्यकालमै चितवन सरेका थिए, कास्कीप्रतिको आत्मीय सम्बन्ध भने टुटेन ।

उनको यो घोषणासँगै कास्कीमा माओवादी कार्यकर्ताबीच उत्साहको लहर छाएको छ । धेरैले २०८४ को चुनाव प्रचण्डले कास्कीबाट लड्नेछन भन्ने विश्वास गर्न थालेका छन् । कार्यकर्ताहरूको जोड बढिरहेकै बेलामा प्रचण्डले भने, ‘म तपाईंहरूसँगै छु । म जहाँबाट चुनाव लडे पनि, नलडे पनि कास्की र पोखरासँग हाम्रो सम्बन्ध यथावत् रहनेछ ।’

राजनीतिक दृष्टिले हेर्दा, प्रचण्डको चुनावी यात्रा केवल क्षेत्र फेर्ने कथा मात्र होइन, नेपाली राजनीतिमा उनको प्रभाव फैलाउने रणनीतिक अभ्यास हो । पश्चिम पहाडको (रोल्पा), राजधानी (काठमाडौँ), तराई (सिराहा), भित्री मधेश क्षेत्र र मध्यपहाडी (चितवन, गोरखा) हुँदै अब गण्डकीको कास्कीसम्मको यात्रा उनले पूरा गर्न लागेका छन् ।

तर प्रचण्ड स्वयं पनि स्वीकार गर्छन् कि पहिलो शक्तिबाट तेस्रोमा झर्नुको पीडा उनीसँग छ । ‘हामी पहिलो शक्तिबाट तेस्रोमा झर्यौं, त्यो हाम्रो कमजोरी थियो,’ उनी भन्छन्, ‘मैले स्वयं शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता र गणतन्त्रको घोषणा गर्ने नेतृत्वकर्ता हैसियतमा जिम्मेवारी लिनुपर्छ ।’

त्यसैले उनी अब फेरि नयाँ मोर्चा खडा गर्दैछन्न – या आन्दोलन, नयाँ क्रान्तिको घोषणासहित पोखराबाट बाबुराम भट्टराई नेतृत्वको समूहका किरण थापा, गण्डकीका अन्य नेताहरू लगायत दर्जनौं नेताहरूको माओवादी केन्द्रमा पुनः प्रवेश गराउनु पनि त्यसकै सङ्केत हो ।

प्रचण्डको चुनावी यात्राले देखाउँछ – उनको राजनीति एकै क्षेत्रमै सीमित छैन । उनी जनयुद्धको घाउ बोकेर राजधानी आए, मधेस पुगे, पश्चिमको घरघर छामे र फेरि जन्मभूमितिर फर्किने तयारीमा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ३७ बजे

लेखराज भट्ट भन्छन् : पार्टीभित्र आन्तरिक एकता हुन जरुरी छ

कैलाली – नेपाल कम्युनिष्ट एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र आन्तरिक

सङ्खुवासभामा तरकारी तथा फलफूल पसल अनुगमन

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तरकारी तथा फलफूल पसल अनुगमन

जिल्लाबाट प्रतिनिधि झिकाउन अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ

काठमाडौं- सर्वसम्मतका नाममा आफूअनुकुलको नेतृत्व ल्याउन असफल भएपछि नेकपा (एमाले)

बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा

ढोरपाटन– बागलुङका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना

आजका समाचार : पत्रकारलाई पक्राउ पुर्जी र अदालतको आदेशले तरंग, संसद् खुलेन र लस एन्जलसमा कर्फ्यु

भिजिट भिसा प्रकरण छानबिनमा कांग्रेस तयार भएन, विपक्षीको नाराबाजीले संसद्