दोलखा– जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङमा पछिल्ला महिनाहरूमा पर्यटक बढेसँगै होटल व्यवसाय फस्टाउँदै गएको छ ।
शैलुङमा केही वर्षयता आन्तरिक तथा बाह्र पर्यटकहरूको आगमन वृद्धि भएसँगै कालापानीमा होटल व्यवसायमा लगानी गर्ने लगानीकर्ता पनि वृद्धि भएका हुन् ।
पछिल्लो ८ महिनाको अवधिमा शैलुङ–८ कालापानीमा १० वटा होटल थप सञ्चालनमा आएको स्थानीय होटल व्यवसायी दिनेश श्रेष्ठले बताए ।
शैलुङ ईको भिलेज होटल सञ्चालन गर्दै आएका उनले भने, ‘कालापानीमा ८ महिना अघिसम्म ५ वटा सामान्य होटल थिए । जहाँ एक सय ६०/७० जना पाहुनालाई सुताउन सकिन्थ्यो । तर अहिले एकै पटक ५/७ सय जनालाई बास राख्न सक्ने गरी होटलहरु सञ्चालनमा आएका छन् ।’
दुई वर्ष अघिसम्म शैलुङ पुग्ने पर्यटकहरू होटल अभावका कारण फर्किनुपर्ने बाध्यता थियो । अहिले त्यस्तो छैन । साना–ठुलागरी १५ वटा होटल सञ्चालनमा रहेका छन् । करोडौँ लगानीमा अन्य केही होटल निर्माणको चरणमा रहेको उनले बताए ।

शैलुङमा अहिले दैनिक दुई सय भन्दा बढी पर्यटक कालापानीमा बास बस्ने गरी आउने गरेको उनले जानकारी दिए ।
श्रेष्ठ भन्छन्, ‘शुक्रबार र शनिबार दैनिक ५ सयदेखि १२ सयको हाराहारी पर्यटन आउने गरेका छन् । त्यसमा पनिकालापानीमै बास बस्ने पर्यटक चारसय भन्दा बढी हुन्छन् । यहाँका होटलहरुले ७० देखि १२० जनासम्म सुताउने गरेका छन् ।’
अन्य बार र साउनको अफसिजनमा शैलुङ घुम्न र कालापानीमा बास बस्न काठमाडौं, धादिङ, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र फाट्टफुट्ट विदेशी पर्यटक गरी दैनिक दुई सयको हाराहारीमा पर्यटकहरू आइरहेको छन् ।
काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य
राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले होटल क्षेत्रमा लगानी गर्ने व्यवसायी वृद्धि भएको श्रेष्ठले सुनाए । ग्राहकको बढ्दो चाप धान्नको लागि पनि होटल खुल्ने क्रम बढेको कालापानीका पुरानो होटल व्यवसायी लालबहादुर तामाङले जानकारी दिए ।

तामाङ कालापानीकै पहिलो होटल व्यवसायी हुन् । २०३६ साल देखी यहीँ क्षेत्रमा होटल गर्दै आएका तामाङ पनि पर्यटक बढेको देखेर थप होटल खोल्ने सोचमा छन् । होटल सञ्चालनको लागि १३ आना जग्गा खरिद गरिसकेको उनले सुनाए ।
अहिले शैलुङ ईको भिलेज होटलले एकै पटक एक सय २० जना पर्यटकलाई सुताउने गरेको छ । त्यहीँ संख्यामा पर्यटक राख्ने क्षमताका अन्य होटलहरु निर्माण भइरहेको कालापानीका अर्का होटल व्यवसायी सुनिलबाबु श्रेष्ठले बताए ।
प्राकृतिक सम्पदाले भरिपूर्ण दोलखाको शैलुङ सयौँ थुम्काहरूको समूह मिलेर बनेको एक स्वर्गीय आनन्द दिलाउने पर्यटकीय गन्तव्य हो । थुम्कै–थुम्काको प्राकृतिक सम्पदाले भरिपूर्ण शैलुङको नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ तामाङ भाषामा शै भनेको सय र लुङ भनेको थुम्का भन्ने बुझिन्छ ।
एकसय बढी थुम्काहरूको समूह मिलेर शैलुङ बनेको छ । प्राकृतिक, सांस्कृतिक तथा पुरातात्त्विक पर्यटनको राम्रो सम्भावना बोकेको शैलुङमा यस वर्ष अफसिजनको साउनमा पनि पर्यटक वृद्धि भएका छन् । वर्षादको हरियाली र छिनछिनमा हुने मौसम परिवर्तनले यहाँ विशेष युवा पुस्ताका पर्यटक लोभिने गर्छन् ।
बर्खायामको हिलाम्मे सडक कष्टलाई शैलुङ पुगेपछि पर्यटकले भुल्ने गर्छन् । शैलुङसम्म पुग्न काठमाडौँबाट मुढेसम्मको सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ ।

त्यहाँदेखि करिब १५ किलोमीटर पक्की सडक हुँदै कालापानीसम्म पुग्न सकिन्छ । जहाँ पुग्न कालापानी बजारसम्म सार्वजनिक यात्रुबहाक बस समेत चल्ने गर्छ । कालापानीबाट बिहान ११ः५० बजे छुट्ने उक्त बसको सहज रूपमा पर्यटकले प्रयोग गर्न सक्छन् ।
शैलुङ आउने पर्यटक समयलाई मध्यनजर गर्दै यहाँका व्यवसायीले कालापानीबाट बिहानको ११ः५० मा बस छुट्ने समय निर्धारण गरिएको व्यवसायी श्रेष्ठले बताए ।
कतिपय पर्यटकले ढुङ्गेमा सवारी राखेर ३ किलोमिटर पैदलमार्ग हुँदै कालापानी पुग्ने गरेको र त्यहाँ बास बसेर बिहानको शैलुङ दृश्यअवलोकन गर्न शैलुङ जाने गरेका छन् ।
१०८ वटा थुम्का–थुम्कीले बनेको मनमोहक शैलुङ डाँडा र सो क्षेत्रबाट मौसम खुलेको समयमा देखिने जुगल, गणेश, गौरीशङ्कर हिमाल,रोल्वालिङ एरिया लगायत तल्लो क्षेत्र दोलखा–रामेछापको सुन्दर फाटले पर्यटकहरूलाई स्वर्गीय आनन्द दिलाउने गर्छ ।

शैलुङमा पर्यटक बढ्नुको कारण
यस अघिको स्थानीय सरकार, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल नेतृत्वको स्थानीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर निर्माण गरेको चीनको द–ग्रेटवालको झल्को दिने ५०० मिटर लम्बाइको मिनी ग्रेटवालको कारण पनि पछिल्लो वर्ष तथा महिनाहरू यहाँ आउने पर्यटक वृद्धि भएका छन् । दैनिक ग्रेटवालको सिँढी हुँदै सयौँ पर्यटक थुम्की पुग्ने गर्छन् ।
यस मिनी ग्रेटवालले धेरैको ध्यान तानेको छ । शैलुङ वृद्धि हुँदै गएको पर्यटक आगमनलाई ध्यान दिँदै अहिलेको स्थानीय सरकारले समेत थप ५ सय मिटर ग्रेटवल निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गरिसकेको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले बताए । उक्त भौतिक संरचनाको निर्माणको लागि टेन्डर गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।
त्यसैगरी शैकुङमा पर्यटन वृद्धि हुनुको अर्को कारण शैलुङ डाँडामा रहेको भीमसेन तरबार शिला पनि एक हो । यहाँको शिलामा गरिने पुजा लगायतका धार्मिक कार्यक्रम तथा शैलुङमा लाग्ने जात्राको कारण पनि पर्यटक वृद्धि हुँदै गएका छन् ।
यस क्षेत्रमा महादेव गुफा, पृथ्वीको नाइटो, एक सय १७ वर्ष पुरानो त्रिसुल लगायतका अन्य दर्जनौँ सम्पदाका पनि रहेका छन् । सुवाश बस्नेत/दोलखा
हेर्नुहोस शैलुङ र मिनि ग्रेटवालका तस्बिरहरू












प्रतिक्रिया