काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीसँग आइतबारदेखि छलफल थालेको छ।
रास्वपाले आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा उम्मेदवारका आकांक्षीसँग छलफल थालेको हो । आइबार ‘घण्टी घर’ मा आकांक्षीहरूसँग छलफल थालेको रास्वपाले अब त्यही आधारमा अन्तिम सूची निकाल्ने भएको छ । यो छलफलपछि रास्वपाले उम्मेदवारको अन्तिम सूची प्रकाशन तयारी गरेको छ ।
रास्वपाका सह-महामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यको उपस्थितिमा ती आकांक्षीसँग आइतबार घण्टीघरमा छलफल भएको हो । छलफलमा केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक पनि सहभागी थिए ।
२०७९ को निर्वाचनमा विजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको अवस्थामा कात्तिक १७ गतेका लागि उपनिर्वाचन मिति तोकिएको हो ।
२०७९ मा राप्रपाका नेता बोहोरा विजयी हुँदा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण दोस्रो भएका थिए । त्यस्तै यहाँ रास्वपाका जितबहादुर गुप्ता तेली तेस्रो स्थानमा आएका थिए। उनले पाँच हजार ७९६ मत ल्याएका थिए ।
यस पटकको उपनिर्वाचनमा रास्वपाले व्यवस्थित छनोट प्रक्रियामार्फत् बलियो उम्मेदवारलाई टिकट दिएर नतिजा आफ्नो पक्षमा पार्न चाहेको छ। तर यहाँ दुई ठूला दल र मधेशवादीको अलग्गै मोर्चाबन्दी हुँदैछ ।
रास्वपाले यहाँको उपनिर्वाचनका लागि अनलाइन आवेदनमार्फत विभिन्न इच्छुकको नाम संकलन गरेको थियो । यहाँको उम्मेदवार हुन विभिन्न पेशा व्यवसायका व्यक्तिदेखि पार्टी पदाधिकारीसमेतले उम्मेदवार हुन निवेदन दिएका छन् । एकजना एमालेबाट उपममेयर रहेकी नेतृका पतिको समेत आवेदन परेको छ ।

रास्वपा निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्म आवेदन लिएको थियो । उम्मेदवारको आकांक्षीमध्ये पार्थिवेन्द्र उपाध्याय पनि छन् । उनी एमालेबाट निर्वाचित पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन्।
परिवार नै एमालेको राजनीतिमा रहेको अवस्थामा उपाध्यायको नाम आकांक्षीको दोस्रो नम्बरमा छ । उपाध्यय सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीका श्रीमान् हुन् । उमा एमालबाट उमप्रमुख बनेकी हुन् ।
उनी रुपन्देही क्याम्पसका क्याम्पस प्रमुखबाट राजीनामा दिएका व्यक्ति हुन् । उनी २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीका उम्मेदवार थिए ।
रास्वपाबाट उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल पनि छन् । उनी बुटवल उपमहानगरपालिका-१६ का बासिन्दा हुन्। उनी हाल जेलमा रहेका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेनिकट नेता हुन् । उनी चुनाव लड्न भनेर अमेरिकाबाट बुटवल फर्किएको खुलेको छ ।
भक्तपुरको मध्युर थिमी नगरपालिकाकी कुशुम महर्जनले पनि आवेदन दिएकी छन् । २०७९ को निर्वाचनमा रास्वपाकी समानुपातिक उम्मेदवार रहेकी उनको माइती भैरहवा हो ।
भैरहवाकै रचना क्षेत्री पनि दौडमा छिन् । उनी अहिले रास्वपा रुपन्देहीकी कोषाध्यक्ष छिन् । सिद्धार्थनगर नगरपालिका-८ की उद्योगी पनमकुमारी अग्रवालको नाम पनि आकांक्षीको सूचीमा छ ।
रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मधु अर्याल पनि आकांक्षीमा छन् । उनी विद्यालय सञ्चालकसँगै सामाजिक अभियानमा पनि सक्रिय व्यक्ति हुन् ।
त्यसैगरि सिद्धार्थनगर नगरपालिका-९ का बासिन्दा डा. लेखजङ्ग थापाको पनि नाम आकांक्षीको सूचीमा छ। उनी २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य पदमा समानुपातिक सूचीमा राखिएका थिए ।
यस्तै, सिद्धाथनगर नगरपालिका-८ की ज्ञानु पौड्याल सहकारी अभियन्ता हुन्। उनको राजनीतिक पृष्ठभूमि एमाले हो। पौडेल लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पूर्वअध्यक्ष समेत हुन। उनी सामाजिक कार्यमा समेत सक्रिय छन्।
सिद्धार्थनगर नगरपालिका-१ का जितबहादुर गुप्ता (जेबी) पनि आकांक्षीमा छन् । २०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाटै चुनाव लडेका थिए । उनले त्यसबेला ७९६ मत ल्याएका थिए ।
रास्वपा सहमहामन्त्री आचार्यले पार्टीको विधिअनुसार आन्तरिक निर्वाचनमार्फत् उम्मेदवारको अन्तिम टुङ्गो गरिने बताए । त्यसकै लागि उक्त छलफल चलाइएको उनले बताए ।
अब रास्वपाले साउन २६ गते उम्मेदवारको प्रारम्भिक नामावली निकाल्ने छ । त्यसपछि साउन २७ देखि भदौ ११ गतेसम्म पार्टीका चार विधिअनुसार उम्मेदवारको अवस्था जाँचिनेछ ।
भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारम्भिक निर्वाचन हुने गरि तालिका आइसकेको छ । उक्त निर्वाचनमा रुपन्देही ३ का मतदाता कार्यकर्ता, पार्टीका विभिन्न समिति र केन्द्रीय समिति सदस्यले भोट हालेर एकजनाको नामको टुंगो लगाउने भएका छन्।
त्यसपछि आगामी भदौ १५ गतेभित्र एकजना उम्मेदवारको टुंगो गरिनेछ । यो क्षेत्रमा रास्वपाले २०७९ मा १४ हजार समानुपातिक मत ल्याएको थियो । रुपन्देही ३ मा डेढ लाख भन्दा धेरै मदाता छन् । यहाँ अहिले पनि कांग्रेस पहिलो शक्तिका रुपमा छ । २०७९ मा एमालेले सघाउँदा राप्रपाका बोहोराले बाजी मारेका थिए ।
प्रतिक्रिया