काठमाडौं– साउन ११ गते ससुराबुवासँग अस्पताल ‘फलोअप’ मा जान्छु भनेर हिँडेकी २७ वर्षीया श्यामकला पाण्डे र ६ वर्षको नाति अर्पित घर फर्किएनन् । चार दिन अगाडी बुहारी कालीगण्डकी अस्पतालमा उपचार गरेर आएकी थिइन् । त्यो दिन फलोअपमा निस्किएका आमाछोरा घर फर्किएर आएनन् ।
अस्पताल जाने भनेपछि ससुराले उनलाई तीन हजार रुपैयाँ हातमा थमाइदिएका थिए । खर्च होला, खाजानास्ता गर्नुपर्ला भनेर उनले पैसा दिएका थिए । तर बुहारी नातिसहित कालीगण्डकीमा बेपत्ता भएको खबरले ७२ वर्षका ससुरा सहाराविहीन हुन पुगेका छन् ।
बुहारी श्यामकला बिहे गरेर ल्याउन भन्दा पहिल्यै सासू आमाको देहान्त भइसेकेको थियो । छोरा वैदेशिक रोजगारीमा छन् । घरमा ससुरा, नाति र बुहारी मात्रै थिए । उनले वृद्ध ससुराको बुवासरह ख्याल राख्दै आएकी थिइन् । कतै जानुपरे बुवालाई सोधेर हिँड्ने गर्थिन् । ससुरासँगको सम्बन्ध सुमधुर थियो ।
बुवाको सरसल्लाहमै चल्ने गर्थिन् । अको, श्रीमान्सँग पनि उनको सम्बन्ध हार्दिकतापूर्ण नै रहेको देखिन्छ । श्रीमान् श्रीमतीको सरसल्लाहले वैदेशिक रोजगारमा गएका हुन् । उनी धेरै पटक आउने जाने गरिसकेका छन् । श्रीमान् पनि व्यक्तिगत रूपमा अत्यन्त सरल स्वभावका हुन् ।
श्यामकला एक असल बुहारी, समझदार श्रीमती र कर्तव्यनिष्ठ आमा थिइन् । माइतीमा पनि पाँच दिदीबहिनी मध्येकी कान्छी छोरी उनी संस्कारी थिइन् । गाउँ समाजमा सबैसँग मिठो बोलीवचन र स्पष्ट व्यवहार गर्ने शैली थियो ।
प्लस टु सम्मको अध्ययन गरेकी उनी श्रीमान् वैदेशिक रोजगारीमा भए पनि आत्मनिर्भर थिइन् । पाँच वर्षदेखि गाउँकै एक विद्यालयमा शिक्षण गर्दै आएकी थिइन् । पारिवारिक सम्बन्ध र आर्थिक नियमिततामा कुनै समस्या नदेखिएको श्यामकलाले कसरी त्यस्तो कदम किन उठाइन् भन्ने कुराले पुरै गाउँ शोकमा परेको छ ।
स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो । पछाडि पुल रहेको छ । त्यहाँ वरिपरि पसलहरू छन् । पसलेहरूले गएको देखे तर फर्केको देखेनन् । एक जना आमाले देख्नुभएको रहेछ ।
करिब पाँच मिनेट जति बगरमा यताउता गरेको, बच्चाको फोटो मोबाइलबाट खिचेको र टिकटक बनाएको देखिन्छ । त्यसैगरी अर्को पाँच मिनेटमा स्थानीय एक परिवार घरायसी कामले प्रतीक्षालयमा पुगेका थिए । उनीहरूले बच्चाको खेलौना, उनको ब्याग र चप्पल देखे । तर मान्छे देखेनन् ।
ती सामाग्रीहरू भेटिएको ठाउँमा स्टिमर सञ्चालन हुने ठाउँको अन्तिम विन्दु हो । त्यहाँबाट अन्त कतै जान मिल्दैन । वरिपरि पहिरो र पखेरो छ । पछाडि फर्किनेबाहेक बाटो छैन । १२ः३० देखि एक बजेको हाराहारीमा उक्त घटना घटेको देखिन्छ । त्यही दिन हाइड्यामको पुरै ढोकाहरू खोलिएको थियो । ड्यामभित्र सफा गर्ने उद्देश्यले खोलिएको थियो । घटना भएको भोलिपल्टै श्रीमान् घर आइपुगेका छन् ।
कालीगण्डकी गाउँपालिका–४ का अध्यक्ष यादवप्रसाद पाण्डे (सुन्दर) का अनुसार बुहारी (श्यामकला) ले चालेको कदम देखेर आश्चर्यचकित लागेको बताउँछन् । उनले खबरहबसँग कुरा गर्दै भने, ‘हाम्रै अगाडी हिँडिरहने नानी हुन् । केही वर्ष अगाडी बिहे गरेर हाम्रो गाउँमा आइन् । हाम्रै पहलले निजीस्रोतमा जागिर खान्थिन् ।
‘स्कुल जाने बाटोमा धेरै बाँदर लाग्छ । विद्यार्थीहरूलाई साथी हुन्छ, संरक्षण गर्छिन् भनेर वैकल्पिकमा नाम निकालेकी भए पनि उनैलाई चयन गरिएको थियो’ पाण्डे थप्छन्, ‘विद्यार्थीहरूलाई माया गर्ने र राम्रोसँग पढाउने शिक्षकका रूपमा चिरपरिचित हुन् । बाहिरबाट सरसर्ती हेर्दा मृत्यु नै बहन गर्ने स्थिति नभएको परिवार देखिन्छ । तर कति घाउ र चोटपटक मनमा लागेको हुन्छ । त्यो कसैले देख्न सक्दैन ।’
घरपरिवारमा कुनै पनि प्रकारको ऋण तथा ढुकुटी खेलेर पैसा डुबेको पनि नदेखिएको अध्यक्षको पाण्डेको भनाइ छ । ‘श्रीमान् र आफू दुवै जना कमाउने भएकाले आर्थिक रूपले कमजोर पनि होइनन् । ऋण देखिएको छैन । एउटा बैंकमा पैसा डिपोजिट गरेको स्लिप भने ब्यागमा भेटिएको थियो । घटनाले उनको मनोबल कमजोर भएको भने देखियो ।’
‘आत्महत्याको मुख्य जड मानसिक अस्वस्थ अथवा डिप्रेसनको बिरामीले गरेको देखिन्छ । तर अस्पतालको रिपोर्ट विना उनलाई मानसिक बिरामी भनेर घोषणा गर्न भएन’ पाण्डे थप्छन्, ‘एक बच्चाको लागि सबैभन्दा सुरक्षित ठाउँ आमाको काख हो । तर आमाको हातबाट बच्चा गायब भयो । यो भन्दा कारुणिक घटना अरु के होला ।’
सशस्त्र प्रहरी र स्थानीयले खोजी गर्दा पनि पानीको ठूलो प्रवाहका कारण समस्या भएको अध्यक्ष बताउँछन् । भन्छन्, ‘बर्खाको समय छ । नदीको बहाव तीव्र रहेको छ । अझ उनीहरू बेपत्ता भएपछि दुई दिन निरन्तर वर्षा भयो । झनै नदी बढेर आएको छ । जसको कारण खोजतलासमा समस्या भइरहेको छ । हामीले आफ्नो क्षेत्राधिकार देवघाटसम्म खोजी कार्य जारी राखेका छौँ । तर भेटिएको छैन ।’
प्रतिक्रिया