अष्टलक्ष्मीले केपी ओलीको राजीनामा माग्दा विष्णु पौडेलले भने- विद्या भण्डारीलाई पार्टीमा ‘वेलकम’ गरौँ « Khabarhub

अष्टलक्ष्मीले केपी ओलीको राजीनामा माग्दा विष्णु पौडेलले भने- विद्या भण्डारीलाई पार्टीमा ‘वेलकम’ गरौँ



काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व त्यागको दबाब बढ्दै गएको छ । भक्तपुरको गुन्डुमा शुक्रबार बसेको ५८औँ ओलीकै पक्षका नेताहरूले पनि उनीमाथि पद त्यागको दबाब बढाएका हुन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीलाई पदबाट राजीनामा दिएर पार्टीलाई जोगाउन भनेकी छन् । उनी ओलीनिकट नेताका रूपमा चिनिन्थिन् । तर उनी यसअघि यसरी बोलेकी थिइनन् ।

शाक्यले यसपटकको बैठकमा नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै प्रष्ट शब्दमा ओलीले पार्टीको नेतृत्वबाट राजीनामा दिनुपर्ने बताएकी हुन् ।

बैठकमा उनीसँगै उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि शाक्यलाई साथ दिए । शाक्यले अहिलेको राजनीतिक परिस्थिति र जेन-जी युवाहरूको आन्दोलनको भावनालाई ख्याल गरेर अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बताएकी थिइन्। उनका शब्दमा, ‘पार्टी अध्यक्षले अब नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ।’

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोलेपछि अन्य नेताहरूको बोलेका थिए  । शाक्यले आफ्ना कुरा राख्दै लिखित रूपमै ओलीको राजीनामा माग गरेकी हुन्। उनले लिखित रूपमै राजीनामा माग गरेको एमालेका एक सचिवालय सदस्यले खबरहबलाई जानकारी दिए।

ती सचिवालय सदस्यका अनुसार अहिलेको नेतृत्वले जेन-जीको मागलाई सम्बोधन गर्न नसक्ने भन्दै पुराना नेता बिदा भएर नयाँलाई अवसर दिन राजीनामा दिनुपर्ने कुरर उठेको हो ।

ती नेताले खबर हबलाई भने, ‘यो सरकारको बाटो कता हो थाहा छैन । अध्यक्षज्यू खाली एउटै कुरामा अडिएर षड्यन्त्र भयो, षड्यन्त्र भयो भनेको सुन्छु। कहाँनिर षड्यन्त्र भयो ?’ शाक्यले बैठकमा भनेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘हामी असफल भयौँ, अरुलाई अगाडि बढाउनुपर्छ । तपाईंले सहज निकासका लागि राजीनामा दिनुस्।’

शाक्यले यसो भन्दा ओलीले गम्भीर रूपमा उनका कुरा सुनेका थिए। बैठकमा सहभागी अर्का सचिवालय सदस्यका अनुसार शाक्यले कुरा राख्दा ओलीको आँखा अन्य नेताको हाउभाउमासमेत केन्द्रित भएको देखिन्थ्यो।

ईश्वर, युवराज र सुरेन्द्र पनि बोले

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे लगायतका नेता पनि ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा देखिए।

सचिव गोकर्ण बिष्ट लगायतका नेताले पनि वर्तमान नेतृत्वले जेन-जीको आवाज बोक्न नसक्ने र निराशा चिर्न नसक्ने भन्दै यसबारे गम्भीर रूपमा सोच्नुपर्ने बताएका थिए। बैठकमा नेताहरूले निर्वाचन अगाडि नै महाधिवेशन गरेर पार्टीलाई ऊर्जा भन्नुपर्ने कुरा राखेका थिए। एमालेको सचिवालय बैठक भोलि पनि बस्ने बताइएको छ।

उता महासचिव शंकर पोखरेलले अहिलेको अवस्थामा नेतृत्वलाई खुइल्याउने भन्दा पार्टीलाई चलायमान बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् । उनले अध्यक्ष ओलीलाई सहयोग गर्दै बाहिरबाट नेतृत्वमाथि चौतर्पी घेराबन्दी हुँदा पार्टीभित्र पनि नेतृत्वको बदनाम गर्ने काम गर्न नहुने बताए । ओलीको बचाउ गर्दै उनलेे सिङ्गो लोकतन्त्र रक्षाका लागि अहिले पार्टी एक ढिक्का हुनुपर्ने बताएका छन् र

विद्याको सदस्यता नवीकरण गरौँ

बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेर उनलाई पार्टीमा वेलकम गर्नुपर्ने कुरा नेताहरूले उठाए । उपाध्यक्ष विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे लगायत नेताले यसबारे बोले । अझै प्रष्ट शब्दमा कुरा राख्दै उपाध्यक्ष पौडेलले विद्याको सदस्यता रोक्ने होइन, उनलाई वेलकम गर्नुपर्ने तर्क गरे।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पनि पूर्वराष्ट्रपतिको सदस्यता नरोकिनुपर्ने संकेत गरे। तर उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र गुरू बरालले सदस्यता नवीकरण गरेर पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने बेला अहिले नभएको बताए।

“हामी पुराना नेतालाई बिदा गर्ने भन्दैछौं तर फेरि किन पुरानै नेतालाई पार्टीमा फर्काइरहने कुरा गर्ने ? पुरानालाई भन्दा नयाँलाई अवसर दिनुपर्ने अवस्थामा अहिले पार्टी पुगेको छ’, शाक्य र बरालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘भण्डारीजी राजनीतिमा आएर पार्टीमा के ऊर्जा थपिन्छ भन्ने कुराको पनि त विश्लेषण गर्नुपर्यो नि ।’

तर उपाध्यक्ष विष्णु पौडेलले भने जनतामा रहेको चरम निराशा चिर्न स्वच्छ छवियुक्त वभण्डारीलाई राजनीतिमा स्वागत गर्नुपर्ने बताएका छन् ।

शुक्रबारको बैठकमा पाँचजना उपाध्यक्ष बोले। यस्तै महासचिव शंकर पोखरेल र उपमहासचिवहरूले समेत बोलेको बताइएको छ। बैठकमा अध्यक्ष ओलीले धारणा राखेका छैनन्।

महेशबारे प्रश्न

उपाध्यक्ष शाक्यले पोलिटब्यूरो सदस्य महेश बस्नेतका अभिव्यक्तिबारे पनि बैठकमा आपत्ति जनाइन् । पार्टीलाई क्षति पुग्ने गरी उनलाई सार्वजनिक रूपमा बोल्न नदिनु पर्ने पनि शाक्यले बताइन्। ‘किन यसरी बोल्न दिइदैछ? यस्तो व्यवहारले पार्टीलाई फाइदा हुँदैन,’ शाक्यले प्रश्न गरिन्।

उनको टिप्पणीपछि अध्यक्ष ओलीले तत्काल प्रतिक्रिया जनाए । बस्नेतको बचाउमा भने, ‘अप्ठ्यारो पर्दा अरू कोही बोल्दैन। पार्टीभित्र बहादुरीका साथ बोल्ने र काम गर्ने मान्छे महेश बस्नेत मात्रै हुन् ।’

शाक्यले गत भदौ २३ र २४ गतेका घटनालाई केवल षड्यन्त्र भनेर टार्न नहुने बताइन् । उनलेे ती घटनाको जिम्मेवारी लिन ओलीलाई आग्रह गरिन्। ‘भोलिपल्ट सरकार ढल्न लागेको कुरा थाहा नपाउने स्थिति भयो। त्यसलाई षड्यन्त्र भनेर मात्रै हुँदैन। नैतिक जिम्मेवारी लिनुस् र नयाँ नेतृत्वलाई छाड्नुस्’, उनलेे भनिन् ।

बैठकमा उपाध्यक्ष पौडेल र रामबहादुर थापा ‘बादल’ले पनि पार्टीभित्र आन्दोलनको पुनर्गठन अब अतिजरूरी भइसकेको भनेर ओलीमाथि दबाब बढाउँदै लगेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ११ बजे

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य