गण्डकी– चिट्ठीपत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्याउने भरपर्दो प्राचीन माध्यमका रूपमा रहेको हुलाक सेवालाई हुलाक सेवा विभागले द्रुत डाँक सेवाका माध्यमबाट प्रभावकारिता बढाउने प्रयास गरेको छ ।
विभागले समयको माग र ग्राहकको चाहनाअनुरूप छिटो, छरितो, भरपर्दो तथा अत्याधुनिक रूपमा कागजात एवं मालसामान आदान प्रदान गर्नका लागि व्यावसायिक सार्वजनिक सेवाका रूपमा द्रुत डाँक सेवालाई बढाइएको विभागका शाखा अधिकृत शालिकराम बस्यालले जानकारी दिए।
उनका अनुसार नेपाल हुलाकले सन् १९९० देखि हुलाक ऐन तथा नियमावलीअनुसार डाँक हराएमा क्षतिपूर्तिसहितको द्रुत डाँक सेवा प्रदान गर्दै आइरहेको छ ।
बहुपक्षीय सार्वजनिक सेवाका रूपमा रहेको यो सेवा सरकारी संस्था वा नियमित संस्थाद्वारा सञ्चालित हुने बताउँदै उनले यसमा प्रमुख जिम्मेवार पक्षहरूका रूपमा भन्सारकर्मी, सुरक्षाकर्मी, बैंकिङ्गकर्मी, वायुसेवाकर्मी, यातायातकर्मी, सूचना प्राविधि आदि रहने जानकारी दिए।
हाल नेपालभित्र ४५ जिल्लामा र विश्वमा ३९ देशका ४२ स्थानमा द्रुत डाँक सेवा प्रदान गरिँदै आइएको छ । द्रुत डाँक सेवा विश्वसनीय एवम् भरपर्दो सेवा प्रवाह रहेको बताउँदै उनले यो सेवामा छिटोछरितो तवरले चलान तथा वितरण, अन्य निजी सेवा प्रदायकको तुलनामा सेवा लागत सस्तो, समयसीमाबद्ध, वितरण निश्चितताका साथै सेवाग्राही केन्द्रित रहेको जानकारी दिए।
यस सेवामा विभागले ग्राहकले चाहेमा वितरणको प्रमाण उपलब्ध गराइने र नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रवाह गर्ने जनाएको छ । सेवाअन्तर्गत प्रत्येक प्याकेटमा आन्तरिकतर्फ दुई किलोग्रामसम्म र वैदेशिकतर्फ २० किलोग्रामसम्म पठाउन सकिने व्यवस्था गरिनुका साथै प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली, ग्राहकले पठाएको हुलाक वस्तुको अवस्था यकिन गर्न इन्टरनेटमार्फत ट्र्याकिङ र ट्रेसिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
यसरी पठाइएका समाग्री हराएमा, नासिएमा वा ढिलो पुगेमा कानुनबमोजिम क्षतिपूर्तिको प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ । वैदेशिक हुलाक वस्तुको सेवा क्षेत्रका रूपमा देशका सबै जिल्लालाई तीन क्षेत्रमा विभाजन गरिएको छ ।
त्यस्तै आन्तरिक द्रुत डाँक सेवाअन्तर्गत एक दिनमा हवाई मार्गबाट काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, पर्सा, रूपन्देही, बाँके र कैलाली गरी ११ जिल्लामा डाँक ढुवानी गर्ने व्यवस्था मिलाइएको छभने दुई दिनमा पर्वत, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा, जुम्ला र हुम्ला गरी १८ जिल्लामा डाँक ढुवानी गर्ने व्यवस्था छ ।
यी जिल्लाबाहेकका सबै जिल्लामा तीन दिनमा डाँक ढुवानी गरिसक्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले यी स्थानमा प्रतिकुल परिस्थितिले ढिला भए पनि चारदेखि सात दिनसम्म सबै जिल्ला सदरमुकाम पुर्याइने जानकारी दिए ।
हवाई मार्गबाट आन्तरिक डाँकका साथै द्रुत डाँक सेवा सञ्चालनमा लागि विभिन्न हवाई कम्पनीसँग सम्झौता गरिएको उनले जानकारी दिए। हुलाक सेवाका आफ्नै साधन र हवाई माध्यमबाट ढुवानी हुने उल्लेखित बाहेकका अन्य स्थानमा स्थलमार्गबाट सार्वजनिक सवारी साधनसँग सम्झौता गरी हुलाक वस्तु ढुवानीको व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
वैदेशिक हुलाक सञ्चालनका लागि कतार एयरवेजमार्फत २०७९ मङ्सिर १९ गतेदेखि नेदरल्याण्ड, बेल्जियम, डेनमार्क, कतार, जर्मनी, स्विट्जरल्याण्ड, फिनल्याण्ड, बेलायत, संयुक्त राज्य अमेरिका, स्पेन, रूस, नर्वे, फ्रान्स, इटाली, स्विडेन र अस्ट्रिया गरी १६ देशका १९ गन्तव्यमा सेवा सञ्चालनमा आएको छ । नेपाल एयरलायन्समार्फत भारत, मलेसिया, युएई, कतार र जापान गरी पाँच देशका छ गन्तव्यमा सेवा सञ्चालन भइरहेको छ ।
त्यस्तै सिङ्गापुर एयरलायन्स मार्फत २०७९ माघ २५ गतेदेखि जापान, कोरिया, सिङ्गापुर, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, न्युजिल्यान्ड, अष्ट्रेलिया, माल्दिभ्स र इन्डोनेसिया गरी १० देशका १२ गन्तव्य गरी जम्मा २९ देशका ३४ गन्तव्यमा सेवा सञ्चालन गरिएको जनाइएको छ ।
प्राचीन कालमा परेवा, बाज, हात्ती, घोडा आदिले चिट्ठीपत्र ल्याउने लैजाने गर्थे भन्ने किंवदन्ती रहेको पाइन्छ । प्राचीन कालमा पेरिस र रोमबाट सुरु भएको मानिने हुलाक सेवाको आधुनिकीकरण भने बेलायतबाट सुरु भएको हो ।
नेपाल एवम् विश्वमा नै अत्यावश्यक सेवाका रूपमा रहेको यो सेवा परम्परागत चिट्ठीपत्रका अतिरिक्त पुलिन्दा सेवा र व्यावसायिक समग्री ढुवानीतर्फ अघि बढेको हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले जानकारी दिए ।
सञ्चारको प्राचीन र विश्वव्यापी माध्यमका रूपमा रहेको यो सेवा विश्वका १९२ देशमा रहेको छ । विसं १९३५ मा हुलाक घरको स्थापनापश्चात् नेपालमा हुलाक सेवा सुरुआत भएको उल्लेख गर्दै पौडेलले १४७ वर्षको इतिहासमा समयसापेक्ष यस सेवाको प्रभावकारिता बनाउनेतर्फ विभाग अघि बढिरहेको बताए।
उनका अनुसार विसं २०१३ आश्विन २६ मा नेपाल विश्व हुलाक सङ्घको सदस्य भएको थियो । विसं १९९३ मा नेपाल र भारतबीच सम्झौता भएपछि नेपाली र भारतीय टिकटको प्रयोगमा यी दुई देशबीच पत्र पठाउने कामको सुरूआत गरिएको पाइन्छ ।
विसं २०२८ मा नेपालमा हुलाक सेवा विभाग स्थापना भएको र गत आर्थिक वर्ष २०८१÷८२ बाट हुलाक सेवाको पुनर्संरचना भएको उनले जानकारी दिए ।
सीमित साधनस्रोतका बाबजुद विभागले सेवालाई प्रभावकारी बनाउनेतर्फ लागिरहेको बताए । विभागका अनुुसार सन् २०२४ मा हुलाक सेवामार्फत २२ लाख २३ हजार ४२ आन्तरिक हुलाक वस्तु पठाइएको छ भने वैदेशिक हुलाक वस्तु पाँच लाख ६३ हजार ४१९ पठाइएको छ । यस अवधिमा वैदेशिक हुलाक वस्तु एक लाख ४१ हजार ७४२ प्राप्त भएको छ ।
त्यस्तै दु्रत डाँक सेवामार्फत १३ हजार ६३ आन्तरिक र छ हजार २१५ अन्तरराष्ट्रिय हुलाक वस्तुको करोबार भएको जनाइएको छ । सन् २०२४ मा कुल २९ लाख ४७ हजार ४८० हुलाक वस्तु कारोबार भएको विभागले जनाएको छ ।
हुलाक सेवालाई समय सापेक्ष गुणस्तरीय बनाउने उद्देश्यका साथ दु्रत डाँक सेवालाई सहज, सरल एवम् प्रभावकारी बनाउनेतर्फ विभाग निरन्तर लागिरहेको विभागका महानिर्देशक मनमाया भट्टराई पगेंनीले बताए।
यस सेवालाई प्रभावकारी बनाउँदै आम नागरिकसँग नजिकमा जोड्ने गरी पहल भइरहेको बताउँदै उनले सेवा प्रवाहमा आफू नागरिक भएर सोच्नुपर्नेमा जोड दिए।













प्रतिक्रिया