चीनले हिल्सामा बनायो मितेरी पुल, नेपालतर्फ किचलो सुरु | Khabarhub Khabarhub

चीनले हिल्सामा बनायो मितेरी पुल, नेपालतर्फ किचलो सुरु

सिमकोटमा ‘सर्वदलीय र सर्वपक्षीय’ रटान


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाल र चीनको हुम्लास्थित सीमा नाका हिल्सामा चीनले पक्की ‘मितेरी पुल’ निर्माण सम्पन्न गरेको छ । चीन सरकारले गत असारबाट निर्माण थालेर माघमै मोटरेबल पुल तयार गरेको हो ।

तर, पुल हुँदै सवारीसाधन चलाउन नेपालतर्फको संरचना बाधक बनेको छ । नेपालको कर्णाली क्षेत्रलाई जोड्ने उत्तरी छिमेकीसँग जोड्ने महत्वपूर्ण द्विदेशीय मोटरेबल सीमा पुल चलाउन अब नेपालले नै गृहकार्य अघि बढाउनुपर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

१४६ मिटर लम्बाइ रहेको मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर जमिनमाथि निर्माण गरिएको छ । पुल निर्माणका सबै काम पूरा भएको, तर नेपालतर्फ सडकको दायाँबायाँ केही घर भएकाले कारण पुल सञ्चालनका ल्याउन ढिलाइ भएको हिल्सा–सिमकोट सडक आयोजनाका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए ।

‘सबै काम सम्पन्न भएपछि मितेरी पुल सञ्चालनमा ल्याउन सहमति भएको थियो,’ नेपालीले भने, ‘नेपालतर्फ पर्ने ६ वटा घर र सार्वजनिक शौचालयका कारण हिल्साबाट सवारीसाधनमार्फत नेपाल–चीन आवतजावत सञ्चालनमा ल्याउन सकिएको छैन ।’

मितेरी पुल निर्माणका बेला नेपालतर्फको १०० मिटर सडकसम्म चिनियाँ पक्षले बनाउने सम्झौता भएको थियो । चिनियाँ ठेकेदारले नेपालतर्फ भएका संरचनाका कारण पुलसम्म पहुँच मार्ग निर्माण गर्न बाँकी रहेको नेपालीले जानकारी दिए ।

‘म दुईपटक हिल्सा पुगेर समस्या समाधानका लागि पहल गरे,’ उनले भने, ‘चिनियाँ ठेकेदारसँग भेट नभएका कारण थप कुरा हुन पाएन ।’

पुल निर्माण अवधिमा प्राविधिकबाट चारपटक अनुगमन गरिएको र आठ महिनामै चिनियाँ पक्षले मितेरी पुल निर्माण सम्पन्न गरे पनि सञ्चालनमा ल्याउन भने नसकिएको आयोजना प्रमुख नेपालीले बताए ।

‘चिनियाँ पक्षले नेपालतर्फ पहुँचमार्ग निर्माणको काम गरिरहेको छ,’ उनले भने, ‘नेपाल तर्फको पुलको छेउबाट २०० मिटर सडक चीन सरकारले निर्माण गर्नुपर्ने सम्झौता छ, तर नेपाली भू–भागमा शौचालय, आधादर्जन व्यक्तिगत घर र हेलिप्याड लगायतका संरचना भएका कारण सडक निर्माणको काम हुन सकेको छैन ।’

चिनियाँ पक्षले ती संरचना खाली गर्न आग्रह गरे पनि सडक निर्माण हुन नसकेको र पुलबाट सडक निर्माण गर्दा हिल्सामा नेपाली सार्वजनिक संरचना र व्यक्तिगत भौतिक संरचना भत्काउनुपर्नेछ । त्यसैले सडकको रेखाङ्कन नै परिवर्तनका लागि जिल्लामा सर्वपक्षीय बैठकले अनुरोध गरेको आयोजना प्रमुख नेपालीले बताए ।

‘नेपालीको घर तथा अन्य संरचना नभत्काउनेगरी कसरी सडक निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘नेपालतर्फ रहेका घर तथा अन्य संरचना नभत्काउने गरी सर्वदलीय तथा सर्वपक्षीय छलफल आवश्यक छ ।’

हुम्लाको सिमकोटबाट चीनको सीमा हिल्सासम्म ९३ किलोमिटर सडक रहेको छ । आर्थिक वर्ष ०५३÷०५४ मा शुरु भएको हिल्सा–सिमकोट सडक अहिले पूर्णरूपमा सञ्चालनमा रहेको आयोजना प्रमुख नेपालीले जानकारी दिए ।

हुम्लाको हिल्सासम्म कर्णाली करिडोर जोडिएको छ । बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्मको दूरी ४१० किलोमिटर पर्छ ।

नरहरीनाथ गाउँपालिका–८, खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १९६ किलोमिटर सडक ट्रयाक नेपाली सेनाले खोलिसकेको छ । चीनसँगको सीमा हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १४६ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाबाट काम भइरहेको छ ।

उक्त सडकखण्डको काम पनि तीव्र रूपमा भइरहेको बताइएको छ । तर कर्णाली नदीमाथि अहिलेसम्म पुल बन्न नसक्दा हुम्ला सदरमुकामसम्म सडक पुर्‍याउन सकिएको छैन ।

हिल्सा–सिमकोट सडक आयोजनाले जिम्मा लिएको १४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमकोटसम्मको ९३ किलोमिटर सडक निर्माण भइसकेको आयोजनाले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड इनिसियटीभ’ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हिल्सा–सिमकोट सडक परियोजनामा सम्झौता भएको थियो ।

भाडादर महङ्गो

यातायात व्यवसायीहरूले हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सासम्मको ९३ किलोमिटर दूरीको भाडा प्रतिव्यक्ति तीन हजार ५६२ रुपैयाँ लिनेगरेका छन् । यो भाडादर पनि घटाएर कायम गरिएको हो ।

कच्ची सडकमा यातायातका साधनले बढी क्षति ब्यहोर्नुपर्ने भएका कारण मौखिक सहमतिमा यातायात ब्यवसायीहरू भाडा घटाएर यात्रु बोक्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

‘भर्खर भर्खर यातायातका साधनहरू सञ्चालनमा आइरहेका कारण नियमसङ्गन रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको छ’, प्रजिअ पाण्डेले भने, ‘भोलिका दिनमा भाडादर नियमअनुसार गरिनेछ ।’

प्राथमिकता उत्तरी नाका, तर बजेटको अभाव

कर्णाली प्रदेश सरकारले कर्णालीका उत्तरी नाका सञ्चालनलाई प्राथमिकतामा राखेको छ । प्राथमिकतामा परे पनि कामको गति भने सुस्त छ ।

मुगुको नाक्चेलाग्ना, डोल्पाको मोरिल्ला र हुम्लाको हिल्सा नाका खोल्न सके कर्णालीको समृद्धिको ढोका खुल्ने भन्दै प्रदेश सरकारले यी नाका खोल्न कसरत गरिरहेको छ ।

प्रदेश सरकारको बजेटले यति ठूला आयोजना निर्माण गर्न नसकिने र संघीय सरकारले पर्याप्त बजेट नदिँदा अपेक्षा अनुरूप यी आयोजनाका काम अघि बढ्न नसकेको हो ।

चीन सरकारले हिल्सा नाका बाहेक नाक्चेलाग्ना र मोरिल्ला नाका खोल्न भने आनाकानी गर्दै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : २१ बजे

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

एजेन्सी – पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन

भूमि बाहेकका पाँच अध्यादेश पनि पास गर्ने ग्यारेन्टी दिएनन् उपेन्द्रले

काठमडौं– जनता समाजवादी पार्टी नेपालले गत माघ २ गते राष्ट्रपति

अर्थसंक्षेप : अर्थसचिवमा उपाध्यायलाई स्वागत, चीनले हिल्सामा बनायो मितेरी पुल

अर्थसचिवमा उपाध्यायलाई स्वागत, डा.घिमिरेको बिदाइ अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई

एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल– उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको विस्फोटमा एक