काठमाडौं – ‘घोडाको चित्र बनाउनु र तबेलामा घोडा पाल्नु नितान्त फरक विषय हो ।’ अझ अर्काथरि भन्छन्– ‘बाटामा लिदी देखेको भरमै घोडाको खोजीमा दौडने चरम आशावादी मानिसका लागि सफलता आफैं गुलाम बनेर उपस्थित हुन्छ’ भनिन्छ ।
धादिङबाट शहर पसेको किशोर बामदेव अधिकारीले काठमाडौंमा आएर धेरै सपना देखे । देश बनाउन राजनीति गर्नुपर्छ भनेर विद्यार्थी राजनीतिमा हेलिए । आफूलाई जिन्दावाद र मुर्दावादको भेलमा समााहित गराए । भोक तिर्खा केही भनेनन् । नेताहरूले उर्दी लगाएको ठाउँमा हाजिर भए ।
सामाजिक रूपान्तरण, मुलुकको समृद्धिका सूत्र कसैले बीपीको समाजवाद, कसैले मदन भण्डारीको जनवाद, कसैले माक्र्स लेनिनका ठूला ठूला ठेलीका रहेको ठहर सुनाए । अन्ततः उनले आफ्नो परिवेशको प्रभावमा बीपी रोजे ।
त्यो समय माओवादी हिंसा चरम थियो । राजाको प्रत्यक्ष शासन विरुद्ध दलहरू आन्दोलित थिए । कलेजको माहोल त्यस्तै थियो । कांग्रेसको पदाधिकारीमा रहेका गगन थापा र विश्वप्रकाश शर्मा नेता थिए । बामदेवहरू उनीहरूको बाटो पछ्याउनुलाई आफ्नो गन्तव्य सम्झन्थे ।
त्यो समयदेखि यहाँसम्म आउँदा जनताको गरिबीलाई भर्याङ बनाउनेहरू सम्पन्नतामा अडेस लागेको देखे । राजाको विरोध गर्नेहरूमा आफैँ राजा हुने लोभ रहेको दृश्य देखे । राजनीतिलाई जागिर बनाउनेहरूको भीडको दृश्यले विरक्ति लागेपछि आफ्नो जाउलोको प्रबन्ध आफैं गर्नुपर्छ भनेर कालिज पाल्ने रहर जाग्यो ।
कालिजपालन नेपालमा नयाँ भएकाले उनको छनोटमा परेको हो । रहरबाट शुरु कृषिकर्म कहरमा अनुवाद भएको प्रत्यक्ष भोगाइका साक्षी बामदेवको ठहर छ – यो मुलुकमा साँचो दलित भनेका कृषक रहेछन् । यिनीहरूको आपतविपतमा कोही बोल्दैन । कसैले काँध हाल्दैन । कसैले भर दिँदैन । कृषक बन्ने ध्याउन्नमा भोगेका उतार चढावका विषयमा उनी यसरी खुले ।

कालिजपालनमा कोभिड बाधक
समाजसेवासँग जोडिने उद्देश्यले राजनीतिमा लागेको हो । तर राजनीतिमा लागे पनि स्वनिर्भर तथा आत्मनिर्भर हुन भने कृषि कर्ममा जोडिएको हो । धादिङको मानिस तरकारी, पशुपालनतर्फ पनि लाग्न सकिन्थ्यो ।
अझ म त संस्कृत पढेको मानिसका लागि व्यवसायको सोच आफैंमा अनौठो थियो । अरूले देख्दा स्वाभिमानी हुने र आत्मसम्मान र आत्मसन्तुष्टि हुन्छ भन्ने उद्देश्यबाट प्रेरित भएर अन्तत कृषि कर्म रोजेको हो । नेपालमा कालिज पालनको सुरुवाती अभियानकर्ता हो ।
कालिज व्यवसायको सुरुवाती चरण थियो । त्यस समय माहोल पनि राम्रै थियो । नयाँ व्यवसाय भएकाले छिटै स्थापित भइन्छ भन्ने पनि लागेको थियो । सुरुवात गर्नेमध्ये हामी पनि हौँ ।
कालिजको बजारको माहोल राम्रै बनेको थियो । राम्रोसँग चल्छ भन्ने आत्मविश्वास थियो । हाम्रो बजार सम्भ्रान्त वर्ग थियो । हामीले हाम्रो उत्पादन त्यहाँ पुर्याउँछौँ भन्ने थियो । ‘पैसा तिरेर राम्रो खान्छु’ भन्ने वर्ग पनि छ । त्यो वर्गको पहिचान गरेर फार्मको स्थापना भएको थियो ।
एकजना साथीसँग मिलेर २०७५ सालमा एक करोड लगानीमा कालिज व्यवसाय सुरु भयो । जायजेथा धरौटी राखेर बैंकबाट ऋण लिएर सुरु गरिएको थियो । भौतिक संरचना निर्माण गरियो । जब कालिज पालन सुरु गरियो, तब कोभिड सुरु भयो ।
हामीले मासुभन्दा पनि हजारौं चल्ला उत्पादन गर्ने सामथ्र्यमा पूर्वाधार बनाएका थियौं । कालिजका अण्डा कोरल्ने माउलाई विशेष हेरचाह खान्की पुर्याउनु पथ्र्यो । तिनीहरूलाई पुर्याउने हेरचाह आईसीयू विरामी स्याहार्नभन्दा २०७६ सालमा लकडाउनबाट व्यवसाय डाउन हुन थाल्यो । त्यो समयमा कालिज मात्रै नभएर हरेक व्यवसाय खस्कियो ।
कृषि व्यवसाय त झनै संकटमा पर्यो । धेरै व्यवसायीहरू विस्थापित हुने अवस्था आयो । संकटको घडीमा राज्यको संरक्षण भएन । फार्मको ऋण अन्य व्यवसाय जागिर गरेर सल्टाउँदैछौँ ।

कालिज व्यवसाय भर्खर सुरु भएको थियो । राज्य निर्देशिका बनाउने चरणमा थियो । तर संकटले त्यो पनि सेलायो । अरू व्यवसाय जस्तो कालिज बीमा सुरुवात भएकै थिएन । हाम्रो पहलमै नीति बन्ने चरणमा थियो । त्यो अहिले त्यत्तिकै छ । घाटामा गएपछि निराशाको स्थितिमा पुगियो ।
व्यवसाय बन्द भएको त छैन तर त्यसमा थप लगानी गर्ने अवस्था छैन । कालिज सोखका मानिसको बजार भएकाले चलेन । कालिज व्यवसाय गरेका अन्यको अवस्था पनि गतिलो छैन । कालिजको सम्भावना जे देखिएको थियो, त्यो रहेनछ । राजनीति गर्नेहरूको पारदर्शी जीवन छैन । त्यसलाई चिर्नु थियो । त्यही भएर व्यवसायमा लागेको हो ।
कालिज फार्म घाटामा जाँदैमा असफल भन्न मिल्दैन । काम गर्दै जाँदा सबै क्षेत्रमा सफलता हासिल हुन्छ भन्ने छैन । जीवन भनेको सफलता र असफलता हो । कालिज व्यवसायलाई जुन स्थानमा पुर्याउँछु भन्ने थियो त्यो भएन । तर अन्य कामहरू गरिरहेकै छु । प्रयास जारी छ । खेप गएको हो, जिन्दगी होइन ।
कृषि अनुदानको प्रहसन
अनुदानको चरम दुरुपयोग छ । सत्तासँग नजिक भएका, गैर व्यवसाय गर्नेहरूले राज्यबाट पाउने सुविधा दुरुपयोग गरिरहेका छन् । राज्यले प्रदेश र पालिकाहरूलाई थोरै अधिकार दिए पनि पछिल्लो समय केन्द्रबाट सीधै अनुदान छैन । किसानलाई प्रोत्साहित गर्दै कृषि व्यवसायमार्फत आर्थिक उन्नति गराउने हेतुले उक्त कार्यक्रम बनेको हो ।

तर त्यसको सही सदुपयोग हुन सकेन । बरु अहिले राज्यले अनुदान दुरुपयोग वा सदुपयोग के भइरहेको छ, खोजिरहेको छु । कृषिमन्त्री रामनाथ अधिकारीले यसको पहल गरिरहेको पाएको छु । मन्त्रालयले समिति नै बनाएर अध्ययन गरिरहेको छ । अनुदान लिएर व्यवसाय गरिरहेका छन् वा छोडे त्यसको सत्यतथ्य खुल्ने आशा गरौं ।
कृषिप्रधान देशमा कृषकको बेहाल
राज्यले व्यवस्थित तरिकाले कृषि कर्मलाई प्रोत्साहन गर्नुपर्छ । उत्पादनको बजार चाहियो । व्यवसाय घाटामा गयो भने अभिभावकत्व लिनुपर्यो । किसानलाई लाभ हुने काम गर्नुपर्यो ।
नेपालको ओरिजिन कृषि हो । विविधताको कारणले यहाँ अनेक प्रकारका कृषि उत्पादन हुन्छ । यहाँको हावापानी र माटो कृषिको लागि उपयुक्त छ । जडीबुटीको सम्भावना छ । मुलुकमै बसेर गर्न सकिन्छ भन्ने विश्वास युवाहरूमा जगाउन सकिएको छैन ।
हामी जत्तिको मान्छेले पुरै निराशाको कुरा गर्न पनि नमिल्ला । तर भविष्य यहीँ सुनिश्चित छ भनेर आशा जगाउन राज्यले सकेको छैन । राजनीति मेरो लागि सेवा हो । त्यसमा पनि खुसी छ । कृषि कर्ममा लागेका अधिकांशमा निराशा छ । बजार छैन, बजारमा माफियाको बिगबिगी छ । उचित मूल्य छैन । शोषित वर्ग कोही छ भने त्यो कृषि हो ।
धमिलो अवस्थाबाट सङलोमा जाने प्रयास जस्तो देखिन्छ । तर परिणाम देखिएको छैन । व्यक्ति र पार्टीलाई मात्रै दोष दिएर हुँदैन । मुलुकको व्यवस्थाप्रति नै नागरिक रुष्ट बन्दै गइरहेको देखिन्छ ।

नार्कमा पाएको भूमिका
केही दिन अगाडि सरकारले मलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सञ्चालक सदस्य नियुक्त गरेको छ । हुन त म विगत ६ वर्षदेखि कृषि कर्ममै छु । कृषकको समस्या नजिकबाट नियालेको छु ।
परिषद्मा रहेर कानुनले दिएको अधिकार प्रयोग गरी निर्धक्क देशमा कृषि कर्म गर्न सक्ने वातावरण बनाउन इमान्दारपूर्वक प्रयास गर्नेछु ।
किसानको हकमा राज्यले अभिभावकत्व ग्रहण गर्न नसक्दा अधिकांश मानिसहरू पलायन भएका छन् । त्यसको पैरवी गर्दै कृषकलाई आफ्नै भूमिमा भविष्य देख्नसक्ने बनाउन कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई झकझकाउने प्रयास गर्नेछु ।
त्यसबाहेक म पद्मकन्या कलेजमा पनि पढाउँछु । अध्यापनसंगै कृषिको व्यावसायिक विस्तारमा अर्जुनदृष्टि दिएर लाग्ने सोच छ । जसरी आगोको घाउ आगोमै सेकेर बिसेक बनाइन्छ – त्यसरी कृषिको चोट कृषि कर्मबाटै समन गर्नुपर्छ भन्ने लाग्छ । राजनीतिलाई व्यवसाय बनाउने प्रवृत्ति विरुद्ध अझै म सचेततापूर्वक लाग्नेछु ।
राजनीतिक चस्का
प्रजातान्त्रिक विचारलाई मन पराउने भएकाले नेपाली काँग्रेस निकट भातृसंगठन नेपाल विद्यार्थी संघमा जोडिएको हुँ । वाल्मिकि क्याम्पस, नेपाल ल क्याम्पस र त्रिभुवन विश्वद्यिालय केन्द्रीय क्याम्पसमा अध्ययन गरेँ । २०५५ सालदेखि विद्यार्थी नेविसंघमा आबद्ध भएँ ।
विद्यार्थी आन्दोलनमा जोडिएर जिल्ला कार्यसमितिमा रहेर पनि काम गरेँ । पछि २०७४ सालको नेविसंघको अधिवेशनमा सहमहामन्त्रीमा पराजित भएँ । त्यसपछि विद्यार्थी राजनीतिबाट प्रत्यक्ष रूपमा टाढिएर कृषि फार्मतिर लागेँ । सँगसँगै कलेज पढाउनतिर लागेँ ।

प्रतिक्रिया