काठमाडौं– भारतका विख्यात योगगुरु स्वामी रामदेवलाई आजभन्दा करिब १२ वर्षअघि राजनीतिमा प्रवेश गर्ने भुत सवार भयो । अन्ना हजारेको लोकप्रिय आन्दोलन देखेका रामदेवले दिल्लीको रामलीला मैदानमा भ्रष्टाचारविरोधी तीनवटा माग राखेर अनशनको तयारी गरे।
सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनको पूर्वसन्ध्यामै भारतीय प्रहरीले हस्तक्षेप गरेपछि रामदेव डरले थर्थर काँप्दै सेतो कुर्ता–सुरुवाल लगाएर महिलाको भेषमा भागे । रामदेवभित्र पसेको ‘राजनीतिको भुत’ त्यही रातदेखि उत्रियो ।
त्यही रामलीला मैदान हो, जहाँ रामदेवले त्यसअघि हजारौं मानिस भेला पारेर कयौंपटक सामुहिक योगासन गराएका थिए । मानिसहरु रामदेवले सुत् भन्दा सुत्थे । सास रोक् भन्दा सास रोक्थे । नाच् भन्दा नाच्थे । घोप्टो पर् भन्दा घोप्टो पर्थे । उत्तानो पर् भन्दा उत्तानो पर्थे ।
यसरी आफ्नो आदेशलाई शीरोपर गर्दै मानिसहरु साससमेत रोक्न तयार भएको देखेपछि रामदेवलाई लाग्यो– अब यी मानिसहरुलाई मैले राजनीतिमा डोर्याउँदा कसो साथ नदेलान् ?
तर, राजनीतिको कखरा नजानेका योगगुरु रामदेवलाई जन्तर मन्तरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरे पनि आफूले गिरफ्तारी दिनु उपयुक्त हुने र त्यसबाट लोकतान्त्रिक भनिएको सरकारमाथि नैतिक दबाव पर्नेछ भन्ने शुद्धि आएन । त्यसैले उनी लिङ्ग परिवर्तनको नाटक गरेर मैदानबाटै टाप कसे । आन्दोलनको मैदान नै छाडेर कुलेलम ठोके ।

भाग्ने क्रममा रामदेवले आत्तिँदै भनेका थिए – ममाथि इन्काउन्टरको साजिस रचिँदैछ ।
रामदेवकै हालतमा दुर्गा प्रसाईं
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईले विभिन्न बैंकबाट ५/६ अर्ब रुपैयाँ ऋण लिएर बिर्तामोडमा अस्पताल र मेडिकल कलेज खोलेका थिए । उनको पहुँच केपी शर्मा ओली र प्रचण्डलाई एउटै डाइनिङ टेबलमा राखेर मार्सी चामलको भात खुवाउनेसम्मको थियो ।
बैंकले ६ अर्बसम्म ऋणमा पत्याएको र त्यही ऋणबाट खोलिएको अस्पतालमा सयौंलाई रोजगारी दिएको अनि पढेलेखेका डाक्टरहरुसमेत आफूमा निर्भर रहेको देखेपछि प्रसाईँमा पनि बाबा रामदेवमा जस्तै राजनीतिक नेतृत्वमा पुग्ने भुत चढ्यो ।

आफूलाई जन्मजात कांग्रेस बताउने प्रसाईं शुरुमा माओवादी र त्यसपछि नेकपा एमालेको केन्द्रीय सदस्य एवं उद्योग विभागको उपप्रमुख बने । अन्ततः युट्युवरहरुले हजूर त केपी ओलीभन्दा पनि लोकप्रिय भैसक्नुभयो भनेर हौस्याएपछि उनी एमाले छाडेर ‘हिन्दु राष्ट्र एवं नागरिक बचाऊ अभियान’ का नेता बने । ज्ञानेन्द्र शाहलाई काँकडभिट्टा बोलाएर अभियानको उदघाटन गरे ।
तर, जब चैत १५ गते उनैले भनेको ‘जनविद्रोह’को दिन आयो, काठमाडौंको तीनकुनेबाट भागेका प्रसाई भारतको आसाममा पुगेर मात्रै सास फेर्ने स्थितिमा पुगे । रामदेव रामलीलाबाट देशै छाडेर भागेका थिएनन् तर प्रसाईचाहिँ यति धेरै आत्तिए कि देशै छाडेर हिँडे । रामदेवले जस्तै उनले पनि आफू प्रहरीबाट मारिने खतरा रहेको अभिव्यक्ति दिए । डराएर लुके पनि उनले आफू निडर रहेको बताउन छाडेनन् ।
दुर्गा प्रसाईंसँगै तीनकुनेमा मञ्च सेयर गरेका राप्रपा नेताहरु धवलशमशेर जबरा र रवीन्द्र मिश्र भने भागेनन् । उनीहरु अहिले पनि प्रहरी हिरासतमै छन् । तर, देशमा राजनीतिक क्रान्ति गर्छु र डराएर भाग्दिनँ भन्ने प्रसाईमा भने नेताले प्रहरीसँग डराउनुहुँदैन र गिरफ्तारीसमेत दिन तयार हुनुपर्छ भन्ने आँट देखिएन ।

चैत १५ को प्रदर्शनमा हिंसाका लागि कार्यकर्तालाई उक्साएको आरोप सरकारले धवलसमशेर र रवीन्द्र मिश्रमाथि लगाएको छ । दुईसातासम्म फरार रहेका प्रसाईमाथि पनि यही आरोप छ । प्रसाईविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । भारतको आसामबाट झापा हुँदै काठमाडौं जिल्ला अदालतमा ल्याइएका प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले शुक्रबार अनुमति दिएको छ ।
यो पनि-
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रसाईं, राणा र मिश्रमाथि प्रहरीले लगाएको यो आरोप नै अन्तिम होइन । अनुसन्धान सकेपछि प्रहरीले उनीहरुलाई अदालतमा पेश गर्नेछ र अदालतले निर्दोष सावित गर्ने ठाउँ पनि बाँकी नै छ । तर, यस्तो हुँदाहुँदै आन्दोलनको मैदानै छाडेर भाग्नुपर्ने खास कारण के थियो ? के यसले दुर्गा प्रसाईंभित्रको कायरतालाई देखाउँदैन ? यो अलग्गै विश्लेषणको पाटो हो ।
तथापि, यहाँ प्रसाईको बेग्लै प्रशंगमा चर्चा गर्न खोजिएको छ ।
नयाँ जोगी, राजाभन्दा बढ्ता राजावादी !

नेपाली समाज उखान टुक्काका लागि धनी मानिन्छ । भनिन्छ– नयाँ जोगीले धेरै खरानी घस्छ । विगतमा कांग्रेस, त्यसपछि माओवादी र नेकपा एमालेको केन्द्रीय नेतृत्वमा पुगेका प्रसाई ०७९ को आम निर्वाचनपछि ‘नयाँ जोगीका’ रुपमा बढी खरानी घसेका राजावादी बन्न पुगे ।
यसक्रममा प्रसाईंले यति धेरै खरानी घसे कि उनले कमल थापा र राजेन्द्र लिङदेनलाई समेत गाली गर्न भ्याए । राप्रपाका पुराना हस्तीहरु भन्दा आफू असली राजावादी भएको र आफूसँग धेरै ठूलो शक्ति रहेको दाबी प्रसाईले गरे । तथापि, चैत १५ पछि उनी ‘पुनः मुसिको भवः’ को अवस्थामा पुगेका छन् ।
कतिपय अवस्थामा केही पञ्चहरुलाई ‘राजाभन्दा पनि बढ्ता राजावादी’ देखिने रोग लाग्ने गरेको चर्चा नेपाली राजनीतिमा चल्ने गरेको थियो । प्रसाईको हकमा पनि यस्तै भयो । उनले ज्ञानेन्द्र शाहलाई समेत मैदानमा उत्रनुपर्छ भन्न भ्याए ।
अघिल्लो वर्षसम्म खरो गणतन्त्रवादी रहेका प्रसाई एकाएक राजावादी मात्रै भएनन्, राजाभन्दा बढ्ता राजावादी बन्न खोजे । अन्ततः बढ्ता उम्लिने क्रममा पोखिन पनि बेर लागेन ।
‘विद्रोह’सँग ख्याल ठट्टा

दुर्गा प्रसाईले आफ्नो सार्वजनिक मन्तव्यमा अब देशमा ठूलो ‘विद्रोह’ शुरु हुने बताउँदै आएका थिए । नेताका घर घेराउ गर्ने, सिंहदरबार कब्जा गर्ने, एयरपोर्ट कब्जा गर्ने, नेतालाई लतारेर सडकमा ल्याउने, कुट्ने, इत्यादि बताउने गरेका थिए । श्रीलंका र बंगलादेशमा जस्तै गर्ने बताउँदै आएका थिए ।
चैत १५ गते तीनकुनेको कार्यक्रममा पनि प्रसाईले ‘अब एयरपोर्ट र संसद भवन कब्जा गर्नुपर्छ’ भनेका थिए । त्यसपछि उनी आओ ! आओ ! भन्दै गाडी लिएर प्रहरीलाई पेल्दै सडकमा अगाडि बढे र बेपत्ता भए ।
के प्रसाईले आदेश दिएजस्तै तीनकुनेमा जम्मा भएका ४/५ हजार कार्यकर्ताबाटै चैत १५ गते काठमाडौंमा ‘विद्रोह’ सम्भव थियो ? त्यति नै जनशक्तिबाट संसद भवन र एयरपोर्ट कब्जा गर्न सम्भव थियो ? त्यो विद्रोह एकदिनको मात्र हुनेवाला थियो ? या १६/१७ गते पनि केही तयारी चाहिन्थ्यो ? विनातयारी, हावाकै भरमा काठमाडौं कब्जा गर्न सम्भव थियो ? थियो भने खै त त्यसपछिका दिनमा प्रसाईको आन्दोलन अगाडि बढेको ? यदि, सम्भव थिएन भने आन्दोलन नै रोकिने गरी किन एयरपोर्ट कब्जा गर्ने हिंसात्मक घोषणा गरेको ? यहीँनेर दुर्गा प्रसाईंको मूर्खता झल्किन्छ । उनले आन्दोलनको अन्तिम अस्त्रका रुपमा प्रयोग हुने ‘विद्रोह’ जस्तो गम्भीर विषयलाई ख्याल ठट्टाकै रुपमा लिएको प्रष्ट देखियो । प्रसाईबाट त्यो प्रकारको गम्भीरताको अपेक्षा गर्नु पनि शायद अर्को मूर्खता हो ।

हुन त प्रसाईले भूगितरुपमा दिएको भिडियो सन्देशमा तीनकुनेमा मञ्च बनाएर भाषण गर्ने कार्यक्रम मात्रै रहेको तर प्रहरीले बीचैमा अश्रुग्यास प्रहार गरेर बिथोलेको बताएका छन् । निजी घरको छतमा बसेर प्रहरीले टियर ग्यास हानेपछि भीड आक्रोशित बन्न गई निजी घरमा आगजनी हुन पुगेको प्रसाईको तर्क छ । अरु राजावादीहरुले पनि यही तर्क गरेका छन् ।
तर, के कोटेश्वरस्थित भाटभटेनीको छतबाट पनि पुलिसले अश्रुग्यास हानेको थियो ? त्यहाँ किन लुटपाट भयो ? एकीकृत समाजवादीको कार्यालयको छतमा प्रहरी थिएनन् तर त्यहाँ किन आगजनी गरियो ? जडिबुटीको सरकारी भवनमा किन आगो लगाइयो ? यसको जवाफ दुर्गा प्रसाई र अन्य राजावादीले दिन सकेको देखिँदैन ।
यस अर्थमा विद्रोहको घोषणा लगत्तै प्रसाईका कार्यकर्ताले मच्चाएको लुटपाटले गम्भीर प्रश्न जन्माएको छ– दुर्गा प्रसाईको साथमा राजनीतिक व्यक्ति छन् या आपराधिक लुटेरा ?
हुन त केही महिनायता प्रसाईले आफ्ना कार्यकर्तालाई श्रीलंका र बंगलादेशमा जस्तै सरकारी कार्यालय एवं नेताहरुका घर–घरमा छिर्न र लुटपाट मच्चाउन उक्साइरहेका थिए । चैत १५ को घटना त्यसैको ‘क्लाइमेक्स’ थियो ।
संसारभरिको राजनीतिक इतिहासले भन्छ– जब विद्रोहलाई ख्याल ठट्टाका रुपमा लिइन्छ र वस्तुगत परिस्थति नै तयार नभई विद्रोहको घोषणा गरिन्छ, त्यहाँ विद्रोह असफल हुने मात्र नभई विद्रोहको सम्भावना थप टाढिएर जानेछ । ७० दिने पेरिस विद्रोह होस् या १९०७ को असफल रुसी क्रान्ति, यसैका उदाहरण हुन् ।
चैत १५ गते दुर्गा प्रसाईको अगुवाइमा भएको हिंसात्मक एवं लुटपाटको गतिविधिले राजावादी आन्दोलनलाई यसैगरी गम्भीर धक्का लागेको छ । भलै, राजावादीको आन्दोलन पेरिस क्रान्ति वा जारशाहीविरुद्धको क्रान्तिजस्तो प्रगतिशील राजनीतिक परिघटनाचाहिँ होइन ।
कमसेकम, अब दुर्गा प्रसाईको राजनीतिक भविष्यमाथि बादल मडारिएको छ । लोकतान्त्रिक गणतन्त्रमा अब प्रसाई जेल पर्नबाट जोगिन सक्लान् तर त्यसपछिको उनको राजनीति विगतको जस्तो गर्माउने सम्भावना लगभग सकिएको छ । प्रसाईंको मात्र नभएर समग्र राजावादीहरुकै लागि यो एक प्रकारको ‘सेट ब्याक’ नै हो ।

राजावादी दलका रुपमा स्थापित राप्रपाका नेताहरुले देशमा निरंकुश राजतन्त्र नभएर संवैधानिक राजसंस्था फर्काउने तर हिंसाबाट नभएर नवीनतम सहमतिबाटै त्यो ठाउँमा पुग्नुपर्ने बताउँदै आएका छन् । तर, प्रसाईंले भने सहमतिबाट राजतन्त्र नफर्कने भन्दै विद्रोह र हिंसाको बाटोबाट मात्रै राजा फर्कने दाबी गर्दै आएका थिए । उनको विद्रोह र हिंसाको बाटो चैत १५ को तीनकुने घटनापछि भत्किएको छ । र, अब प्रसाई राजनीतिक शून्यतामा फसेका छन् ।
प्रसाईं आफ्नो भाषणमा हिंसालाई प्रश्रय दिँदै भन्थे, ‘भोलि र पर्सिदेखि ७७ वटै जिल्लामा जनविद्रोह शुरु हुन्छ । यो व्यवस्था परिवर्तन नभएसम्म निरन्तर आन्दोलन जान्छ । म भाग्नेवाला छैन । मलाई लगेर मारे पनि, मलाई थुने पनि यो आन्दोलन अगाडि गयो । भोलिदेखि हाम्रो आन्दोलन निरन्तर हो, ११ बजे खाना खाने अनि कार्यक्रममा जाने । श्रीलंकामा जे गरेका थिए जनताले, जहाँ–जहाँ भेट्छन्, त्यहीँ त्यहीँ मसाज गर्छन् । अब कसरी हिँड्दारहेछन् हेरौं न !’
प्रसाईंले खुलेआम हिंसा भड्काउने अभिव्यक्ति दिँदै आएका थिए । उनी भाषणमा भन्थे, ‘ म सुन तस्करको घर देखाइदिन्छु, मेडिकल तस्करको घर देखाइदिन्छु । म हरेक तस्करको घर देखाइदिन्छु । तर, तपाईहरुले गएर एट्याक गर्न सक्नुपर्छ ।’
‘हेट स्पिच’ र अराजकताका पर्याय

दुर्गा प्रसाईमा नेतामा हुनुपर्ने सामान्य पनि गुण देखिएन । उनी घृणात्मक अभिव्यक्तिका पर्याय बन्न पुगे । मानिसलाई अनुहार र शरीरका आधारमा विभेद गर्ने उनको आदत नै बन्यो, जुन सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन ।
माधव नेपालको ‘थोपडा’को कुरा त्यही असभ्य अभिव्यक्तिको पराकाष्टा हो । बाबुराम भट्टराईलाई पनि उनले त्यसैगरी अपमान गर्दै आएका थिए । आफूलाई मन नपरेको मानिसको चरित्रहत्या गर्न उनी माहिर थिए ।आधुनिक र सभ्य समाजमा अफूप्रति असहमत व्यक्तिमाथिको यस्तो घृणा पाच्य हुँदैन । त्यस्तो व्यक्ति नेतृत्वमा पुग्यो भने के गर्ला ? उसले कस्तो समाज बनाउला ? यो प्रश्न प्रसाईमाथि तेर्सिँदै आएको छ ।
आफूलाई व्यवस्था परिवर्तनको सम्वाहक दाबी गर्ने प्रसाईंले यस्तो पनि भन्न भ्याएका थिए, ‘दुई लाखदेखि तीन लाख महिला यो रत्नपार्कदेखि बानेश्वरसम्मको बाटोमा हगेर बसेपछि नि, आफैं यहाँ व्यवस्था परिवर्तन हुन्छ ।’
नेपालका प्रधानमन्त्री भारत भ्रमण गरेर फर्कँदा प्रसाईको प्रतिक्रिया थियो, ‘प्रधानमन्त्री भारत जाँदा भैंसी दिएर पठाए, अर्कोपटक जाँदा कुकुर दिएर पठाउँछन् । कुकुर रेडी गरेर राखेको छ वहाँ ।’
राजा फर्काउने आन्दोलनका कमाण्डर प्रसाईं आफूलाई गणतन्त्रवादी दाबी गर्दै भन्थे, ‘केपी ओली म त १४ वर्ष जेल बसेको भन्छन् । ज्यान मारेर जेल बसेको । ०२८ सालमा जसले धर्मप्रसाद ढकाललाई १२८ टुक्रा गरेर काटेर बोरामा हालेर जेल परेको । हामी हो, गणतन्त्रका लागि जेल बसेको । म ६ महिना सैनिक हिरासतमा बसेको हुँ ।’
आफूलाई भुइँमान्छे र सर्वहाराको नेता दाबी गर्ने प्रसाईमा धनसम्पत्ति र कुल घरानाको घमण्ड नवसामन्ती पाराको थियो । आफूले सयौंलाई रोजगारी दिएको दाबी गर्ने प्रसाईले अर्बौं रुपैयाँ बैंकलाई तिर्नुपर्ने त छँदैछ तर उनी गरीब वर्गको मानिसलाई हेलाको पात्र ठान्थे । उनका अभिव्यक्तिहरु सुन्दा यस्तो लाग्थ्यो– एउटा नवसामन्त वर्गको असली प्रतिनिधिपात्रले सर्वहारा र भुइँमान्छेको हकहितको कुरा गरिरहेको छ । सर्वहारा क्रान्तिको गफ हाँकिरहेको छ । महिला अधिकारको कुरा गरिरहेको छ ।

प्रसाईं सार्वजनिक मञ्चबाटै भन्थे, ‘मेरा बाबुले सातवटी (श्रीमती) ल्याएको हो… हामी मागीखानेको सन्तान होइन ।’
यसरी सामन्ती दम्भ भरिएको घृणात्मक, अराजक एवं हिंसात्मक अभिव्यक्ति दिँदै हिँड्ने प्रसाईले कुनै पनि राजनीतिक आन्दोलनको अगुवाइ गर्नेमा राप्रपाका नेताहरुसमेत विश्वस्त थिएनन् । प्रसाईले पूर्वराजा ज्ञानेन्द्रको विश्वास जितेको भन्नेमा समेत राजावादी दलका नेता विश्वस्त छैनन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा खबरहबसँगको कुराकानीमा भन्छन्, ‘ दुर्गा प्रसाईंलाई राजाले प्रोत्साहित गरेको र उहाँले राजाको सल्लाह र निर्देशनबमोजिम काम गरेको भन्ने कुरा मलाई केही जानकारी छैन । यो कुरामा मलाई विश्वास पनि छैन । मान्छेले अनेक किसिमका आरोपहरू लगाउँछन्, मलाई त्यसमा पटक्कै विश्वास छैन । किनभने, अहिले भेटघाट पातलो भए पनि राजासँग मेरो पुरानो सम्बन्ध हो । राजा र राजसंस्थाबाट भिडलाई भड्काउने, अराजकतालाई प्रोत्साहित गर्ने, अस्थिरता र अराजकता सिर्जना गर्ने काम हुन्छ भन्ने म विश्वास गर्दिनँ ।’

यो पनि–
दुर्गा प्रसाईंलाई कमल थापाको सुझाव– भागेर हुँदैन, प्रहरीको सम्पर्कमा आएको राम्रो
कतिपय मानिसमा के भ्रम थियो भने विश्वभर दक्षिणपन्थीहरुको प्रभाव बढेसँगै नेपालमा पनि त्यस्तो बाढी आउने छ र त्यसको नेतृत्व दुर्गा प्रसाईले सम्हाल्ने छन् ।
केही मानिसहरु भन्ने गर्थे, दक्षिण अमेरिकी देशहरुमा नेता उदाएजस्तै प्रसाई पनि लघुवित्त, मिटरब्याज, सहकारी र बैंकबाट पीडितहरुको आवाज उठाएर सत्तामा आउन सक्छन् । उनी बैंकबाट पीडित भई बाध्य भएर राजनीतिमा आएका हुन् भन्ने बुझाई कतिपय मानिसमा अहिलेसम्म जीवितै छ ।
तर, प्रसाई यो विचारधाराका लागि योग्य पात्र हुन सकेनन् । पहिलो कुरा त उनले गरीबको वकालत गरे पनि उनी गरीबलाई हेप्ने मनोविज्ञानबाट ग्रस्त देखिए । आफूले करोडौं पर्ने महंगो गाडी चढेको, धनीको शाखा सन्तान रहेको, छोराछोरीलाई महंगो शिक्षा दिएको जस्ता दृष्टान्त पेश गर्दै प्रसाईंले धनको दम्भ प्रकट गर्दै आएका थिए ।
मिटरब्याज र लघुवित्त पीडितको मुद्दा उठाइरहेका प्रसाई पछिल्लो समय एकाएक गणतन्त्रवादी कित्ताबाट भड्किएर राजावादी बन्न पुगे । राजतन्त्र नै समस्याको समाधान हो भन्ने उनको निष्कर्ष देखियो । यो उनमा देखा परेको वैचारिक अस्थिरता हो ।

राजतन्त्रको वकालत नगर्दासम्म प्रसाईं भूइँतहमा जति लोकप्रिय थिए, राजावादी बनेपछि एकाएक खुम्चिए । गणतन्त्रभित्रै गरीब वर्गको मुद्दा उठाएको भए प्रसाईंले आगामी ०८४ सम्म शक्ति आर्जन गर्न सक्ने सम्भावना रहन सक्थ्यो । तर, कसैसँग सहकार्य नगर्ने र एक्ले वीर बन्न खोज्ने उनको नवसामन्ती स्वभाव उनकै यात्रामा बाधक बन्न पुग्यो ।
अब प्रसाई जेलबाट निस्किए पनि वा केही समय जेलमै रहे पनि उनको दिशाविहीन राजनीति थप अन्योलमा पर्ने निश्चित छ । उनी यति बदनाम भएका छन् कि अब उनलाई पूर्वराजा ज्ञानेन्द्रले पनि बोकेर हिँड्ने सम्भावना कम बनेको छ ।
यो पनि–
दुर्गा प्रसाईंको कुण्डली : भोलि उठी कहाँ जाने….
दुर्गा प्रसाईंकी सासूका नाममा गएको गिरीबन्धुको १९ बिघा के हुन्छ ?
प्रतिक्रिया