राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ? | Khabarhub Khabarhub

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

धरापमा केन्द्रीय बैंकको स्वायत्तता


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत मंगलबार भनिदिए, ‘गभर्नर नियुक्ति ओली (प्रधानमन्त्री तथा एमाले अध्यक्ष)का कारण रोकिएको होइन, काङ्ग्रेसलाई दिने सहमति भइसकेको छ ।’

सर्सती सुन्दा देउवाको अभिव्यक्ति सत्तामा रहँदा आफ्ना कार्यकर्तालाई मालदार निकायमा भर्ती गर्ने गरेका दलका हकमा सामान्य लाग्थ्यो ।

तर, नेपाल राष्ट्र बैंकजस्तो स्वायत्त संस्थाको गभर्नरबारे देउवाले ठाडै दलविशेषमा भागबण्डा भएको बताइदिए । उनको अभिव्यक्तिले भविष्यमा समग्र मौद्रिक क्षेत्रको स्वायत्तता र निष्पक्षता रहनेमा डरलाग्दो प्रश्न खडा गरिदिएको छ ।

पार्टीको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक संवाद गोष्ठीमा देउवा बोल्दै थिए ।

नेकपा (एमाले)सँग भागबण्डा नमिलेका कारण सत्तासमीकरणमै दरार बढ्न खोज्दा देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर काङ्ग्रेसकै तर्फबाट बनाए आफूले स्वीकार गर्ने आश्वासन दिएपछि देउवा यो प्रकरणमा रौसिएर बोलेका थिए ।

‘केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धनमा कुनै समस्या निम्त्याउनुभएको छैन । यहाँ राष्ट्र बैंकको गभर्नरबारे कुरा उठाउनुभयो । त्यसमा उहाँले ल्याउनुभएको समस्या होइन’, देउवाले उक्त गोष्ठीमा भनेका थिए, ‘त्यहाँ राष्ट्र बैंकभित्रै आन्तरिक समस्या आएर ढिला भएको हो । हामीले भनेको उम्मेदवारलाई गाह्रो भइरहेको छ । तर हामीले त्यो गर्छौं। उहाँ (ओली) कांग्रेसलाई गभर्नर दिने पक्षमा हुनुहुन्छ । यसमा दुईमत छैन । उहाँले त्यसमा सहयोग गर्नुभएको छ ।’

देउवाको अभिव्यक्ति र विकसित घटनाक्रम हेर्दा नेपालको केन्द्रीय बैंकको गभर्नरलाई संसद्का प्रमुख दुई ठूला लोकतान्त्रिक दलहरूले खुलेआम दलीय भागबण्डाको शिकार बनाएका छन् ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको चैत २४ गतेयता राष्ट्र बैंक नेतृत्वविहीन छ । वरिष्ठ डेपुटी गभर्नर नीलम शर्मा ढुङ्गानाले कायम मुकायम चलाइरहेकी छिन्, जो आफैँ एमालेनिकट र गभर्नरकै प्रत्यासी हुन् ।

देउवाले गभर्नर बनाउने आश्वासन दिएकै कारण राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्ट भने अभरमा परेका छन् । प्रधानमन्त्री ओली उनको नाममा सहमत नभएपछि सरकारले उल्टो बाटो समात्न लागेको छ ।

गभर्नर छान्न गठित सिफारिस समितिकै सदस्य तथा काङ्ग्रेसनिकट विश्व पौडेललाई आगामी गभर्नर बनाउन काङ्ग्रेस–एमाले सहमत भएको खबर बाहिरिएको छ । पौडेल काङ्ग्रेसमा पछिल्लो समय देउवा दम्पतीनिकट हुन् ।

बीचमा केही नभए, देउवाकै भनाइअनुसार अब काङ्ग्रेसले छानेको व्यक्ति नै केन्द्रीय बैंकको गभर्नर हुनेछ । तर, यसबीच नेपाली काङ्ग्रेसले अघि सारेको पात्रमा एकपछि अर्को व्यवधान सिर्जना हुँदै जाँदा राष्ट्र बैंकले गभर्नर प्राप्त गर्न सकेको छैन ।

गत असारमा बनेको नयाँ राजनीतिक समीकरणपश्चात् निर्मित सत्ता गठबन्धनले अहिलेसम्म दलीय बाँडफाँटका आधारमा नै विभिन्न नियामक निकायदेखि विश्वविद्यालयका पदाधिकारीसम्म नियुक्ति गर्दै आएको छ ।

औपचारिक रूपमा काङ्ग्रेस–एमालेले कुनै निर्णय नगरेको भए पनि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा प्रधानमन्त्री केपी ओलीले अगाडि सारेका व्यक्ति (हितेन्द्रदेव शाक्य) नियुक्ति गरिएको र राष्ट्र बैंकको गभर्नरमा काङ्ग्रेसले प्रस्ताव गरेको व्यक्तिलाई नियुक्ति गर्ने समझदारी भएको भनिएको छ ।

तर, नेपाली काङ्ग्रेसको रोजाइअनुसार राष्ट्र बैंकमा नियुक्तिका लागि अगाडि सारिएका केही पात्रहरूको विरुद्धमा एमाले नै घुमाउरो रूपमा प्रस्तुत भएपछि भने गभर्नर नियुक्ति प्रक्रिया थप जटिल बन्दै लम्बिन पुगेको हो । गभर्नरको लागि काङ्ग्रेसले अगाडि सारेका पात्रलाई कहिले रिटले त कहिले कायममुकायम गभर्नरले ‘रिङ आउट गर्ने’ अवस्था सिर्जना भएको छ ।

सुरुमा प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबीचमा पूर्व निजामती कर्मचारी र नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशकमध्येबाट गभर्नर बनाउनेगरी सहमति भएको थियो । विश्लेषण गरिएअनुसार ती व्यक्तिहरू देउवाले नै अघि सारेका थिए ।

तर, अर्थ मन्त्रालयले गत फागुनमा संशोधन गरेको ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (दोस्रो संशोधन)का विरुद्ध सर्वोच्चमा रिट हालिसकेपछि ती पात्रहरू प्रक्रियामा नै अगाडि सर्न सकेनन् । जुन रिट अहिले सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।

त्यसपछि फेरि काङ्ग्रेस सभापति देउवाले नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको भूमिकामा रहेका डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्तिका लागि अगाडि सार्ने निर्णय गरे । जुन कुराको समझदारी उनले बैशाख ३ गते नै प्रधानमन्त्री केपी ओलीसँग गरेका थिए । सो निर्णयसँगै डा. भट्टले बैशाख ५ गते आफ्नो जिम्मेवारीबाट राजीनामा समेत दिए ।

तर, गभर्नर सिफारिस समितिको बैठक नै बस्न नसकेको र डा. भट्टको विषयमा कुनै निर्णय नहुँदा समेतसर्वोच्चमा डा. भट्ट गभर्नरमा अयोग्य भएको भन्दै पुनः अर्को पूरक रिट पर्यो । जुन रिटलाई सर्वोच्चले छलफलका लागि अस्वीकार गरिसकेको छ ।

केही दिनसम्म सर्वोच्चमा विचाराधीन अवस्थाका कारणले रोकिएको गभर्नर नियुक्तिको मामिला बैशाख ९ गते गभर्नर सिफारिस समितिका सदस्य डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि पुनः रोकिन पुग्यो । भर्खरै गभर्नरबाट बाहिरिएका व्यक्ति महाप्रसाद अधिकारीलाई नै बैशाख १७ गते रिक्त रहेको समिति सदस्यमा नियुक्त गर्‍यो ।

तर, सरकारले सिफारिस समिति पूर्ण गरे पनि कायम मुकायम तथा डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले भने डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गरिनन् । जसकारण अहिलेसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन ।

डा. ढुङ्गानाले राजीनामा स्वीकृत गरिनन् या सत्ताघटक एमालेकै आडमा स्वीकृत गर्न दिइएको छैन भन्ने प्रश्न उठिरहेको छ ।

अब काङ्ग्रेसका नेता नै गभर्नर !

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले अगाडि सारेका सबै पात्र एकपछि अर्को कारणबाट रिङ आउट हुने सम्भावना बढ्दै गएपछि अब उनले काङ्ग्रेसका नेतालाई नै गभर्नरको लागि अगाडि बढाउन सक्ने चर्चा शनिबारदेखि चलेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा काङ्ग्रेस र एमालेका नेतृत्वबीच भएको छलफलमा काङ्ग्रेस सभापति देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा हाल नेपाली काङ्ग्रेसको राजनीतिमा क्रियाशील डा. विश्व पौडेललाई गर्भनरका लागि प्रस्ताव गरेको खबर केही मिडियाहरूबाट सार्वजनिक भएको छ ।

साथै, आइतबार सत्तारुढ दलबीच भएको छलफलको विषयलाई पनि गभर्नर नियुक्तिसँग जोडेर हेरिएको छ । डा. पौडेल अहिले गभर्नर सिफारिस समितिका सदस्य नै छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भने कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने व्यवस्था छ । जसले गर्दा डा. पौडेल गभर्नरमा नियुक्ति हुँदा पनि कानूनी प्रश्न उठ्नसक्ने देखिन्छ ।


गभर्नर नियुक्ति प्रक्रियामा हालसम्मका घटना:

  • चैत ११ गते गभर्नर सिफारिस समिति गठन
  • चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल समाप्त
  • चैत २५ गते डेपुटी गभर्नर डा निलम ढुङ्गानालाई कायममुकायमको जिम्मेवारी
  • डा. गुणाकर भट्टद्वारा बैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा
  • डा. विजयनाथ भट्टराईद्वारा बैशाख ९ गते गभर्नर सिफारिस समितिबाट राजीनामा
  • बैशाख १७ गते महाप्रसाद अधिकारी गभर्नर सिफारिस समिति सदस्य नियुक्त

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ०६ बजे

नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

पर्सा– नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको

बेवारिसे सवारिसाधन हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज– वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारिसाधन तथा

राष्ट्रपति पौडेल तनहुँमा

तनहुँ– राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ