‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’ | Khabarhub Khabarhub

सिनेमा

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

फिल्म ‘के घर के डेरा– २’ ले भत्काउन सक्ला त 'अर्ग्यानिक' फिल्मको भाष्य ?


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग दर्शक रुवाउने लाइसेन्स छ ।

दीपेन्द्रले निर्देशन गरेका फिल्महरु ‘पशुपति प्रसाद’, ‘चिसो मान्छे’, ‘आमा’लगायतका कारण यो भाष्य निर्माण भएको हो ।
अर्थात्, उनको निर्देशनमा रहेका अधिकांश फिल्म हेर्दा दर्शकका आँखा रसाउँछन् ।

खनालका यस्तै मन भारी बनाउने फिल्म हेर्न दर्शक पैसा तिरेर हलमा पुग्ने भएकाले उनीसँग ‘दर्शक रुवाउने लाइसेन्स छ’ भनिएको हो ।

उनका यसअघिका दुई फिल्म ‘के घर के डेरा’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ भने यस भाष्यको नजिक पुगेनन् । दीपेन्द्रको छविअनुसार यी फिल्मले दर्शकमाझ छाप छोडेनन् । यसलाई उनी ‘दर्शक रुवाउने लाइसेन्स’मा जरिवाना लागेको रुपमा लिन्छन्।

आगामी जेठ २ देखि दीपेन्द्रको निर्देशन रहेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’ प्रदर्शनमा आउँदैछ ।

यो पटक भने ‘दर्शक रुवाउने लाइसेन्स’ नवीकरण गरेर आएको उनको दाबी छ । खनाल भन्छन्, ‘मेरा अघिल्ला फिल्मले दर्शक रुनुभएन । त्यो जरिवाना हो । अब नवीकरण गरेर आएको छु । हरौं, के हुन्छ ।’

तर, उनी दर्शकलाई रुवाउने विषय केन्द्र भागमा राखेर फिल्म बनाउने सोच राख्दैनन् ।

दर्शकको मन छुने कथा पर्दामा उतार्दा दर्शकले आँशुमार्फत् कदर गरेको खनालको तर्क छ ।

उनी भन्छन्, ‘फिल्मले दर्शकलाई रुवाउने हैन, मन जित्नेखालको चाहिँ हुनुपर्छ । दर्शकको मन छुने हुनुपर्छ । रुने, नरुने त्यो दर्शकमा निर्भर हुन्छ ।’

अर्थात्, आफूलाई दर्शक हलबाट बाहिरिएपछि पनि फिल्मबारे सोच्न बाध्य कथा भन्न मन लाग्ने उनी बताउँछन् ।

यस्तै, कथामा ‘के घर के डेरा : घर नम्बर २’ बनेको उनको दाबी छ । उनी भन्छन्, ‘हलबाट निस्किएर सोच्न बाध्य बनाउने कथामा फिल्म बनेको छ भन्ने मेरो दाबी हो । त्यसैले रुवाउने लाइसेन्स नवीकरण गरेको छु भनेको हुँ ।’

यो फिल्मले दर्शकलाई मन छुने छनक छायाङ्कनमै पाएको किस्सा उनले सुनाए ।

खनालले खबरहबसँग भने, ‘मेरो अनुभवले कुन कथाले दर्शकलाई छुन्छ भन्ने थाहा पाउन थालेको छ । यो फिल्म छायाङ्कन हुँदा कलाकारको अभिनयले म भावुक भएर कट भन्न नसकेको क्षण पनि छ । सुटिङमा यस्तो घटना भएका यसअघिका मेरा फिल्महरु दर्शकले मन पराउनु भएको छ ।’

यस फिल्मका विभिन्न पात्रहरु मध्ये एउटा दर्शकको जीवनसँग मेल खान सक्ने भएकाले ‘मन कटक्क’ पार्न आफू सफल हुने दीपेन्द्रको आत्मविश्वास छ ।

भन्छन्, ‘यो कोभिडपछिको कथा हो । पात्रहरु विभिन्न परिस्थितिमा छन् । सबै दर्शक एक न एक परिस्थितिको नजिक हुनुहुन्छ । यसले दर्शकको मन कटक्क खान्छ जस्तो लाग्छ ।’

शहरको अर्ग्यानिक कथा

अहिले नेपालमा ग्रामीण परिवेशका कथामा फिल्म बन्ने क्रम बढेको छ । यस्ता फिल्मलाई अर्ग्यानिक वा माटोको सुहाउँदो फिल्म भन्ने समेत गरिन्छ ।

‘गाउँसँग सम्बन्धित कथालाई’ अर्ग्यानिक फिल्मको परिभाषाकै रुपमा विकसित गरिएको छ । फलत: नेपालमा अर्ग्यानिकका नाममा ग्रामीण परिवेशकै मात्र कथा भन्ने लहर नै आएको छ, जुन फिल्महरु दर्शकले रुचाएका पनि छन् ।

शहरको कथामा आधारित फिल्ममा दर्शकले आफ्नोपन भेटे भने पक्कै पनि यो अर्ग्यानिक फिल्ममा गणना होला । र, यसले ‘अर्ग्यानिक फिल्म’को परिभाषाको दायरालाई थप फराकिलो बनाउला । तर, यसको असली जाँच भने फिल्म प्रदर्शनपछि नै हुनेछ

तर, दीपेन्द्र भने शहरको कथा भन्न रुचाउने निर्देशक हुन् । विगतका उनका फिल्मले पनि त्यही देखाउँछ ।

यो मामिलामा दीपेन्द्र केही फरक पनि देखिन्छन् । ग्रामीण केन्द्रित कथामा फिल्म बनाउने लहर छ, तर उनी शहरको कथामै केन्द्रित छन् ।

त्यस्तो किन त ?

यसमा दीपेन्द्रको बनिबनाऊ जवाफ छ, ‘गाउँको गरिबीभन्दा सहरको गरिबी भनायक हुन्छ । यहाँ घर जोडिए पनि मन जोडिएको हुँदैन । त्यसैले मलाई काठमाडौंको खाल्डोको कथा नै भन्न मन लाग्छ ।’

शहरकै कथामा आफूले अर्ग्यानिक फिल्म बनाएको उनको तर्क छ । उनी भन्छन्, ‘शहरको कथा पनि आम नेपालीको हो । सबै नेपालीका कथा अर्ग्यानिक हुन् । मात्र मेरो झुकाव काठमाडौंकै खाल्डोमा छ ।’

यस फिल्मका नायक खगेन्द्र लामिछाने पनि ‘अर्ग्यानिक फिल्म’को परिभाषा उचितरुपले विकास नभएको मान्छन् ।

उनी थप्छन्, ‘गाउँका कथा मात्रै अर्ग्यानिक होइनन् । शहरमा पनि हाम्रा अर्ग्यानिक कथा छन् । किनभने शहरको जनजीवन पनि हामी नेपालीकै हो । हाम्रै हो ।’

लामिछाने पनि गाउँको भन्दा शहरको गरिबी झन् भयानक हुने र यस्ता कथा बोकेका फिल्मलाई पनि ‘अर्ग्यानिक’ मान्नुपर्ने तर्क गर्छन् ।

‘अर्ग्यानिक’ का नाममा एकै धारमा फिल्म बनेको नायिका केकी अधिकारीको विश्लेषण छ ।

केकी भन्छिन्, ‘अर्ग्यानिक वा माटोको कथा भनेर गाउँ केन्द्रित कथा मात्रै भनेका रहेछौं । यो एक पक्षीय सोच रहेछ । अब हामी फरक जनरामा जम्प गरेर अर्ग्यानिक कथा भन्नुपर्छ जस्तो चाहिँ लाग्न थालेको छ ।’

अहिले विकसित ‘अर्ग्यानिक फिल्म’को परिभाषा पूर्ण नरहेको उनको मत छ । भन्छिन्, ‘अहिले अर्ग्यानिक भनिएका फिल्मलाई मात्रै मानक मान्नुहुँदैन ।’

फिल्म ‘के घर के डेरा : घर नम्बर २’ निर्देशक र कलाकार अर्ग्यानिक फिल्म’बारे फरक मत राखिरहेका छन् । सार्वजनिक मञ्चमै उनीहरुको दाबी छ, ‘यो फिल्म शहर पृष्ठभूमिको अर्ग्यानिक फिल्म हो ।’

फिल्म प्रदर्शनको संघारमा यसका कलाकार र निर्देशकले जान–अञ्जानमै शहर र गाउँको नयाँ बहस सतहमा ल्याएका छन् ।

जेठ २ बाट यो फिल्म प्रदर्शनमा आउँदैछ । शहरको कथामा आधारित फिल्ममा दर्शकले आफ्नोपन भेटे भने पक्कै पनि यो अर्ग्यानिक फिल्ममा गणना होला । र, यसले ‘अर्ग्यानिक फिल्म’को परिभाषाको दायरालाई थप फराकिलो बनाउला । तर, यसको असली जाँच भने फिल्म प्रदर्शनपछि नै हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : ३५ बजे

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं– स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको

युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

नयाँदिल्ली– सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य

भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

नयाँदिल्ली– भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही

बैंकिङ कसुरमा नयाँ कानुन : अब चेक बाउन्स भए कस्तो कारबाही ?

काठमाडौं – बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन

बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुद्ध दर्शनलाई अवलम्बन गर्न