असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित « Khabarhub

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन् ।

‘गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो’, उनी भन्छन् ‘ब्याडमा बीउ छिप्पिसक्यो । पानी परेको छैन । यो पाला धान रोप्न पाइन्छ जस्तो छैन ।’
 
अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ । विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामा लिएर धानखेती गर्दै आएका उनले असारमा खडेरी पर्दा किसानलाई ठूलो क्षति भएको बताए।
 
समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रूपमा ठेक्काबापत तिर्नुपर्ने ५० हजार कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनले बताए। झापाका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धानखेती गर्ने किसान आकाशे पानीमा निर्भर छन् ।

धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशतमात्र रोपाइँ भएको बताए। 

उनले भने, ‘वर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन् । जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो ।’

कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिएलगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि खेतमा रोपाइँ हुनेगरि वर्षा भएको छैन । झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धानखेती हुने गरेको विष्टले बताए। छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नुपर्ने हुन्छ ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायत सिँचाइ आयोजना सञ्चालनमा छन् । कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशीलगायत पालिकाका केही जग्गामा भूमिगत सिँचाइको व्यवस्था छ ।

 बाँकी अधिकांश जग्गामा धानखेतीका लागि आकाशे पानीको निर्भरता हटेको छैन ।
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ४४ बजे

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा