रास्वपा सचिवालय बैठक : पार्टी धारणामा एक ढिक्का हुन नेताहरूलाई सुझाव | Khabarhub Khabarhub

रास्वपा सचिवालय बैठक : पार्टी धारणामा एक ढिक्का हुन नेताहरूलाई सुझाव



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुक्रबार सकिएको छ । बैठकमा पार्टीका नेताहरूले आफूखुसी धारणा राख्दा बाहिर विभिन्न प्रकारका हल्लाहरू आएको भन्दै कार्यवाहक सभापति डिपी अर्यालले नेताहरूलाई गम्भीर ध्यानाकर्षण गराएका थिए ।

विभिन्न नेताहरूसँग छलफल र भेटघाट हुँदा नै नेताले बाहिर आफ्ना मनगढन्ते कुराहरू राखेकाले यसबारे पार्टी नेताहरूलाई गम्भीर हुन अर्यालले निर्देशन दिए । उनको भनाइमा उपसभापति डा. स्वर्णीम वाग्लेले पनि सहमति जनाएका थिए । बैठकमा उपस्थित एक सचिवालय सदस्यका अनुसार वाग्लेले कसैसँग भेट हुँदैमा यसै हुन्छ भनेर अनुमान गर्न नहुने बताएका थिए ।

नेताहरूले आफूलाई निखार्नुपर्ने, बहकाउमा लाग्न नहुने तर्क उपसभापति वाग्लेले पनि राखेको रास्वपा सचिवालयका नेताको भनाइ छ । त्यसपछि पार्टी एक ढिक्का भएर जानुपर्छ भन्ने प्रस्ताव पास भएको ती नेताको भनाइ छ ।

वाग्लेले भने, ‘यहाँबाट दिएको सन्देश फरक भए आम मान्छे ‘कन्फ्युज्ड’ हुन्छन् । एकै स्वर हुनुपर्छ ।’

बैठकमा संवाद समिति निर्माण, सभापति रवि लामिछानेको नख्खु प्रकरण, निर्वाचनको तयारी लगायतबारे छलफल भएको थियो ।

सबै दलसँग संवाद
रास्वपा नेता विराजभक्त श्रेष्ठले सबै दलसँग संवाद हुनुपर्ने धारणा राखेका थिए । एक नेताका अनुसार उनले नयाँ, पुराना र विभिन्न शक्तिहरूसँग निर्वाचन लक्षित छलफल गर्नुपर्ने कुरा गरे । उनको कुरामा उपसभापति वाग्लेले पनि सहमत जनाए । ‘उसले उसलाई भेट्यो । उसले कसलाई भेट्यो भनेर आफ्ना मनगढन्ते कुरा आए अब हामीले संवाद समिति नै गठन गरौँ भनेर विराजभक्त जीले भन्नुभयो ।’ ती नेताले खबरहबलाई भने, ‘अहिले संवाद छताछुल्ल भएकाले यसलाई वैधानिकता दिन समिति जरुरी छ । यो समितिले काम गर्न नसके उपसमिति पनि बन्ने छ ।’

रविलाई कमजोर बनाउन कुलमानको हल्ला
सचिवालय बैठकमा अहिलेका ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपा प्रवेश गर्न लागेको विषयमा पनि चर्चा भएको थियो । तर यो विषय निराधार भएकाले घिसिङलाई सभापति बनाउने प्रस्ताव अहिलेसम्म केन्द्रीय र सचिवालय बैठकमा प्रवेश नगरेको रास्वपाका अर्का नेता बताउँछन् । रास्वपाका ती नेताले भने, ‘यो विषय कुनै बैठकमा उठेको छैन । अहिले पार्टीमा अन्य नेता नै अब्बल छन् । कुलमानलाई सभापतिको जिम्मेवारी दिने कुरा हल्ला मात्र हो ।’

यो विषयमा दीपक बोहोराले कुरा उठाएका थिए । उनले प्रश्न उठाएपछि नेताहरूले यस्तो कुरा कुलमानले आफूसँग नगरेको बताए । बरु कुनै केन्द्रीय सदस्यले भेटेर यस्तो भ्रम छरेको नेताहरूको भनाइ थियो ।

बोगराले सभापति कारागार भएका बेला उनलाई कमजोर बनाउनका लागि हल्ला गरिएको तर कसले गरेको भन्दै प्रश्न गरे । उनले सबै नेताको विचार एक हुनुपर्ने बताउँदै नचाहिने हल्ला गरेर कार्यकर्तालाई त्रसित नबनाउन भनेका थिए ।

यस विषयमा सोबिता गौतमले पनि भ्रम छर्नका लागि हल्ला गरिएकाले यसबाट जोगिनुपर्ने बताइन् । उनी बैठकमा आमन्त्रित सदस्य थिइन् ।

‘कुलमानसँग कुनै नेताले भेटेर रास्वपा कसरी जान सक्छ भनेर छलफल गर्नुभएको रहेछ । तर अन्य कुरा भएको छैन । छलफल त नयाँ, पुराना सबैसँग भएको छ नि ।’ रास्वपाका अर्का नेताले भने, ‘हाम्रा नेता अब्बल हुँदाहुँदै उहाँलाई नेतृत्वमा टपक्क राख्ने कुरा भएको छैन ।’ ती नेताका अनुसार ‘मल्टिपल च्यानल’बाट सबैसँग छलफल चलेको छ ।

प्रणाली दरो बनाऊ केन्द्रबाट हस्तक्षेप नहोस्
बैठकमा नेता विराजभक्त श्रेष्ठले पार्टीका जिल्ला, प्रदेश र स्थानीय संगठनलाई जिम्मेवारी दिएर केन्द्रको हस्तक्षेप कम गर्नुपर्ने कुरा राखे । उनले विस्तारित बैठकमा तल्लो तहसम्मका कुराहरू समेटेर एजेन्डा तयार गर्नुपर्ने विचार राखे । उपसभापति वाग्लेले  पनि कठिन परिस्थितिलाई सामना गर्न र पार्टी एक ढिक्का भएर अगाडि बढ्न पनि विस्तारित बैठक गर्नुपर्ने माग राखे ।

बैठकमा विस्तारित बैठकमा असन्तुष्ट अभिव्यक्तिप्रति केन्द्रले हस्तक्षेप गर्न नहुने धारणासमेत आएका थिए ।

विधान अधिवेशनबारे छलफल
सचिवालय बैठकमा निर्वाचन लगत्तै विधान अधिवेशन गर्ने बारेमा पनि कुरा भएको छ । तर यसबारे आगामी कात्तिकमा हुने विस्तारित बैठकमा व्यापक छलफल हुने बताइएको छ ।

नेता गणेश पराजुलीका अनुसार पार्टीको पहिलो महाधिवेशन आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन पछि मात्र हुने छलफल चलेको छ । ‘सम्पूर्ण शक्ति निर्वाचनमा खर्चिनुपर्ने भएकाले अहिले महाधिवेशन गर्न सम्भव भएन ।’ पराजुलीले खबरहबलाई भने, ‘हामी निर्वाचन लगत्तै महाधिवेशन वा विधान महाधिवेशन गर्छौँ होला ।’

नख्खु प्रकरणबारे प्रश्न
बैठकमा जेनजी आन्दोलनपछि सभापति रवि लामिछाने नख्खु कारागारबाट किर्ते कागज बनाएर निस्किएको कुरा पनि उठेको थियो । यो विषय अघिल्लो बैठकमा पनि नेताहरूले उठाएका थिए । रास्वपाका अर्का नेताले भने, ‘सभापति नख्खुबाट निस्किएको विषयमा सबैले चासो राख्नुभयो । यो कुराको चासो पार्टीभित्र र बाहिरका मान्छेहरूलाई पनि छ। यसको सत्यतथ्य पत्ता लगाउन एउटा मेकानिजम बनेपनि पार्टी आयोगलाई पनि परिचालन गर्ने कुरा उठेको थियो ।’

बैठकमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले यसबारे छानबिन हुनुपर्ने भन्दै अनुशासन आयोगबाट पत्र आएको कुरा जानकारी गराएका थिए । उनले यसबारे सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे । यो विषय केन्द्रीय समितिले नै सल्टाउने कि सम्पूर्ण जिम्मेवारी आयोगलाई दिने भन्नेबारे छलफल हुन बाँकी रहेको ती नेताको भनाइ छ । यस्तै बैठकमा उठेका विषयमा सम्बन्धित व्यक्तिले उपयुक्त जवाफ दिनुपर्ने आवाज समेत उठेको थियो ।

बैठकमा पार्टी उपसभापति वाग्लेले पार्टी राजनीतिक रूपमा बलियो बनाउनुपर्नेमा जोड दिँदै विस्तारित बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा काम गर्नुपर्ने बताए । उनले पार्टीलाई बलियो बनाएर जानका लागि सबैको राय प्रतिवेदनमा समेट्नुपर्नेमा जोड दिए । वाग्लेले विस्तारित बैठकको राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएका छन् ।

नेतृत्व परिवर्तनबारे विस्तारित बैठकमा छलफल हुने
रास्वपाले निर्वाचन अगाडि महाधिवेशन नगरेपछि अहिलेकै नेतृत्वमा निर्वाचनमा जान नसकिने आवाज पनि उठेको छ । ‘नेतृत्व परिवर्तनबारे विस्तारित बैठकको एजेण्डा छ, राजनीतिक तथा सांगठनिक विषय पनि उठ्छन्,’ रास्वपाका एक सदस्यले भने, ‘विस्तारित बैठकमा नै नेतृत्व परिवर्तन गर्ने कि कसरी जाने भन्ने छलफल हुन्छ ।’

विस्तारित बैठकमा क्षेत्रीय कमिटी र अधिवेशन सम्पन्न भएका ४० वटा पालिकाहरूलाई पनि समावेश गर्ने तयारी छ । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : ५३ बजे

प्रधानमन्त्री र जेनजी समूहबीच छलफल

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग

कांग्रेस नेतृको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ राधादेवी कर्णको निधन भएको छ ।

खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो

खोटाङ- जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका

लहानमा मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा- लहान नगरपालिकाको आर्थिक र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

बारा– घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक