उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन « Khabarhub

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सियोल- उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको छ । त्यहाँको सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार उक्त परेडमा रुस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए ।

परेडमा नेता किम जोङ उनले व्यक्तिगत रूपमा नेतृत्व गरेका थिए । हालै युक्रेनमा भइरहेको युद्धले उनलाई मस्कोसँग अझ निकट बनाएको देखिन्छ । उत्तर कोरियाले रुसको सेनासँगै लड्न हजारौँ सैनिक पठाइसकेको र त्यसको प्रतिफलस्वरूप रुसबाट महत्वपूर्ण सहयोग प्राप्त गरेको बताइन्छ ।

रूसी सुरक्षा परिषद्का उप–प्रधान तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्री मेदभेदेव, चिनियाँ प्रधानमन्त्री ली किआङ र भियतनामका नेता टो लाम परेडमा सहभागी थिए । केसिएनएले प्रकाशित तस्बिरहरूमा सबैजना किमको छेउमै बसेका देखिएका थिए ।

उक्त परेडमा देशका अत्याधुनिक हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा नयाँ ह्वासोङ–२० आइसिबिएम पनि समावेश थियो । केसिएनएले यस मिसाइललाई ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेको छ ।

राजधानी प्योङयाङमा राति सम्पन्न सो कार्यक्रम अत्यन्त रङ्गीन बनेको थियो । परम्परागत पहिरनमा सजिएका हजारौँ नागरिकहरूले राष्ट्रिय झण्डा फहराउँदै उत्साहपूर्वक हर्षोल्लास प्रकट गरेका थिए । मुख्य सडकहरूमा आधुनिक हतियारहरू प्रदर्शन भइरहेका दृश्यहरू टेलिभिजन प्रसारणमार्फत देखाइएका थिए ।

केसिएनएका अनुसार लामो दूरीका रणनीतिक क्रूज मिसाइल, ड्रोन प्रक्षेपण सवारी साधन, भूमि–देखि–हावा र भूमि–देखि–भूमि मिसाइललगायत विशेष हतियारहरू क्रमशः परेडमा देखाइएका थिए ।

नेता किम जोङ उनले सम्बोधन गर्दै देशको ‘अजेय’ सेनाले हरेक कठिनाइ पार गरेर उज्ज्वल भविष्यको निर्माणमा पार्टीका प्रयासलाई दोब्बर शक्ति थपेको बताए । उनले युक्रेनविरुद्धको युद्धमा रुसको सेनासँगै लडिरहेका उत्तर कोरियाली सैनिकहरूको वीरता र बलिदानको खुलेर प्रशंसा गरे ।

“अन्तर्राष्ट्रिय न्यायका लागि विदेशी भूमिमा हाम्रा क्रान्तिकारी सशस्त्र सेनाले प्रदर्शन गरेको अदम्य लडाइँको भावना र जितले वैचारिक तथा आध्यात्मिक पूर्णता देखाएको छ”, उनले भने ।

दक्षिण कोरियाको दाबीअनुसार रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।

केसिएनएले परेडलाई ‘देशको अतुलनीय रक्षा प्रविधि क्षमता र तीव्र विकासगत प्रगतिको प्रदर्शन’ भनेर वर्णन गरेको छ । यसले विश्वलाई अब उत्तर कोरियालाई बेवास्ता गर्न नसक्ने सन्देश दिएको जनाइएको छ ।

दक्षिण कोरियाले यस वर्षको एपेक शिखर सम्मेलनको अवसरमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच सम्भावित बैठकलाई ‘अस्वीकार गर्न नसकिने’ बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गर्नुभएको थियो र एकपटक ‘हामी प्रेममा पर्‍यौँ’ भन्दै असामान्य टिप्पणी गरेका थिए । तर ती भेटघाटहरूबाट स्थायी आणविक सम्झौता हुन सकेन । त्यसयता उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक राज्य’ घोषित गरेको छ ।

गत महिना बेइजिङमा आयोजित विशाल सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ उपस्थित भएका थिए ।

यसै हप्ता केसिएनएले मस्को र प्योङयाङबीच जारी संयुक्त वक्तव्यमा रुसको सत्तारूढ पार्टीले उत्तर कोरियाको रक्षा क्षमता विस्तारका लागि चालेका कदमहरूलाई दृढ समर्थन जनाएको उल्लेख गरेको थियो ।

हार्वर्ड विश्वविद्यालयको एसिया सेन्टरका भिजिटिङ स्कलर सेओङ–ह्योन लीका अनुसार यो परेडलाई पृथक घटनाको रूपमा नभई, क्षेत्रीय भूराजनीतिक संरचनामा भइरहेको गहिरो परिवर्तनको चरम रूपका रूपमा बुझ्न जरुरी छ ।

उनी भन्छन्, “यो परेड वासिङ्टन र सियोलबीचको बलियो गठबन्धनलाई प्रत्यक्ष चुनौती दिने कडा चेतावनी हो, किनभने अब यसको ढोकामा चीन, रुस र उत्तर कोरियाको समेकित तथा शक्तिशाली त्रिपक्षीय ब्लक तयार भइसकेको छ ।”

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  २ : ०५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग