बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार चीनबाट प्रक्षेपण गरिएको छ।
‘स्लिपर्स टु स्याट’ मिसनअन्तर्गत निर्माण गरिएको उपग्रह चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका वान रकेटबाट प्रक्षेपण भएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
चीनबाट सफल प्रक्षेपण भएको यो नेपालभित्रै बनेको पहिलो स्याटेलाइट हो । यसलाई क्युब स्याटेलाइट भनिन्छ । चेपाङ समुदायका ७ र ८ कक्षाका विद्यार्थीहरूको सहभागितामा यो स्याटेलाइट बनाइएको हो ।
स्लिपर टु स्याट’ अर्थात् ‘एक जोर चप्पल किन्न पनि नसक्ने समुदायका मानिसको स्याटेलाइट निर्माणसम्मको यात्रा’ ‘थिम’ राखेर बढाइएको मिशनले सफलता पाएको छ ।
नेपालमै तयार यसलाई स्याटेलाइट प्रतिष्ठानको पहलमा बनाइएको ‘उपग्रह बस’ प्रणाली भनिएको छ । यस प्रणालीमा विद्युत् शक्ति प्रणाली (ईपीएस), स्याटेलाइटभित्रको कम्प्युटर (ओबीसी) र सञ्चार प्रणाली एउटै सर्किट बोर्ड (पीसीबी) मा राखिएको हुन्छ ।
यसको निर्माणमा आभास मास्के रिसभ अधिकारी र चेपाङ विद्यार्थीहरू विश्वास चेपाङसहित जुटेका थिए ।

नेपालका लागि प्रक्षेपित उपग्रह : स्लिपर्सटुस्याट (एस२एस)
यो एक शैक्षिक परियोजना हो । जसलाई अन्तरिक्ष प्रतिष्ठान नेपाल र अमेचुअर रेडियो डिजिटल कम्युनिकेसन्स फाउन्डेसनले संयुक्त रूपमा अगाडि बढाएका छन् ।
यो परियोजना नेपालका सीमान्तकृत समुदाय, न्यून आय भएका र आदिवासी जनजातिका विद्यार्थीहरूलाई प्रेरणा दिन, उत्प्रेरित गर्न र शैक्षिक सहयोग प्रदान गर्न समर्पित रहेको छ ।
परियोजनाको मुख्य लक्ष्य नेपालका कक्षा ९–१२ का विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा नेपालको तेस्रो १ यु क्युबस्याट डिजाइन र निर्माण गर्न सिकाउनु हो ।
यसका साथै यसले विश्वभरका अमेचुअर रेडियो प्रयोगकर्ताहरूका लागि सफ्टवेयर-आधारित डिजिटल रिपिटर प्रणालीको प्रदर्शन र प्रवर्द्धन पनि गर्नेछ ।
क्यास स्पेसले हालसम्म ३२ वटा उपग्रह ग्राहकहरूलाई सेवा दिएको छ, जसमध्ये २६ स्वदेशी र ६ अन्तर्राष्ट्रिय छन् ।
उता चीनले डिसेम्बर बुधबार लिजियान-१ (वाई ११) अर्थात् किनेटिका-१ रकेट प्रक्षेपण गरी ९ वटा उपग्रहसहित सफल उडान पूरा गरेको छ ।
तीमध्ये तीनवटा अन्तर्राष्ट्रिय उपग्रहहरू संयुक्त अरब इमिरेट्स (यूएई), इजिप्ट र नेपालका लागि थिए । सबै उपग्रहहरू निर्धारित कक्षमा सफलतापूर्वक पुगेपछि मिसन पूर्ण सफल घोषित भएको छ ।
रकेट निर्माता कम्पनी क्यास स्पेशका अनुसार यो उडानमा प्रक्षेपित अधिकांश उपग्रहहरू चिनियाँ विज्ञान प्रतिष्ठान (क्यास) का हुन् । यी उपग्रहहरूले शहरी योजना, विपद् व्यवस्थापन तथा न्यूनीकरण, जलस्रोत, मौसम विज्ञान लगायत क्षेत्रमा सहयोग गर्नेछन् ।
यूएईका लागि प्रक्षेपित उपग्रह : अरब स्याटेलाइट ८१३
यो हाइपरस्पेक्ट्रल पृथ्वी अवलोकन उपग्रह हो जसलाई शाङ्घाईस्थित इनोभेशन एकाडेमी फर माइक्रो स्याटेलाइट अफ सीएएसले बनाएको हो ।
यसमा हाइपरस्पेक्ट्रल इमेजर, प्यानक्रोम्याटिक क्यामेरा र वायुमण्डलीय ध्रुवीकरण सुधारक जस्ता मुख्य उपकरणहरू छन् । साथै यसको आफ्नै ग्राउन्ड सिस्टम पनि निर्माण गरिएको छ ।
यो परियोजनाको मुख्य उद्देश्य हाइपरस्पेक्ट्रल रिमोट सेन्सिङ क्षमता विकास गर्नु र वातावरणीय अनुगमन तथा वैज्ञानिक अनुसन्धानमा प्रभावकारी सहयोग पुर्याउनु हो । उपग्रहको नाम ‘८१३’ राख्नुको कारण बग्दादमा सन् ८१३ मा स्थापित ‘हाउस अफ विज्डम’ (ज्ञानको केन्द्र) को सम्मानमा हो । यो परियोजनाले त्यस युगको वैज्ञानिक समृद्धिलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको छ ।
इजिप्टका लागि प्रक्षेपित उपग्रह : एसपीएनएक्स
यो उपग्रह इजिप्टियन स्पेस एजेन्सी र इजिप्टियन एकेडेमी अफ साइन्टिफिक रिसर्च एन्ड टेक्नोलोजीले संयुक्त रूपमा विकास गरेका हुन् ।
यसमा प्लाज्मा डायग्नोस्टिक र पृथ्वी अवलोकन उपकरणहरू छन् । यसको मुख्य मिसन जलवायु परिवर्तनको प्रभाव र आयनोस्फियरमा हुने परिवर्तनको अनुगमन गर्नु हो ।
कम्पनीको लन्च-सर्भिस विश्वव्यापी रूपमा चीन, युरोप, उत्तर अमेरिका, दक्षिण एसिया, मध्यपूर्व, उत्तर अफ्रिका लगायत क्षेत्रमा फैलिएको छ ।
यो उडान लिजियान-१ रकेटको ११औँ सफल कक्षीय उडान हो । यो रकेटले हालसम्म ८४ वटा उपग्रह प्रक्षेपण गरिसकेको छ र कुल ११ टनभन्दा बढी पेलोड अन्तरिक्षमा पुर्याइसकेको छ ।
यसले चीनको व्यावसायिक रकेट बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ ।
लिजियान-१ का प्रमुख डिजाइनर शी शियाओनिङले ग्लोबल टाइम्सलाई बताएअनुसार आगामी दिनमा कम्पनीले लिहोङ शृंखला अन्तरिक्षयानमार्फत रकेट रिकभरी र पुन: प्रयोगयोग्य प्रविधिको परीक्षण गर्नेछ ।
यी प्रविधि परिपक्व भएपछि सबअर्बिटल वैज्ञानिक प्रयोग, व्यावसायिक अन्तरिक्ष पर्यटन र रकेटका चरणहरूको रिकभरी तथा पुन: प्रयोगमा लागू गरिनेछ ।
भविष्यमा लिजियान-१ मा प्यारासुट रिकभरी, ग्रिड-फिन नियन्त्रण, फेयरिङ रिकभरी, खर्च भएका चरणहरूको सटीक प्रभाव-बिन्दु नियन्त्रण जस्ता सुविधा थपिनेछन् । यी सुधारले मिसन लचिलोपन बढाउनुका साथै प्रक्षेपण लागत उल्लेखनीय रूपमा घटाउने विश्वास छ ।













प्रतिक्रिया