काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ? सरकारी जागिरेको परिवारका खातामा लाखौं/करोडौं रकम हुन सम्भव छ ?
यो प्रश्नलाई असान्दर्भिक बनाइदिएका छन् सरकारी इञ्जिनियर विष्णुकुमार श्रेष्ठले ।
जलस्रोत तथा सिंचाइ विभाग र मातहत विभिन्न कार्यालयमा काम गरेका श्रेष्ठको परिवारका नाममा रहेको सम्पत्ति विवरण सुन्दा दैनन्दिन श्रम गरी गुजारा टार्ने नागरिकले त जिब्रो नै टोक्नुपर्छ ।
अनुसन्धान तहकीकात गरेको सरकारी नियामक निकायका अनुसार श्रेष्ठको आय खुलेको भनिएको सम्पत्तिमात्रै ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँ १७ पैसा बराबरको भेटिएको छ । तर, चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसाको स्रोत श्रेष्ठले खुलाउनै सकेका छैनन् ।
इञ्जिनियर श्रेष्ठमाथि अनुसन्धान गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी र उनको परिवारको नाममा रहेका जायजेथाको एक-एक विवरण सार्वजनिक गरेको छ । त्यत्तिका सम्पत्ति जुटाउने उनको धन्धा पनि खुलाएको छ ।
श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका परियोजनामा काम गरेका थिए ।यी प्रकृतिका पूर्वाधार संरचना बनाउँदा उनले ठेकेदारसँग मिलेमतो गर्थे । मिलेमतो गरी बुझेको कमिसन (घुस) रकमले काठमाडौं र ललितपुर लगायत विभिन्न स्थानमा घरघडेरी जोडेका थिए ।
अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसारस घुस खाएकै रकमले श्रेष्ठले गाडी किनेका थिए । गैरकानुनी ढङ्गबाट जुटाएको रकम व्यवस्थापन गर्न विभिन्न कम्पनीको शेयरमा मात्रै होइन, कम्पनी खोल्न समेत लगानी गरेका थिए ।
श्रेष्ठले आफ्नो नाममा त सम्पत्ति जोडेका थिए नै, विभिन्न व्यक्तिहरूको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाएका थिए ।
वि.सं. २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका इञ्जिनियर श्रेष्ठले २०७७ असार ३१ गतेसम्म जोडेको सम्पत्तिको अख्तियारले हिसाब निकालेको छ । जसअनुसार जाँच अवधिमा उनले ३२ लाख तीन हजार २६७ रुपैयाँ ९४ पैसा तलब भत्ता पाएका थिए ।
विष्णुकुमारका बाबु हरिकुमार श्रेष्ठले तलबभत्ता गरी जम्मा दुई लाख ८२ हजार ४०४ रुपैयाँ र उपदान लगायतमा ६ लाख २२ हजार ८६२ रुपैयाँ ६२ रुपैयाँ प्राप्त गरेका थिए । श्रेष्ठलाई कम्पनीहरूको मुनाफाबाट २० लाख ८३ हजार ६३७ रुपैयाँ ६९ पैसा आय भएको देखिएको छ ।
जाँचबुझ गरेको आयोगका अनुसार, विष्णुकुमारकी श्रीमती लक्ष्मीकुमारी श्रेष्ठको १३ लाख ६६ हजार ३७५ रुपैयाँ र छोरीको तीन लाख ३१ हजार ५०० रुपैयाँ पारिश्रमिक भेटिएको छ । छोराले पनि पारिश्रमिक बापत ११ लाख ७९ हजार ४६० रुपैयाँ कमाएको विवरण आयोगले आरोपपत्रमा समेटेको छ ।
श्रेष्ठ परिवारले पैतृक आर्जित दुबै गरी एक करोड ८९ लाख ६३ हजार २६ रुपैयाँ ६९ पैसा बराबरको जग्गा बेचेको भेटिएको छ । श्रेष्ठले देखाएको कृषि आय तर्फको २१ लाख ४९ हजार ९३२ रुपैयाँ ६१ पैसा, बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा आय सात करोड १७ लाख ६७ हजार ९६७ रुपैयाँ ६२ पैसा, घर बहाल आय ३३ लाख ८१ हजार ५८६ रुपैयाँ ६६ पैसा र नगद लाभांश दुई लाख ४० हजार १६७ रुपैयाँ ८७ पैसा देखिएको छ ।
बीमा परिपक्व आय दुई लाख १० हजार ५४५ रुपैयाँ २१ पैसा, बैंक ब्याज आय दुई लाख पाँच हजार ७७० रुपैयाँ ५९ पैसा, जग्गा बिक्रीको बैना बापतको आय ९७ हजार २०० रुपैयाँ र शेयर बिक्री आय ६४ लाख ७९ हजार ४८४ रुपैयाँ ६७ पैसा गरी जम्मा ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँ १७ पैसालाई अख्तियारले स्रोत खुलेको सम्पत्तिमै गणना गरेको छ ।
अधिकांश सम्पत्तिको स्रोत देखाएका श्रेष्ठ र परिवारसमेतको नाममा कूल १६ करोड १३ लाख ९५ हजार ५२८ रुपैयाँ ७१ पैसा बराबरको आयव्यय देखाए । तर, अख्तियारले छानबिन गर्दा श्रेष्ठले जसो गरे पनि खर्च भएको चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसाको हिसाब देखाउन सकेनन् ।
अख्तियारका अनुसार; जाँच अवधिमा विष्णुकुमार श्रेष्ठको एकासंगोल घर परिवारको नाममा सवा १६ करोड रुपैयाँभन्दा बढी रकम खर्च तथा लगानी भएको देखिए पनि चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत नखुलेको हो ।
‘निजले वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको…’ अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले श्रेष्ठले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको जनाएको छ । स्रोत नखुले बराबरको सम्पत्ति चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बराबरकै बिगो कायम गरेको छ ।
निज श्रेष्ठविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा घ तथा दफा द्दढ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र जरिवाना हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग र दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत एवं असुल उपर हुन मागदाबी लिइएको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
साथै; निज श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे/बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत गर्ने प्रयोजनको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
प्रतिक्रिया