काठमाडौं– हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यसवर्षको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना हुने भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्व तयारीको साथ भन्ने नाराका साथ यसवर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउन लागिएको जनाएको हो ।
दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री केपी शर्मा ओली लगाएतको उपस्थिति रहने विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।
कीर्तिपुरस्थीत बिपी कोइराला मेमेरियल विज्ञान संग्राहलय परिसरमा हुने कार्यक्रम अघि कीर्तिपुरका विभिन्न स्थानबाट जनचेतनामूलक र्याली निकालिने उनले बताए । दिवसका अवसरमा मूल समारोहका साथै देशैभर गोष्ठी छलफल, र्याली अन्तर्क्रिया, प्रदर्शनी लगाएका कार्यक्रमको आयोजना समेत गरिएको महानिर्देशक महर्जनले जानकारी दिए ।
भूकम्पीय जोखिम न्यूनीकरण गर्न पूर्व तयारीदेखि भूकम्प पश्चातको पुनर्स्थापनासम्मका कार्यहरू विभिन्न निकायबाट प्रभावकारी रूपमा भइरहेको विभागले जनाएको छ ।
विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया