अदालतमा ढल, सिंहदरबारमा बेहाल ! | Khabarhub Khabarhub

टिप्पणी

अदालतमा ढल, सिंहदरबारमा बेहाल !

हेल्लो सरकार ! फुटेको पाइपको पानी खानु कि नखानु ?


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बबरमहलस्थित विशेष अदालतमा बुधबार न्यायाधीशहरुलाई मुद्दाको छिनोफानो गर्न भ्याइनभ्याइ थियो । दिउँसो घाम लागिरहेका बेला एकाएक अदालत परिसरभित्र बाढी पस्यो । पार्किङमा रहेका गाडी डुब्न थाले । सेवाग्राहीमा भागदौड चल्न थाल्यो ।

हेर्दाहेर्दै पहिलो तलामा बाढी पस्यो । कागजपत्र र कम्प्युटर जोगाउन कर्मचारीहरुको दौडधूप चल्यो । सपनामा पनि नसोचेको अप्रत्याशित बाढीका कारण विशेष अदालतको पेशी नै स्थगित गर्नुपरेको एकजना न्यायाधीशले खबरहबलाई बताए ।

मानिसहरुले आकाशतिर हेरे । मौसम सफा थियो । घाम लागिरहेको थियो । काठमाडौंमा गर्मीको महसुस हुन थालेको थियो । यस्तो अवस्थामा पानी नै नपरी कहाँबाट आयो बाढी ? मानिसहरु आश्चर्यचकित हुनु स्वाभाविकै थियो ।

पानी नपरी आएको बाढीका कारण विशेष अदालत र काठमाडौं जिल्ला अदालतको दोस्रो भवन मात्रै होइन, बबरमहलको दक्षिणतर्फका अन्य कार्यालय, पसल र निजी घरमा बस्ने विद्यार्थीका डेरा–डण्डा समेत डुबानमा परे । बाढीले गर्दा के–कति क्षति भयो भन्ने आकलन हुनै बाँँकी छ ।

विकासका नाममा बेतिथि

संघीय राजधानी काठमाडौंको विकासे मोडल अचम्मको छ । यसलाई ‘सिंहदरबारको विकास मोडल’ भन्दा पनि फरक पर्दैन ।

यहाँ सडक विभागले बजेट सिध्याउनका लागि पिचमाथि अर्को पिच थप्छ । हरेक वर्ष असारमा सिंहदरबार वरिपरिको सडक पिच गरिन्छ । त्यसको केही दिनपछि नै खानेपानी कार्यालय गैंची र बेल्चा बोकेर सडकमा निस्कन्छ । पाइप मर्मत गर्ने भन्दै सडक भत्काउँछ ।

ढल विभागले पनि खानेपानी कार्यालयकै सिको गर्दै सडक भत्काउँछ । पहिले पिच हुन्छ, पछि पाइप बिच्छ्याइन्छ, ढल ओछ्याइन्छ ।

यो पनि-

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको मुख्य पाइप

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

जब खोलामा नआएको बाढी बबरमहलमा उर्लियो (तस्बिरहरू)

उता विद्युत प्राधिकरण पनि के कम ? अहिले काडमाडौंमा विकासका नाममा भूमिगत तार बिछ्याउने अभियान चलिरहेको छ । यसका लागि विद्युतीय मेसिन प्रयोग गरेर सडक छेड्ने गरिएको छ । बुधबारको दुर्घटना यसैको परिणाम हो ।

बुधबार दिउँसो विद्युत प्राधिकरणले भूमिगत तार बिच्छ्याउनका लागि बबरमहलस्थित वन परिसर र विशेष अदालतको नजिकै रहेको बानेश्वर–माइतीघर खण्ड भत्काउँदै थियो । प्राविधिक कामदारले बलियो पिच भत्काउनका लागि मेसिन प्रयोग गरेर ड्रिलिङ गरिरहेका बेला बम पड्केजस्तै ठूलो आवाज आयो ।

मेसिनले खानेपानीको पाइप प्वाल पारेका कारण पाइप फुटेर पड्किएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

पाइप फुटिसकेपछि अदालत परिसरमा पानी पसिसक्दा पनि खानेपानी कार्यालयले पानीको बहाव बन्द गर्न सकेन । समयमै खबर नभएर पानी नरोकिएको हो या मुहानमा पाइप बन्द गरे पनि रहल–पहल पानीका कारण त्यत्रो बिनास भएको हो ? यसको जवाफ सम्बन्धित निकायले अहिलेसम्म दिएको छैन ।

बाढीले उपद्र्रो मच्चाएपछि खबरहबकर्मीले महानगरपालिकाका कर्मचारीलाई सोध्दा उनीहरु यो बाढी महानगरपालिकाका कारण आएको होइन भन्दै पन्छिए । मानिलिऔं, महानगरबासीमा विपद आए पनि महानगर प्रशासनलाई मतलब छैन ।

त्यसपछि हामीले प्रहरीलाई सोध्यौं । प्रहरी अधिकारीहरुलाई त यसबारे जानकारी नै रहेनछ । जवाफ दिन सक्ने कुरै भएन । खानेपानी कार्यालयमा बुझ्दा उसले सडक विभाग र विद्युत प्राधिकरणतिर पन्छायो ।

सडक विभागले विद्युत प्राधिकरणको गल्ती औंल्यायो । विगत केही दिनयता प्राधिकरणले सडक विभागसँग समन्वय गरेरै विद्युतीय तार बिच्छ्याइरहेको बताएको छ । तर, समन्वय गरिएको भनिरहँदा सडक खनेका बेला दुर्घटना नहोस् भन्नका लागि खानेपानीको पाइप बन्द गरिएको भए यस्तो दुर्घटना हुने थिएन कि ? खानेपानी र विद्युत प्राधिकरणबीच किन भएन समन्वय ? यो प्रश्नको जवाफ कसैसँग छैन ।

अर्को प्रश्न ढल विभागतिर सोझिएको छ– खानेपानीको पाइप फुटिसकेपछि त्यसमा ढलको फोहोर पानी मिसियो कि मिसिएन ? अब यही फुटेको पाइपबाट मानिसको घरघरमा पुग्ने पानी पिउने कि नपिउने ? यसको शुद्धतामा कसरी विश्वास गर्ने ? यसबारे सरकारको जिम्मेवार निकायले जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन ?

विडम्बना के छ भने जनताको स्वाथ्य र सुरक्षामा स्थानीय सरकार र संघीय सरकार दुबै गैरजिम्मेवार देखिएका छन् ।

ढल व्यवस्थापनबारे अर्को पनि प्रश्न छ– खोलाकै किनारमा एउटा पाइप फुट्दा त्यसबाट आउने पानीको व्यवस्थापन हुन सक्दैन र सरकारी कार्यालय र घरहरु डुब्छन् भने काठमाडौं शहर जोखिममा रहेको मान्ने या सुरक्षित छ भनेर ठान्ने ?

पानी किन थामेन ढलले ?

त्यसो त गत बर्खायाममा पनि विशेष अदालत परिषरमा यस्तै डुबान समस्या देखिएको थियो । यत्तिका महिना हुँदासम्म यहाँको ढल सिस्टम व्यवस्थित बनाइएको रहेन छ भन्ने तथ्य बुधबारको दुर्घटनाले प्रष्ट पारिदिएको छ । र, यसले वर्षायाममा काठमाडौं शहर कति असुरक्षित बन्ने रहेछ भन्ने स्पष्ट पारेको छ ।

त्यसैले, बुधबारको यो दुर्घटनाबारे संघीय सरकार वा महानगरपालिकाले तत्काल छानविन समिति बनाओस् । कसको कमजोरीले गर्दा यस्तो घटना भयो यसको छानविन होस् । साथै, आगामी दिनमा काठमाडौं कसरी सुरक्षित गर्ने अनि विकासका काममा कसरी सरकारी निकायबीच समन्वयन गर्ने भन्ने उपायको समेत खोजी गरियोस् ।

सबैभन्दा मुख्य कुरा – बुधबारको यो दुर्घटनालाई सिंहदरबारले सामान्य घटनाका रुपमा नहेरोस् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ३५ बजे

सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज

राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं – म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ– दश स्थानीय तह रहेको खोटाङमा ९६ प्रतिशत घरपरिवार उपभोक्ताले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठ परम्परा

म्याग्दी- धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती