काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको समझदारी तल–माथि नभएमा अब नेपाल राष्ट्र बैंकको गर्भनरमा ५० वर्ष उमेर पुगेका अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त हुने लगभग निश्चितजस्तै देखिएको छ ।
गर्भनरको लाइनमा रहेका डा. पौडेल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट गत ०७९ को चुनावमा नेपाली कांग्रेसको उम्मेवार बनेका थिए । चुनावमा रास्वपाका हरि ढकालसँग पराजित बनेका पौडेल अहिले कांग्रेसको कोटाबाट गर्भनर बन्न लागेका छन् ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गत चैत २५ गतेदेखि नै अवकाश पाए पनि हालसम्म सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । राजनीतिक दल र बिचौलियाहरुबाट चलखेल भएका कारण गर्भनर नियुक्तिको सिफारिसका लागि बनेको समितिले नाम सिफारिस गर्र्न नसकेको हो ।
भ्यागुताको धार्नी !
अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष रहेको तीन सदस्यीय सिफारिस समितिमा शुरुमा पूर्वगर्भनर विजयनाथ भट्टराई र अर्थविद विश्वनाथ पौडेललाई राखिएको थियो । तर, राजनीतिक हस्तक्षेप भएको भन्दै विजयराज भट्टराईले समितिबाट राजीनामा दिए ।
सिफारिस समितिबाट पूर्वडेपुटी गभर्नर भट्टराईले राजीनामा दिएपछि सरकारले निवर्तमान गर्भनर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा ल्यायो । तर, अधिकारीलाई सिफारिस समितिमा राख्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भयो, जसमाथि सोमबार सुनुवाई हुँदैछ ।
गर्भनर नियुक्तिको सिफारिस समिति ‘भ्यागुताको धार्नी’ आहानजस्तै बन्न पुगेको छ । विजयराजको ठाउँमा महाप्रसादलाई ल्याइए पनि आइतबार अर्का सदस्य विश्वनाथ पौडेलले राजीनामा दिएका छन् । पौडेलको राजीनामासँगै सिफारिस समिति फेरि अपूर्ण बन्यो ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार बनेको तीन सदस्यीय सिफारिस समितिले एकजना बहालवाला डेपुटी गभर्नरसहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषदले तीनजनामध्येबाट एकजनालाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गर्ने कानूनी प्रावधान छ । तर, यस्तो नियुक्ति गभर्नर पद रिक्त हुनु अगावै गरिसक्नुपर्ने कानूनी व्यवस्था सरकारले उल्लंघन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गर्भनर कांग्रेसले बनाउने बताए लगत्तै बूढानीलकण्ठमा बोलाएर विश्वनाथ पौडेललाई गभर्नर बनाउने वचन दिएका थिए । त्यसलगत्तै पौडेल सिफारिस समितिबाट राजीनामा दिएर गर्भनरको लाइनमा उभिन तयार भएका हुन् ।
राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?
यसअघि गर्भनरको लाइनमा डेपुटी गभर्नर नीलम ढुंगाना, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रवीन्द्र पाण्डे, नेपाल सरकारका पूर्वमुख्यसचिव राजेन्द्र कुमार क्षेत्री र नविल बैंकका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगाना समेत थिए ।
यसैबीच, कांग्रेसले गभर्नर बनाउने भन्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई राजीनामा दिन लगाएको थियो । तर, भट्टलाई गर्भनर बन्नबाट एमालेले नै रोकेको कांग्रेस सभापति देउवाको गुनासो थियो ।
भट्ट राष्ट्र बैंकको कनिष्ट कर्मचारी भएकाले डेपुटी गभर्नरहरुलाई ‘क्रस’ गरेर उनलाई गभर्नर बनाउन नमिल्ने भन्दै एमालेकै योजनामा सर्वोच्चमा रिट हाल्न लगाइएको कांग्रेस नेताहरुको गुनासो छ ।
अर्कोतर्फ कार्यवाहक गर्भनर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेका कारण सिफारिस समितिले उनको नाम सरकारसमक्ष सिफारिस गर्न सकेन । त्यसपछि देउवाले कांग्रेसबाटै गर्भनर बनाउने सहमति जुटेको भन्दै भट्टको साटो डा. पौडेलको नाम अगाडि सारेका हुन् ।
को हुन् विश्व पौडेल ?
डा. पौडेल प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र आर्थिक इतिहासका विज्ञ मानिन्छन् । उनले अमेरिकाको बर्कले युनिभर्सिटीबाट सन् २०१० मा विद्यावारिधि गरेका छन् ।
गत आम निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ चुनाव लडेर तेस्रो स्थान हासिल गरेका पौडेल अर्थतन्त्र बुझेका एवं बौद्धिक व्यक्ति मानिन्छन् । विगतदेखि नै कांग्रेस नेतृ आरजू देउवा राणासँग निकट सम्बन्ध रहेका कारण राष्ट्रिय योजना आयोगको उपाध्यक्ष लगायतको जिम्मेवारीमा पुग्ने भाग्यमानी मानिन्छन् ।
देउवा परिवारसँगको कनेक्सन

ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल सञ्चालनमा छ । मन्त्री राणा अहिले पनि त्यसको अध्यक्ष छिन् । आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । अहिले पनि पौडेलले सोही विद्यालयमा आफ्नी छोरीलाई पढाइरहेको र उनी आरजूको स्कुलको अभिभावक रहेको विद्यालयले जनाएको छ ।
डा. पौडेल चितवन क्षेत्र नम्बर १ मा कांग्रेसबाट चुनाव लड्नुअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । उपाध्यक्षबाट राजीनामा दिएर उनी चुनाव लड्न गएका थिए ।
चुनाव जितेर अर्थमन्त्री बन्ने पौडेलको योजना थियो । तर, परिणाम आउँदा रास्वपाका हरि ढकाल पहिलो, एमालेका सुरेन्द्र पाण्डे दोस्रो र कांग्रेसबाट पौडेल तेस्रो स्थानमा आए । पौडेलले २५ हजार मत पाएका थिए भने रास्वपाका ढकालले ३४ हजार मत ल्याएर जितेका थिए ।
डा. पौडेलले चुनाव हारेपछि कांग्रेसको सदस्यता नवीकरण गरेनन् । त्यसपछि उनी काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ प्रोफसर बने ।
गर्भनर बन्न लागेका पौडेलको यसअघि सानीमा बैंकसँग पनि आवद्धता रहेको देखिन्छ । त्यस्तै, उनी हाइड्रो कम्पनीसँग पनि जोडिएको पाइन्छ ।

डा. पौडेलले यसअघि मिडल तमोर जलविद्युत कम्पनी (७३ मेगावाट) को निर्देशक समितिको सदस्यका रूपमा पनि काम गरेका छन् ।
त्यसैगरी उनले सानिमा बैंकको निर्देशक समितिको सदस्यका रूपमा समेत काम गरिसकेका छन् ।
पौडेलले विगतमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकार भएर काम गरेका छन् । कम्युनिष्टहरुलाई ‘विकास विरोधी’ ठान्ने पौडेलले यसअघि एमसीसीअन्तर्गत मिलेनियम च्यालेन्ज नेपालको कार्यालयमा अर्थशास्त्री एवं विज्ञका रुपमा काम गरेका छन् ।
पौडेलका विभिन्न लेखहरु प्रख्यात आर्थिक जर्नलहरूमा प्रकाशित भएका छन् । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सम्मेलनहरूमा विकास तथा अर्थतन्त्रसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका डा. पौडेल नेपालका प्रख्यात युवा अर्थशास्त्रीहरू मध्ये एक हुन् ।
अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निभाइसकेका पौडेल इसिमोडको गभर्नर बोर्डका पूर्वअध्यक्ष समेत हुन्।
त्यसैगरी, कोलम्बो योजना परिषदको अध्यक्ष र एसिया तथा प्रशान्त क्षेत्रमा क्षेत्रीय आर्थिक सहयोग तथा एकीकरणको समेत अध्यक्षका रूपमा उनले काम गरेका छन् । साथै, नेपाली उद्योग परिसंघ (सीएनआई) को प्रमुख आर्थिक सल्लाहकारको अनुभव पनि उनले सँगालेका छन् ।
पौडेलले अमेरिकन जर्नल अफ एग्रिकल्चरल इकोनोमिक्स, जर्नल अफ एग्रिकल्चरल एण्ड एप्लाइड इकोनोमिक्स, एप्लाइड इकोनोमिक्स पर्सपेक्टिभ्स एण्ड पोलिसी, नेचुरल रिसोर्सेस मोडलिङ र एप्लाइड इकोनोमिक लेटर्स जस्ता जर्नलहरूमा लेखहरु प्रकाशित गरेका छन् ।
पौडेलका दुई चुनौती : कांग्रेस मोह, समाजवादप्रति वितृष्णा

नेपालमा अर्थशास्त्रीसम्बन्धी केही भाष्य र भ्रमहरु छन् । विदेशमा पढेर आएपछि उसले संसार बुझेको हुन्छ र देशको अर्थतन्त्र हाँक्न सक्छ भन्ने भाष्य बनाउने गरिएको पाइन्छ । यसै आधारमा आल रास्वपामा गएका पूर्वकांग्रेस नेता डा. स्वर्णिम वाग्ले र डा. विश्व पौडेललाई हेर्ने गरिएको छ । विगतमा देशलाई उदारीकरणतर्फ लैजाने डा. रामशरण महतलाई पनि त्यस्तै विद्वान ठान्ने गरिन्थ्यो ।
राष्ट्र बैंकको गभर्नर बन्न लागेका डा. पौडेलको काम राष्ट्रिय योजना आयोगमा परीक्षण भइसकेको छ । योजना आयोगमा रहेर पनि उनले सम्झना लायक नयाँ काम गरेको देखिँदैन ।
त्यसैगरी सानिमा बैंकसँगको उनको पूर्वसम्बन्धले नियामक निकायको काममा स्वार्थ प्रकट गर्छ कि गर्दैन भन्ने प्रश्नमा पनि निगरानी गर्नुपर्ने हुन सक्छ ।
नेपाली कांग्रेस, खास गरी देउवा परिवारसँगको ‘लोयालिटी’का कारण भोलि सम्पत्ति शुद्धीकरण लगायतका विषयमा लिइनुपर्ने कडा नीतिमा डा. पौडेलले कसरी भूमिका खेल्लान् भन्ने पनि शंकाको विषय छ ।
डा. पौडेल विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष जस्ता पश्चिमा संस्थाहरुबाट रुचाइएका पात्र अवश्य हुन् । तर, यससँगै समाजवाद उन्मुख संविधानको लक्ष प्राप्तिमा उनको समाजवादप्रतिको अरुचीले सहयोग गर्ला या असहयोग ? यो प्रश्न पनि अनुत्तरित नै छ ।
समग्रमा देशको मौद्रिक नीति कस्तो हुने भन्ने विषयमा नै पौडेलको सफलता वा असफलता निर्भर रहने छ ।
तर, त्यो भन्दा पहिले त पौडेल गर्भनर बन्नै बाँकी छ । सरकारले के गर्छ, अझै टुंगो छैन । भनिन्छ– ढाँटको निम्तो खाई पत्याउनु ।
प्रतिक्रिया