क्रुर सम्राटले लुम्बिनीमा ‘जोगाइदिएका’ बुद्ध, अनि हच्कियो भारत | Khabarhub Khabarhub

सन्दर्भ : बुद्ध जयन्ती

क्रुर सम्राटले लुम्बिनीमा ‘जोगाइदिएका’ बुद्ध, अनि हच्कियो भारत


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २५६९औँ बुद्ध जयन्ती ! शाक्यमुनि बुद्धलाई विश्वले शान्ति निम्ति पुकार गरिरहेको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा नेपालका सरकार प्रमुखसहित बौद्ध धर्मावलम्बीहरू प्रार्थना गर्न पुगेका छन् ।

बुद्धले संसारलाई अहिंसा, शान्ति र मानवकल्याणको मार्गमा लाग्न उत्प्रेरित गरे । तर, बुद्धको जीवन अस्तित्वको प्रारम्भलाई हाल नेपालको सरहद लुम्बिनीमा प्रमाणसहित जसले जोगाइदिए – ती एक हिंस्रक, आततायी र क्रुर शासक थिए । समयान्तरमा तिनै शासकको कीर्ति बुद्धको जन्मप्रमाणको अकाट्य स्रोत भइदियो ।

हामीले लुम्बिनीको अशोक स्तम्भ र मायादेवी मन्दिरभित्र रहेको बुद्धको जन्मस्थल जनाउने सङ्केत शीला (मार्कर स्टोन) त देखेकै छौँ । हो, ती दुई सम्पदा नै एक हिंस्रक र क्रुर शासकले राखिदिएका थिए, त्यो पनि आजभन्दा २२७४ वर्षअघि अर्थात् ईशापूर्व २४९ मा । ती शासक थिए – प्राचीन मगध साम्राज्यका मौर्यवंशी चक्रवर्ती सम्राट अशोक !

लुम्बिनीमा खड्गशमसेरका पालामा उत्खनन हुँदै गरेको अशोक स्तम्भ र त्यसमा लेखिएको शिलालेखको अनुवाद । स्रोत : विकीपेडिया ।

सन् १८९६ डिसेम्बरमा नेपाली सेनाका पूर्वप्रधानसेनापति खड्गशमसेर राणाले लुम्बिनीमा पहिलोपटक उत्खनन् गरी अशोक स्तम्भ सतहमा ठड्याएका थिए ।

तर, बुद्ध जन्मस्थल आफ्नो भूमिमा रहेको दाबी गर्न सन् १९९५ सम्म नेपालको दक्षिणी छिमेकी मुलुक भारतले निरन्तर बखेडा झिकिरह्यो । उसै पनि बुद्धको जीवनका प्रमुख चार घटनामध्ये ज्ञान प्राप्त भएको बोधगया, पहिलोपटक शिक्षा दिएको स्थान सारनाथ र मृत्यु (परिनिर्वाण) भएको कुशीनगर भारतमै पर्छ ।

भारतले नेपालकै कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली लुम्बिनी र तिलौराकोट बनाउने काम सन् २०१० सम्म पनि छाडेको थिएन । बुद्धको जीवनका चारै घटना भएका स्थान आफ्नै भूमिमा पर्ने दाबी गर्न र धार्मिक पर्यटनको फाइदा उठाउन नयाँ दिल्लीले नेपाल बेगर नै तथाकथित ‘बुद्धिष्ट सर्किट’ बनाउन खोजेको थियो ।

नेपालको पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापान बुद्धिष्ट फाउन्डेशनले संयुक्त रूपमा लुम्बिनीस्थित बुद्ध जन्मिएको पवित्र बगैँचामा सन् १९९२ देखि उत्खनन् थालेका थिए । बुद्ध लुम्बिनीमै जन्मेका हुन् भन्ने प्रमाणित गर्न सन् १९९६ मा जब उत्खनन्लाई अन्तिम चरणमा पुर्‍याए, भारत झस्कियो ।

किनकी, पवित्र बगैँचामा बुद्ध जन्मेकै स्थान जनाउने सङ्केत शीला (मार्कर स्टोन) भेटिएको थियो । त्यो मार्कर स्टोन ईशापूर्व तेस्रो शताब्दीमै सात तहको इँटामाथि राखिएको थियो, जो काम सम्राट अशोककै आदेशमा भएको थियो ।

पूरातत्व विभाग स्रोतअनुसार, लुम्बिनीमा मार्कर स्टोन सन् १९९५ मै भेटिएको थियो । तर, यो खबर सुनेको भारतले बुद्ध जन्मस्थानबारे आफ्नो दाबीको मुखौटा उदाङ्गो हुने भएपछि तत्कालीन नेपाल सरकारका प्रधानमन्त्रीमार्फत एक वर्षसम्म प्रमाण बाहिर ल्याउन दिएन ।

त्यतिखेर नेपालका प्रधानमन्त्री हाल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा थिए । उत्खनन् टोलीले जानकारी दिए पनि देउवा नेतृत्वको सरकारले मार्करस्टोन भेटिएको र बुद्धको जन्मस्थल अकाट्य रूपमै लुम्बिनी रहेको प्रमाणित भएको जानकारी दिन नै चाहेन ।

नेपालले जानकारी लुकाएपछि जापानका सञ्चारमाध्यमले निकै महत्व दिएर लुम्बिनीमा मार्करस्टोन भेटिएकोबारे समाचार प्रकाशन/प्रसारण गरेका थिए । विश्वले जापानी मिडियामार्फत नै बुद्ध जन्मस्थलको प्रमाणबारे थाहा पाएका थिए ।

लुम्बिनीस्थित पवित्र बगैँचामा भेटिएको बुद्ध जन्मस्मारक शीला (मार्कर स्टोन) ।

बुद्धको जन्मस्थान जोगाउन र पहिचान सुरक्षित राख्न अशोकले इतिहासमै सबैभन्दा ठूलो योगदान गर्नुका पछाडि कयौँ युद्ध, ती युद्धमा बगेका मानवखुन र नरसंहारको चित्कार कारक थियो ।

पाटलीपुत्र पनि भनिने मगध साम्राज्यका राजा बिन्दुसारका धेरै पत्नीहरू थिए । ती पत्नीबाट १०० छोरा जन्मिए । महारानी शुभाद्रङ्गी (धर्मा)का पुत्र अशोक राजा हुने रोलक्रम थिए ।

राजगद्दीमा आसीन हुने क्रममै अशोकले मानव रगतको होली खेल्न थालेका थिए । उनले आफू राजा हुन ९८ जना दाजुभाइलाई काटेका थिए । आफ्नी आमाबाट जन्मेका सानो भाइ भिट्टाशोकालाई मात्र बाँकी राखे ।

अशोकले सत्ता लिनासाथ जनताले विद्रोह गरे । विद्रोहलाई अन्यत्र मोड्न उनले ईशापूर्व २६१ मा कलिङ्गा राज्य (हालको ओडिसा र आन्ध्र प्रदेशको उत्तरी तटीय क्षेत्र) माथि हमला गरे । सम्राट अशोकले युद्धउन्मादमा कलिङ्गाको युद्ध क्रममा १० लाख मानिस मारे भनिन्छ ।

त्यति धेरै मानिसको मृत्यु, रक्ताम्मे युद्धभूमि र मानिसहरूको चित्कार देखे/सुनेका अशोकलाई पछुतो भयो । ईशापूर्व २६३ मा भेटिएका एक भिक्षुसँग पश्चाताप व्यक्त गरे ।

भिक्षुले युद्धमा लाखौं मानिस मारेकाले र शासक भएकाले सुविधातिर मन तानिने, त्यसैले अशोक भिक्षु हुन नसक्ने बताए । बरु राजा भएरै बस्न भने । ध्यान गर्न आफूहरूले सिकाउने पनि बताए ।

तर, आफू सिर्जित भयानक युद्धको विभत्सताबाट ग्रसित अशोक राजा भएकै अवस्थामा भिक्षु बने । गुरु भिक्षुले उनलाई तीर्थयात्रा गर्न सुझाए ।

राजा भएको १९ वर्षपछि ईशापूर्व २४९ मा अशोक लुम्बिनी आएका थिए । त्यहाँ ब्राम्ही लिपिमा पाली भाषामा ‘हिदबुधेजाते’ लेखेर अशोक स्तम्भ गाडे । त्यो स्तम्भबाटै बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने थाहा भयो । पाली भाषामा हिदबुधेजाते को अर्थ ‘बुद्ध यहाँ जन्मेका हुन्’ भन्ने हुन्छ ।

लुम्बिनीमा बुद्ध जन्मिएको स्थानमै अशोकले एउटा ढुङ्गा (मार्कर स्टोन) पनि राखे । त्यही मार्कर स्टोन र अशोक स्तम्भको उत्खनन/परीक्षण तथा बौद्ध ग्रन्थहरूको अनुसन्धानपछि सिद्धार्थ गौतमको जन्म ईसापूर्व ६२३ मा जन्मिएको पुष्ट भएको हो ।

अशोकले भिक्षु भएपछि बुद्धधर्म प्रचार गर्न नौवटा मिसन टोली बनाएका थिए । बुद्धको अस्थिधातु (रेलिक) निकालेर स्तूप बनाउन र बुद्धधर्म प्रचार गर्न छोराछोरीलाई श्रीलङ्का पठाए ।

एउटी छोरी चारुमतीलाई काठमाडौं पठाए । चारुमतीले यहीँका राजकुमार देवपालसँग बिहे गरिन् र आफ्नो प्रभाव बढाइन् । चाबहिलस्थित चारुमती स्तूप अशोककी उनै छोरी चारुमतीले निर्माण गरेकी हुन् ।

अशोकले भिक्षुहरूलाई एसियाका विभिन्न ठाउँमा पठाए । अशोकले बनाएका झण्डै २० वटा स्तूपहरू अहिले पनि भेटिइन्छ । उनले लेखेका रक एडिक्ट (शिलास्तम्भ)हरू नेपाल र भारतका विभिन्न ठाउँमा भेटिएका छन् ।

बुद्धले आफूभन्दा अघि पनि अरू बुद्धहरू थिए भनेका थिए । ‘सबैभन्दा पहिलो कर्कछन्द नाम गरेका बुद्ध आएका रहेछन् । पछि कनकमणि, कास्यप आएका थिए, म चाहिँ ४ नम्बरको रहेछु’ भने ।

अशोकले निग्लिहवामा कर्कछन्द बुद्ध जन्मिएको स्थान भनेर पिलर (स्तम्भ) बनाइदिए । त्यो पिलर निग्लिहवामा छँदैछ ।

कनकमणिको स्थान भनेर कोटिहवामा पनि पिलर बनाए । कास्यपको चाहिँ भेटिएको छैन । तर, उनको रेलिक (अस्थिधातु) काठमाडौंको बौद्धनाथ स्तूपभित्र छ भनिन्छ । ३० किलोमिटरको दूरीमा पश्चिम तराईमा तीन बुद्धको जन्मस्थानको प्रमाण सम्राट अशोकले नै पुष्टि गरिदिएका हुन् ।

८४ हजार स्तूप र सुरक्षित रामग्राम

अशोकले बुद्धका ८४ हजारवटा स्तूप बनाउने लक्ष्य राखेका थिए । यस्तो स्तूप निर्माणको चर्चाअघि बुद्धको मृत्युपछिका घटना उल्लेख यहाँ सान्दर्भिक हुन्छ ।

८० वर्षको उमेरमा बुद्धको निधन भएपछि बुद्धका चेलाहरूले दुईवटा काम गर्नुपर्‍यो । एउटा दाहसंस्कार र अर्को बुद्धका वचनहरूको संग्रह ! किनकी बुद्धले ‘म मरेपछि मेरा वचन नै मेरा प्रतिनिधि हुन्’ भनेका थिए ।

बुद्धलाई परिनिर्वाण हुने बेला चेलाहरूले ‘तपाईंको दाहसंस्कार कसरी गर्ने ?’ भनी सोधेका थिए । बुद्धले ‘चक्रवर्ती सम्राटको झैं अन्त्येष्टि गर्नू’ भनेका थिए ।

बुद्धको शरीर जलाएपछि ठूलो विवाद भयो । बुद्धको अन्त्येष्टिमा विभिन्न राज्यका आठ राजा पनि आएका थिए । आठै राजाले बुद्धको अस्थिधातु (रेलिक) चाहिन्छ भन्न थाले ।

मगधका राजा अजातशत्रुले आफ्नो क्षेत्रमा बुद्धले निर्वाण प्राप्त गरेकाले अस्थि आफूले पाउनुपर्ने जिकिर गरे । देवदहका राजा दण्डपाणिले बुद्ध आफ्नो भाञ्जा भएको भन्दै उसरी नै जिकिर गरे । पावापुरीको राजाले आफ्नो राज्य कुशीनगरमा महापरिनिर्वाण भएकाले अस्थीधातु आफूले पाउनुपर्ने बताए ।

समाधान नभएपछि द्रोण नाम गरेका ब्राह्मणले बुद्धिमतापूर्वक सबैलाई सम्झाए । सबैलाई बराबरी भाग लगाउने र भाग लगाएबापत एक भाग आफूले पनि लिने बताए ।

यसरी बुद्धको अस्थीलाई नौ भाग लगाइयो । ती ब्राह्मणले पनि आफ्नो भाग लिएर हिँडे । आठवटा राजाले आफ्नो देशमा गएर स्तूप बनाउन लागे ।

अहिले हामीले देख्ने गरेको रामग्राम स्तूप (भैरहवा नपुग्दै बर्दघाटबाट बाइपास बाटोमा) पनि त्यहीमध्ये एक हो । अहिले परासी बजार भएको क्षेत्रलाई नै यही स्तूपको नामबाट रामग्राम नगरपालिका भन्ने गरिएको छ । यो स्तूपमा बुद्धकै अस्थिधातु रहेको छ ।

८४ हजार स्तूप बनाउने सम्राट अशोकको लक्ष्य यही रामग्राम स्तूपसँग ठोक्कियो । उनले आफ्ना कर्मचारीलाई सबै ठाउँका स्तूप खनेर अस्थि ल्याउन भने । अस्थिमा खरानी मिसाएर यति धेरै सङ्ख्यामा स्तूप बनाउने अशोकको लक्ष्य थियो ।

अशोकका कर्मचारीहरूले सात ठाउँको अस्थि लगे, रामग्रामको स्तूपबाट भने लैजान सकेनन् । बौद्ध साहित्यहरूमा उल्लेख भएअनुसार, रामग्राम स्तूपलाई एउटा ठूलो नागले बेरेर राखेको थियो । कर्मचारीहरूले राजा अशोकलाई त्यही रिपोर्ट दिए ।

रामग्राममा अहिले पनि बुद्धकै अस्थि भएको ढिस्को छँदैछ । त्यसैले उक्त स्तूप अशोकभन्दा पनि पुरानो बुद्धकालीन नै हो । अशोकले बनाएका स्तूपहरू चाहिँ काठमाडौंमा पनि देख्न सकिन्छ ।

पाटनका चार कुनामा चारवटा स्तूप छन् । पुल्चोक, लगनखेल, ग्वार्को र शङ्खमूलमा अशोककालीन स्तूप छन् । अशोककी छोरीले बुद्धको अस्थि ल्याएर बनाएको चाबहिलको चारुमती स्तूपबारे माथि नै उल्लेख गरियो ।

अशोकका छोरा महिन्दा र अर्की छोरी सङ्घमिताले लगेको बुद्धको दाँतसहितको अस्थि श्रीलङ्काको केन्डीमा छ । त्यसको केही अंश नेपालको स्वयम्भूस्थित आनन्दकुटी विहारमा पनि दिइएको छ ।

अशोकले पठाएका अस्थिका ८४ हजार पोका बोकेर कोही श्रीलङ्का, कोही बर्मा, कोही बंगलादेश, पाकिस्तान, अफगानिस्तान इत्यादि भागमा पुगे । त्यहाँ बुद्धको सम्मान र सम्झनामा स्तूप बनाए ।

यसरी सम्राट अशोकले नेपालस्थित बुद्ध जन्मस्थान प्रमाणसहित जोगाइदिनुका साथै बुद्ध, बौद्धधर्म र दर्शनलाई विश्वका अधिकतर भूभागमा फैलाउन ठूलो योगदान गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : ५५ बजे

ठिमीमा जेसुम यात्रा: संस्कृति र सम्पदा उजागर गर्ने प्रयास

भक्तपुर – ‘जेसुम यात्रा’ स्थानीय सम्पदा र संस्कृृतिलाई सृजनाका माध्यमबाट

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम – सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव

 मोरङ– जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा