काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले चुनाव जित्नुअघि ठूला कुरा गरे । उनले भ्रष्टाचारको फाइल खोल्छु भने । र, अर्को महत्वपूर्ण कुरा नगर प्रमुख निर्वाचित भएपछि कुनै पनि सेवा, सुविधा नलिने बताए ।
आफ्नो प्रतिबद्धतामा उनले भनेको थिए – ‘आफूले पाउने पारिश्रमिक भत्ता, सेवा सुविधा, कुनै पनि नलिईकन बराहक्षेत्रको जनताका निम्ति, सेवा सुविधाको निम्ति, खर्च गर्ने छु भन्ने कुरामा विश्वस्त गराउन चाहान्छु ।’
तर अहिले बराहक्षेत्र नगरपालिकामा पुराना भ्रष्टाचार भनिएका विषयका फाइल खुले न नगर प्रमुखले सेवा सुविधा नलिईकनै जनताको सेवा गरे । पछिल्लो तथ्यअनुसार बराहक्षेत्र नगरपालिका आफैं अनियमितताको भूमरीमा फस्दै गएको छ । माग गरिएको सूचना स्पष्ट नदिइनु, नगरपालिकाका तथ्यहरू लुकाइनुले बराहक्षेत्र नगरपालिकाको नेतृत्वमाथि जनताले प्रश्न गर्नुपर्ने ठाउँ देखिन्छ ।
बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा इन्धन खर्चमा २ करोड ४० लाख ७० हजार ७ सय १४ रुपैयाँ २७ पैसा खर्च गरेको तथ्याङ्कले देखाएको छ ।
नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम स्थानीय पत्रकार भीषण राईले माग गरेको सूचनामा नगरपालिकाले विवरण उपलब्ध गराएको छ ।
विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा ३० हजार पाँच सय ७१.५८ लिटर डिजल र २३ हजार छ सय ७५.६६ लिटर पेट्रोल प्रयोग गर्दा ८७ लाख १६ हजार सात सय ५४ रुपैयाँ खर्च गरेको छ ।
यस्तो आव २०८०/८१ मा ३४ हजार चार सय सात लिटर डिजल र २४ हजार ६५.५६ लिटर पेट्रोल प्रयोग गर्दा ८५ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।
यस्तै आव २०८१/८२ को वैशाख महिनासम्ममा नगरपालिकाले ३० हजार दुई सय ५९.९३ लिटर डिजल र १८ हजार आठ सय ८८.९१ लिटर पेट्रोल प्रयोग गर्दा ६७ लाख ६३ हजार नौ सय ६० रुपैयाँ खर्च गरेको देखिन्छ ।
इन्धन खर्चमा नगरपालिकाको व्यवस्था
प्राप्त सूचनाअनुसार बराहक्षेत्र नगरपालिकाले शाखा प्रमुखहरूलाई मासिक २० लिटर इन्धन प्रदान गर्दै आएको छ । यस्तै सवारी साधन भएका कर्मचारीहरूलाई मासिक १० लिटर इन्धन दिएको छ ।
नगरपालिकाले वडाध्यक्षहरूलाई इन्धन सुविधा दिएको छैन । तर विपद व्यवस्थापनका लागि भन्दै वडा कार्यालयको सिफारिसमा सुरक्षा निकायलाई इन्धन दिँदै आएको छ ।
प्राप्त सूचनाअनुसार नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने छुट्टाछुट्टै सवारी साधन छन् । नगरमा १० वटा ट्याक्टर छन् । यस्तै वारुणयन्त्र एक, पानीट्याङकर एक र २२ वटा मोटरसाइकल छन् ।

कार्यविधि, मापदण्ड नबनाई इन्धन वितरण
बराहक्षेत्र नगरपालिकाले हालसम्म इन्धन वितरण गर्ने मापदण्ड वा कार्यविधि नबनाई इन्धन वितरण गरेको देखिएको छ ।
नगरपालिकाका सूचना अधिकारी गौरी रायले ‘कार्यविधिबारे हाकिम सा’बसँग सोधीखोजी गरी जानकारी दिने’ बताए । उनले भने, ‘शाखा प्रमुखलाई मासिक २० लिटर दिने र कर्मचारीलाई १० लिटर दिने भन्ने छ ।’
नगरपालिकाको वेवसाइटमा प्रकाशित ऐन, कानुन, निर्देशिकाको महलमा इन्धनबारे कुनै पनि कार्यविधि र मापदण्ड प्रकाशित गरेको पाइँदैन । नगरपालिका स्रोतले समेत इन्धनबारे कुनै आधिकारिक मापदण्ड कार्यपालिकाले पास गरेको जानकारी नभएको बताएको छ ।
प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ बमोजिम कार्यविधि र मापदण्ड निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर नगरपालिकाले हचुवाको भरमा इन्धन वितरण गरेको देखिन्छ ।
नगरपालिकाले कर्मचारीका लागि २२ वटा मोटरसाइकल खरिद गरेका छ । इन्धन खर्च सरकारी सवारीको हकमा मात्र प्रदान गरिनुपर्नेमा मोटर साइकल भएका सबै कर्मचारीलाई मासिक १० लिटरका दरले इन्धन उपलब्ध गराएको उल्लेख गरेको छ ।
ऐनअनुसार सूचना दिन कन्जुस्याइँ
बराहक्षेत्र नगरपालिकाले माग गरिएअनुसार सूचना नदिएको पत्रकार राईले बताएका छन् । उनले आर्थिक वर्ष ०७९ देखि ०८२ सम्म नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षहरूले प्रयोग गरेको इन्धन खर्च विवरण माग गरेकामा एकमुष्टमात्रै सूचना उपलब्ध गराएको बताए ।
सूचना माग गर्दा कर्मचारीले प्रयोग गरेको इन्धन खर्चको विवरण, कार्यालय प्रयोजनमा खर्च भएको इन्धन र वितरणको विवरण, इन्धन वितरण गर्नुको प्रयोजन र इन्धन लिने व्यक्ति तथा संस्थाको विवरण माग गरिएकामा एकै ठाउँमा राखेर माग गरिएअनुसार सूचना उपलब्ध नगराएको बताए ।
यस्तै पत्रकार राईले नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत चढ्ने गाडीको मर्मत खर्च विवरण माग गरेकामा आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्षसम्मको एकमुष्ठ खर्च विवरण दिएको बताए ।
सूचना उपलब्ध गराउने क्रममा माग गरिएको सूचनाअनुसार नदिएर नगरले कैफियत गरेको पत्रकार राईले बताएका छन् । उनले पुनः ऐनअनुसार सूचना माग गर्ने बताए ।
कसले कति इन्धन चलाउँछ ? सूचना दिँदैन नगरपालिका
बराहक्षेत्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीबाहेकका १५ वटा शाखा छन् । १५ वटा शाखामा मासिक २० लिटरका दरले तीन सय लिटर इन्धन खपत् हुन्छ । वार्षिक ३ हजार ६ सय लिटर इन्धन शाखा प्रमुखले मात्र लिन्छन् ।
आव २०८१/८२ को वैशाख महिनासम्ममा नगरपालिकाले ३० हजार दुई सय ५९.९३ लिटर डिजल वितरण गरेको छ ।
कार्यालय प्रयोजनमा चल्ने डिजल इञ्जिनका गाडीमा १० महिनामा ३० हजार लिटर भन्दा बढी इन्धन खपत भएको देखिन्छ । जबकि नगरपालिकामा १० वटा ट्याक्टर, एउटा दमकल र एउटा पानी ट्याङ्कर छन् ।
डिजलको तुलनामा पेट्रोल कम खपत भएको देखिन्छ । बराहक्षेत्र नगरपालिकामा १० महिनामा १८ हजार आठ सय ८८.९१ लिटर पेट्रोल प्रयोग गरेको देखिन्छ । १५ शाखा प्रमुखले मासिक २० लिटरका दरले १० महिनामा ४५ सय लिटर पेट्रोल प्रयोग गरेको प्राप्त सूचनाबाट पुष्टि हुन्छ ।
२२ वटा मोटर साइकलले १० महिनामा दुई हजार २ सय लिटर पेट्रोल प्रयोग गरेको देखिन्छ । बाँकी १२ हजार १ सय ८८ लिटर भन्दा बढी पेट्रोल प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई वितरण गरिएको देखिन्छ ।
गाडी मर्मतमा अत्यधिक खर्च
बराहक्षेत्र नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीले आर्थिक वर्ष २०७९/८० मा २२ लाख ३३ हजार ८ सय ७३ रुपैयाँ खर्च गरेको छ ।
यस्तै आव २०८०/ ८१ मा २५ लाख ६८ हजार नौ सय ९९ रुपैयाँ ६३ पैसा खर्च भएको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा ३० लाख ९२ हजार आठ सय १५ रुपैयाँ ५० पैसा खर्च भएको देखिन्छ ।
नगरपालिकाको वार्षिक सवारी साधन खर्च हेर्दा एक वर्षमा नयाँ गाडी खरिद गर्न सक्ने खर्च गरेको देखिन्छ । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गाडी मर्मतवापत् मासिक १ लाख रुपैयाँभन्दा बढी रकम बुझेको देखिन्छ ।
प्रतिक्रिया