काठमाडौं- नेकपा एमालेको नर्सरीका रुपमा लिइने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशन युवासंघमा जस्तै चुनावसम्म पुगेको छ।
अध्यक्षमा डा. सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउने एमाले नेतृत्वको चहानामा प्रकाश पौडेलले प्रश्न उठाउँदै मैदान नछाडेपछि बिहीबार मतदान हुँदैछ ।
बुधबार राति नै हुने भनिएको मतदान प्राविधिक कारण भनेर रोकिएको थियो । अब बिहीबार मतदान प्रक्रिया अघि बढ्दैछ ।
अध्यक्षमा कडरियालाई जिताउन एमालेका शीर्ष नेताहरू खुलेर लागिरहेका बेला ३२ वर्षे उमेर हदका कारण किनारा लागेका नरेश रोकायाले बुधबार सामाजिक सञ्जालमा एउटा पोस्ट लेखे ।
३२ वर्षे नलागेको भए अध्यक्ष हुने दौडमा रहेका रोकाया एमालेको निर्णयका कारण किनारा लागेपछि अहिले कडरियाको पक्षमा खुलेर लागेका छन् ।
तर, अनौठो चाहिँ के छ भने यो महाधिवेशन आयोजक कमिटीको महासचिवकै भूमिकामा उनी छन् । उनले बुधबार घोषित रुपमै कडरियाको प्यानललाई एमालेको आधिकारिक भनिदिए । उनका अनुसार यसको मतलब के भयो भने उता प्रकाश पौडेलको प्यानल चाहिँ अनधिकृत !
रोकायाले कडरियालाई एमालेको आधिकारिक प्यानल भनेर भोट मागिरहँदा उनीमाथि अनेरास्वियुकै कयौँ कार्यकर्ताले प्रश्नको बर्षा गरिरहेका छन् । मदन भण्डारीको बहुदलीय जनवाद अंगिकार गरेको एमालेका संगठनमा लोकतान्त्रिक अभ्यासलाई स्वीकार्न कतिसम्म गाह्रो परेको छ भन्ने रोकायाको पोस्टले पनि पुष्टि गरेको अनेरास्ववियुकै कार्यकर्ताहरू बताइरहेका छन् ।
रोकायाको यस पोस्टको चर्को आलोचना भइरहँदा एमालेकै एकजना कार्यकर्ता प्रतिज्ञा आचार्यले उनीमाथि प्रतिप्रश्न गरेकी छन् । ‘आफूलाई ठूलो नेता भनेर आफैँ गुटे बनाउने कस्तो परिपाटी हो यो ? आफैँ आयोजक कमिटीको महासचिव अनि एउटा गुटलाई समर्थन गर्दै आधिकारिक भन्दै पोस्ट गर्न अलिकति पनि लाज लागेन ?’, उनले प्रश्न गरेकी छन्, ‘अर्का प्रतिस्पर्धी चाहिँ अर्कै पार्टीका उमेदवार हुन् कि के हो ? आफ्नो ढङ्गले स्वस्थ चुनाव हुन नदिने भए यो नाटक मञ्चन के को लागि ? अधिवेशन नै नगरी टीका लाइदिएको भए भइहाल्थ्यो ।’
उनले एमाले महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालतिर लक्षित गर्दै अनेरास्ववियुका पूर्वपदाधिकारीहरूलाई किस्तीमा उधारो लड्डु बाँडेका भन्दै कटाक्ष गरेकी छन् ।
रोकायाले कडरिया प्यानललाई आधिकारिक र पौडेल प्यानललाई अनधिकृत बनाइदिएपछि एमालेका नेताहरूसमेत बोल्न बाध्य भएका छन् ।
एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले रोकायाको उक्त पोस्टलाई गलत सावित गर्दै अनेरास्ववियुका प्रतिनिधिहरू आफैं नेता छान्न सक्षम रहेको बताएका छन् ।
‘योगदान र योग्यताको मूल्याङ्कन गरेर आफ्नो नेता आफैँ छान्न सबै प्रतिनिधि सार्वभौम छन्’, रोकायामाथि प्रश्न उठाउँदै उनले भनेका छन्, ‘न कोही आधिकारिक न कोही अनधिकृत !’
रोकायाले आयोजक समितिको महासचिवको भूमिका भुलेर कडरियालाई आधिकारिक भन्न थालेपछि बालुवाटरले नै मुख खोल्नुपरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटनकै दिन सकेसम्म सर्वसम्मत नभए लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो खुल्ला रहेको बताएका थिए । त्यसपछि बन्दसत्र सुरू हुँदा अध्यक्षमण्डलले कडरियाको नाम अध्यक्षमा प्रस्ताव गरेपछि हलमा निर्वाचन माग्दै नाराबाजी भएको थियो । नाराबाजी र प्रतिनिधिको विरोधपछि एमाले नेताहरू अनेरास्ववियुयको महाधिवेशनलाई निर्वाचनमा लैजान बाध्य भए ।
यो अवस्थामा रोकायासहितका केहीले कडरियालाई आधिकारिक र पौडेल प्यानललाई अनधिकृत भन्न थालेपछि बालुवाटारले सार्वजनिक रूपमै हस्तक्षेप गरेको छ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमाले उपमहासचिव विष्णु रिमालले अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन भइरहेको बताउँदै यसलाई इतिहासमा यो महत्वपूर्ण मोडका रुपमा ब्याख्या गरेका छन् ।
उनले नयाँ नेतृत्वका लागि दुई युवाहरू प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा भइरहेको बताउँदै यो वा त्यो पक्षका नाममा कटुता नबढाउन पनि सार्वजनिक रुपमै भनेका छन् ।
‘यो वा त्यो, यो पक्ष वा त्यो पक्ष’ भन्दै आफैँभित्र कृत्रिम ‘बैरी’ खडा गरी अस्वस्थता र कटुता सिर्जना गर्ने होइन’, उनले रोकायासहितको कदमलाई रोक्ने गरि भनेका छन्, ‘सहमत हुँदा सर्वसम्मत नहुँदा स्वस्थ प्रतिस्पर्धा गर्ने’, पार्टीले अपनाउँदै आएको विधिमा हामीले हाम्रा युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’
यसअघि गत मंगलबार बन्दसत्र हलमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले सर्वसम्मत गरौँ भन्दै अध्यक्षमा डा. कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम हलमा प्रस्तुत गरेका थिए ।
ढकालले यसअघि घोषित रुपमै जनवर्गीय संगठनमा कुनै हालतमा चुनाव नगर्ने बरू नयाँ कमिटीको नाम भित्तामा टाँसेर हिँड्ने बताउने गरेका थिए । उनको यो भनाइ र योजनालाई अनेरास्ववियु र युवासंघले असफल पारिदिएका छन् । ढकालको प्रस्तावलाई हलले अस्वीकार गर्दै निर्वाचनको माग गरेर नाराबाजी गरेपछि एमाले नेतृत्व झुक्न बाध्य भएको हो ।
यसअघि मंगलबार बेलुका ६ बजेपछि उम्मेदवारी दर्ता सुरु भएको थियो । निर्वाचन कार्यतालिका अनुसार बुधबार मध्याह्न पछि निर्वाचन हुने कार्यतालिका थियो ।
तर पार्टीको हाइकमाण्डले चार पदाधिकारी सर्वसम्मत गराउने र सकेसम्म गलाउने नीति लिएको थियो । तर अध्यक्षका प्रत्यासी प्रकाश पौडेलले अडान नछोडेपछि बिहीबार निर्वाचन तय भएको हो ।
प्रतिक्रिया