श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा खडा गर्नुभन्दा अगाडि, नेपाल साना साना राज्यमा विभक्त थियो भन्ने कुरा सबैलाई थाहा छ । पश्चिमपट्टि बाईसी चौबीसी राजाहरू र कान्तिपुर उपत्यकाभित्रै कान्तिपुर, भक्तपुर, ललितपुर, कीर्तिपुर, नगदेश इत्यादि गरी ६।७ राजा थिए । तर पूर्वमा भने एकै राज्य थियो– त्यो हो मकवानपुर ।
यसैको सीमा विस्तार नारायणीका पूर्वीय तटदेखि टिस्टा नदीका पश्चिमी तटसम्म फैलिएको थियो । दक्षिणतर्फ भारतका चम्पारन, सारन, मुज्जप्फरपुर, दरभंगा, सहरसा, पुर्निया र जलपाईगुडीसम्मको उत्तरी भाग पर्दथ्यो । यस राज्यका राजा वंशधर सेन थिए र आजसम्मका बोलचाका भाषामा ‘सेन मकवानी’ भन्ने चलन छ ।
सेन वंशको अर्को हाँगो पाल्पाली राजाहरू थिए । पश्चिममा पाल्पाको राज्य पनि अरु राज्यका दाँजामा निक्कै ठूलो थियो । पाल्पाली सेन, मकवानपुरबाट गए अथवा मकवानी पाल्पाबाट आए यो कुरा अझै विवादास्पद छ र इतिहासकारहरू अझै यसमा एकमत हुन सकेका छैनन् तापनि यो कुरा निर्विवाद छ यी दुवै सेनको नजिकैको नाता थियो र दुवै राज्य एक प्रकार हाराहारी नै जस्ता थिए । (नारायणी पश्चिम र पूर्व) ।
पाल्पाका सेनराजा मुकुन्द निकै प्रतापशाली भए र निजले कान्तिपुर उपत्यकासम्म आफ्नु राज्य विस्तार गर्ने प्रयास १३ औं शतकमा गरेको उल्लेख इतिहासमा पाइन्छ । निजको राज्य विस्तारका सम्बन्धमा हिमवत्खण्ड (पुराण) मा निम्न प्रकारको वर्णन पाइन्छः
पूर्वं वाराहक्षेत्रान्तम्, मुक्तिक्षेत्रान्तमुत्तररम् ।
पश्चिमं रुरुक्षेत्रान्तम्, हरिक्षेत्रावधीत्यवाक्
अर्थात् पूर्वमा वराहक्षेत्रको अन्तसम्म (वर्तमान मोरङ, झापा नेपाल या पुर्निया, जलपाईगुडी भारतमा) पश्चिम रुरु रिडी क्षेत्रको अन्तसम्म (रिडी, अर्घाखाँची, गुल्मी) । उत्तरमा मुक्तिक्षेत्रसम्म बाग्लुङ र मुस्ताङ भोट) ।
दक्षिणमा हरिहरक्षेत्रसम्म (गंगाकिनार हाजीपुर, सोनपुरसम्म भन्नाले वर्तमान भारतको मुज्जप्फरपुर र छपरा जिल्ला) ।
सोही पुराणमा वंशको उल्लेख गर्दा मकवानीय भनेकाले पाल्पाका राजाहरू मकवानपुरबाट गएका हुन् भन्ने कुरा नै बढ्ता ठीक हो कि भन्ने जनाउँछ । यथाः
पर्वते, मध्यदेशे च, नेपाले च नराधिप ।
मकवानीय वंशोयं तेन लोकः प्रकाशितः ।।
मध्यदेश भन्नाले आजको मधेश मात्र नठानी तलतिरको मैदानी भागलाई सम्झनुपर्दछ ।
यी मकवानी सेनहरू को थिए ? तिनीहरू वंग देशका सेनवंशी थिए कि ? जसले बंगालमा बाह्रौँ शतकमा राज्य गरेका थिए । बंगालमा सेनहरू दक्षिणबाट आएका हुन् र यिनीहरू ब्राह्मण थिए भन्ने कुरा पाइन्छ ।
सातौं शतकदेखि दसौं शतकसम्ममा भारतीय उपमहादेशमा धेरै प्रकारका जाति र वंशहरूको प्रादुर्भाव भयो, राजपूतहरू सोही अवधिमा निस्केका हुन् । यो यौटा यस्तो सङ्क्रमण काल थियो, जसमा बौद्ध र हिन्दूहरूको आपसी द्वन्द्व चलिरहेको थियो । ब्राह्मणवादी हिन्दूत्व आफ्नो पुनरुत्थानका लागि सचेष्ट थियो ।
नेपालको तराई प्रदेशमा पूर्वदेखि पश्चिमसम्म ठाउँठाउँमा प्रशस्त ध्वंसावशेषहरू पाइन्छन् र सो प्रदेश प्राचीन प्रसिद्ध राज्यहरू जस्तै मगध, विदेह, उत्तर कोशल, अंग, गौड (बंग) सित टाँस्सिए जस्तै थिए । यस्तो भान हुन्छ पश्चिम प्रान्तबाट पूर्वी प्राचीन राज्य कामरूप, प्राग्ज्योतिपुर, मणिपुर (आसाम) र अझै पूर्व बर्मा, कांबोज, मलयतिर जाने स्थल राजर्मा हाम्रा देशको तराई प्रदेश वा सो सन्निकट भएर नै जान्थ्यो किनकि सिरौनगढको आक्रमण गयासुद्दीन तुगलकले बंगालबाट फर्कँदा गरेको भन्ने ऐतिहासिक उल्लेख पाइन्छ ।

मोरङमा एक ध्वंसावशेष छ –विराटनगरबाट उत्तरपूर्वीय दिशामा) जसलाई राजा धर्मपाल वा धनपालको गढी भनेर अझसम्म भन्दैछन् । बंगालका पालवंशीय राजाकै यो गढी हो भन्न सकिन्छ, जो सेनवंशभन्दा अगाडि थिए । मोरङमा प्राप्त मूर्तिहरू बज्रयान मतका बौद्ध र हिन्दू देवदेवीका दुवै थरी छन् ।
सेन शब्दको व्युत्पत्ति ‘श्रेणिक’ बाट हो भन्ने छ । श्रेणिकहरू दक्षिणका चोल राजाका भारदारमा थिए र सेनवंश (बंगीय) का आदिपुरुष सामन्त सेन थिए । चोलहरूको कलिङ विजयपछि यिनैका सन्तानले बंगीय सेनवंशको आधिपत्य जमाए । सन् ११९९ मा मुसलमानहरूले सेनवंशलाई पराजित गरेर यिनका वंशधर पूर्व बंग (विक्रमपुर) तिर लागे ।
गांगेय मध्यदेशमा जब मुस्लिम आक्रमण प्रारम्भ भयो धेरैजसो ब्राह्मण, राजपूत, अघोरपन्थी भए र हिमालयका बलिष्ठ काखमा ठाउँठाउँमा राज्य जमाएर बस्न थाले । तर विचारणीय कुरा यो छ मकवानी सेन राजाहरूले आफ्ना कोट, किल्ला मधेससित जोरिएकै पहाडहरूमा बनाए । जस्तैः मकवानपुर गढी, हरिहरपुर गढी, सिन्धुली गढी, उदयपुर गढी, चौदण्डी (भोजपुर) र विजयपुर (मोरङ) मा । पछिल्ला दुई उपराजधानीका रूपमा थिए ।
यौटा चाखलाग्दो कुरा यो पनि छ हाम्रा पूर्वीय पहाड जो मकवानीका अधीनस्थ थिए, त्यहाँ माझी नामक एक विशेष जाति छ, जसको भाषा पूर्वी बंगालको भाषासित मिल्दोजुल्दो छ । हामीले यो कुरा पनि याद राख्नुपर्छ, केही शतक अगाडि कोशी नदी पूर्वामिमुखी भएर बग्दथिन् । महानदा र टिस्टा सङ्गम गरी ब्रह्मपुत्रमा प्रवाहित हुन्थिन् । प्राचीन कालको आवागमनको साधनमा प्रमुख पनि नदी र डुङ्गा नै हुन् ।

मोरङ जिल्लाको कोशी किनारको चतरालाई मोरङमा चतरागद्दी भनिन्छ । आजकल त्यहाँ औलिया बाबाको मठ र गद्दी भएकोले नै गद्दी भनिएको हो भन्ने कसैको अनुमान छ । तर औलिया बाबालाई दिएको गुठ आदि नै मकवानी सेनहरूले दिएका हुन् । अर्को कुरा वर्तमान चतरा साविकको चतरा होइन र त्यहाँ भएका पुरातत्वका सामग्री अन्तबाट सारिएका हुन् ।
साविक चतरा गद्दी, हालको चतराभन्दा कोशीपारी पश्चिमदक्षिणमा थियो र मकवानीहरूले प्रथम गद्दीशीन भएकोले नै सो ठाउँको नाम पछि गद्दी भन्ने रहेको हो भन्ने अर्को लोकोक्ति छ । साविक चतरा र रूपनगर नजिकै भएकोले यो हुने सम्भावना पनि छ ।
यस्तो बुझिन्छ यो वंशले एघारौँ शतकको अन्तमा वा बाह्रौँ शतकको प्रारम्भमा आफ्नो राज्यको जग हाले र उन्नाइसौँ शतकका प्रारम्भसम्म राज्य गरे । जब यिनीहरू श्री पृथ्वीनारायण शाहद्वारा पराजित भई विशाल नेपालमा सम्मिलित भए ।
यहाँ यो स्मरणीय छ श्री ५ पृथ्वीनारायण शाहकी मुमा पनि पाल्पाली सेन राजाकी छोरी र मौसूफकी प्रथम महारानी पनि मकवानी सेन राजाकै सुपुत्री हुन् । यसबाट पनि सेन वंशको आभिजात्य र गौरव रहेको प्रमाण पाइन्छ । सेन राजाहरू (मकवानी) को राज्य समयसमयमा विस्तृत र सङ्कुचित भए तापनि यो वंशले प्रायः ६००।७०० वर्ष राज्य गरेको बुझिन्छ र गोरखा वंशावलीमा पनि मकवानीहरूको खिल्लत हिन्दूपति भन्ने उल्लेख छ ।

नेपालका भूभागमा सर्वप्रथम बन्दुक पत्थरकाला (हाइटेक एण्ड म्याचलक्स) पैठारी गराउने पनि यिनै मकवानी सेनहरू हुन् । सोवापत् निजहरूले दिएका बिर्ता पूर्व ३ नम्बर र सप्तरीका पोखरेल ब्राह्मणहरू अझसम्म भोग गर्दै थिए । किरात प्रदेशमा आधिपत्य जमाउने पनि सर्वप्रथम मकवानीहरू नै हुन् । र इष्ट इण्डिया कम्पनीसित सर्वप्रथम भएको नेपालको सन्धि मोरङका राजा कर्णसेनले नै गरेका हुन् ।
मकवानी सेन राजाहरू आफ्नो प्रशस्तीमा श्री रूपनारायणेत्यादि लेखी अरु विरुदावलि लेख्ने गर्दथे, जस्तो श्री ५ महाराजाधिराजका प्रशस्तिमा नरनारायणेत्यादि लेखिन्छ । श्री रूपनारायण सोही वंशका आदिपुरुषमध्ये कसैको नाम थियो वा सो निजहरूको विशेषण मात्र हो वा कुनै उत्पत्ति स्थानलाई इङ्गित गर्दछ ।
बंगालमा रूपनारायण नामकी नदी छन्, जो सम्भवतः मेदिनीपुर जिल्ला (पुरानो ताम्रलिप्ति) मा पर्दछ । बंगाली सेनको उत्पत्ति स्थान यहीँनिर हो । बंगालको सेनवंश पनि आफ्ना प्रशस्तिमा सोही कुरा लेख्थे वा लेख्दैनथे, ठहराउन सकिन्न र त्यसमा अनुसन्धान गरेमा यथार्थ पत्ता लाग्ला ।
सो प्रशस्तिका सम्बन्धमा यो पनि भनिन्छ यसको सम्बन्ध सप्तरीको रूपनगरसित छ, जो मकवानी सेनहरूको आदि राजधानी थियो । यसमा कुनै सन्देह छैन । रूपनगर वरिपरि कञ्चनपुर खोजरदओ गुफा (सुनिन्छ चुरेमा गुफाभित्र मूर्तिहरू छन्) आदिमा प्रशस्त पुरातत्वका सामग्रीहरू छन् यसको खोजतलाश र अन्वेषण हुनु जरुरी छ ।
यो आलेख रमेशजंग थापाद्वारा सम्पादित पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल (एन्सियन्ट नेपाल : जर्नल अफ द डिपार्टमेन्ट अफ आर्कोलोजी ) मा वि.सं. २०२५ साल साउन तद्अनुसार ४ नोभेम्बर जुलाई सन् १९६८ मा ‘मकवानपुरको सेनवंश‘ शीर्षकमा प्रकाशित छ ।
प्रतिक्रिया