कसरी बन्यो तपाईँको थर ? | Khabarhub Khabarhub

मान्छेका कुरा

कसरी बन्यो तपाईँको थर ?

आनुवांशिक र वातावरणीय सम्बन्धले बढ्दैछ शारीरिक संरचनामा विविधता



काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान दरसन्तान हुँदै आएको उपनाम ! थरको यो अर्थ प्रज्ञा नेपाली बृहत् शब्दकोषको हो ।

सरकारी प्रज्ञा प्रतिष्ठानले हरेकजसो शब्दकोष संस्करणमा थरको यही शब्दार्थ दोहोर्‍याइरहन्छ । यो शब्दार्थ पुष्ट्याइँ गर्ने खालका छन् त नेपालका सबै थर ? थरको स्रोत ‘वंशानुगत या मूल कुल परम्परा’ मात्र हो ?

अवश्य होइन । कम्तिमा मानवशास्त्रीय अनुसन्धान र थपिँदा थरहरूले हाम्रो शब्दकोषको सीमिततालाई व्यङ्ग्य गरिरहेका छन् ।

नेपाली मूलमा कम्तिमा तीन हजार थर प्रचलनमा छ । विश्वभर त यस्तो थरको सङ्ख्या ९० लाखभन्दा बढी रहेको अनुमान गरिन्छ । अर्थात्, संसारका आठ अर्बभन्दा धेरै मानिससँग आ–आफ्ना ९० लाखभन्दा बढी थर छ ।

मानिसको थर मानवशास्त्रको मुख्यतः सामाजिक–सांस्कृतिक र भाषिक उपसमूह अन्तर्गत अध्ययन गर्ने गरिन्छ । सामाजिक–सांस्कृतिक मानवशास्त्रमा मानिसहरूले आफ्नो आवश्यकता पूर्ति गर्न कुन कुन समयमा कस्ता कस्ता बस्तु सृजना गर्‍यो ? त्यसलाई कसरी उपयोग गर्‍यो ? कस्ता कस्ता विचार, ज्ञान, सीप, बुद्धिहरू ग्रहण गर्‍यो ? कुन कुन समयमा फरक फरक समाजमा त्यस्ता ज्ञान, सीप, बुद्धि, विवेक अथवा अभौतिक वस्तुहरूको सृजना गर्‍यो ? समाजको सृजना कहिलेदेखि भयो ? मानिस समाजमा कहिलेदेखि बस्न थाल्यो ? कस्ता कस्ता सामाजिक सम्बन्धहरू विकास भयो ? त्यो सम्बन्धले कस्तो खालको प्रभाव पार्‍यो भन्नेबारे अध्ययन गरिन्छ । यसमा भौतिक र अभौतिक दुबै संस्कृतिहरूको अध्ययन हुन्छ ।

भाषिक मानवशास्त्रमा मानिसहरूको एउटा सांस्कृतिक तत्व (कल्चरल इलिमेन्ट) भाषा र सम्बन्धित पक्षबारे अध्ययन हुन्छ । भाषाको उत्पत्ति कसरी भयो ? भाषाको विविधिकरण कसरी भयो ? नेपालको राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनअनुसार नेपालमा १२४ वटा मातृभाषा बोल्ने जनसंख्या रहेको पुष्टि भएको छ ।

ती १२४ भाषाको सृजना, विकास र विविधिकरण कसरी भयो ? विश्वभर कति भाषा बोलिन्छन् ? कसले कस्तो भाषा बोल्छन् ? कसरी त्यसको उत्पत्ति र विकास भयो ? भाषासम्बन्धी यी यावत मानवशास्त्रीय अध्ययनको धरालाई नै भाषिक मानवशास्त्र हो ।

अब थरतिर लागौँ ।

नेपाली जनसङ्ख्यामा बाहुल्यता रहेको आर्यहरूमा जातिगत व्यवस्था वैदिक काल (ईशापूर्व १५०० देखि ५०० सम्म) मै सुरु भएको पाइन्छ ।

भारतको क्रोनोलोजिकल हिस्ट्री (कालानुक्रमिक इतिहास) पढ्दा यो इन्डस भ्याली सिभिलाइजेसन (सिन्धुघाटीको सभ्यता) पछि नै भारतमा वैदिक सभ्यता विकास भएको पाइन्छ । ईशापूर्व १५०० भन्दा अगाडी हिन्दुका कुनै पनि धार्मिक संरचना या साहित्य प्राप्त गर्न सकिँदैन । त्यसैले हिन्दु धर्म विकास अध्ययनको शुरुवाती विन्दु नै १५०० हो ।

उपनिषदकाल, पौराणिककाल हुँदै ऐतिहासिक कालसम्म पनि हिन्दुहरूमा जातिगत व्यवस्थाले निरन्तरता पायो । नेपालमा पाइएका लिच्छिवीकालीन केही अभिलेखहरू (काठमाडौँको यङ्गालहिटीको शिलालेख, पाटनको सुनाकोठीको शिलालेख र भृङ्गारेश्वरमा भेटिएको शिलालेख) मा शूद्र जातिको पनि व्याख्या गरिएको पाइन्छ ।

बूढानीलकण्ठको विशाल मूर्ति भेटिएको ठाउँ (गोदावरीको जङ्गल अनुमान गरिएको) बाट हाल शिवपुरीको फेदसम्म त्यहाँसम्म ल्याउन शूद्रहरूले ठूलो सहयोग गरेका कारण उनीहरूलाई लबेदा भएको कपडा र गहना लगाउन छुट दिएको प्रसङ्ग उल्लेख छ । जसकारण नेपाली समाजमा शूद्रहरूको उपस्थिति निरन्तर थियो भन्ने पाइन्छ । वैदिकदेखि लिच्छवी कालसम्मको अवधिमा नेपालमा जाति व्यवस्थाको अवस्था के थियो भन्ने अकाट्य प्रमाण हालसम्म प्राप्त छैन ।

नेपालकाो इतिहासलाई अवधिमा छुट्याएर अध्ययन गर्दा लिच्छवीकाललाई प्राचीन कालमा गणना गरिन्छ । प्राचीनकाल पछिको मध्यकाल (ईस्वीको नवौँदेखि १८ औँ शताब्दीसम्म) मा चार जात भएका आर्यहरू जातिगत रूपमा विस्तार भइसकेको छद्म प्रमाणहरू पाइन्छ । राजा जयस्थिति मल्लले समाजमा वर्णशङ्करको समस्या बढेका कारण जाति व्यवस्थामा कडाइ गरेको विभिन्न इतिहासकारहरूले उल्लेख गरेका छन् । वर्णशङ्करका कारण मानिसहरूलाई जातीय आधारमा चिन्न समस्या भएपछि त्यस्तो कडाइ गरिएको केही अभिलेखहरूमा पनि उल्लेख छ ।

प्राचीन समयमा समाजमा अन्तरजातीय विवाहलाई निषेध गरिएको थियो । शास्त्रीय मान्यता विपरीत कसैले विवाह गरे उनीहरूलाई समाजबाट निकाला गरिन्थ्यो । समाजबाटै निकाला गरेपछि नयाँ वर्ण जन्मिन सम्भव थिएन । निकाला गरिएको मानिस नयाँ समाजमा जान्थ्यो ।

पछि यो व्यवस्था खुकुलो बनाइयो । समाजबाट निकाला गर्नुको साटो जातिगत तह घटुवा गरी त्यही समाजमा समायोजन गर्न थालियो । नेपालमा त्यही समयदेखि नयाँ–नयाँ जातिहरू देखापर्न थाले । अन्तरजातीय विवाहलाई समाजले स्वीकार गरेका कारण अब चार जातिमा नयाँ–नयाँ जाति थपिँदै गए ।

जस्तो कि; क्षेत्री र बाहुनबाट जन्मिएका सन्तानले खत्री थर राखे । अर्थात्, त्यो बाहुन र क्षेत्री दुबै भएन । वैश्य र शूद्रबाट जन्मिएकालाई तत्कालीन सामाजिक सत्ताले शूद्र नै बनायो ।

जयस्थिति मल्लका पालामा वर्णशङ्करको समस्या देखापरेका कारण त्यो समाजलाई व्यवस्थित गर्न भन्दै उनले नेवारहरूलाई १८ जातमा विभाजन गरे । जाति अनुसारको काम तोकिदिए । यदी तोकिएको काम र जिम्मेवारी पूरा नगरे दण्डसजायको समेत व्यवस्था गरिदिए भन्ने कुरा उनकै समयमा लिखित एउटा पुस्तक ‘न्यायविकासिनी’मा उल्लेख छ ।

सत्ताले अह्राएको पूरा नगर्दा पनि नेपालमा जाति बढ्ने क्रम जारी रह्यो । आर्यहरूमा भएको चार जात अब १८ जात भयो । त्यसले शाहकालसम्म नै निरन्तरता पायो । पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशमा आधारित भनिएको पुस्तकमा ‘यो मुलुक मेरा साना दुःखले आज्र्याको होइन, चार जात ३६ वर्णको साझा फूलबारी हो’ उल्लेख छ ।

यस हिसाबले जयस्थिति मल्लको पालासम्म १८ मा सीमित रहेको जात या वर्ण पृथ्वीनारायण शाहको पालासम्म आइपुग्दा ३६ पुगेको थियो । त्यो बढ्दै–बढ्दै जाँदा नेपालमा २०५८ सालमा १२३, २०६८ मा १२५ र २०७८ मा १४२ जातजाति पुगेको छ ।

फैलिएका यीनै जातजाति र उनीहरूको फरक रहनसहनका कारण पछिल्लो समय नेपालमा मानवशास्त्र अध्ययनको मुख्य विषयमा जातीय समूह र जाति व्यवस्था परिसकेको छ ।

सांस्कृतिक विविधता

अहिले नेपालको सांस्कृतिक विविधतालाई हेर्दा पाँच किसिमका जनसङ्ख्या छ ।

एउटा पहाडी हिन्दु समूह (हिल हिन्दु ग्रुप) हो । यो समूह हिन्दु सामजिक सङ्गठन (हिन्दु सोसल अर्गनाइजेसन) को आधारमा पहाडतिर बसेको छ । तराइको हिन्दु समूहलाई पनि यही सङ्गठनको उपशाखा जस्तो मानिन्छ । यद्यपि, पहाड र तराइका हिन्दुबीच सामाजिक, भाषिक, सांस्कृतिक र नस्लमा विविधता पाइन्छ ।

नेपाली जनसङ्ख्याको दोस्रो समूह नेवारहरू हुन् । अन्य समूहभन्दा फरक नेवारहरूको केन्द्र काठमाडौँ उपत्यका हो । नेवारमा पनि दुईवटा समूह छन् । एउटा बुद्धिष्ट ग्रुप र अर्को हिन्दु ग्रुप । नेवार जाति नभइ सांस्कृतिक समूह हो । जातीय हिसाबले हेर्दा यो ग्रुपमा ८५ भन्दा बढी जात छन् ।

तेस्रोमा आफूलाई जनजाति भन्ने अर्को समूह छ । यो समूह न नेवार हो, न हिन्दु सोसल अर्गनाइजेसनभित्र आफूलाई आवद्ध गरेको समूह हो । यो सांस्कृतिक समूहका मानिसहरूले आफूलाई जनजाति भन्छन् ।

आफ्नै संस्कृति, मौखिक वा लिखित इतिहास, उत्पत्ति, भौगोलिक क्षेत्र, धर्मसंस्कृति र सामाजिक संस्था भएकाहरूलाई जनजाति भनिन्छ । नेपाल सरकारले अहिलेसम्म ६१ जनजाति समूहलाई मान्यता दिएको छ ।

चौथोमा मुस्लिम समूह हुन् । उनीहरूले आफूलाई मुसलमान भन्छन् । इस्लाम धर्म मान्छन् । उनीहरू पश्चिम नेपालमा चुरौटे भनेर प्रख्यात छन् । नेपालका मुसलमानहरू दुई किसिमका छन् । एउटा कन्भर्टेड (धर्मान्तरित) मुसलमान हुन् । यी मुसलमानहरू बारा, रौतहट, सिरहा, सर्लाही, सप्तरी क्षेत्रहरूमा छन् । चौधौँ शताब्दीमा बङ्गालका सुल्तान समसुद्दिन इलियासले हाल नेपालको सरहदका ती क्षेत्रमा आक्रमण गरेपछि उनीहरू धर्मान्तरणमा परेका थिए ।

मुस्लिम समूहभित्र अर्को चुरौटे ग्रुप छ । उनीहरू चुरा र कस्मेटिक सामान बेच्छन् । त्यसैले चुरौटे ग्रुप भनिएको हो । यिनीहरू पश्चिम नेपालमा धेरै छन् ।

नेपालको जनसङ्ख्याको अर्को समूह ‘अन्य’ हो । पञ्जाबी, बङ्गाली र मारवाडीहरू यसमा पर्छन् । यिनीहरूको उत्पत्ति अन्यत्र भएको हो, यी नेपालमा प्रचलित माथिका चारभन्दा फरक संस्कृतिका मानिस हुन् । तर, नेपाली नागरिकता लिएर नेपालमा बसोबास गर्छन् । ती पनि नेपाली हुन् । उनीहरूले पनि यहाँ आफ्नो धर्म र संस्कृतिमा रमाइरहेका छन् । बङ्गाली वा फ्रान्सेलीहरू पनि नेपाली नागरिकता लिएर बसेका छन् भने उनीहरू पनि अदर्स ग्रुपमा पर्छन् ।

यसरी नेपालको कल्चरमा यी पाँचवटा समूहको प्रभाव छ । यी संस्कृतिहरूको समग्रता नै नेपाली संस्कृति हो ।

जाति बढ्नुको कारण

मानवशास्त्रीहरूले नेपालको जनसङ्ख्यालाई दुई प्रकारका भनेका छन् ।

सिन्धुघाटीमा मङ्गोलियाबाट चङ्गेज खाँ जस्ता राजाहरू आए । जसको पालामा त्यहाँ अत्यधिक विकास भयो । तर, त्यसअघि नै मङ्गोलियाका मानिसहरू आएर अफगानिस्तानमा व्यापार गरेका थिए । सिन्धुको माटोमा उर्बराशक्ति घटेपछि र माटोमा नुनको मात्रा बढेपछि अफगानिस्तानका मङ्गोलियनहरूसँग मिसिएर पहाडको बाटो पूर्वतिर लागे ।

त्यसरी सिन्धुको माथिल्लो भाग हुँदै पहाडहरू छिचोलेर आएको एउटा समूह काठमाडौँ उपत्यका हुँदै पूर्वतिर गयो । गङ्गा नदीको किनारमा अर्को सभ्यता विकास भयो । सिन्धुको सभ्यता अन्त्य भएपछि त्यहीँका केही मानिसहरू आएर गङ्गालाई प्रमुख आधार मानेर बस्न थाले । गङ्गा नदीको सभ्यताका आर्यहरूको एउटा समूह भारतको उत्तरापथबाट नेपालभित्र छिर्‍यो । यसरी यहाँ दुई फरक नस्लका मानिस आइपुगे ।

पूर्वमा बर्मा, बङ्गालदेशको माथिल्लो भाग र हङकङ लगायत पूर्वको पुछारमा पनि स्थानीय सभ्यता विकास भयो । तर उनीहरूको सभ्यताको सम्बन्ध तिब्बतसँग भयो । तिब्बत र त्यहाँको सम्बन्धको कारणले एकाथरी मानिसहरू पूर्वबाट पश्चिमतर्फ आएको देखिन्छ । जसलाई हामी राई, लिम्बू, किराँत भनेर चिन्छौँ । यसरी दुईतिरको सभ्यताका मानिसबीच मिलाप हुँदा नेपालको जनसङ्ख्यामा पनि विविधिकरण आयो ।

जाति बढ्नुको पहिलो कारण आनुवांशिक प्रक्रिया (जेनेटिक प्रोसेस) नै हो । दोस्रो फरक सभ्यताका मानिसहरूको मिलाप र तेस्रो ठाडो पदसोपान (भर्टिकल हायरार्की) मा आधारित जाति व्यवस्था ।

जेनेटिक प्रोसेसलाई नियाल्दा फरक वर्ण या जातिका मानिसहरूको विहेबारी र सन्तान उत्पादनका कारण नयाँ जाति बन्यो । आर्यनले मङ्गोेलियन या मङ्गोलियनले आर्यनसँग, आर्यनले पनि फरक वर्णका मानिससँग सहवास गरेपछि जन्मने नयाँ शारीरिक संरचना भएका मानिसहरू नयाँ नस्ल भए अर्थात् नस्लको विविधिकरण हुँदै गयो । समाजले नयाँ नाम दिँदै गयो ।

थरको आधार

थरहरू मुख्यतः तीन आधार बनेका हुन्छन् । पहिलो त वंशानुगत नै भैहाल्यो । पेशा (अकुपेशन बेस्ड) र स्थानविशेष (प्लेस्ड बेस्ड) बाट पनि नेपालमा दर्जनौँ थर उत्पत्ति भएका छन् । पछिल्ला थरहरू पनि पछि वंशानुगतमै बदलिने गरेका छन् ।

वैदिक कालमा जातीय व्यवस्था जन्मको आधारमा नभइ कर्मको आधारमा थियो । पछि धर्मान्धहरूको प्रभाव बढ्न थालेपछि पेशामा आधारित जन्म (अकुपेसनल बर्थ) पनि जातीय नै भयो । त्यसयता शूद्रको कोखबाट जन्मिने सबै शूद्र भए । ब्राह्मणको कोखबाट जन्मिने ब्राह्मण नै मान्यता प्राप्त भयो । त्यो मान्यतालाई ‘जेनेटिक कन्टिन्युएसन’ भनिन्छ । नेपालमा अहिले हामी यही अभ्यास गरिरहेछौँ । पेसामा विविधता आएपनि ‘एथ्निक’ र ‘कास्ट सिस्टम’ले निरन्तरता पाइरहेको छ ।

स्थानविशेषको सवालमा कुनै समुदाय एकै ठाउँमा लामो समयसम्म बस्दा उसले त्यही स्थानविशेषको नामबाट थर राख्यो । त्यो पनि पछि जातीय समूह नै भयो ।

शेर्पा जाति एउटा उदाहरण हो । शेर्पा भाषामा ‘पा’ बासी’ र ‘शेर’ को अर्थ ‘पूर्व’ को हो । अर्थात् पूर्वमा बसेका मानिसलाई शेर्पा भनियो । त्यसैले शेर्पा जात पनि हो र थर पनि हो । थर भनेको पारिवारिक पहिचान हो । जात भनेको सामाजिक पहिचान हो । ठूलो समुदायलाई सम्बोधन गर्न जात भनिन्छ । शेर्पाभित्र पनि २३/२४ जात भेटिएको छ ।

शेर्पाहरूसँगै चीन तिब्बतबाट नेपाल पसेको एउटा समूह पश्चिमतर्फ माइग्रेट हुँदै जाँदा मुस्ताङ उपत्यकाको थाकखोला पुगेर लामो समय बसेपछि उनीहरूलाई थकाली भनियो । थाकखोलामा बसेकाले उनीहरू थकाली भएका हुन् । उनीहरू शेर्पासँगै तिब्बतबाट नेपाल प्रवेश गरेका हुन् ।

थार मरुभूमिमा लामो समयसम्म बसेर आएकालाई थारु भनियो । एउटा पहिचान पाएपछि उनीहरूको थर नै सोही रहन गयो । भारतको नायर प्रदेशबाट आएकालाई नेवार भनिन्छ भन्ने तर्क गर्नेहरू पनि छन् ।

स्थानविशेषको नामबाट एउटा व्यक्तिको नामाकरण भयो । त्यसपछि त्यो परिवारमा गयो र परिवारबाट समुदायमा फैलियो । जति धेरै फैलिँदै गयो, त्यो थर अब जातिमा बदलियो ।

अहिले पनि नयाँ ठाउँको नामबाट नयाँ जाति प्रादुर्भूत हुने क्रम जारी छ । यसको उदाहरणको रूपमा गाउँको कुनै डाँडामा घर बनाएर बस्नेलाई डाँडाघरे भनियो । दाजुभाइ छुट्टिएपछि पनि डाँडाघरे जेठो कान्छो भयो । अब डाँडाघरे जाति नै पार्दुभाव भयो ।

पुरानो समयमा यो कार्यान्वयन भएको देखिन्छ । यो स्थान विशेषको नाममा जोडियो । जति पनि मङ्गोेलियन थरहरू छन् ः ती अधिकांश ‘प्लेसबेस्ड नेमिङ’मा आधारित छन् ।

तर, आर्यन समुदायमा पेशाको आधारमा राखिएको थरको प्रभाव बढी छ । नेवार समुदायमा पनि यो बढी चलेको पाइन्छ । तामाको भाँडा बनाउनेलाई ताम्राकार, काठको काम गर्नेलाई शील्पकार आदि ।

वैदिक कालदेखि अहिलेसम्म जाति थपिने क्रममा नै अहिलेसम्म नेपालमा १४२ जातजाति बनेको हो । त्यसैले जातजातिको विषय पनि मानवशास्त्रीय अध्ययनमा महत्वपूर्ण छ । २/४ जाति हुने अमेरिका लगायत देशका मानिसहरू नेपालमा यत्तिका धेरै जातजाति रहेको जानकारी पाउँदा आश्चर्यमा पर्छन् ।

अन्तरघुलन

हनुमानढोकाको सिंहसत्तलका पूजारी उदयगोपाल झा मधेशी हुन् । उनका पुर्खा पृथ्वीनारायण शाहकै पालामा मधेशबाट काठमाडौँ आएका हुन् । धेरै पुस्ता लामो समय काठमाडौँमा बसेका कारण उनीहरू अहिले काठमाडौँका नेवारभन्दा फरक छैनन् । हेर्दा र बोली सुन्दा उनी मधेशी हुन् भन्ने कसैलाई लाग्दैन । तर, उनी झा हुन् ।

त्यसैले, वातावरणीय प्रभावले गर्दा पुस्तौँपुस्तासम्म त्यही वातावरण र त्यही समुदायमा रहँदा ऊ शारीरिक र सांस्कृतिक रूपमा त्यहीँ अन्तरघुलन हुन्छ ।

अहिले नेपाल जाति व्यवस्थाबाट विस्तारै आर्थिक वर्गमा विभाजन हुँदैछ । जसले समाजको शक्ति आफ्नो नियन्त्रणमा राख्न सक्यो, उसको उच्च सामाजिक हैसियत कायम हुन्छ ।

नेपालीहरूको शारीरिक संरचनामा विविधता छ । यो आनुवांशिक सम्बन्ध (जेनेटिक कनेक्सन) सँग जोडिएको छ । आर्यनका चार जाति र मङ्गोेलियनहरू बीचको शारीरिक र वैवाहिक सम्बन्धको कारणले गर्दा शारीरिक संरचनामा विविधता बढ्दैछ । त्यही कारणले हामी सबैको शारीरिक विशेषता फरकफरक छ ।

दोस्रो – हामीले प्राप्त गरेको वातावरणीय प्रभावले पनि विविधता निम्त्याउँछ । जस्तो कि; बाबुबाजे सोलुखुम्बुमा जन्मिए । तर छोरा नाती पुस्तौं पुस्तासम्म नेपालगञ्जमा बसे भने वातावरणीय प्रभावका कारण सोलुखुम्बुको शेर्पा र नेपालगञ्जको शेर्पाको शारीरिक संरचना फरक पर्दै गयो । यो वातावरणीय प्रभाव हो । तराइको थारु वर्र्षाैंवर्ष सोलुखुम्बुमा बस्यो भने छोरानाती गोरा हुँदै जान्छन् । ऊ शेर्पाको शारीरिक विशेषतासँग नजिक नजिक हुँदै जान्छ ।

त्यसैले अहिले धेरै हदसम्म शारीरिक विशेषता हेरेर हामी यो आर्यन या मङ्गोेलियन हो भनी छुट्याउन नसक्ने अवस्था बनिसकेको छ । वातावरणीय र आनुवांशिक प्रभाव परेका मानिसहरूको नस्ल छुट्याउन गाह्रो पर्छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ४ : ०६ बजे

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार

जेनजी आन्दोलनपछि पहिलो पटक देखिए ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा

जीपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभालाई अझ जिम्मेवार बनाउनुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी

संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य