यसवर्षका ठूला चाडपर्वहरू हाम्रो घर आँगनमा भित्रिसकेका छन् । साउने संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा लगायतका पर्व हामीले मनाइसकेका छौं । कृष्ण जन्माष्टमी, तीज, दशैं तिहार लगायत धेरै चाडपर्वहरू लाइनमा छन् । चाडपर्व बाहना मेवा मिष्ठान्नसँग जोडिने नै भयो । चाडपर्वका नाममा आग्रह टार्न नसकेर गुलियो, अमिलो, पिरो, चिल्लो राति बिहान जुनसुकै समय खानु धेरैको दैनिकी बन्छ । खान नजान्दा स्वास्थ्य बिग्रिने कुरामा हामीले नजरअन्दाज गर्ने गरेका छौं । त्यसले सुखद परिणाम नदिने निश्चित छ ।
हप्तौंअघि नै तीजको दर खाने कार्यक्रम सुरु भइसकेका छन् । हरेक समुदाय तथा जातजातिले मनाउने चाडपर्वको आ आफ्नै महत्व र विशेषता रहेको छ । यी चाडपर्वले कुनै न कुनै रुपमा मानव समाजलाई एकढिक्का बनाएर आपसी सद्भाव तथा प्रेम जगाउने काम गर्ने भएकाले यसको महत्व बढेको हो ।
पहिले पहिले मिठोमसिनो खानको लागि चाडपर्व नै कुर्नुपर्ने अवस्था थियो । त्यसैले कुन मौसममा कस्तो खानेकुरा खाने भनेर विभिन्न पर्वका अवसरमा खाइने गरिन्थ्यो, जसले केही हदसम्म फाइदा पनि पु¥याउँथ्यो होला ।पछिल्लो समय त्यो अवस्था रहेन, मिठो खानकै लागि चाडपर्व कुर्नुपर्ने अवस्था छैन ।
हाम्रो खानपान तथा जीवनशैलीकै कारण नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । सही तरिकाले खानाको प्रयोग नहुँदा वर्षेनी धेरै मानिस मृत्युको मुखमा पुगेका उदाहरण छन् । त्यसैले चाडपर्वका नाममा खाइने विभिन्न किसिमका खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्ने सम्भावना रहेको हुँदा खानपानमा पनि विशेष ध्यान दिनु स्वास्थ्यका लागि महत्वपूर्ण हुने चिकित्सकहरू बताउँछन् ।
चाडपर्वमा खाइने खानाहरू
नेपालमा मनाइने चाडपर्वहरू तीज, दशैं, तिहार, इद, क्रिसमस जस्ता हरेक पर्वमा माछा मासु, मसलाजन्य खानेकुरा, चिल्ला रोटी लगायत भारी खाना खाने चलन छ । यस्ता खानाहरू नियमित रुपमा अत्याधिक मात्रामा खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या देखिने फिजिसियन डा. प्रतीक पौडेल बताउँछन् ।
डा. पौडेलका अनुसार कसैलाई पुरानै समस्या छ र चाडपर्वमा जथाभावी खाइदियो भने त्यसले अझ च्याप्छ र स्वास्थ्य झनै बिग्रिन्छ । त्यस्तै अत्याधिक मदिरा सेवन गर्दा पनि विभिन्न समस्या देखिन्छन् ।
त्यस्तै पहिले कोलेष्ट्रोल ठिकै थियो । अहिले भोजभतेरको समय आइसकेपछि कोलेष्ट्रोल बढेर देखिने अन्य समस्याहरु लिएर आउने बिरामीहरु पनि धेरै छन् ।
खानाकै कारण निम्तिने समस्याहरु मध्ये फोहोर खाना खाँदा झाडापखाला आउँ जस्ता समस्या देखिन्छन् भने जथाभावी खाँदास्वास्थ्य थप बिग्रिने जोखिम हुन्छ । असन्तुलित र अस्वस्थखानपानकै कारण नयाँ रोग थपिने, तौल बढ्ने, सुगर नियन्त्रण नहुने लगायतका समस्या देखिने गरेका डा. पौडेल बताउँछन् ।
हरेक वर्ष तीजको दर खाएर दशैंको भोज खाएर स्वास्थ्यमा समस्या लिएर धेरै मान्छे उपचारका लागि आउने गरेको बताउँदै डा. पौडेल भन्छन्– ‘धेरै खानथालेपछि प्रेशर बढ्ने वर्षाको समयमा बाहिरको खाना खायो भने पखाला लाग्ने, हेपाटाइटिस देखिने, हैजा फैलिने हुन्छ । अझ दुषित पानीका कारण अन्य असर पनि देखिन्छन् । त्यसैले चिल्लो धेरै नखान र अन्य खानाहरुसंगै फलफूलर पानी धेरै खान आवश्यक छ ।’
चिल्लो, गुलियो र नुनको असर
पोषणविद् योगिता सापकोटा भन्छिन् हरेक व्यक्तिको आ आफ्नै उचाइ तौल, उमेर, रोगको अवस्था कस्तो छ त्यो अनुसार कति मात्रामा खाने भन्नेमा भर पर्छ ।
चाडपर्वमा मिठो खानुपर्छ भन्ने हाम्रो सोचाइ छ । जसमा गुलियो, चिल्लो र नुनको मात्रा अत्याधिक हुन्छ । यी तीनवटै वस्तुको प्रयोगले हाम्रो स्वास्थ्यमा असर गर्ने उनको भनाई छ ।
चिल्लो पदार्थको कुरा गर्दा पशुजन्य चिल्लो भन्दा वनस्पतिजस्ता चिल्लो पदार्थको प्रयोग गर्दा उचित हुने पोषणविद् सापकोटा बताउँछिन् । उनका अनुसार डाल्डा जस्ता चिसो ठाउँमा राख्दा जम्ने खालका चिजहरू सकेसम्म प्रयोग नै नगर्ने यदि गरिहाले पनि एकदमै कम मात्रामा प्रयोग गर्नुपर्छ ।
एक पटक प्रयोग तेललाई दोहोर्याएर प्रयोग गर्नुहुँदैन । यसले ट्रान्सफ्याटहरु बन्ने सम्भावना हुन्छ जुन मुटुको स्वास्थ्यका लागि एकदमै हानिकारक मानिन्छ । चाडपर्वमा गुलियोको प्रयोग धेरै हुन्छ । चिनी, सख्खर मह भनेका सामान्य कार्बोहाइड्रेडका स्रोतहरू हुन् । जसलाई शरीरले छिटो एड्जष्ट गर्छ र ग्लुकोजको मात्रा ह्वात्तै बढाउँछ । चाडपर्वमा यसको रिस्क पनि धेरै हुने पोषणविद् सापकोटाको भनाइछ ।
चाडपर्व सुरु हुनु अगाडिदेखि र सकिसकेपछि पनि हामी चाडपर्वका नाममा खानपानमै व्यस्त हुने हुनाले यसले झनै समस्या निम्त्याउने उनले बताइन् । चाडपर्वमा धेरै थरिको परिकार खाँदाखेरी नुनको अत्याधिक प्रयोग हुन्छ । जसका कारण शरीरमा सोडियमको मात्रा बढी हुन्छ । सोडियमको मात्रा बढ्नाले उच्च रक्तचाप, लगायत मुटुसम्बन्धी विभिन्न रोगको जोखिम बढाउने उनले बताइन् ।
दीर्घरोगी सतर्क बनौँ
पोषणविद् सापकोटाले चाडपर्वमा सबैभन्दा धेरै जोगिनुपर्ने भनेको दीर्घरोगीका बिरामीले हो । जस्तै सुगर, हाइपरटेन्सन, मुटुका रोगी, किड्नीको रोग भनेको चाडपर्वमा कम्प्रोमाइज गर्न नसक्ने खालका रोगहरू हुन् ।
जस्तै कुनै चाडपर्वमा व्रत बस्नुपर्छ । त्यस्तो अवस्थामा सुगरका बिरामीहरूले गर्न सक्दैन । किनकी ३ देखि ४ घण्टाको फरकमा खाना खाइराख्नुपर्ने हुन्छ । त्यस्तै अन्य दीर्घ रोगीहरूले पनि बेला बेलामा औषधीहरू खाइराख्नुपर्ने हुनाले खानपानमा आज यत्ति खान्छु, केही भन्ने सोच नराख्नु नै राम्रो हुने उनले बताइन् ।
त्यस्तै चाडपर्वमा खाइने खानहरू प्राय चिल्लो हुने भएकाले कब्जियत हुने सम्भावना एकदमै धेरै हुन्छ भने ग्याष्ट्रिक लगायत पेटसम्बन्धी विभिन्न रोगको सम्भावना धेरै हुन्छ । त्यसैले अलिकति फाइबरयुक्त खानेकुराहरू जस्तै फलफूल र तरकारीमा अलि बढी जोड दिन उनको सुझाव छ ।
दशैं लगायत हरेक चाडपर्वमा मासु मात्रै खाने तरकारी नखाने गर्नाले खानाको सन्तुलन मिल्दैन । त्यसैले हरेक पटकको खाना सन्तुलित हुन एकदमै जरुरी छ, जसमा सबै खालका खानेकुराहरू समावेश हुनुपर्यो । चाडपर्व हो भन्दैमा मासु मात्रै खाने वा खीर मात्रै खाने हाम्रो बानी हुन्छ । त्यसलाई रोक्न आवश्यक रहेको पोषणविद् सापकोटाको भनाई छ ।
प्रतिक्रिया