काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक धोका दिएपछि नेपाली कांग्रेससँग मिल्नुपरेको बताएका छन् ।
धनकुटाको हिलेमा मंगलबारदेखि सुरू एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिलेसम्मको सफलताको नेतृत्वकर्ता एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताउँदै प्रचण्डसँग पटक पटक मिल्दा पनि धोका पाएको बताए ।
‘प्रचण्डसँग पटक पटक सहकार्य गरेको हो । तर उहाँले अनेक प्रकारले असफल बनाउन नसकेपछि हामीलाई सरकारबाट बाहिर राख्न खोज्नु भयो’, उनले भने, ‘प्रचण्डजी हामीलाई छाडेर कांग्रेससँग जानु भयो । हाम्रो योजना उनीहरूको गठबन्धनलाई भत्काउने थियो । पहिलो पटक गठबन्धनबाट प्रचण्डलाई प्रधानमन्त्री बनायौँ । त्यसबेला पनि धोका भयो । उनी पुरानै गठबन्धनमा फर्किएपछि हामीले नयाँ शिराबाट प्रमुख दलको सहकार्य खोजेका हौँ । त्यसपछि कांग्रेस-एमालेको सहकार्य भएको हो ।’
आफूहरू कांग्रेससँग मिलेका प्रचण्डलाई निकालेर दुई ठूला दलबीचको सहकार्य गराउन सफल भएको पनि उनले बताए । ‘प्रचण्डले धोका दिएपछि हामीले अति भएको निष्कर्ष निकाल्यौँ । अब स्थायित्वको आधार खोज्नुपर्छ । साना दलले ठूला दललाई शासन गर्ने कुराको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो’, उनले भने, ‘मुख्य दल मिलेर नयाँ यात्रा थाल्नुपर्छ भनेर कांग्रेस र एमाले मिलेका हौँ । तर त्यहीकारण असुरक्षित भएकाहरूले अहिले हामीलाई प्रहार गरिरहेका छन् । हामीले एमालेजनले यो कुरा बुझ्नुपर्छ ।’
उनले एमालेको पार्टी पंक्ति अहिलेको भूमिकाको रक्षाका लागि उभिनुपर्ने बताए । ‘अहिले भइरहेको प्रहारलाई एकतावद्ध ढंगले सामना गर्नुपर्छ । केपी ओलीको विकल्प खोज्ने प्रयास जसले गर्नु भयो त्यो पार्टी हितमा थिएन’, उनले भने, ‘विकल्पको धेरै चिन्ता गर्नुपर्ने पार्टी एमाले होइन । ०४६ सालपछि एमालेले पाँचवटा नेततृत्व लियो । कांग्रेसले चारवटा नेतृत्व फेर्यो । माओवादीमा विकल्पको कुरा हुँदैन । एमालेमा चाहिँ विकल्पका नाममा आँधी हुरी ल्याउने काम भएको छ ।’
उनले पार्टीका नेता कार्यकर्ताहरूले यो कुरा बुझ्न सक्नुपर्ने बताए । ‘नेतृत्व फेर्ने अधिकार एमालेका नेता-कार्यकर्तालाई अधिकार छ । तर त्यसो गर्दा अहिलेको नेतृत्वको विकल्प दिन सक्नुपर्छ । भीम रावलले दशौँ महाधिवेशनमा गरे जस्तो दाबीको अर्थ छैन’, उनले भने, ‘पछिल्लो पूर्वराष्ट्रपतिको सन्दर्भमा कुरा गरौँ । सभामुखलाई पार्टीमा स्वागत गर्ने तर पूर्वराष्ट्रपतिका हकमा किन नगरेको भनिएको छ, सभामुखको विषय र राष्ट्रपतिको विषय फरक हो ।’
उनले राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा पहिले कुनै प्रकारका राजनीतिक जिम्मेवारीमा छ भने गतिविधिमा छ भने त्यसबाट मुक्त हुनुपर्छ भनेर संविधानमै भनिएको बताए ।
‘सभामुखको हकमा फरक छ । सभामुख एउटा दलको भएमा अर्को दलको उपसभामुख हुनुपर्छ भनेको छ। राष्ट्रपतिमा गइसकेपछि निष्पक्ष भूमिका चाहिन्छ’, उनले भने, ‘सभामुखमा निर्वाचित भए पनि ऊ सांसद रहिरहन्छ । राष्ट्रपति भइसकेपछि सांसद पदबाट मुक्त हुन्छ । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँको सांसद पदबाट मुक्त भएका हुन् । कुनै पनि विषयमा बहस र चर्चा गर्न मिल्छ । तर त्यो विषय वस्तुगत, नीति संगत र कानुनसम्मत हुनुपर्यो।’
माओवादीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई फर्काउन मिल्ने तर एमालेले राष्ट्रपतिलाई किन लिन नमिल्ने भनिएको कुरामा पनि पोखरेलको आफ्नै तर्क थियो ।
‘माओवादी भनेको लोकतन्त्रमाथि प्रहार गरेर उदाएको शक्ति हो । संसदीय व्यस्था सिद्धाउन नसकेपछि माओवादी १२ बुँदेमार्फत् शान्ति प्रक्रियामा आएका हुन्’, उनले भने, ‘माओवादीले यस्तो गर्यो भनेर तर्कका सिरानी हालेर हामीले यस्तो वकालत गर्नु हुँदैन ।’
पोखरेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्तलाई उच्चतम् प्रयोग गर्ने काम एमालेको भएको पनि बताए ।
‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किने अपेक्षा हामीलई थिएन । उहाँ राष्ट्रपतिबाट बिदा भइसकेकपछि पार्टी स्थापना दिवसका दिन गणतन्त्र गौरव सम्मान दिइएको हो’, उनले भने, ‘उहाँ पार्टी राजनीतिभन्दा माथिको व्यक्ति हो भन्नेमा कुनै अलमल छैन । पार्टीमा पार्टी अध्यक्षभन्दा माथि कोही कार्यकर्ता हुँदैनन् । तर उहाँलाई महिला अधिकार दिवसका दिन उहाँलाई प्रमुख अतिथि बनाएर पार्टीभन्दा माथि रहेको सन्देश दिन सम्मान गरेको हो । निर्णय गरेर भन्ने कुरा होइन, उहाँलाई तपाईं पार्टीभन्दा माथि हो भनेर सन्देश पटक पटक दिएका थियौँ ।’
यति हुँदा हुँदै पनि पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेको उनले बताए । ‘संगठन विभागका साथीले यो संवेदनशील विषय भएकाले चर्चामा नल्याऊँ भन्नु भएको हो । तर पूर्वराष्ट्रपतिले असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा सदस्यता नवीकरणको कुरा बाहिर नल्याएको भए यो विवाद नै हुने थिएन’, उनले भने, ‘विवाद भइसकेपछि पार्टीले निर्णय गरेको हो । केन्द्रीय कमिटीले निर्णय गरिसकेकाले भदौमा हुने दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपतिको विषयमा छ्लफल हुँदैन ।’
पूर्वराष्ट्रपतिले जनीतिमा आएँ भएर बोल्नु गरिमाबाहिर रहेको उनले बताए । ‘पार्टी निर्णयछि पनि उहाँले पूर्वराष्ट्रपति होइन, एमालेकी पूर्वउपाध्यक्ष हुँ भनेर बोल्नु भएको छ’, उनले भने, ‘पूर्वराष्ट्रपतिले उहाँको गरिमाबाहिर गएर त्यो कुरा बोल्नु भएको छ ।’
प्रतिक्रिया