नयाँदिल्ली– गत मंगलबार भारतमा आएको बाढीको कारण चार जनाको मृत्यु भएको तथा कम्तीमा ६८ जना एक हप्तादेखि बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन् ।
निरन्तरको खोजी कार्य पश्चात पनि केही निकास नआएपछि बेपत्ताहरू सबैको मृत्यु भएको आशंका गर्दै अगस्ट ५ को प्रकोपको कारण मृत्यु हनेको सङ्ख्या ७० जनाभन्दा बढी पुग्ने अधिकारीहरूले बताएका छन् ।
घटनाबारे सार्वजनिक गरिएको भिडियोहरूमा माटो मिसिएको पानीले ठूलाठूला अपार्टमेन्टहरू बगाउँदै लगेको डरलाग्दो दृश्य देखाइएको छ ।
विपद् व्यवस्थापनका अधिकारीहरूले मंगलबार पनि उत्तराखण्ड स्थित धरालीको भग्नावशेषमा शवहरू खोजिरहेको जनाइएको छ । राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारी गम्भीर सिंह चौहानले तालिम प्राप्त कुकुरहरूले शव भएको संकेत गर्ने धेरै ठाउँहरू पहिचान गरेको तर उत्खनन गर्दा पानी बाहिर निस्किएकाले उद्धरामा कठिन भएको बताएका छन्। उनले खोजीमा ग्राउन्ड पेनिट्रेटिङ राडार पनि प्रयोग गरिरहेको बताए।
स्थानीय सरकारले अहिले ४४ जना भारतीय र २२ जना नेपालीसहित ६८ जनालाई बेपत्ताको सूचीमा राखेको छ । सूचीमा नौ जना सैनिक छन् ।
विज्ञहरूले खराब योजनाबद्ध विकाससँगै जलवायु परिवर्तनले प्राकृतिक जोखिम बढाइरहेको बताएका छन् । हालसम्म बाढीको कुनै आधिकारिक कारण पत्ता लागेको छैन तर वैज्ञानिकहरूले भारी वर्षाले द्रुत गतिमा पग्लिरहेको हिमनदीबाट बाढी आएको हुनसक्ने बताएका छन् ।
प्रतिक्रिया