गुरुङ समुदायमा मनाइयो ट्होटेँ | Khabarhub Khabarhub

गुरुङ समुदायमा मनाइयो ट्होटेँ


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– आज साउनको अन्तिम मंगलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ मनाउने दिन । बर्सेनि साउन र चैतको अन्तिम मंगलबार गण्डकी प्रदेशका गुरुङ बाहुल्य बस्तीमा यस पर्वलाई उल्लासपूर्वक मनाउने गरिन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरूप ट्होटेँ पर्वको सुरूआत भएको मानिन्छ ।

 गुरुङ सभ्यतासँग जोडिएको ट्होटेँ पर्व एक हजार ५०० सय वर्षदेखि अस्तित्वमा रहेको तमु धिँ नेपालका केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभागका प्रमुख कृष्णकुमार गुरुङले बताए। आदिमकालमा गुरुङहरू गुफा, गोठहुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको सुरुआत भएको उनको भनाइ छ । 

‘बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले अझ व्यापकता पाउँदै गयो’, प्रमुख गुरुङले भने, ‘ट्होटेँ गुरुङ बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरेर मनाइने पर्व हो, यो गुरुङहरूको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको मौलिक पर्व हो ।’

तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिने गरिएको छ । 

‘कबिलाकालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन पितापूर्खाहरूले ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ’, उनले भने। 

धमु धिँ नेपालको अगुवाइमा यस पर्वलाई विसं २०५२ देखि व्यवस्थित रूपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताए। ट्होटेँमो प्रकृति पूजा गर्ने चलन रहेको उनको भनाइ छ । यस पर्वमा गुरुङहरू आफ्ना परम्परागत बाजागाजासहित जातीय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । 

ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातिले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायत सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ । 

यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्ने चलन डुल्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ । ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको छ । 

गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर ट्होटेँ पर्व मनाउन सुरू गरिएको गुरुङ समुदायको इतिहासमा उल्लेख छ । यो पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास रहेको छ ।

यस वर्षदेखि चैतमा सामूहिक रूपमा र साउनमा गुरुङ गाउँ र समाज घरमा अलगअलग रूपमा ट्होटेँ मनाउन सुरू गरिएको अध्यक्ष गुरुङले बताए। पोखरासहित यस क्षेत्रका एक सय ४८ गुरुङ गाउँ र समाजघरमा आज ट्होटेँ मनाइएको उनको भनाइ छ । पोखरास्थित धमु धिँ नेपालको केन्द्रीय कार्यालय परिसरमा सांस्कृतिक झाँकीसहित शुभकामना आदानप्रदान गरेर यो पर्व मनाइएको हो ।

 सोही अवसरमा जयबहादुर गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट १६ जना दीर्घरोगीलाई रु २५ हजारका दरले उपचार खर्च प्रदान गरिएको थियो । रु एक करोड एक सय ५१ को उक्त अक्षयकोषबाट अहिलेसम्म ६३ जनालाई रु ३१ लाख ३४ हजार प्रदान गरिसकिएको छ । 

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा झरेका गुरुङहरूले ट्होटेँ पर्वलाई संरक्षण गरेका छन् । चैतको अन्तिम मंगलबार पनि मनाइने ट्होटेँ पर्वमा भने पोखरामा बृहत् सांस्कृतिक झाँकी प्रदर्शन गर्ने गरिएको छ । यो पर्व प्रकृति र संस्कृतिसँग जोडिएको उनको भनाइ छ । चैतमा उभौली र साउन उधौलीका रूपमा यो पर्वलाई मनाउने गरिन्छ । ट्होटेँले सामाजिक एकता र भातृत्वको सन्देश दिने अन्नपूर्ण गाउँपालिकाका–९ का वडाध्यक्ष रमेश गुरुङले बताए। 

ट्होटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उनको भनाइ छ । विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा यो समुदाय जागरुक बनेको हो । ट्होटेँका अवसरमा कास्कीको माछापूछे, अन्नपूर्ण र मादी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 
 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ३० बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले