‘जेनजी’ आन्दोलन : काभ्रेमा १८ सरकारी तथा निजी संरचनामा क्षति « Khabarhub

‘जेनजी’ आन्दोलन : काभ्रेमा १८ सरकारी तथा निजी संरचनामा क्षति


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्‍याइएको छ ।

विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएको स्थानीय प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको छ । 

प्रदर्शनका क्रममा मंगलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्त्वपूर्ण कागजात र केही सवारी साधन पूर्णरुपमा क्षति पुर्‍याइएको छ । 

यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ । 

प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका हुन् । 

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे र नेपाली कांग्रेसको बनेपास्थित कार्यालयमा तोडफोड गरी आगजनी हुँदा ठूलो क्षति भएको छ । प्रदर्शनकारीले ती कार्यालय तोडफोड गरी फर्निचर र महत्त्वपूर्ण कागजात बाहिर निकाली आगो लगाएका हुन् । 

प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्वनगरप्रमुख भीम न्यौपानेको दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी गरेका छन् । 

बुधबार सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेका थिए । अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारागारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो । 

२८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । 

यसैबीच स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा क्षतिको मूल्याङ्कन कार्य अघि बढाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने आगजनी गर्ने, व्यक्ति तथा समूहको पहिचान थालिएको बताए । तोडफोड र क्षतिबारे थप विवरण सङ्कलन भइरहेको र सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रशासनको भनाइ छ । 

आन्दोलनमा काभ्रेका दुई जनाको मृत्यु

‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाका दुई जनाले ज्यान गुमाएका छन् । भुम्लू गाउँपालिका–४ घर भई ललितपुर उपमहानगरपालिका–२५ सुनाकोठी बस्दै आएका २७ वर्षीय सरोज खत्री र तेमाल गाउँपालिका–७ काल्धार घर भई ललितपुरको पाटनमा बस्दै आएका ४२ वर्षीय दिलनारायण तामाङको मृत्यु भएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गङ्गा दाहालको घरमा बिहीबार जलेको अवस्थामा मृत भेटिएका व्यक्ति खत्री थरका रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार मृतकले लगाएका कपडा र घडीका आधारमा पहिचान खुलेको हो । मंगलबार दिउँसो प्रदर्शनका क्रममा दाहालको घरमा आगजनी गरिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ३ : १२ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव