‘सिक्वेल’का नाममा ब्याज खाने लोभ ! « Khabarhub

‘सिक्वेल’का नाममा ब्याज खाने लोभ !


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट फिल्म ब्रान्डका रुपमा प्रस्तुत गरेर सिक्वेल ल्याउने अभ्यास बढ्दो छ । सिक्वेलको अभ्यास पुरानै हो ।

प्रायः हिट फिल्मको सिक्वेल आउने गर्छ । बक्स अफिसमा गुमनाम बनेका फिल्मका सिक्वेल पनि नबनेका होइनन् । उदाहरणका लागि फिल्म ‘नाइँ नभन्नु ल’लाई हेर्दा हुन्छ ।

‘नाइँ भन्नु ल’ १ र २ मात्रै दर्शकले मन पराए । बाँकी फ्लप हुँदा पनि यो फिल्मको सिक्वेल ६ सम्म पुगेको छ । सबैभन्दा बढी सिक्वेल बनेको नेपाली फिल्म नै यही हो ।

मेकरहरुलाई व्यवसायिक रुपमा सिक्वेल ल्याउँदा फाइदै पुगेछ । हिट फिल्म आफैँमा ब्रान्ड बनिसकेको हुन्छ । मन परेको फिल्मको निरन्तरता हेर्न दर्शकलाई पनि चासो हुने नै भयो । सिक्वेलले फिल्म प्रचारमा पनि सहज हुन्छ ।

आलोचनात्मक दृष्टिले हेर्ने हो भने सिक्वेल हिट फिल्मको आडमा अर्को कथा भन्न मेकर लालायित भएको उपज हो ।

त्यही भएर अहिले सिक्वेल बनाउने मेकरहरुलाई प्रश्न आउँछ- ब्याज खान सिक्वेल बनाउनु भएको हो ?

अघिल्लो तुलनामा सिक्वेल कमजोर भए पनि व्यापार ठीकठाक हुने उदाहरण व्याप्त भएकाले यो प्रश्नले मेकरहरुलाई घेरिरहन्छ ।

सिक्वेल कमजोर बन्नुलाई ‘दर्शकप्रतिको धोका’ बताउने विश्लेषकहरुको जमात पनि छ ।

सिक्वेलमा अभिनय नगर्ने स्थापित नायकहरु नायकहरु कम नै छन् । बक्स अफिसमा पनि पकड बलियो छ । थुप्रै नायक नायिकाले सिक्वेललाई फिल्म क्षेत्रमा प्रवेश गर्ने ढोका बनाएका छन् । केही त सिक्वेलमा अभिनय गरेकै कारण स्थापितसमेत बनेका छन् ।

नेपाली फिल्मको पछिल्लो दुई दशक हेर्ने भने हिट फिल्मको सूचीमा सिक्वेलकै दबदबा छ ।

बक्स अफिसमा प्रभुत्व

नेपाली बक्स अफिसमा सिक्वेलको दबदबा कस्तो छ भनेर थाहा पाउन गत भदौमा चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मको सूची हेर्दा हुन्छ ।

यी २५ फिल्ममा १४ वटाले सिक्वेलसँग सम्बन्ध राख्छन् । ‘छक्का पञ्जा’का पाँचै र ‘कबड्डी’का चारवटै सिक्वेल यो सूचीमा छन् ।
‘जारी’ पनि यो सूचीमा छ । यसको सिक्वेल ‘जारी २’ प्रदर्शनरत छ ।

त्यस्तै, ‘परदेशी २’, ‘पशुपति प्रसाद २’ र ‘प्रेम गीत ३’ पनि यो सूचीमा छन् ।

उक्त सूचीमा रहेका बाँकी ११ मध्ये दुई फिलम ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’को पनि सिक्वेल निर्माणको घोषणा भइसकेको छ ।

’पूर्णबहादुरको सारङ्गगी’ले ४६ करोड ८७ लाख ग्रस कलेक्सन गर्दै सबैभन्दा बढी व्यापार गर्ने नेपाली फिल्मको कीर्तिमान राखेको छ । यो फिल्मका निर्माता पनि सिक्वेल निर्माणमा तम्सिएका छन् ।

अर्थात्, अहिलको अवस्थामा अल टाइम हिट फिल्मको सूचीमा परेको २५ मध्ये ९ फिल्म मात्रै सिक्वेल निर्माणमा प्रवेश गरेका छैनन् । तर, सिक्वेल बन्ने सम्भावना सबैको उत्तिकै छ ।

सिक्वेलबाट चर्चित कलाकार

सबैभन्दा बढी संख्यामा नयाँ नायक-नायिका स्थापित गर्ने सिक्वेल ‘होस्टल’ हो । यसले नायक-नायिकाको जन्म गराउने ब्रान्डको उपमा पनि पाएको छ ।

‘होस्टल’बाटै अहिले महँगा नायक अनमोल केसीको उदय भएको हो । फुलफ्लेज हिरोको रुपमा उनको यो डेब्यू फिल्म हो । सहायक पात्रमा बढी रुचाइएका युवा नायक सलोन बस्नेतले यही फिल्मबाट चर्चा पाएका हुन् ।

‘होस्टल २’ बाट नायक नायक सुशील श्रेष्ठ, नायिका स्वस्तिमा, नाजिर हुसेनले फिल्ममा डेब्यू गरेका हुन् । यी तिनै अहिलेका स्थापित कलाकार हुन् ।

‘होस्टल ३’बाट नायक पारस बमले फिल्ममा डेब्यू गरे । गत वर्ष यो फिल्म प्रदर्शनमा आएको थियो । अहिले पारसलाई फिल्ममा प्रस्ताव आइरहेको छ । उनले फिल्म ‘भाइटीका’ साइन गरेको चर्चा छ । यसकी नायिका हेना नगरकोटी र सिम्रन पन्तले पनि नेपाली फिल्ममा सम्भावना देखाएका छन् ।

त्यस्तै, महँगा मध्येका एक नायक प्रदीप खड्का पनि सिक्वेलबाटै चर्चामा आएका हुन् । उनले ‘प्रेम गीत’ सिक्वेलबाट फिल्म क्षेत्रमा आफ्नो पकड बनाए ।

अनमोललाई सिक्वेलकै डर, सिक्वेलकै भर

महँगो नायकको छवि बनाइरहेको बेला नायक अनमोल केसीले दर्शकले मन पराएको फिल्म ‘छड्के’को सिक्वेल ‘छड्के २’ गरे । उनले त्यसअघि नै सिक्वेल फिल्म ‘ए मेरो हजुर’ ३ र ४ गरिसकेका थिए ।

तर, छड्केले अनमोललाई नराम्ररी डुबायो । यो फिल्म फ्लप भयो । आफूले पारिश्रमिक लिएको जति पनि बक्स अफिस कलेक्सन भएन । अनमोलको करिअरकै डिजास्टर फिल्म बन्यो ।

अनमोलले ‘छड्के २’ का लागि ५० लाख पारिश्रमिक लिएको चर्चा थियो । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको ग्रस कलेक्सन ३० लाख मात्रै छ ।

तर, अनमोललाई सिक्वेलले नै उद्धार गरेको छ । उनको दोस्रो फिल्म ‘जेरी’को सिक्वेल ‘जेरी अन टप’ प्रदर्शनरत छ । यो अनमोलकै करिअरकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म हो ।

यो फिल्मको व्यापार साढे ११ करोड नाघेको छ । १० करोड ग्रस कलेक्सन गर्ने यो नै उनको पहिलो र एक मात्रै फिल्म हो ।

अनमोललाई ‘छड्के २’ले डुबाए पनि अर्को सिक्वेल ‘जेरी अन टप’ले उद्धार गरेको छ ।

सिक्वेलमा दयाहाङको दबदबा

नयाँ दयाहाङ अहिलको समयका सबैभन्दा व्यस्त नायक हुन् । सबैभन्दा धेरै फिल्म दिने नायकको सूचीको अग्रस्थान उनकै कब्जामा छ ।

उनी तीन फिल्महरु कबड्डी, जारी र लुट सिक्वेलका शीर्ष नायक हुन् । कबड्डीको चारै, जारी र लुटको दुई-दुई सिक्वेल गरेर उनले अभिनय गरेका ९ वटा सिक्वेल प्रदर्शनमा आइसके । अहिले उनी ‘कबड्डी ५’को छायाङ्कनको क्रममा छन् ।

अहिलेका अर्का स्थापित नायक विपीन कार्कीले ‘लुट’को सिक्वेलमा ‘लुट २’ र ‘जात्रै जात्रा’का तीनै वटा सिक्वेलमा अभिनय गरेका छन् । सौगात मल्लले पनि ‘कबड्डी सिक्वेल’मा अभिनय गरेका छन् ।

जुन फिल्मका सबै सिक्वेल हिट भए

सबै सिक्वेल हिट बनेको दुई फिल्म ‘छक्का पञ्जा’ र ‘कबड्डी’ हुन् ।

यी फिल्मका सबै सिक्वेल बोर्डले सार्वजनिक गरेको सर्वाधिक व्यापार गर्ने २५ फिल्ममा समावेश छन् ।

‘कबड्डी’ सिक्वेलबाट सबैभन्दा बढी व्यापार गर्ने ‘कबड्डी ४’ हो । यसको ग्रस कलेक्सन २१ करोड ४० लाखमाथि छ । २० करोड ग्रस कलेक्सन कटाउने दुई मात्र नेपाली फिल्ममा यो पर्छ ।

छक्का पञ्जाको सिक्वेलबाट सबैभन्दा बढी व्यापार ‘छक्का पञ्जा ४’ले गरेको छ । यसको ग्रस कलेक्सन १७ करोड ५३ लाख छ ।

‘कबड्डी ४’ सबैभन्दा बढी व्यापार गर्ने नेपाली फिल्मको सूचीको दोस्रो स्थानमा छ । ‘छक्का पञ्जा ४’ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : १० बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ