काठमाडौं – छिमेकी मुलुक चीनमा ह्युमन मेटान्यूमो भाइरस (एचएमपीभी) सङ्क्रमण भएका बिरामी बढेर त्यसले चिन्ता निम्त्याएको बेला भारतमा समेत यसका संक्रमित देखिन थालेपछि नेपालमा पनि त्रास फैलिएको छ।
केही वर्ष अगाडि चीनबाटै फैलिएको कोभिडले विश्वभर नै महामारीको रुप लिएको स्मरण गर्दै कतै यसले पनि भयावह अवस्था आउने त होइन भन्ने त्रास अहिले नेपाल लगायत चीनसँग सीमा जोडिएका देशमा फैलिएको छ। तर यो भाइरस कुनै नौलो नभई पुरानो नै भएकाले नआत्तिन चिकित्सकको सुझाव छ।
कान्ति बाल अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं भन्छन्, ‘यो कुनै नौलो भाइरस नभई पुरानै भाइरस हो। त्यसै पनि चिसो मौसममा रुघाखोकी अलि धेरै लाग्छ। त्यसमा पनि बालबालिकाहरु अझ बढी प्रभावित हुने गर्दछन्। यस वर्षको चिसो मौसममा विगत वर्ष जस्तै रुघाखोकी, निमोनिया र दमको समस्या लिएर बालबालिका उपचारका लागि आउने गरेका छन्।’ डा. चापागाईका अनुसार यसरी ओपीडीमा आउने बिरामी सय जनामा १० देखि १२ जना बिरामी भर्ना गरेरै उपचार गर्ने खालका पनि आउँछन्। तर यो ठूलो समस्या नभई सामान्य हो।
उनका अनुसार चीनमा फैलिएको भाइरस ठ्याक्कै छुट्टिने खाले होइन। रुघाखोकीजन्य भाइरस नै हो। यस्तो प्रकारको भाइरस नेपालमा पहिले पनि देखिएको हो। नेपालमा मात्रै होइन, जाडो मौसममा जहाँ पनि यस्तो खालको भाइरस देखिनसक्ने उनी बताउँछन्।
यो भाइरस कोभिड जस्तो महामारीकै रुपमा फैलिसकेको छैन। अस्पतालमा बिरामीको चाप बढेको, बेड नै नपाएको जुन स्थिति थियो, त्यो छैन। एचएमपीभी भाइरस पनि एक किसिमको रुघाखोकी नै भएको उनको भनाइ छ।
‘चिसो मौसममा बालबालिकामा भाइरसको भय सधै हुन्छ’
हामीकहाँ के कारणले रुघाखोकी भयो भनेर भाइरस नै जाँच गर्ने अभ्यास छैन। हरेक वर्षको चिसो मौसममा यस्ता भाइरस अलि बढी सक्रिय हुने र पछि आफैं हराएर जाने भएकाले चिन्तित हुन आवश्यक नभएको उनले बताए।
‘रुघाखोकीको उपचार भनेकै सजगता हो। यसको लागि ठ्याक्कै यहि एण्टीवायोटिक खानुपर्छ भन्ने छैन। धेरै खोकी लागेको छ भने औषधी खाएर खोकी कम गर्ने, सास फेर्न असहज भएको छ भने त्यसको औषधी दिएर अलि सहज बनाउने गर्नु पर्दछ। अन्य देशहरुमा पनि गर्ने उपचार पद्धति यही हो’ डा. चापागाईंले प्रष्ट पारे।
पहिले पहिले पनि रुघाखोकी लागेका बालबालिकामध्ये केही प्रतिशतमा यो भाइरस देखिन्थ्यो। अहिले पनि देखिन सक्ला। तर कोभिड आएको जस्तो एकदमै नयाँ भाइरस होइन। यो सधैं भइरहने हो। चीनमा पहिलेभन्दा अहिले अलि सक्रिय भएको हो कि भन्ने शंका हो। भारतमा पनि देखिएको छ। हाम्रो नेपालमा पनि त्यत्तिकै मात्रामा देखिँदा हाम्रो अहिलेको हेल्थ सिष्टमले पनि उपचार गर्न भ्याउने अवस्था रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनी बताउँछन्।
एकदमै धेरै मात्रामा रुघाखोकी फैलिएको भए त्यो भाइरसको जाँच हुने उनले बताए। बिगतका वर्षमा जुन संख्यामा बिरामी अस्पतालमा आउँथे, त्यही अवस्था अहिले पनि रहेकाले त्यसको आवश्यकता अहिले नभएको डा. चापागाईले प्रष्ट पारेका छन्। उनका अनुसार भाइरसहरुले आफ्नो रुप फेरिरहन्छ। यो भाइरसले पनि केही गरी स्वरुप परिवर्तन गरेर आयो र अचानक फैलिएमा फरक भए पनि कोभिड फैलिँदा जसरी विश्व नै हल्लायो त्यस्तो किसिमले यो फैलिने सम्भावना एकदमै न्यून छ।
ची र भारतमा फाट्टफुट्ट रुपमा देखिए पनि कोभिडको जस्तै कसैको ज्यानै गएको, अस्पतालमा बिरामीको संख्या बढेको, आइसीयुमा बेड नै खाली नभएको भन्ने किसिमको रिपोर्टहरु नआएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनी बताउँछन्।
उपचार विधि के हो ?
यो एक किसिमको रुघाखोकी नै हो। रुघाखोकीबाट बच्ने सबैभन्दा पहिलो उपाय भनेको सरसफाई हो। खाना खानुअघि र खाइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघाखोकी लागेको मान्छेसँग अलिकति टाढै बस्न उनको सुझाव छ।
त्यस्तै खानपानमा ध्यान दिने, झोल कुरा प्रशस्त मात्रामा खाने, प्रोटिन भएको खानेकुरा धेरै खाने बानीको विकास गर्नुपर्छ। अर्को भनेको खोपहरु लगाउने, सरकारले जुन जुन खोप लगाउन भनेको छ, त्यो सबै खोप लगाउनु पर्छ। किनकी भारसले जहिले पनि कमजोर मानिसलाई छिटो आक्रमण गर्ने भएकाले सबै खोप लगाएर अन्य रोगबाट बच्न उनको सुझाव छ।
जुनसुकै किसिमको रुघाखोकीमा पनि यति कुरामा ध्यान दिएर आफू र आफ्नो बालबालिकालाई भाइरसजन्य संक्रमणबाट बचाउन सकिने उनले बताए।
प्रतिक्रिया