जहाज उड्न थालेको ४० वर्षपछि बस पुग्दा कोल्टीमा उत्सव, बाजासहित स्वागतमा जुटे स्थानीय | Khabarhub Khabarhub

जहाज उड्न थालेको ४० वर्षपछि बस पुग्दा कोल्टीमा उत्सव, बाजासहित स्वागतमा जुटे स्थानीय


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

धनगढी- बाजुराको कोल्टी विमानस्थलबाट जहाज उड्न थालेको ४० वर्षपछि बस पुगेको छ । मार्तडी-कोल्टी-कवाडी सडक शिलान्यासको २५ वर्षपछि शनिबार बिहान तीनवटा बस कोल्टी बजारमा पहिलो पटक पुगेका हुन् । तत्कालीन जिल्ला विकास समिति सभापति लालबहादुर थापाले २०५६ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सडक शिलान्यास गरेका थिए ।

सडक खन्न थाललेको २५ वर्षपछि बस पुग्दा पनि स्थानीय हर्षविभोर थिए । दुईवटा बसलाई बाजागाजासहित भव्य स्वागत गरियो । स्थानीयले रंगरोगन र मालासहितको खुसीयाली मनाए । सिंगो बूढीनन्दा नगरपालिकाका तर्फबाट हर्षबढाइँसहित बस र चालकको स्वागतमा उत्साहको माहोल बनाइयो ।

विश्व खाद्य कार्यक्रम अन्तर्गत सडक निर्माण थालिएको थियो । काम गरेवापत खाद्यन्न उपलब्ध गराउँदै सडक निर्माण गर्ने अवधारणाअनुरुप काम थालिएको तत्कालीन जिल्ला विकास समिति सभापति थापा स्मरण गर्छन् ।

जुनबेला साँफे-मार्तडी सडक निर्माण पनि सुस्त थियो । २०५२ सालमा निर्माण थालिएसँगै साँफे-मार्तडी सडक पनि २२ वर्षपछि कालोपत्र भएर सञ्चालनमा छ ।
मार्तडी-कोल्टी सडक कालोपत्रे जारी छ । ४२ किलोमिटर सडकमा बस पहिलो पटक सञ्चालनमा आएको बूढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले बताए ।

कोल्टीमा जहाज २०३९ सालदेखि नियमित उडिरहेको छ । २०३६ सालबाट विमानस्थल निर्माण थालिएको थियो । निर्माणअवधिमै तत्कालिन राजा वीरेन्द्र शाह र रानी ऐश्वर्याले अवलोकन भ्रमण गरेका थिए ।

भ्रमणबाट काममा ढिलाइ हुने देखेपछि बीचमा राजारानीको हुकुमबाट लगानी थप गरेर तत्कालीन पञ्चायतका जिल्ला सांसद नरसिंह गिरीलाई कामको जिम्मा दिइएको थियो ।

पहिलो पटक पुगेका बसलाई स्वागतपछिको दृश्य ।

विमानस्थल निर्माण २०३९ सालमा सकियो । लगत्तै २०३९ असोज ४ गते मंगलबारबाट पहिलो परीक्षण उडान थालिएको स्थानीय नन्दराम विष्ट बताउँछन् ।

विष्ट ३१ वर्षको हुँदा कोल्टीमा जहाज उड्न थाल्यो । उनी हाल ७४ वर्ष नाघेपछि बल्ल बस गुड्यो । जहाजले कोल्टीमा २०३९ साल असोज १९ गतेबाट नियमित उडान थालेको थियो। त्यसबेला धनगढी-कोल्टी उडान हुन्थ्यो ।

जहाज उडेको र देखेको ४० वर्षपछि विष्टले गाउँमै बस पनि देखे । जीप र अन्य सवारी साधान केही वर्ष पहिलादेखि नै चल्न थालेका थिए । कोल्टी नजिकैको कर्णाली करिडोरमा बस पनि यो वर्षबाट गुड्न थालेका थिए । तर पहिले नै जहाज पुगेको कोल्टी गाउँ र कोल्टी बजारमा पहिलो पटक बस पुग्दा सिंगो कुण्डा क्षेत्रमा खुसीयाली छाएको छ ।

पहिलो पटक महाकाली यातायातको ना ७ ख ५८७३ र ५३३५ तथा शिवपुरी यातायातको ८९४१ नम्बरका बस कोल्टी पुगे । स्थानीयको स्वागतले चालकसहित बसमा सवारहरू खुसीसँगै भावुक बने । ‘दशक लामो अवधि बस चलाएर यस्तो स्वागत, अभिनन्द कतै पाइएको थिएन्’, चालक भेषराज रेग्मी खुसी हुँदै भने ।

बाजुराको कोल्टी क्षेत्र । तस्बिर : टिम वार्ड

कोल्टी चौरमा झुल्किएका तीनै बस स्थानीय बासिन्दाका लागि विशेष अतिथि र ठूलो सफलता समान थिए । अनुहारमा देखिएको खुसीयाली हेर्दा लाग्थ्यो योभन्दा अर्को ठूलो खुसी छैन । तत्कालीन समयमा पालवंशी, सिंजा र बझांगी राज्यको प्रशासनिक इकाइ रहेको कोल्टी चौरसम्मै बाजागाजासहितको टोली स्वागतका थियो ।

त्यो चौरमा अहिले पनि विभिन्न सांस्कृतिक मेला र पर्व गर्ने परम्परा छ । त्यही ठाउँमा शनिबार पहिलो पटक बस पुगेको खुसीमा जनप्रतिनिधि र कोल्टी क्षेत्रका अगुवाले स्थानीयले पञ्चे बाजासहित ध्वजापताकाले सजाएका तीन बसको एकसाथ स्वागत गरे, सम्मान र अभिनन्द गरेर खुसीयाली मनाए । जनप्रतिनिधिले पनि ठूलै सफलता मानेका छन् ।

यो युगमा पनि गाउँमा बस पुर्‍याउने कुरा नौलो जस्तै लाग्ने कुरा दुर्गमका गाउँमा अझै कायम छ । बूढीनन्दा नगरपालिकाले कोल्टी बजारनजिक बसपार्क बनाएको छ ।

कोल्टी चौर हुँदै पहिलो पटक पुगेका बस त्यहीँ रोकिएका थिए । बस पुगेपछि स्थानीयले आस्था राख्ने कुलदेवता थिमकोट कैलाशलाई सम्झँदै पूजा गरे । बसको कैलाश देउताका धामी कृष्ण बोहराले विधिवत् पूजासमेत गरे ।

सदरमुकाम मार्तडीदेखि कोल्टी बस सेवामा जोडिएसँगै यस क्षेत्रका बासिन्दाको पहुँच कर्णाली करिडोरसँग जोडिएको छ । सहज यात्रा र सुलभ सवारी सेवाको पहुँचमा जोडिएकाले कोल्टी क्षेत्रमा खुसीयाली छाएको स्थानीय प्रदीपराज जैशीले बताए ।

‘बस पुग्नु ठुलो उपलब्धि हो । सबै जनता जहाजको पहुँचमा छैनन् । बिरामीलाई सहज उपचार सेवाको समस्या थियो’, उनले भने, ‘मार्तडीसँग जोडिन सहज बन्यो । कोल्टी क्षेत्रमा बस पुग्नु सुखद हो ।’

कोल्टी विमानस्थल निर्माणको दृश्य । तस्बिर : टिम वार्ड

अब बससेवा विस्तारसँगै मार्तडी पनि प्रत्यक्ष सडक सञ्जालसँग जोडिएको बूढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले बताए ।

‘कोल्टी क्षेत्र र कर्णालीका १३ वटा पालिकाका बासिन्दाले बसबाट प्रत्यक्ष लाभ लिने छन् । बाजुराका चारसहित मुगु, हुम्ला र कालिकोटका स्थानीय तहको प्रत्यक्ष सम्बन्ध कोल्टीसँग छ’, उनले भने, ‘उनीहरूका लागि बजार क्षेत्र र स्वास्थ्य सेवा उपलब्ध भएको ठाउँ कोल्टी मात्रै हो ।’

कोल्टीसम्म बस पुगेपछि उपचार सम्भव नभएका बिरामीले तत्काल सदरमुकाम मार्तडी, अछाम, डडेलधुरा वा धनगढी जान सहज हुने भएको छ । बाजुरा २ हजार १८८ वर्गकिलोमिटर क्षेत्रफलका फैलिएको छ । त्यसमा ९ वटा पालिका छन् । तीमध्ये बूढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, हिमाली र जगन्नाथ गाउँपालिका पूर्वोत्तर कोल्टी क्षेत्रमा पर्छन् ।

छरिएका बस्ती रहेको कोल्टीको भूभाग भने दक्षिणी क्षेत्रका पाँच स्थानीय तहभन्दा धेरै छ । कोल्टी क्षेत्रका चार स्थानीय तहको क्षेत्रफल ठूलो छ । १ हजार ३४५ दशमलव ०५ वर्गकिलोमिटर छ ।

विश्व खाद्य कार्यक्रमद्वारा कामका लागि खाद्यान्न कार्यक्रमबाट निर्माण थालनीपछि सरकारका तर्फबाट २०६८ बाट सडक निर्माणले गति लिएको थियो । तत्कालीन कोल्टी क्षेत्रका ११ वटा गाउँ विकास समितिको सयुक्त पहलमा पहिलो पटक डोजर लगाएर सडक विस्तार गर्ने कार्य सुरु गरिएको थियो ।

२०७७ मा मार्तडी–कोल्टी सडक स्तरोन्नतिको जिम्मेवारी संघ र प्रदेश सरकारले लिएको थियो । प्रदेश सरकारले गौरवकै योजनामा राखेको थियो । १ अर्ब ९८ करोड बजेट नै साझेदारीमा खर्च गर्ने गरि विनियोजन गरिएपनि निर्माण कार्यले गति लिनसकेको छैन । स्थानीय बासिन्दा निर्माण कम्पनी र सरकारसँग रुष्ट छन् ।

तर कोल्टीमा बस पुगे पनि निरन्तरतामा चुनौती देखिएको छ । स्थानीयलाई पनि नियमित सञ्चालनको चिन्ता छ । मार्तडी–कोल्टी सडकखण्डमा पर्ने तीनवटा खोलामा पक्की पुल बनिसकेको छैन ।

कोल्टी विमानस्थल निर्माण हुँदाको दृश्य । तस्बिर : टिम वार्ड

बाउली, अनाई र दानसाँघुमा पुल निर्माण नहुँदासम्म बाह्रै महिना कोल्टीसम्म सडक यातायात सञ्चालन हुन नसक्ने अवस्था छ । काम सुरु गरिएको बाउली र अनाइको पुल निर्माण पनि भनेजस्तो गति लिएको छैन ।

तर बूढीनन्दा नगरपालिकाले नियमित काम गराउने दाबी गरेको छ । पुलको विकल्पमार्फत् पनि नियमित गर्ने अडानमा नगरपालिका भए पनि वर्षाको समयमा सम्भावना कम छ ।

बेजिब्रिज वा अन्य कुनै विकल्प सोचिए नियमित गाडी गुड्ने अवस्था छ । बाटो सहज रहेको चालकहरूले बताएका छन् । हाललाई मार्तडीदेखि कोल्टीसम्मको बस भाडा ५ सय तोकिएको छ । बस सञ्चालनपछि वर्षौँदेखि जीपलाई चर्को भाडा तिरिरहेका स्थानीयलाई राहत मिलेको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : १५ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका