काठमाडौं – नेपालमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एनआइसी एशिया पछिल्लो समयमा सबैभन्दा कमजोर देखिएको छ ।
ण्कुनै समय सबैभन्दा धेरै शाखासहित अधिकांश स्थानमा उपस्थिति जनाएको एनआइसी एशिया बैंकको पछिल्लो वित्तीय विवरणअनुसार यतिखेर सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक बन्न पुगेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८० फागुन २ गते एनआइसी एशिया बैंक डुब्न लागेकाले आफ्नो बचत निकाल्न भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । ‘एनआइसी एशिया बैंक डुब्दै ! बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नुहोला । सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला ! बेलैमा होस पु¥याउनुहोला’, प्रसाईंले फेसबुकमा लेखेका थिए ।
यत्तिमात्रै नभएर उनले बैंक र सहकारीविरुद्ध आन्दोलन पनि अगाडि बढाए । बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत फागुन १४ गते नेपाल बैंकर्स एसोसिएसनको कार्यक्रममा बोल्दै नेपालका कुनै पनि बैंक असफल हुने अवस्थामा नरहेको भनाइ राखेका थिए ।
‘सेवा शुल्कमा कटौती गरिएकोले बैंकहरूको नाफा घटेको होे, तर व्यवसायीहरूले यो नबुझी बैंकहरूलाई नाफाखोर भएको आरोपमात्रै लगाए’, गभर्नर अधिकारीले सो कार्यक्रममा भनेका थिए ।
तर, पछिल्लो समय राष्ट्र बैंककै नियमन क्षेत्रभित्र पर्ने कर्णाली विकास बैंकमा समस्या आइसकेपछि राष्ट्र बैंकले व्यवस्थापन नै ‘टेकओभर’ गरिसकेको छ । साथै, गभर्नर अधिकारीले दाबी गरेभन्दा फरक गरी सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआइसी एशियाको नाफामा निरन्तर ठूलो गिरावट र खराब कर्जामा निरन्तर वृद्धि भइरहेको छ ।
एनआइसी एशिया बैंकले नै सार्वजनिक गरेको तथ्याङ्कअनुसार व्यवसायिक परिमाणमा खासै समस्या नआएको देखिए पनि आखिर बैंकको नाफा आश्चर्यजनक रूपमा घटिरहेको छ र खराब कर्जा बढिरहेको छ ।
डेढ अर्ब नाफा एकैपटक १५ करोडमा
एनआइसी एशियाको पछिल्लो पाँच वर्षको केही मुख्य तथ्याङ्क हेर्दा मुख्यतः गत आर्थिक वर्षदेखि मात्रै नाफामा ओह्रालो यात्रा सुरु भएको देखिन्छ । सो बैंकको नाफा आर्थिक वर्ष (आव) ०७६/७७ देखि आव ०७९/८० सम्म निरन्तर उकालो लागेको थियो ।
आव ०७६/७७ मा तीन अर्ब १२ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले आव ०७९/८० सम्म आइपुग्दा अघिल्लो अवधिभन्दा डेढ अर्ब बढी अर्थात् चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
तर, गत आव ०८०/८१ सम्म आइपुग्दा भने बैंकको नाफामा एकैपटक ठूलो गिरावट आयो । नाफा एक अर्ब ३८ करोड १८ लाख रुपैयाँमा सीमित भयो ।
सोही नाफा पछिल्लो ६ महिनामा निरन्तर गिर्दै १५ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ, जुन देशभर धेरै शाखासहित विशाल आकारमा विस्तार भएको बैंकको लागि गम्भीर चुनौतीको विषय हो ।

पुँजीकोष र खराब कर्जा अवस्थामा कमजोर
आव ०७९/८० मा .८० प्रतिशतमा मात्रै सीमित रहेको एनआइसीको निष्क्रिय कर्जा एक वर्षको अवधिमा २.६१ प्रतिशतले बढेर आव ०८०/८१ मा ३.४१ प्रतिशत पुगेको थियो । जुन कर्जा चालु आवको ६ महिना अर्थात् पुस मसान्तसम्म थप वृद्धि भएर ४.६१ प्रतिशत पुगिसकेको छ ।
निष्क्रिय कर्जाको यो वृद्धि एनआइसीले पनि अन्य बैंकले झैँ देखाएकोमात्र हो । कर्णाली विकास बैंक प्रकरणले नै बैंकिङ क्षेत्रमा खराब कर्जाको भयावहता उजागर गरिसकेको छ । बैंकरहरूले सार्वजनिक मञ्चमै खराब कर्जाको वास्तविक आकार आफूहरूले लुकाइरहेको स्वीकार्न थालेका छन् ।
बैंकको वित्तीय तथ्याङ्क हेर्दा आव ०७६/७७ देखि आव ०७९/८० सम्म जोखिम भारित सम्पत्तिमा पुँजीकोष अनुपात सहज रहेको देखिन्छ ।
तर, खराब कर्जाको वृद्धिसँगै आव ०७९/८० मा १३.३९ प्रतिशत रहेको सो पुँजीकोष एक वर्षकै अवधिमा २.२१ प्रतिशतले घटेर आव ०८०/८१ मा ११.१८ मा आइपुगेको वित्तीय तथ्याङ्कले देखाएको छ । सोही अवधिमा बैंकको ब्याज आम्दानी समेत दुई अर्ब रुपैयाँभन्दा बढीले खम्चिन पुगेको छ ।
नेपाल राष्ट्र बैंकले जोखिम भारित सम्पत्तिको अनुपातमा न्यूनतम पुँजीकोषको अनुपात ११ प्रतिशत तोकेको छ । जसकारण निरन्तर निष्क्रिय कर्जा बढिरहेको सो बैंकलाई अब व्यवसाय विस्तार गर्न पनि अप्ठ्यारो अवस्था बन्दैछ ।
६ महिनामै २६ अर्ब रुपैयाँभन्दा बढी ऋण व्यवस्थापन
बैंकको पछिल्लो पाँच वर्षको वित्तीय विवरण हेर्दा एनआइसी बैंकले प्रत्येक वर्ष आफ्नो व्यवसाय निरन्तर वृद्धि गर्दै लगेको थियो । अर्थात्, बैंकले प्रत्येक वर्ष ग्राहक निक्षेप र ग्राहक कर्जामा निरन्तर वृद्धि गर्दै गएको थियो ।
आव ०७६/७७ मा दुई खर्ब एक अर्ब ६३ करोड तीन लाख ग्राहक निक्षेप संकलन गरेको बैंकले आव ०८०/८१ सम्म आइपुग्दा तीन खर्ब ५४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ निक्षेप जम्मा गरेको थियो ।
तर, चालु आवको ६ महिना अर्थात् पुस मसान्तसम्म आइपुग्दा भने बैंकको निक्षेप ४६ अर्ब १६ करोड ४५ लाख रुपैयाँले घट्न पुगेको छ ।
मेडिकल व्यवसायी प्रसाईंले सो बैंकको विषयमा दिएको अभिव्यक्ति र बैंकिङ क्षेत्रविरुद्ध भएको आन्दोलनको कारण पनि बैंकिङ निक्षेपमा ठूलो ह्रास आएको सजिलै अनुमान गर्न सकिन्छ ।
तर, ६ महिना अवधिमै बैंकले २६ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ ग्राहक कर्जा व्यवस्थापन गर्न सफल भएको रोचक पक्ष देखिएको छ ।
गत आवको अन्तिमसम्म बैंकले दुई खर्ब ७२ अर्ब नौ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन पछिल्लो ६ महिनाको अवधि अर्थात् पुस मसान्तसम्म आइपुग्दा दुई खर्ब ४५ अर्ब १६ करोड ९७ लाखमा सीमित भएको वित्तीय तथ्याङ्कले देखाएको छ ।
शीर्षक | ०७६/७७ | ०७७/७८ | ०७८/७९ | ०७९/८० | ०८०/८१ | ०८१/८२ |
खुद ब्याज आम्दानी | ७६,०४८ | ९२,२७५ | १,१७,७२१ | १,२३,७११ | १,०६,१७१ | ५१,८६९ |
खुद नाफा/घाटा | ३१,२१४ | ३२,५१० | ४५,२५४ | ४६,५१३ | १३,८१८ | १,५१७ |
पुँजीकोष | १३.२० | १२.४१ | १३.५१ | १३.३९ | ११.१८ | ११.६५ |
खराब कर्जा | ०.७५ | ०.४६ | ०.४९ | ०.८० | ३.४१ | ४.६१ |
सीडी रेसियो | ७०.२९ | ८१.१२ | ८६.२६ | ८३.५५ | ७७.९८ | ८३.१९ |
ग्राहक निक्षेप | २०,१६,३०३ | २८,६८,२०६ | २८,९९,०३९ | ३१,१३,६७९ | ३५,४५,११८ | ३०,८३,४७३ |
ग्राहक कर्जा | १६,०१,८५६ | २४,८८,११४ | २५,२४,४३४ | २६,२०,९८७ | २७,२०,९९३ | २४,५१,६९७ |
किन खस्किँदैछ एनआइसी एसिया बैंक ?
एनआइसी एशिया बैंकले वित्तीय विवरण प्रकाशन गर्ने बाहेक बैंकमा किन समस्या आइरहेको छ भन्नेबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । बैंकका सूचना तथा सम्पर्क अधिकारीहरू पनि सो विषयमा कुनै सार्वजनिक प्रश्नको जवाफ दिन र प्रतिक्रिया दिन चाहँदैनन् ।
बैंक तथा वित्तीय क्षेत्रका विश्लेषक अनलराज भट्टराई एनआइसी एशियाको पछिल्लो अवस्था सिर्जना हुनुमा सो बैंकले नै अख्तियार गरेको आक्रामक बैंकिङ रणनीति कारक भएको बताउँछन् ।
व्यवसाय विकासको चरणमा सो बैंकले वास्तविक सम्पत्ति भन्दा पनि जोखिमपूर्ण सम्पत्तिमा काम गर्दा अहिलेको अवस्था आएको भट्टराईको तर्क छ । उनले कोभिड अगाडिको अवस्थामा एनआइसी एशियाले लिएको आक्रामक विकासको नीति सही भए पनि कोभिड पछाडिको अवस्थामा लागेको ब्रेकले समस्या बनाइदिएको विश्लेषण सुनाए ।
‘एनआइसी एशियाको इतिहास हेर्ने हो भने यो निकै सुस्त विकासको बैंक थियो, बैंक अफ एशिया मर्ज भएदेखि उनीहरूले रणनीति परिवर्तन गरे, पुँजी बढेपछि सो बैंकले निकै विकास गरेको देखिन्छ । कर्मचारी, शाखा र ब्याजदरमा पनि अन्य बैंकसँग ‘वार’ गर्ने काम गरे, उनीहरूले छुट्टै किसिमले विकास गर्न खोजेका थिए’, भट्टराई भन्छन्, ‘आर्थिक विकास भएर जाँदाको अवस्थामा त एकदम राम्रो स्ट्राटेजी हो, विकास भएर गइरहेको चरणमा क्यास साइकल भइरहेको थियो, तर कोभिड आइसकेपछि चाहिँ उनीहरूको स्ट्राटेजीमा ब्रेक लाग्यो ।’
साथै उनले कोभिड महामारीपछि केन्द्रीय बैंकले लिएको नीतिका कारण पनि बैंकको पहिलेको स्ट्राटेजीलाई असर परेको बताए । केन्द्रीय बैंकले बैंकिङ व्यवसायमाथि कसिलो नीति लिँदा एनआइसी एशियाको ‘इजी मनी’ अनुुसारको स्ट्राटेजी असफल भएको उनको भनाइ छ ।
‘आक्रामक रूपमा अघि बढ्दा जोखिम हुन्छ, कोभिडअभि इजी मनी हुनेबेलासम्म एनआइसी एशियाले राम्रो गरिरहेको थियो । कोभिड पछाडि नियामकीय परिवर्तन भयो, केन्द्रीय बैंकले कसिलो नीति लिन थाल्यो, गाइडलाइन आयो, त्यसपछि लोन टु भ्यालुको कुरा आयो, करसँग जोड्ने कुरा आयो, सबै रिफर्महरू भयो, इजि मनी वा लुज मनीको हिसाबले गएकोमा जब कसिलो पैसाको विषय आएपछि एनआइसीलाई असर पर्न गयो’, भट्टराईले भने ।
अग्राधिकार शेयर जारी गर्दा बढ्ला व्यवसाय ?
यतिखेर एनआइसी एसिया बैंकले अग्राधिकार शेयर जारी गर्ने निर्णय लिएको छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको तर्फबाट पाँच अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेस गर्ने निर्णय गरेको हो ।
अग्राधिकार शेयर बैंकले संस्थागत क्षेत्रलाई जारी गर्नेछ । राष्ट्र बैंकले गरेको पुँजीकोष सम्बन्धी व्यवस्थाअनुसार एनआइसीले सो शेयर जारी गरे आगामी दिनमा फेरि पुँजीकोष व्यवस्थापनमा सहज भई व्यवसाय विस्तार हुनसक्ने भनिएको छ ।
तर, विश्लेषक भट्राई अहिले एनआइसी एशियाको समस्या समाधान गर्न नै पुँजी चाहिने अवस्था भएको तर्क गर्छन् ।
‘समस्या व्यवस्थापनको लागि नै अहिले उनीहरूलाई पुँजी चाहिन्छ, पुँजी पुग्दैन, खराब कर्जा बढ्दै गएपछि त्यसैलाई व्यवस्थापन गर्न थप पुँजी चाहिन्छ’, उनी भन्छन्, ‘अहिले एनआइसी एशियाको आम्दानीमा नै समस्या भएको होइन, खराब कर्जाको लागि छुट्याउनुपर्ने प्रोभिजनिङको कारणले पुँजीकोषमा असर परेको हो, हामीकहाँ प्रोभिजनको नम्र्स नै के छ भन्ने कुरामा पनि प्रश्न छ ।’
भट्टराईले पछिल्लो समयमा निष्क्रिय कर्जाका कारण एनआइसी एशियामात्रै नभएर अन्य बैंकमा पनि समस्या बढ्दै गएकाले पुँजीकोष सहजताको विषयमा केन्द्रीय बैंककै तफृबाट नीतिगत सुधार आवश्यक भएको बताए । उनले धितो भएको ऋणलाई समेत खराब कर्जामा राख्ने र सो अनुसारको पुँजीकोषमा रकम जम्मा गर्नुपर्ने कारणले बैंकलाई समस्या परेको तर्क गरे ।
‘भारतमा हेर्ने हो भने कोल्याट्रल र नन–कोल्याट्रल आधारमा छुट्टै प्रोभिजनिङको व्यवस्था छ, खराब कर्जा हुनु र प्रोभिजनिङ गर्नु फरक कुरा हो’, उनी भन्छन्, ‘केन्द्रीय बैंकको कडा नीतिले गर्दा एक वर्षको समयमा खराब कर्जाको शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्छ, त्यसमा कोल्याट्रल छ, रिकभरी हुन्छ, आज नभए एक वर्षपछि रिकभरी होला, डराइहाल्नु पर्ने अवस्था होइन ।’
अहिले बैंकहरूलाई पुँजीमा पर्याप्ततामा परेको असरलाई कम गर्न केन्द्रीय बैंकले नै नीतिसुधार गर्नुपर्ने उनको जोड छ । साथै, बैंकहरूले आन्तरिक व्यवस्थापन र अनुसन्धानको क्षेत्रमा काम नगरेर नीतिगत सुधारमा राष्ट्र बैंकको पहलमा मात्रै भर पर्दा पनि समस्या आएको भट्टराईको भनाइ छ ।
प्रतिक्रिया