यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज « Khabarhub

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ ।

मालिका–७ बिम नागीथला र रघुगङ्गा–६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो ।

समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको मालिकामा हरेक वर्ष चण्डी (वैशाख पूर्णिमा), भाइटीका र बालाचर्तुदर्शीका दिन धार्मिक मेला लाग्ने गर्दछ । सडक र यातायातको सुविधाका कारण भक्तजनको आगमन बढेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।

‘मालिकामा पूजाआजा, दर्शन र दृश्यावलोकन गर्न आउनेहरू अब पहिला यहाँ पुगेर टहरा, ओडारमा बास बस्नु पर्दैन’, उनले भने, ‘बिहान घरबाट गाडी चढेर आएका भक्तजन मालिकामा पूजा गरेर दिउँसै घर पुग्न सक्ने अवस्था बनेको छ ।’

सोमबार बिहानदेखि दिउँसो २ बजेसम्म चार हजार ५०० भन्दा बढी भक्तजनले मालिकामा पूजा गरेका अध्यक्ष पाइजाले जानकारी दिए । उनका अनुसार यहाँ म्याग्दीको साथै पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरू बढी आउने गर्दछन् । यसअघि मालिका दर्शनका लागि भक्तजनहरू अघिल्लो दिन नजिकै गएर जङ्गलको ओडार र टहरामा बास बस्ने गर्दथे ।

दुई वर्षअघि मालिका दर्शनका लागि दुई दिन लगाएर पुगेकी बेनीकी सानु शर्माले यसपालीको चण्डी पूर्णिमामा बिहान ६ बजे बेनीबाट गएर दिउँसो ३ बजे पुनः बेनी फर्किएको बताइन् ।

मालिका गाउँपालिकाको बिमतर्फबाट नागीथलासम्म पहुँच विस्तार भएको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ । रघुगङ्गा गाउँपालिकाको ठाडाखानीतर्फबाट देउरालीसम्म सवारीसाधनमार्फत र त्यसपछि ४० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ ।

यहाँबाट २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पशुपक्षीको अवलोकन गर्नुका साथै मालिकाधुरीमा पूवा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले जानकारी दिए । यी विशेषताका कारण यस क्षेत्रको धार्मिक महत्त्व रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मालिकाधुरी पर्ने गरेको उनले बताए ।

‘मालिकाधुरीमा मालिका, कालिका र जाल्पादेवीको मूर्ति छ । मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । १९१० सालदेखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ’, सचिव रोकाले भने । 

चण्डी पूर्णिमामा आएका भक्तजनहरूबाट ९० हजार भेटी सङ्कलन भएको जनाउँदै सबै खर्च कटाएर ६७ हजार बचत भएको समितिका अध्यक्ष पाइजाले जानकारी दिए । उनका अनुसार मालिकाधुरीमा रघुगङ्गा–६ पाखापानीका भक्तीप्रसाद पाइजाले व्यक्तिगत लगानीमा शिव र जालपाको मन्दिर निर्माण गरेका थिए । मन्दिर निर्माणमा पाइजाले करिब ३४ लाख खर्च गरेकाे उनले उल्लेख गरे ।  

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ३४ बजे

समूह बनाएर अम्रिसो खेती, डेढ करोड आम्दानी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार

नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा