कास्की कांग्रेसको चिन्तन : पोखरा कस्तो बनाउने « Khabarhub

कास्की कांग्रेसको चिन्तन : पोखरा कस्तो बनाउने


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– सुन्दर र पर्यटकीय नगरीका रूपमा परिचित छ पोखरा । प्राकृतिक मनोरम ताल अनि नजिकै देखिने हिमालदेखि अचम्म लाग्दो सेतीको खोँच । पाताल छाँगो, गुप्तेश्वर, चमेरे र महेन्द्र गुफा अनि विविध जातजातिको टम्म मिलेको बस्ती । यी र यस्तै विशेषताले चिनाएको छ पोखरालाई । 

यति राम्रो पोखरामा बस्ती विकास र निर्माणबीचको तालमेल नमिल्ला असाध्यै अस्तव्यस्त बनेको छ । पोखराले विकासको दूरदृष्टि बोकेको राजनीतिक र प्रशासनिक नेतृत्व पाउन नसकेको भनेर बेलाबेलामा आलोचना भइरहन्छ ।

पोखराको विकासका सवालमा पोखराले सधैँ स्मरण गर्ने व्यक्ति हुन तत्कालीन अञ्चालाधीश शंकरराज पाठक । त्यसो त पाठक पहिला विकास अधिकृतका रूपमा पोखरा खटिएका थिए । पछि उनै पाठक गण्डकीको पहिलो अञ्चालाधीश भएर आए । 

उनले पोखराको योजनाबद्ध विस्तारका लागि ऐतिहासिक कामहरू गरे । उनको नेतृत्वमा चिप्लेढुंगा–सद्गृहचोक खण्डमा न्युरोड निर्माण गरियो, जुन पोखराको मुख्य व्यापारिक केन्द्र बनेको छ । उनले नक्सा पास प्रणाली सुरु गरे जसले घर र संरचनाहरूलाई अनुशासित बनायो ।

पोखरालाई आधुनिक शहरतर्फ रूपान्तरण गर्न उनले सडक विस्तार, बसोबास क्षेत्रको व्यवस्थापन, र सार्वजनिक सेवाहरूको पहुँच सुनिश्चित गरे। अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता पहिचान गरी त्यसको जग हाल्ने काम पनि उनले नै सुरु गरेका थिए।

पोखरालाई गण्डकी अञ्चलको प्रशासनिक केन्द्र बनाउँदै, अञ्चल अस्पताल, सरकारी विद्यालयहरू, सडक सञ्जाल, र सिँचाइ परियोजनाहरूको सशक्तीकरण गरे। स्थानीय तह, नागरिक समाज र सरकारी संयन्त्रबीच सहकार्य गरी सुशासन प्रवर्द्धन गर्नेतर्फ उनी लागे। धार्मिक, पर्यटकीय र सांस्कृतिक स्थलहरूको संरक्षणमा पनि उनको सक्रियता रह्यो। उनका यी पहलहरूले पोखरालाई सुन्दर, व्यवस्थित र दिगो विकासको दिशामा अगाडि बढायो।

पोखरा बाहिरको व्यक्तिले पोखरालाई यति सारो माया गरे । विकासको अभियान चलाए तर त्यसपछि यहाँको विकासका लागि स्मरणयोग्य कामहरू निकै कम भएका छन् । जति प्रयास गरिएका छन् ती प्रचारमा मात्र सीमित छन् । दीर्घकालीन महत्त्व राख्ने खालका छैनन् । 

यसै सन्दर्भमा नेपाली कांग्रेस, कास्कीले पोखराको दिगो, समावेशी र दीर्घकालीन विकासका लागि समग्र अवधारणा पत्र सार्वजनिक गरेको छ। ‘पोखरा कस्तो बनाउने ? कसरी बनाउने ?’ भन्ने मूल प्रश्नका आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

नेपाली कांग्रेस, कास्कीका सभापति किशोरदत्त बरालले अवधारणा सार्वजनिक गर्दै पोखरा नेपालको सांस्कृतिक, प्राकृतिक र शैक्षिक सञ्जालले समृद्ध सहर भए पनि त्यसको समुचित र योजनाबद्ध उपयोग नहुँदा अवसर खेर गएको बताए। नागरिक सरोकार, युवा सपना र सामूहिक प्रयासलाई समेटेर यो अवधारणा तयार पारिएको उनले बताए। उनले यसलाई कुनै पार्टीको घोषणापत्र नभई भविष्यको पोखराको साझा खाका भने।

देश तथा विदेशमा रहेका पोखरालाई माया गर्ने ५३५ जना व्यक्तिहरूबाट प्रत्यक्ष वा परोक्ष सुझाव संकलन गरिएको छ। भौतिक अन्तरक्रियाबाट २५० जना, अनलाइन फारमबाट १२७ जना, मेसेन्जरबाट ८२ जना र इमेलमार्फत ७६ जना सहभागी भएका थिए।

अवधारणामा जनउत्तरदायी शासन प्रवर्द्धनका लागि ‘नागरिक ड्यासबोर्ड’ को अवधारणा अघि सारिएको छ। यसले सेवा, बजेट, निर्णय र कार्यान्वयनमा नागरिकको प्रत्यक्ष निगरानी सुनिश्चित गर्ने भनिएको छ। यातायात व्यवस्थापनको सन्दर्भमा पोखरालाई हरियाली, सुरक्षित र स्मार्ट सहर बनाउने लक्ष्यसहित विद्युतीय सवारी, साइकल र पैदल यात्रुलाई प्राथमिकता दिने तथा सहरका प्रमुख स्थानमा ‘नो कार जोन’ लागू गर्ने प्रस्ताव गरिएको छ।

स्वास्थ्य क्षेत्रका लागि ‘मोबाइल क्लिनिक नेटवर्क’ स्थापना गरी गाउँगाउँमा सेवा पुर्‍याउने, शिक्षामा ‘त्रिकोण शिक्षा परियोजना’ अन्तर्गत ‘जीवन सीप प्रयोगशाला’ र ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रम लागू गर्ने उल्लेख छ। युवालाई प्रविधिमा आधारित स्वरोजगारमा जोड्न ‘डिजिटल उद्यमशीलता विकास केन्द्र’ स्थापना गर्नुपर्ने आवश्यकतामा समेत कांग्रेस, कास्कीले बल दिएको छ।

फोहोरमैला व्यवस्थापनका लागि वडा(स्तरमै कम्पोष्ट मल केन्द्र स्थापना गरिने र सहरी कृषि प्रवर्द्धन गरिने उल्लेख छ। सांस्कृतिक सम्पदाको डिजिटाइजेसन, ‘ज्ञान, नवप्रवर्तन तथा संस्कृति केन्द्र’ स्थापनाजस्ता योजनाले पोखरालाई मौलिक र सिर्जनात्मक बनाउने विश्वास गरिएको छ।

पोखरा औद्योगिक क्षेत्रको पुनःसंरचना, ‘मेडिकल तथा वेलनेस टुरिजम केन्द्र’, ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ स्थापना तथा ‘पोखरा साहसिक खेल महोत्सव’ आयोजना गरी पर्यटन प्रवर्द्धन गरिनेछ। ग्रामीण उत्पादनलाई सहरको बजार र प्रशोधनसँग जोड्न ‘गाउँ–सहर साझेदारीमा आधारित उत्पादन चक्र परियोजना’ प्रस्ताव गरिएको छ।

प्रतिवेदनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, फेवाताल, बेगनास र रुपातालको संरक्षण, विद्यालय शिक्षाको गुणस्तर, राजस्व संकलन प्रणालीको सुधार, फोहोरमैला व्यवस्थापन, सुशासन प्रवर्द्धन र औद्योगिक पुनर्संरचनालाई विशेष प्राथमिकता दिएको छ।

सभापति बरालले पोखराको विकास केवल संरचना निर्माणमा सीमित नरहने, समृद्धि, न्याय र नवप्रवर्तनले निर्देशित सहर निर्माणको दिशातर्फ कांग्रेस, कास्की अघि बढ्ने स्पष्ट पारे। उनले यो अभियान आगामी वर्षहरूमा थप वैज्ञानिक र परिपक्व बनाउँदै निरन्तरता दिइने प्रतिबद्धता समेत जनाए।

बरालले अवधारणा तयार पार्ने क्रममा सहयोग, सुझाव र साथ दिने सबैप्रति आभार व्यक्त गर्दै पोखरा रूपान्तरणको अभियानमा सबैको सहभागिता आग्रह गरे। यसरी तयार पारिएको अवधारणा पोखरा महानगर र प्रदेश सरकारलाई हस्तान्तरण गरी कार्यान्वयनका लागि दबाब दिने उनको भनाइ छ । 

पोखरा महानगरमा कांग्रेसको समर्थनमा जितेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयर छन् । मेयर आचार्यको कार्यशैलीप्रति कांग्रेसले बारम्बार असन्तुष्टि जनाउँदै आएको छ । त्यसो त ३३ वडा रहेको पोखरामा २३ वटा वडामा कांग्रेसकै वडाध्यक्षहरु छन् । तर उनीहरुले नीतिगतरुपमा दरिलो उपस्थिति देखाउन सकेका छैनन् । 

पार्टीको अवधारणा कार्यान्वयनका लागि वडाध्यक्ष र जनप्रतिनिधिहरूलाई समेत दबाब दिने सभापति बरालको भनाइ थियो ।
लामो समय शिक्षण पेसा र शिक्षक आन्दोलनमा लागेका बराल पछिल्लो महाधिवेशन ताका जिल्ला सभापतिमा विजयी भएका हुन् । 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : ३५ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र