किन आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी ? | Khabarhub Khabarhub

किन आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी ?

देउवाको भनाइले राहत, आवाज उठाइदिन सांसदलाई आग्रह


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आगामी बजेट २०८२/८३ मार्फत् सुनमा दुई प्रतिशत विलासिता कर र हिरालगायत रत्न तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा आन्दोलन गरेका हुन् ।

व्यवसायीहरूले पसल बन्द गरेर त्यसैको सटरमा आफ्ना माग टाँसेर ब्यानर राखेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट घोषणा गरेको पाँच दिन नबित्दै देशभरका सुनचाँदी व्यवसायीले आन्दोलन थालेका थिए । जेठ २० गतेयता देशका प्रमुख शहरमा व्यवसायीहरूले आफ्ना गहना पसल बन्द गरेका छन् ।

अहिले सुनमा कुनै विलासिता कर लाग्दैन । बजेटमा गरिएको घोषणा लागु भएको खण्डमा ग्राहकले प्रत्येक तोला सुन किन्दा दुई प्रतिशत थप रकम तिर्नुपर्नेछ । त्यसैगरी हिरामा अहिलेसम्म भ्याट नलागेकोमा अब राज्यलाई १३ प्रतिशत रकम करका रूपमा बुझाउनुपर्नेछ ।

आन्दोलनमा किन उत्रिए व्यवसायी ?

सुनचाँदी व्यवसायीहरू सरकारको नयाँ कर नीतिले आफ्नो व्यवसाय नै सङ्कटमा पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूका अनुसार; यो कर लागू भएपछि सुनचाँदीको मूल्य बढ्नेछ । उपभोक्ताले खरिद नगर्दा व्यवसायिक वातावरण नै गुम्ने भएकाले आफूहरू आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ ।

पारम्पारिक रूपमा सुनचाँदी नेपालीहरूको विवाह र चाडपर्वमा अत्यावश्यक मानिने वस्तु भएकाले यसमा विलासिता कर लगाउनु गलत भएको व्यवसायीहरूको तर्क छ । सरकारले आफूहरूसँग पूर्व–परामर्श नगरी एकतर्फी निर्णय गरेको व्यवसायीहरूको गुनासो छ ।

दुई प्रतिशत कर बढाएपछि करिब तोलामा चार हजार रुपैयाँ बढ्ने भए पनि उक्त कर धेरै ठाउँमा बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।

बैङ्कले बेच्दा नै कर लगाउने, थोक व्यापारीले खुद्रा बिक्रेतालाई बेच्दा मूल्य बढाउने र खुद्रा बिक्रेताले उपभोक्तालाई बेच्दा सुनचाँदीको मूल्य थप बढ्ने शाक्य बताउँछन् ।

‘यो ४ प्रतिशत त ६ प्रतिशत हुन हुन्छ । त्यसमाथि १३ प्रतिशत भ्याट छ । त्यही हिसाबले हामीकहाँ सुन तोलामै ४० हजार रुपैयाँ बढ्न सक्ने सम्भावना देख्छु’, शाक्यले भने, ‘तीन तह गरेर ६ प्रतिशत भयो, अनि १३ प्रतिशत भ्याट गरेर १९ प्रतिशत ! १० प्रतिशत भन्सार कर लाग्छ भनेपछि २९ प्रतिशत भयो । केही नभए पनि ६० हजार रुपैयाँ मूल्यवृद्धि हुने देखिन्छ । ६० हजार नभएपनि ४० हजार त पर्छ पर्छ ।’

अहिले सुनको भाउ विश्व बजारमा उसै पनि महँगो भएकाले उपभोक्ताले खरिद गर्न नसकिरहेको अवस्थामा थप कर लगाउँदा व्यवसायिक वातावरण नै नरहने शाक्यको भनाइ छ ।

नेपालमा भन्दा भारतमा सस्तो

नेपालमा सुनको मूल्य भारतको तुलनामा महँगो छ । भन्सार नीतिका कारण नेपालमा सुनको मूल्य भारतभन्दा कम्तिमा ३५ हजार रुपैयाँ बढी पर्ने गरेको व्यवसायीहरू बताउँछन् ।

नेपालमा सुनमा २० प्रतिशत भन्सार शुल्क छ भने भारतमा ६ प्रतिशत मात्र छ । खुला सीमा भएकाले भारतमा सुन सस्तो हुँदा अवैध तरिकाले नेपालमा सुन आउने व्यवसायी शाक्य बताउँछन् ।

‘नेपालमा भन्दा भारतमा धेरै सस्तो छ’, शाक्यले भने, ‘उता गएर सुनको गहना किनेर लगाएर आएको खण्डमा पक्रनसक्ने अवस्था पनि छैन ।’

सीमावर्ती क्षेत्रहरू जस्तै बुटवल, वीरगञ्ज र नेपालगञ्जमा तस्करी बढ्ने सम्भावना रहेको शाक्य बताउँछन् ।

सरकारले सहमति गरे व्यवसायीले आन्दोलन फिर्ता लिने

सरकारले करको दर पुरानै आवस्थामा लिने विषयमा सहमति गरे आन्दोलन फिर्ता लिने व्यवसायीले बताएका छन् ।

शुक्रबार सुनचाँदी व्यवसायीहरूले छलफल गरी सडक आन्दोलनमै जाने निर्णय गरेका छन् । सांसदहरूलाई पनि यो विषयमा आवाज उठाउन व्यवसायीहरूले आग्रह गरेका छन् ।

‘सांसदहरूलाई पनि हामीले सदनमा पनि यो विषय उठाइदिनु भनेर हामीले अनुरोध गरेका छौँ’, पूर्वअध्यक्ष शाक्यले भने, ‘सरकारमा निकायहरू र मन्त्रालयहरूमा पनि जाने भन्ने निर्णय भएको छ ।’

सरकारसँग छलफल भइरहेको शाक्यले जानकारी दिएका छन् । अगाडिका निर्णयहरू कसरी अगाडि बढ्छ, त्यही अनुसार आन्दोलनको प्रकिया अघि बढाउने तयारीमा रहेको शाक्यले जानकारी दिए ।

‘सरकारको पक्षबाट आश्वासन दिनुभएको छ’, शाक्यले भने, ‘नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पनि यो नगर्नुपर्ने थियो भन्ने कुरा गर्नुभएको छ ।’

सुनचाँदी व्यवसायीहरू सरकारले ल्याएको करको दर हट्छ भन्ने आशावादी रहेको शाक्य बताउँछन् । ‘अब हेरौँ न, अगाडी के हुन्छ ?’, शाक्यले भने ।

व्यवसायीले मूख्यतः ३ वटा माग राखेका छन् । बजेटमार्फत लगाइएका कर खारेज गर्ने पहिलो माग हो । ‘त्यसबाहेक हाम्रो क्षेत्रलाई सम्बोधन गर्ने ऐन–कानून बनाउनुपर्नेछ’, शाक्यले भने ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ५७ बजे

जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

ललितपुर– जनता समाजवादी पार्टी (जसपा), नेपालको नेवाः राष्ट्रिय समितिको प्रथम

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ– शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका– ५ अस्तु बतासेडाँडामा भएको

मण्डनदेउपुरका क्रसर र इँटा उद्योग बन्द 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द

गुल्मीमा कफीका बिरुवाको माग बढ्दो

गुल्मी– बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक

इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ?

काठमाडौं– इरानमा थप इजरायली आक्रमणपछि मध्यपूर्वको तनावले ठूलो युद्धको जोखिम