लेखकमाथि छानबिनका लागि किन तयार भएनन् कांग्रेस–एमाले ? | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरण

लेखकमाथि छानबिनका लागि किन तयार भएनन् कांग्रेस–एमाले ?


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई लिएर संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा बैठक ११ औँ दिन पनि प्रतिपक्षी दुई दलको विरोध जारी रह्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जारी राखे पनि १० दिनदेखि निरन्तर अवरुद्ध हुँदै आएको संसद् शुक्रबार ११ औँ दिनबाट अगाडि बढ्यो ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेसँग दुई बुँदे सहमति गरेपछि सभामुख देवराज घिमिरेले अन्य विपक्षीको विरोधका बीच संसद् सञ्चालन गरेका छन् ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा विदेश जाने नागरिकबाट हुँदै आएको गैरकानुनी असुलीको विषयलाई लिएर प्रतिपक्षी दलहरूले अवरोध पु¥याएका कारण संसद् अवरुद्ध हुँदै आएको थियो ।

उनीहरूको अवरोधका कारण जेठ २० गतेदेखि हुने भनिएको संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रभावित भइरहेको थियो । जसका कारण प्रततिनिधिसभाले तयार गरेको कार्यसूचीअनुसार संसद् बैठक अगाडि बढ्न सकेको थिएन ।.


भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई जेठ ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि जेठ १३ गतेबाट प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएका थिए ।

तर, पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाबाट पछि हटे । तर अन्य प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्ववत् अडानमा कायम छन् ।

भिजिट भिसा प्रकरणलाई नै लिएर शुक्रबारमात्रै प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरू बीच हात हालाहालको अवस्था सिर्जना भएको छ ।


सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि चर्काे विवाद भएको थियो ।

संसद्देखि ‘मिनी संसद्’ मानिने संसदीय समितिमा भिजिट भिसाको विषयलाई लिएर तनाव उत्पन्न हुँदा पनि सत्तापक्ष प्रतिपक्षी (विशेष गरी रास्वपा) को मागअनुसार छानबिन समिति बनाउने पक्षमा देखिएनन् ।

भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले अर्को समिति बनाउन आवश्यक नरहेको सत्तापक्षीय दलहरूको तर्क थियो । उनीहरू भिजिट भिसा प्रकरणबारे संसदीय समितिमा छलफल गर्नसमेत तयार भएनन् ।

संसदीय समितिको शुक्रबारको बैठकमा कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नै नभएको बताए ।

त्यसअघि रास्वपा सांसद पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्रीले समितिमा जवाफ दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न पुगेका माओवादी अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’लाई अख्तियारले छानबिन गरिरहेकाले थप समिति बनाउन आवश्यक नभएको जवाफ दिएका थिए । बरू उनले प्रचण्डलाई प्रतिपक्षी दलहरूसँग छलफल गरेर संसद् सुचारु हुने वातावरण बनाउन पनि आग्रह गरेका थिए ।


सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका एकजना नेताले पनि बिहीबार सत्तापक्ष र प्रतिपक्षी माओवादी–एकीकृत समाजवादीसँगको समझदारीपछि खबरहबलाई प्रतिक्रिया दिने क्रममा छानबिन समिति नबन्ने बताएका थिए ।

‘हामीले छानबिन या संसदीय समिति बनाउने कुरामा सहमति गरेको होइन,’ ती नेताको भनाइ थियो, ‘हामी दुई दल भ्रष्टाचार र अनियमितताबारे छानबिन गरी सुशासन कायम गर्न प्रतिवद्ध रहेकाले प्रतिपक्षी दलहरू त्यस कुरामा कन्भिन्स भएर संसद्को गतिरोध हटाउने दिशामा अघि बढेका छौँ ।’

शुक्रबार एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेसँगै भिजिट भिसा प्रकरणमा अब छानबिन समिति गठन नहुने भएको छ ।

सत्ता–प्रतिपक्ष सहमति

१) भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पु¥याउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।

२) अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।

कांग्रेसले किन चाहेन समिति ?

अख्तियारले अनुसन्धान गरिरहेको मुद्दालाई प्रभावित हुने गरी अर्को छानबिन समिति तत्काल बनाउनु कानुनतः र राजनीतिक हिसाबले उपयुक्त नहुने पार्टीको निष्कर्ष रहेकाले समिति नबन्ने कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

‘कुनै पनि गैरकानुनी क्रियाकलाप भएको भनि शंका गरेर कुनै एक व्यक्ति वा मातहतको कार्यालयमा मुलुककै संविधानले व्यवस्था गरेको संवैधानिक निकायले अध्ययन, अनुसन्धान र छानबिन गरिरहेको छ भने राज्य अथवा सरकारले त्यसलाई प्रभावित हुने गरी अर्को छानबिन समिति तत्काल बनाउनु कानुनतः र राजनीतिक हिसाबले अनुपयुक्त हुने कांग्रेसको निष्कर्ष हो,’ उनले खबरहबसँग भने ।


भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिसकेपछि सत्तापक्ष संसदीय समिति नै बनाउन तयार रहेको नेता विश्वकर्मा जिकिर गर्छन् । आफूहरू समिति बनाउन लचिलो भए पनि अख्तियारको अनुसन्धानमा बाधा पार्न नहुने उनको भनाइ छ ।

‘अहिले अख्तियारले छानबिन गर्ने चरणलाई राज्यकातर्फबाट सहयोग गरौँ, अख्तियारको छानबिनको चरण सकिएपछि समग्र स्थितिका बारेमा फेरि अर्को संसदीय समिति नै बनाऊँला,’ विश्वकर्माले भने, ‘छानबिन समिति नै बनाऊँला के फरक पर्‍यो र भन्ने हाम्रो भनाइ हो । हामी समिति बनाउन लचिलो छौँ, तर अख्तियारलाई बाधा पर्ने गरी नबनाऊँ भन्ने हो ।’

सहकारी र भिजिट भिसा अलग्गै
कतिपयले विगतमा रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन दबाब दिएको कांग्रेस अहिले आफ्नो दलका गृहमन्त्री जोगाउन प्रयासरत रहेको पनि टिप्पणी गरिरहेका छन् ।

कांग्रेस भने तत्कालीन सहकारी ठगी प्रकरण र वर्तमान भिजिट भिसा प्रकरण फरक–फरक प्रकृतिको भएको दाबी गरिरहेको छ । ‘रास्वपालाई हिजो हामीलाई हल्ला गरेरै हटाए, यिनलाई पनि हल्ला गरेरै हटाउनुपर्छ भन्ने लागेको छ,’ कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माको तर्क छ, ‘तर, त्यो घटना र यो घटना फरक प्रकृति र अवस्थाका हुन् ।’

खबरहबसँगको कुराकानीमा उनले तत्कालीन र अहिलेको अवस्थाबारे थप प्रष्टीकरण पनि दिए ।

‘सहकारी काण्डमा गृहमन्त्रीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । प्रहरीले गृहमन्त्रीविरुद्ध मुद्दा अगाडि बढाउन सकिरहेको थिएन । त्यसो भएर हामीले गृहमन्त्रीलाई राजीनामा गर्नुस् भन्यौँ । उहाँले राजीनामा नदिएपछि हामीले गृहमन्त्रीभन्दा माथिल्लो संसदीय समिति बनाएका हौँ,’ उनले भने, ‘अहिले गृहमन्त्रीमातहतको व्यक्तिलाई छुट्टै अधिकारप्राप्त निकायले छानबिन गरिरहेको छ । जसले गृहमन्त्रीलाई पनि तान्न सक्छ । छानबिन प्रक्रियामा गृहमन्त्रीबाट बाधा पुग्ने, प्रमाण नष्ट गर्ने सम्भावना छैन । राज्यकै सबैभन्दा शक्तिशाली निकायले अनुसन्धान गरेकाले लामिछाने र लेखकको केस फरक हो ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : १८ बजे

प्रभावकारी बन्दै ‘एक वडा, एक नमूना’ कार्यक्रम

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सञ्चालन गरेको ‘एक वडा, एक नमूना

दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार

जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

ललितपुर– जनता समाजवादी पार्टी (जसपा), नेपालको नेवाः राष्ट्रिय समितिको प्रथम

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ– शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका– ५ अस्तु बतासेडाँडामा भएको

मण्डनदेउपुरका क्रसर र इँटा उद्योग बन्द 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द