रोजगारीका लागि चीन जाने बढ्दै  | Khabarhub Khabarhub

रोजगारीका लागि चीन जाने बढ्दै 


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो ।

ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती ६ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमापास बनाएर चीन जाने र आम्दानी गरी फर्कने गर्दछन् ।

पछिल्ला वर्षहरूमा उनीहरू जङ्गलमा जडीबुटी सङ्कलन गर्न जानुभन्दा ताक्लाकोटमा घरायसीदेखि खेतबारीको काम गर्न चीनतर्फ जाने गरेका छन् ।

विगतका वर्षहरूमा युवाका लागि मात्र रोजगारीको केन्द्र बनेको ताक्लाकोट यो वर्षदेखि युवतीहरू पनि जान थालेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार विगतका वर्षभन्दा यो वर्ष सीमा पास लिने युवायुवतीको सङ्ख्या धेरै बढेको छ ।

उनका अनुसार झण्डै ५५ हजार जनसङ्ख्या भएको हुम्लामा ११ हजार हाराहारीका यहाँका नागरिकले सीमा पास लिइसकेका छन् । आजभोलि पनि दैनिक सीमा पास लिन आउने सङ्ख्या पनि उल्लेखनीय रहेको छ । जेठ र असार महिनाजस्तै चाप नभए पनि दैनिक पाँच, सात जना सीमा पास बनाउन आउने गरेको उनको भनाइ छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि कामको खोजीका लागि नयाँ सीमा पास र नवीकरण गर्नेको सङ्ख्या बढेको हो । वैशाखदेखि हालसम्म नयाँ सीमा पास लिनेको सङ्ख्या आठ हजार ९१३ रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए ।

त्यसैगरी नवीकरण गर्नेको सङ्ख्या दुई हजार ६६ जना रहेको छ । जिल्ला प्रशासन हुम्लाले हुम्लीको लागि चीनको समन्वयमा ६ महिनाका लागि अस्थायी सीमा पास दिने गरेको छ । अस्थायी सीमा पास लिएका हुम्लीले ६ महिना बस्न पाउँछन् । थप बस्नका लागि नवीकरण गर्ने गरेका छन् ।

चीनसँग जोडिएको यो हिल्सा नाका हिमपातका कारण वर्षमा ६ महिना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरू दैनिक सीमा पास लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए ।

छिमेकी राष्ट्र चीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी नाम्खा र सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चङ्खेली गाउँपालिकाका युवायुवतीले पनि जिल्ला प्रशासनबाट सीमा पास बनाएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ थियो ।

हुम्लाबाट कामको खोजीमा चीन पुगेका हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रूपमा काम गर्ने गरेको सिमकोट गाउँपालिका–२ निवासी कालु बोहराले बताए ।

हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा २५ देखि १५० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका प्रेम भण्डारीले बताए । कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रूपैयाँ कमाउने गर्छन् ।

गत वर्ष ताक्लाकोटमा ३०० सम्म चिनियाँ युवान कमाउने भए पनि यो वर्ष न्यून ज्यालामा काम गरेर चित्त बुझाउन परेको उनले सुनाए । यो वर्ष दैनिक ज्यालाको मूल्य निकै घटेको छ । सोचेअनुसारको पनि काम नपाउने उनको भनाइ थियो । यतिबेला चीनको पुराङ्ग काउन्टी, ताक्लाकोटा आसपासका गाउँहरूमा उवा, जौ, भित्र्याउने काम पाउने गरेको छ । (रासस)

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ९ : ११ बजे

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

ललितपुर– जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा

बेनीमा मौलिक सम्पदाको संरक्षण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण

जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै

जनकपुरधाम– जेन-जीको प्रदर्शन तथा आन्दोलनका कारण तनावग्रस्त रहेको मधेस प्रदेशको

प्रधानमन्त्री कार्कीलाई नेता यादवको शुभकामना

ललितपुर– प्रथम महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्की नियुक्त भएकामा जनता

संसद विघटनको विपक्षमा उभिने कांग्रेसकाे निर्णय

काठमाडौं– नेपाली कांग्रेस संसद् विघटनको विपक्षमा उभिएको छ । शुक्रबार