काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको इलामको उपनिर्वाचनमा उम्मेदवार भए । थेगिम त्यसबेला मुडा चुनाव चिह्नसहित पहिचानको मुद्दा लिएर उम्मेदवार बनेका थिए । तत्कालीन प्रदेश १ सरकारले कोशी नामाकरण गरेपछि पहिचानका नाममा पूर्वमा ठूलो आन्दोलन भएको थियो । त्यही आन्दोलनपछि भएको उपनिर्वाचनमा उदाएका नेता थेगिमलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साथ दिएका थिए । हर्कले थेगेमलाई साथमात्रै दिएनन्, उनको सभा र जुलुसमा गएर नाचे र भोट पनि मागे। थेगिमले इलाम २ मा ११ हजार ४५७ मत ल्याएर तेस्रो स्थानमा रहे ।
त्यसपछि पनि थेगिम र साम्पाङको सम्बन्ध राम्रो थियो । तर, दल दर्ता गर्ने बेलामा कयौं पटक हर्कलाई सम्पर्क गर्दा फोन नउठाएर रेस्पोन्स नगरेपछि आफू ऊर्जामन्त्री कुलमान घिसिङको सम्पर्कमा पुगेको थेगिम बताउँछन् । खबरहबसँगको कुराकानीमा हर्कले बेवास्ता गरेपछि कुलमानलाई साथ दिन पुगेको थेगिमले बताए । उनी अहिले उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य भएका छन् । यस पार्टीले पूर्वमा पहिचानको मुद्दा उठाउने र अन्य शक्तिलाई पनि साथमा लिनेबारे कुरा गरिरहेको उनको दाबी छ । पद्मसुन्दर लावतीका जेठा छोरा डा. महेन्द्र लावती र थेगिम जस्ता थुप्रै नेता पार्टी राजनीतिमा लागेका छन् । पहिचानको पक्षमा आवाज उठाउँदै आएकी ताप्लेजुङकी सरस्वती लिम्बू ‘सरू’ पनि उज्यालोकोकी केन्द्रीय सदस्य भएकी छिन् ।
उज्यालो नेपाल पार्टीमा पहिलो चरणमा डाक्टर इन्जिनियर र विज्ञ सदस्यको टोली भएकाले क्रमशः अन्य व्यक्तिहरू पनि थपिँदै जाने थेगिम बताउँछन् । अहिलेसम्म पार्टीको पहिलो बैठक बसेको छैन । बुधबार उपलब्ध केन्द्रीय समितिका नेताहरू बसेर सामान्य छलफल गरेको उनले बताए । थेगिम उज्यालो नेपाल पार्टी र कुलमानले अहिलेका जेन-जीलाई आफ्नै पार्टी खोलेर अगाडि बढ्न सुझाव दिएको दाबी गर्छन् । उनै थेगिमसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :
यहाँलाई धरानका मेयर हर्क साम्पाङले इलाम २ उपनिर्वाचनमा साथ दिएका थिए । तर, अहिले उनलाई छाडेर कुलमानको पार्टीमा जानुभयो नि ?
मैले उहाँलाई साथ दिन खोजेकै हो । अझै पनि उहाँप्रति सम्मान छ । समस्या के भयो भने उहाँ र मबीच ‘कम्युनिकेशन ग्याप’ भयो । उहाँले फोन नउठाउने, इग्नोर गर्ने । धेरै पटक गर्दा पनि नभएपछि म हारेँ । पार्टी दर्ता गर्दा पनि मैले उहाँलाई धेरै खोजीनीति गरेँ । तर उहाँले रेस्पोन्स नगरेपछि म थाकेँ । राजनीति गरेपछि एउटा न एउटामा त लाग्नुपर्यो नि । छोडेको पार्टीमा जाने कुरा भएन । त्यसले गर्दा म यता आएँ । तर पनि मेरो प्रयास के हो भने, कुलमानजी, धनगढीका मेयर गोपी हमाल र हर्कजीलाई जोडेर जानुपर्छ । पूर्ण नकारात्मक भएर यता लागेको होइन । उहाँको रेस्पोन्स नआएकाले मलाई अलमल भयो ।
दल दर्ता हुँदा पनि यहाँलाई सम्झनु भएन ?
सम्झनुभएन । कसैलाई सम्झनु भएन ।
अब सम्झँदा जानुहुन्छ ?
लचकताको पनि एउटा हद हुन्छ । अब म जादिनँ । अहिलेको हकमा रेल छुटिसक्यो भोलि एकता हुने मोर्चा हुने ठाउँ प्रशस्त छ । मलाई उहाँले अति धेरै गुन लगाउनुभएको छ । म उज्यालो नेपाल जाँदै गर्दा पनि उहाँको गुन सम्झँदा चसक्क मन दुखेको हो । तर मेरो मात्र इच्छाले भएन । उहाँले इच्छा गर्नुपर्ने थियो । एक वचन पनि कुरा भएन । मैले त २५ औँ पटक फोन गरेको हो । उहाँ बिजी भएर होला । रेस्पोन्स भएन । किन हो उहाँ आफैँ जान्नुहुन्छ ।
पूर्वका अन्य पहिचान पक्षधरलाई पनि हर्कले सम्झनु भएन ?
कसैलाई सम्झनु भएन । उहाँलाई मैले निकै ठूलो सम्मान गरेको थिएँ । अहिले पनि सम्मान छ । डा. महेन्द्र लावती जो राजनीतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ । उहाँ अमेरिकामा पढाउनु हुन्छ । उहाँ अनुभवी पनि हुनुहुन्छ । उहाँसँगै हामी छौँ । उहाँ पहिचानवादी नेता हो । उहाँसँग मैले हामी सँगै जानुपर्छ भनेर कुरा राखेको थिएँ । हर्कजीले ‘मेरो त अर्कै पो छ त दाजु’ भन्नुभयो, हाँस्नुभयो । हाँस्दा पनि अनौठो पारा देखाउनुभयो । पछि धेरै सम्पर्क गरेँ । तर कुनै हालतमा कुरा नगरेपछि हामी धेरै पहिचानवादीहरू यता जोडियौँ
उसो भए पूर्वका धेरै पहिचानवादी र नेताहरू उज्यालो नेपालमा जान्छन् ?
हामी सल्लाहमा छौँ । हामी सबैसँग सल्लाह गरेर नै गएको हो । पूर्वका जनमुक्ति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसँग पनि एकता गर्ने हाम्रो सहमति छ । पूर्वका सबै एक हुने भनिएको छ । यी पार्टीका पश्चिमतिरका नेता कार्यकर्ता पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।

नाम नै भन्दाको कसले साथ दिनुहुन्छ होला कुलमानलाई ?
कुमार लिङ्देनहरूसँग पनि छलफल जारी छ । पहिचानको पक्षमा जो-जो हुनुहुन्छ, उहाँहरू हुनुहुन्छ । सके एकता नसके पहिचान पक्षधर पार्टीसँग मोर्चाबन्दी गरेर निर्वाचन लड्ने तयारी छ । अहिले पार्टी निर्माण चरणमा भएकाले पार्टीमा नभएका र स्वच्छ छवि भएका साथीहरू र प्राविधिक लाइनका साथीहरूसँग जोडिन खोजेका छौँ । डाक्टर प्रोफेसर, इन्जिनियर, उच्च तहका अवकाशप्राप्त कर्मचारी साथीहरूसँग छलफलमा छौँ । पार्टी छाडेर स्वच्छ छवि भएका मजस्तासँग पनि छलफल भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरु पनि छलफलमा हुनुहुन्छ । पुराना पार्टीसँग त हाम्रो कुरा भएको छैन ।
कुलमानले पार्टीमा विज्ञ मात्र राख्ने रे हो ?
देश चलाउन पार्टी चलाउन विज्ञ पनि चाहिन्छ । देशको समस्या र जनताको समस्या सुल्झाउने कोसिस हो । यतिमात्र होइन, आम जनता र राम्रो खालको विचार बोकेका साथीहरू पनि हुनुहुन्छ ।
पूर्वका पहिचान पक्षधरले त माथिका मिले, हामीलाई सोधेनन् भन्छन् नि ? यसअघि कुलमानले कहिले पनि पहिचानको पक्षमा नबेलेको भन्ने प्रश्न पनि रहेछ नि !
संघीयाता, समावेशिता, लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षताको मुद्दा बोक्ने मान्छे नै पहिचानको मुद्दा बोक्ने हो । म पहिचानको मुद्दा बोक्ने लिम्बुवान, थरुवाट, खम्बुवान हुँ भन्ने कुरा मात्रै पहिचान होइन । यो हाम्रो गलत बुझाइ हो । पहिचान सबैको साझा हो । जातियताको कुरा उठाउँदा मात्र पहिचान भन्ने बुझिन्छ । तर पहिचानभनेको सबैको हो । राई, मगर, लिम्बू, गुरुङ, बाहुन सबैको हो । सबैको अर्थ नै नबुझेर पहिचानको मुद्दा छाड्यो, पहिचान त्याग्यो भन्ने भाष्य गलत छ । माथि-माथि मात्र टाउके मिले भन्ने कुरा गलत छ । हामीले आफ्नो पक्षबाट ग्राउन्ड लेबलमा नै कुरा उठाइरहेका छौँ ।
तर पूर्वमा चाहिँ हर्ककै पार्टी बलियो छ’रे नि, होइन ?
उहाँको त राजनीतिक कार्यदिशा नै थाहा छैन । उहाँले श्रम संस्कृति पार्टीले ४ दिन काम गराउँछ, तीन दिनमात्र अफिस लगाउँछ भन्नुभएको छ । तर राजनीतिक दर्शन र कार्यदिशा के हो थाहा छैन । दर्शनमा नै उहाँ अलिकति क्लियर हुनुहुन्न जस्तो लाग्छ । हाम्रो त स्पष्ट रूपमा विचारहरू आइसकेको छ । हाम्रो स्पष्ट कुरा छ ।
उज्यालो नेपाल पार्टीको पहिलो बैठक बस्यो ?
बसेको छैन । बिहीबार पनि ठूलो महिलाको पङ्क्ति थपिएको छ । पहिला सदस्य थपेर लगिन्छ । बैठक बुधबार सानो बसेको हो । तर सबै थिएनौँ, बौद्धमा बसेर केही छलफल गरेका छौँ ।
बुधबारको बैठकमा जेन-जीलाई पनि जोडेर जाउँ भन्ने कुरा चलेन ?
कुरा उठेको हो । उहाँहरूसँग छलफल पनि भएको हो । उहाँहरूलाई पनि पार्टी दर्ता गर्न सुझाव दिएका छौँ । उहाँहरू आफैँले पार्टी दर्ता गरेर जानुहुन्छ । पार्टी दर्ता भएपछि थप छलफल होला ।
५१ जनामा पनि केही जेन-जी उमेर समूह राख्न सक्नुभएन ?
हामीले त शुद्ध जेन-जी पार्टी निमार्णमा सुझाव दिएका छौँ । पछि हामीसँग मिसिएर पनि जान सकिन्छ ।













प्रतिक्रिया