भक्तपुर– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि रातभर लगाएर उद्घाटनस्थलको मञ्च निर्माणसहित सम्पूर्ण तयारीको काम सम्पन्न भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा अन्य संरचनाको काम गएराति ढिलासम्म निरन्तर रूपमा सञ्चालन गरी अन्तिम रूप दिइएको हो ।
नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले मञ्च निर्माणका सबै काम पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, प्रतिनिधि बस्ने व्यवस्था, सुरक्षा घेरा तथा व्यवस्थापनसम्बन्धी सबै संरचनाहरू तोकिएको समयमै तयार पारिएको छ । ‘महाधिवेशन उद्घाटनका लागि आवश्यक सबै भौतिक तयारी पूरा भइसकेको छ, अब आजको कार्यक्रम निर्विघ्न रूपमा सञ्चालन हुने वातावरण बनेको छ,’ उनले भने ।
आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा उद्घाटन गरेसँगै एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुनेछ ।
उद्घाटन कार्यक्रममा देशभरका प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक, पार्टी नेता तथा कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ ।

महाधिवेशनस्थल सल्लाघारी क्षेत्रमा आज बिहानैदेखि देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको चलहपहल बढेको छ । प्रतिनिधिहरू कार्यक्रमस्थल अवलोकन गर्ने, फोटो खिच्ने र दर्ता प्रक्रियामा सहभागी हुने क्रमसँगै चौर वरपरको वातावरण उत्साहपूर्ण बनेको एमालेले जनाएको छ ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ भने ट्राफिक व्यवस्थापनलाई समेत विशेष प्राथमिकता दिइएको छ ।
एमालेले ११औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, नीति, कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ । उद्घाटन समारोहपछि महाधिवेशनका औपचारिक कार्यसूचीअनुसार बन्दसत्र, दस्तावेजमाथि छलफल, संशोधन प्रस्ताव र नेतृत्व चयनसम्बन्धी प्रक्रिया क्रमशः अघि बढ्ने जनाइएको छ ।

पार्टी नेतृत्वका अनुसार यो महाधिवेशनले वर्तमान राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीहरू, आर्थिक तथा सामाजिक समस्याका सन्दर्भमा एमालेको स्पष्ट धारणा प्रस्तुत गर्ने र सङ्गठनलाई थप मजबुत बनाउने आधार तय गर्नेछ ।













प्रतिक्रिया