कोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी « Khabarhub

कोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- फुटबल लिजेन्ड लियोनेल मेसीको कोलकाता भ्रमण गम्भीर अव्यवस्थामा परिणत भयो। निराश समर्थकहरूले साल्ट लेक रंगशालामा बोतल हानेका छन् । गेट तोड्ने प्रयास भएको छ। ब्यानर रकुर्सी तोडफोड गरेका छन् ।

बहुप्रतिक्षित गट टुर हंगामाका कारण छोट्याउनुपरेको छ। धेरै समर्थकले मेसीलाई एक झलकसमेत देख्न पाएनन्, जसले निराशा र सुरक्षा चिन्ता बढाएको हो। रंगशालाको स्ट्यान्डबाट बोतल र कुर्सी प्रहार भएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको छ। मेसी बसेको हयात रेजेन्सी होटल बाहिर प्रदर्शन हुँदा प्रहरीले लाठीचार्ज समेत गरेको छ।

कार्यक्रमका मुख्य आयोजक प्रहरी नियन्त्रणमा

शनिबार बिहान साल्ट लेक रंगशालामा मेसीको मात्रै २२ मिनेटको छोटो उपस्थिती भयो। समर्थकहरूले उनलाई नजिकबाट देख्न नपाउँदा सुरक्षा घेरा तोड्ने र स्ट्यान्डबीचको गेट भत्काउने प्रयास गरे। विश्वकै सबैभन्दा चर्चित फुटबलरलाई देख्न नपाएको आक्रोश रंगशालामा पोखियो ।

एक समर्थकले मेसीको झलक पाउन १२ हजार रुपैयाँ तिरेको तर देख्न नपाएको भन्दै आक्रोश व्यक्त गरे। उनले एएनआईसँग भने, ‘मेसी वरिपरि नेता र अभिनेता मात्रै थिए। हामीलाई किन बोलाइयो? १२ हजारको टिकट लिए पनि उनको अनुहारसम्म देख्न पाएनौं।’

मेसी रंगशालाको टनेलबाट बाहिर निस्किएको केही क्षणमै अवस्था नियन्त्रणबाहिर गयो। विशेष कार्यक्रमका लागि कोलकाता आएका बलिउड अभिनेता शाहरुख खान, पूर्व भारतीय कप्तान सौरभ गांगुली र मुख्यमन्त्री ममता बनर्जी समेत कार्यक्रम पूरा नहुँदै बाहिरिन बाध्य भए।

अर्का समर्थकले भने, ‘एकदमै खराब कार्यक्रम। उनी १० मिनेट मात्रै आए। नेता र मन्त्रीहरूले घेरे। हामीले केही देख्न पाएनौं। न उनले किक हाने, न पेनाल्टी। पैसा, भावना र समय सबै खेर गयो।’

महँगो टिकट तिरेर आएका समर्थकहरू मेसीलाई नदेखेपछि हंगामा भएको छ। अर्का समर्थकले भने, ‘यति धेरै पैसा तिरेपछि पनि एक झलकसमेत देख्न पाइएन। करिब ५० जना उनको वरिपरि थिए। उनले दुईचार पटक हात हल्लाए, बस् त्यति।’

अव्यवस्थापछि हयात होटल बाहिर प्रदर्शन चर्किँदा प्रहरीले हल्का बल प्रयोग गरेको छ। भिडियोमा भीड तितरबितर पार्न सुरक्षाकर्मी परिचालित भएको देखिन्छ।

मेसी रंगशाला छोड्न बाध्य

अत्यधिक भीड र बोतल प्रहार भएपछि अर्जेन्टिनी स्टार मेसीले आफ्नो सम्मान प्रदक्षिणा अधुरै छोडे। केही दर्शकले ब्यानर र सिट तोडफोड गरे भने केहीले अधिकारी र नेताविरुद्ध नाराबाजी गरे। बिहानदेखि पर्खिएका समर्थकहरूले स्टेडियमको ठूलो स्क्रिनमासमेत मेसीलाई स्पष्ट देख्न नपाएको गुनासो गरे। टिकट मूल्य ५ हजारदेखि २५ हजार रुपैयाँसम्म थियो।

‘हामीलाई मेसी चाहियो’ भन्ने नारा स्ट्यान्डभरि गुञ्जियो। केही मिनेटमै मेसीलाई रंगशालाबाट बाहिर लगिएपछि तनाव झन् बढ्यो। धेरै आमन्त्रित अतिथि आउनुअघि नै कार्यक्रम टुंग्याइयो।

अव्यवस्थापछि प्रहरीले मुख्य आयोजकलाई नियन्त्रणमा लिएको छ। पश्चिम बंगालका डीजीपी राजीव कुमारले भने,‘हामीले मुख्य आयोजकलाई नियन्त्रणमा लिएका छौं। यो कुप्रबन्ध दण्डविहीन रहँदैन।’

उनले थपे, ‘मेसी खेल्ने छैनन् भन्ने विषयमा समर्थकमा आक्रोश थियो। योजना अनुसार उनी आएर हात हल्लाउने, केही भेटघाट गर्ने र जाने कुरा थियो। सरकारले सबै पक्षको छानबिन गर्न समिति गठन गरिसकेको छ। टिकट फिर्ताको लिखित प्रतिबद्धता आयोजकले दिएका छन्। अवस्था अहिले नियन्त्रणमा छ।’

प्रत्यक्षदर्शीका अनुसार केही दर्शक ग्यालरीको बार तोडेर मैदानतर्फ पस्ने प्रयास गर्दै थिए। थप सुरक्षा परिचालन र मेसीलाई चाँडै बाहिर निकालिएपछि अवस्था पूर्ण रूपमा नियन्त्रणबाहिर जान पाएन, तर विश्व फुटबल आइकनको सम्मानमा आयोजना गरिएको कार्यक्रम अव्यवस्थाले छायामा पर्‍यो।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी ले घटनाप्रति दुख व्यक्त गर्दै छानबिन समिति गठनको घोषणा गरेकी छन्। उनले ट्वीट गर्दै भनिन्, ‘लियोनेल मेसी, सबै खेलप्रेमी र उनका समर्थकसँग यो दुर्भाग्यपूर्ण घटनाका लागि म क्षमाप्रार्थी छु। सेवानिवृत्त न्यायाधीश अशिम कुमार राय को अध्यक्षतामा छानबिन समिति गठन गरिन्छ। समितिले विस्तृत छानबिन गरी जिम्मेवारी तोक्ने र भविष्यमा यस्ता घटना नदोहरिन उपाय सुझाउनेछ।’

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ०७ बजे

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

एजेन्सी– संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

किरात समुदायले मनाए उँधौली साकेला पर्व

काठमाडौं– किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र सुदूरपश्चिमको प्रतिस्पर्धा

 नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस

तानसेन– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र